म एक पाइला टेक्छु
मेरो एक पाइलाले अर्को पाइलालाई
अघि बढाउँछ
र, म दुई पाइला
अघि बढ्छु
म उभिएको जमिनबाट
मलाई प्रेरित गर्छ मेरा पाइलाहरूले
मलाई अघि बढ्न
र, एक
दुई
तीन
म निसङ्कोच अघि बढ्छु
यसरी नै
म तर्छु जङ्घार
म काट्छु रातको अँध्यारो
म हिँड्छु सयौं दूरी
पहाडहरूको कठिन उकालो
म खेप्छु मधेश
र, तराईको उखुम गर्मी
वन, जङ्गल
र बस्तीहरू
एक एक पाइलाहरूबाट
म आरोहण गर्छु
पुर्खाका सभ्यताहरू
म त्याग्छु निद्रा
मेरा सबै ढलमलहरूका
विरुद्ध म लड्छु
र प्राप्त गर्छु
मानव जातिका खुसीहरू
बाटाहरु तय गर्न
मलाई मेरो एक पाइला भए
काफी छ ।
२०६६