आँखामा मधुपर्क, हृदयमा बन्दीपुर

WhatsApp Image 2025 05 18 at 21.51.52 d993c4b7

आँखामा थुप्रै दृश्यहरू आउँछन्
र हराउँदै जान्छन्
सपनाजस्तै
…………….
उकालोसँग थाकेर
टुँडिखेल छेउको
एउटा रूखको सियाँलमुनि
थकाइ बिसाइरहेकी
थकित–थकित
सुस्केरा काढिरहेकी
जिन्दगीदेखि हारेर
मौनतामा बाँचिरहेकी
आँखामा असङ्ख्य
आफन्तजनहरूको चित्रहरू बोकेर
पराजित समय भोगिरहेकी

निकै वर्षअघि अर्थात २०४९ सालमा प्रकाशित कविताको एक अंश हो यो । कविताको शीर्षक थियो ‘बन्दीपुरः एक अभिव्यक्ति’ । तिनताका लायन्स आँखा अस्पताल, काठमाडौले बन्दीपुर अस्पतालमा सञ्चालन गरेको आँखाको क्लिनिकमा आँखाको बिरामी हेर्ने काम गर्थें म । बन्दीपुर निकै उच्चाटलाग्दो थियो । निर्जन देखिन्थ्यो बन्दीपुर बजार र यहाँका घरहरु । जीवनको आशा हराएको थकित र गन्तव्यहीनजस्ता देखिन्थे यहाँका मान्छेहरु । बजारमा मान्छेको चहलपहल उस्तो देखिन्नथ्यो । साँझ परेपछि झ्याउँकिरीको आवाजले मनलाई अरु उदास बनाउँथ्यो । तिनताका आफूले देखेको, भोगेको बन्दीपुरको एउटा उदास चित्र र कविताको प्रसङ्ग अहिलेलाई यत्ति नै ।

०००

निकै व्यस्तमा बित्यो फागुनको महिना । सामाजिक कामहरुको व्यस्तता त छँदै थियो, साहित्यिक कार्यक्रमहरुको निम्ताको चटारो पनि उस्तै थियो । कतिपय पुग्नुपर्ने, जानुपर्ने ठाउँहरु र कार्यक्रमहरु पनि छुटिदिन्छन् । दौडधुपले हुने शारिरीक थकाइ छँदै छ तर यस्ता कर्मले मनमा हुने आनन्द भने बेग्लै छ । यसले मानिसलाई एक किसिमको ऊर्जा पनि दिन्छ र गतिशील बनाइरहन्छ ।

झण्डै हप्तादिनअघि बन्दीपुरबाट आएको सुदर्शन प्रधानको फोन र बन्दीपुरमा हुने राष्ट्रिय साहित्य महोत्सवको कार्यक्रमको निम्तोले मलाई मनमा उत्सुकता र असामञ्जस्यता दुवै पैदा ग¥यो । बन्दीपुरको कार्यक्रम रहेको थियो फागुन १२ गतेदेखि १४ गतेसम्म । १४ गते महाशिवरात्री पर्वको सार्वजनिक बिदाको दिन । १४ गते माओवादी जनयुद्धको क्रममा गोरखाको ताकुकोटमा राज्यबाट दिल बहादुर रम्तेलको हत्या भएको पनि दिन थियो । सहिद सप्ताह अन्तर्गत गोरखाको बारपाक–सुलिकोट गाउँपालिका र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त सहकार्यमा ताकुकोटमा सहिद स्मारक सङ्ग्रहालयको उद्घाटन र साहित्यिक कार्यक्रमको तय भएको थियो । काठमाडौबाट लेखनाथ न्यौपानेले कार्यक्रमका लागि ताकुकोट जाने खबर दिइसक्नु भएको थियो । ताकुकोट जानको लागि १३ गते दिउँसो आँबुखैरेनीबाट हिँड्नुपर्ने ।

सुदर्शन प्रधानको फोनले यहीँनिर मन एकछिन अलमलियो । आउँदिन भनिहाल्न सकिनँ । सुदर्शन प्रधान आफै कवि । र, व्यवसायी पनि हुनुहुन्छ । बन्दीपुरकै स्थानीय बासिन्दा । राजनैतिक क्रियाशीलताले लामो समय बन्दीपुरबाट बाहिर रहेपनि केही समयदेखि उहाँ बन्दीपुरमै सामाजिक अभियन्ताको रुपमा सक्रिय रहँदै आइरहनुभएको छ । धेरै वर्षअघि मैले उहाँको देउचुली कवितासङ्ग्रह पढेको हुँ । कहिलेकाहीँ बन्दीपुर जाँदा बजारमा उहाँलाई भेट्ने गर्छु । बन्दीपुर बजारको बीचमा एउटा पुरानो पुस्तकालय छ, पद्म पुस्तकालय । पाल्पाको धवल पुस्तकालयपछिको बन्दीपुरको यो पुस्तकालयसँग समयको एउटा लामो कालखण्ड जोडिएको छ । अहिले सुदर्शन प्रधान यही पद्म पुस्तकालयको अध्यक्ष हुनुहुँदो रैछ । गोरखापत्र संस्थान, मधुपर्क साहित्यिक मासिक पत्रिका र पद्म पुस्तकालयको संयुक्त आयोजनामा बन्दीपुरमा राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको कुराले मन फुर्कियो ।

