कोटगार

att.LYd XHtrqaJDymk Qdc Q9LiyqrPWRy7VhD1TVnCA0s 1

पहरेले
बिहानको घण्टी हिर्काउँछ
बिगुल बज्छ
सधैंजस्तो रातभरिको अनिदो थकाइले
अलिकति झप्किन थालेका आँखाहरू
कोथाउँदै कोटगार ब्यूँझन्छ
एकैछिन टोलाउँछ
बेस्वाद हेराइ हेर्छ
अलिकति खुन्खुनिन्छ
अलिकति गुन्गुनिन्छ
चियाको रङले निन्द्राको धङधङी मेट्छ
मुखमा सुर्ती कोच्छ र भुइँमा पिच्च थुक्छ
परेड सुरू हुन्छ
परेड छुट्छ
फिटिङ सुरू हुन्छ
फिटिङ छुट्छ
पहरा दिनेहरू भात बोकेर ल्याउँछन्
र सँगसँगै ल्याउँछन् चिसा गालीहरू

यो कोलाहलको नितान्त एक्लोपनले
घेरिएर उभिएको छ नजिकै
एउटा बूढो बडहरको रुख
अचेल ऋतुहरू पग्लिएर
त्यसका हाँगाहरूबाट कुनै दृश्यहरू खस्दैनन्
त्यसैले हाँगामा मसिना रेशमका
तारहरू झुण्ड्याएर
एकान्त मेट्न
त्यो बूढो रुख रेडियो एफएमहरूबाट
बज्ने गीतहरू सुन्छ

त्यसको आँखाका डिलहरूबाट
चँुडिएर विशृङ्खलित भएको छ त्यसको
बैंसको कथा

हरेक आधा घण्टामा
घडीको जनाउ–घण्टी हिर्काउँछ कोटगार
मध्यान्ह गर्मीले एकैछिन
बूढो बडहरको फेदमुनि
विश्रामको पाइतालाहरु बिसाउँछ
सुसेली हाल्छ
‘अर्प–न, सस’ गर्छ
‘सतर्क’ गर्छ
‘गोडाफाट’ गर्छ
बुटहरु बजार्छ

वरिपरि काइँयो पूmलहरू फुल्छन्
बतास चल्छ
असौंंका होचा रूखहरूबाट
भुइँमा खस्छ बेलुकीको उत्साहहीन घाम
त्यही घामहरू टिपेर भँगेराहरू चिर्विराउँछन्
र कोटगारको झ्यालैनिर
एउटा प्वाँख छोडेर जान्छन्
त्यहाँ प्वाँख मात्र छाड्दैनन् भँगेराहरू
प्वाँखसँगै धेरै थोकहरू छाड्छन्
गीतहरू छाड्छन्
अनुरागहरू छाड्छन्
उत्सर्गहरू छाड्छन्
साँझको धमिलो आशङ्काहरू छाड्छन्
बेचैनीहरू छाड्छन्

अँध्यारोमा एक्लै
अप्रिय हाँसो हाँस्छ कोटगार ।

२०५९

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these