भालेमुङ्ग्राको रङ

WhatsApp Image 2026 08 13 at 2.50.45 PM

शिशिरको
यो उमङ्गहीन घाम

आँखामा छुट्टीको
एउटा उन्मुक्त बिहान बोकेर
सानी भँगेरीजस्ती,
करेसाबारीमा चिरबिर, चिरबिर खेल्दै
घामसँग डुलिरहेकी मेरी सानी छोरी
आँगनमा देखिई
र, चिच्याई, ‘डैडी, डैडी’

ऊ मेरो नजिकै आई
र, मलाई भन्दै थिई,
‘डैडी, आज मैले बुकमा पढेको
भालेमुङ्ग्रोलाई देखेको ।’

उसको आँखामा देखिन्थ्यो
विस्मात र थकाइ

‘भालेमुङ्ग्रोको रङ
नीलो हुन्छ हगि डैडी ?’ उसले सोधी

मैले यो बिहानको घामले
उसको गलाबाट खस्दै गरेको
पसिनालाई नियालिरहेँ
०००

‘डैडी, डैडी’
मेरो छोराको हठात् स्वर थियो त्यो

आवेगले
थकाइले
र, उत्तेजनाले
ऊ हस्याङ्फस्याङ गर्दै
हामीछेउ आइपुग्यो
र, मलाई भन्यो–
‘डैडी, एउटा कति रातो रङको
भालेमुङ्ग्रो छ ऊ त्यहाँ ।’

‘अँ, भालेमुङ्ग्रोको रङ
नीलो हुन्छ’

एकटकले दाइलाई हेरिरहेकी
छोरीले प्रतिवाद गरी

‘रातो हुन्छ,
मैले भर्खर देखेर त आको’
दाइले बहिनीसँग
प्रतिवाद ग¥यो

‘नीलो हुन्छ’
‘रातो हुन्छ’
‘होइन, नीलो हुन्छ’
‘रातो हुन्छ’
(लौ ! एकअर्काको प्रतिवादमा
दाइ, बहिनीको झगडा पो
सुरु भयो त्यहाँ
)

‘ल ठीक छ,
ठीक छ’
उनीहरूको वादप्रतिवादलाई रोक्दै
मैले भनें, ‘तिमीहरुले देखेको
भालेमुङ्ग्रो मलाई देखाऊ’

(त्यसपछि उनीहरूले मलाई
त्यहाँ लिएर गए
जहाँ भर्खरैअघि दुवैले
भालेमुङ्ग्रोलाई देखेर आएका थिए ।)

एउटा होचो पर्खालबाट
टाउको उठाएर
भालेमुङ्ग्रोले हामीलाई हे¥यो
त्यसले टाउकोलाई
घरी तल
र, घरी माथि गर्दै
हामीलाई नियाल्यो

‘ऊ, मैले त्यसको रङ
रातो हुन्छ भन्या होइन ?’
छोराको आँखाबाट जितको खुसी
बहिनीतिर पोखियो

छिनभरमै
भालेमुङ्ग्रोले रङ बदल्यो
र, त्यो नीलो देखियो
हेर्दाहेर्दै त्यो
कालो देखियो
र, हामीतिर हेरेर त्यसले
टाउकोले ‘ठ्वाक्क, ठ्वाक्क’
पर्खाल हिर्कायो

भय र विषादले
अमिल्लिएर
छोराछोरी दुवैले मलाई हेरिरहे

फर्केर अलि वर आइसकेपछि
भालेमुङ्ग्रो हामीलाई हेरेर
खितखित, खितखित
हाँस्दै थियो ।

२०६५

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these