समकालीन नेपाली कवितामा कवि भूपिन (जन्मः २०३० चैत्र ३०, बागलुङ) का कविताहरु उल्लेखनीय छन् । आफ्ना समकालीनहरुका माझमा उहाँका कविताहरुको एउटा अलग्गै पहिचान छ । उहाँका कविताहरु नवीन युगको चेतनाका बाहक हुन् । उहाँका कविताहरुमा राज्यका क्रूर व्यवहार, प्रकृतिसँगको सान्निध्य र मानवीय संवेदना पाइन्छ । मूलतः कविता र निबन्ध र आख्यानमा पनि उहाँको कलम उत्तिकै सशक्त छ । उहाँको हालसम्म ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६), ‘सुप्लाको हवाइजहाज’ (२०७२), ‘भूपिनका कविता’, (२०८०) कवितासङ्ग्रह, ‘चौबिस रील’ (२०६९) निबन्ध सङ्ग्रह र ‘मैदारो’ (२०७५) उपन्यास प्रकाशित छन् । उहाँ प्राध्यापन पेशामा हुनुहुन्छ ।
उहाँ ‘उत्तम शान्ति पुरस्कार’ (२०६९), ‘अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार’ (२०७५) र ‘गण्डकी प्रज्ञा साहित्यिक सम्मान’ (२०८१) लगायत दर्जनौ पुरस्कार र सम्मानले पुरस्कृत र सम्मानित भइसक्नु भएको छ ।
यहाँ उहाँको ‘भूपिनका कविता’ बाट दुई वटा कविताहरु प्रस्तुत गरिएको छ ।
लोकतन्त्रलाई प्रश्न
नानीमा आशा टाँसिएका आँखाहरु छन्
परेलीमा निराशा टाँगिएका आँखाहरु छन्
लोकतन्त्र
तिमीसँग ती आँखाहरुलाई दिन
कुन–कुन नयाँ दृश्यहरु छन् ?
तिमीलाई उज्यालो इन्द्रेणी बनाउन
उनीहरुले आङको घाम दिएका छन्
उनीहरुले पसिनाको रङ
र जीवनको निजी गन्ध दिएका छन्
कतिपय फुकेका खाली हातहरु छन्
कतिपय बन्द मुठीहरु छन्
लोकतन्त्र
तिमीसँग ती हातहरुलाई थमाउन
कुन–कुन नयाँ जून–घामहरु छन् ?
स्कुलको पुरानो ऐनामा
जीवनको नयाँ बिम्ब हेर्न लालायित
केटाकेटीहरुलाई
जीवनको क्रूरताबाट झिकेर
कसरी पु¥याउँछौ स्कुल ?
के राखिदिन्छौ
स्कुल हिँडेका नानीहरुको झोलामा
किताब कि बन्दुक ?
के फलाउँछौ किसानका खेतहरुमा
जीवन कि आँसु ?
के भित्र्याउँछौ मजदुरका झुप्राहरुमा
उज्यालो कि अँध्यारो ?
के झार्छौ गरीबहरुको आँगनमा
उल्का कि तारा ?
समयको चुली चढ्न व्यग्र बाटाहरु
निदाइरहेका छन् गाउँहरुमा
तिनीहरुलाई कसरी ब्युँझाउँछौं ?
दुःखको गाढा ऐंठन छ
मधेसको फिक्का अनुहारमा
त्यसलाई कसरी उप्काएर फाल्छौ ?
ऊनसँग साँटेर
नुन कसरी पु¥याउँछौ बस्तीहरुमा ?
कसरी पु¥याउँछौ ?
प्रश्न गर्न पनि बर्जित
यो मुलुकमा
एकसाथ धेरै प्रश्नहरु
सोध्न खोजिरहेका छन् मानिसहरु
लोकतन्त्र
तिमीसँग उनीहरुलाई दिन
के–के नयाँ उत्तरहरु छन् ?
के–के नयाँ उत्तरहरु छन् ?
०००
गाउँः एक
पहाड नउक्लिए
गाउँको पुछारमा खोला बगेको कहाँ देखिन्छ ?
बेसी खेतमा हरियाली डुलेको कहाँ देखिन्छ ?
कहाँ देखिन्छ
घरका धुरीहरुबाट धुवाँ उडे र नउडेको ?
कहाँ देखिन्छ
गाउँको स्कुलमा
नानीहरु हिँडे र नहिँडेको ?
कहाँ देखिन्छ
गाउँमा देशको आँखा पुगे र नपुगेका ,
मेरो देशका शासकहरु
केही नदेखिने शहरको दरबारमा बस्छन्
जहाँबाट गाउँलाई देख्ने
कुनै पहाड हुँदैन ।
०००