पीडाको रङ

WhatsApp Image 2026 08 13 at 2.50.46 PM

ओई लुरी !
के भयो तँलाई ?
सञ्चो छैन ?
कि जीउ बिसञ्चो छ ?
किन यति साह्रो
टोल्हाइरहेकी ?

भाइले पिट्यो ?
आमाले गाली गरिन् ?
बाबुले वचन लाए ?
किन तँ नबोलेकी ?
खै तेरो आँखाका खुसीहरू ?
खै तेरो सपनाको रङ ?

के भयो तँलाई ?
भन् न लुरी
म त तेरी सङ्गी हुँ नि
तँजस्तै छोरीमान्छे हुँ
छोरीकै जात हौं नि बाबै हामी
कहाँ यति सस्ता खुसीहरू पर्छ र
तेरो हाम्रो पोल्टामा ?

आमाले भाग पस्कँदा
पहिले छोराकै थाल पर्छ
बाबुका काखहरू
अघि छोराकै लागि सर्छन्
भाइहरू स्कुल हिँड्दा
तँ–हामी
गाईगोठ हिँड्छौं
भाइहरू खेल्न निस्कँदा
तँ–हामी भकारो
सोरिरहन्छौं

लुरी, तँ–हामी जन्मँदा
आफ्नो गर्भ फुटालेका पीडाहरू पनि
हाम्री आमाहरूलाई आफ्नै हुन सकेन
कहाँनिर फरक पर्दोरहेछ
त्यो पीडाको रङ ?

लुरी, जुन घरमा तँ–हामी जन्म्यौंं
जुन घरका छानाहरू
तँ–हाम्लाई आफ्नै लाग्यो
त्यो भोलि हाम्रो हुँदैन
तँ उभिएको यो बार्दली
र यहाँबाट देखिरहेको
यो आकाश
यी गमलाहरू
तैंले उमारेका यी पूmलहरूको खुसी
भोलि कुनै पनि
यी तेरो आफ्नो रहन्न
तैले उभिइरहेको
यो आँगन
र, यो हावा
यी पनि भोलि
तेरो यहाँ आफ्नो भन्ने हुन्न
लुरी, तँ–हामी छोरी हौं
तँ–हामी आइमाई जातका हौं

आइमाईहरुका लागि
सुस्केरा बाहेक आफ्नो भन्नु
यहाँ केही हुँदैन ।

२०४७

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these