आऊ
छातीभित्र
असङ्ख्य घाउहरू
लुकाएर
म मेरो छातीमाथि
उम्रिएका बैँसहरूले
तिमीलाई
यो प्रकृतिको
अप्रतिम सौन्दर्य
बाँड्न चाहन्छु
मलाई
यहाँ आएर
मुस्कुराइरहेका
मानिसहरू
र, उनीहरूको
खुसी
निकै मन पर्छ
म उनीहरूको
असीम आनन्दले उठिरहेका
आँखाहरूको लय खोज्छु
आऊ
म तिमीलाई
मेरा आफन्तहरूले
यी पहराहरुमा
छाडेर गएका
पाइतालाका डोबहरू
देखाउँछु
म तिमीलाई
मेरो चोलीको तुना
छिनालेर गएको
भुइँचालोको
एउटा कथा भन्छु ।
मधुपर्क, २०७९