साँच्चै ! आयोजकलाई कार्यक्रमको तारतम्य मिलाउनु पनि कहाँ सजिलो छ र ! कार्यक्रमको तयारी र व्यवस्थापकीय जिम्मेवारी लिएर आयोजकले गर्नुपर्ने दौडधुपको दुःख पनि सानो हुन्न । अतिथिहरुको सम्मान राख्न नसके आलोच्य भइन्छ । अतिथिहरुको बेथितिहरुले पनि कहिलेकाहीँ आयोजकहरुले भोग्नुपर्ने अप्ठ्याराहरुलाई देखेको छु । कुनै ठाउँहरु पुग्दा घगडान भनिएका साहित्यकारका नामहरु र उनीहरुले गरेका व्यवहारहरु पनि त्यहाँका स्थानीयहरुको किस्सा बनेर बसिरहेको सुनेको छु । अतिथिहरुकै कारण आयोजकहरुले असामन्जस्यताको स्थिति बेहोर्नु परेको घटनाहरु पनि छन् ।

म यतिबेला आँबुखैरेनीबाट प्रकाशित हुने शारदादेउराली पाक्षिक पत्रिका र पद्म पुस्तकालयले २०६४ साल कार्तिक १६ र १७ गते बन्दीपुरमा आयोजना गरेको गणतान्त्रिक कविता महोत्सवको दुःख सम्झन्छु । मलाई ईश्वर गोपाल प्रधानको सम्झना आउँछ । बन्दीपुरको हरेक सामाजिक क्षेत्रमा ईश्वर गोपाल प्रधानको उपस्थिति अनिवार्य हुन्थ्यो । बन्दिपुरको अभिभावक थिए उनी । आज उनको भौतिक शरीर छैन । बन्दीपुरको सामाजिक क्षेत्रको विकासमा उनले छाडेर गएका कार्यहरुलाई बन्दीपुरका बासिन्दाहरुले कुन रुपमा स्मरण गर्छन् ? बन्दीपुरले ईश्वर गोपाल प्रधानलाई सम्झन्छ कि सम्झदैन ? कहिलेकाहीँ बन्दीपुर पुग्दा मलाई उनको अनुपस्थिति बोध हुन्छ । बन्दीपुरमा रहँदा उनीसँग भएका उठबस र कुराकानीहरु सम्झनामा आउँछ । बन्दीपुरमा कुनै कार्यक्रम गर्नुपर्दा पहिलो सम्पर्क उनीसँग हुन्थ्यो । बन्दीपुरमा गणतान्त्रिक कविता महोत्सव गर्ने कार्यक्रम उनीसँगै बसेर तय गरेका थियौं । नेपालभरिका झण्डै १५० जना कवि, लेखक र पत्रकारहरुको त्यो कार्यक्रममा उत्साहपूर्ण उपस्थिति रहेको थियो ।

बन्दीपुरसँग जोडिएका थुप्रै सम्बन्धहरु छन् मेरा । बन्दीपुर मेरो आफ्नै पुख्र्यौली थलो पनि हो । मेरा नातागोताका सम्बन्धहरु अझै पनि बन्दीपुरमा छन् । त्यसैले कहिलेकाहीँ म आफू पनि बन्दीपुरे हुँ भन्न हिचकिचाउँदिन । कुनै कालखण्ड पश्चिम नेपालको व्यापारिक नाकाको रुपमा प्रसिद्ध रहेको बन्दीपुर २०२५ सालपछि झण्डै ध्वस्त नै बन्यो । पृथ्वी राजमार्गको रुपमा काठमाण्डौ पोखराको सडक आवागमन खुलेपछि बन्दीपुरका घरहरु शून्य प्रायः देखिए । बन्दीपुरको मुकाम दमौली स¥यो । मुकाम गुमेपछि बन्दीपुरको साख गुम्यो । २००७ सालको जनक्रान्तिमा राणाविरुद्ध ऐतिहासिक लडाइँ लडेको बन्दीपुरले खण्डहरको अवस्था भोग्नु प¥यो । ठूलो सङ्ख्यामा बन्दीपुरका व्यापारीहरु बन्दीपुर छाडेर अन्यत्र हिँडे । बन्दीपुर सुनसान रह्यो । यो कोमाको स्थितिबाट उठ्न बन्दीपुरलाई झण्डै २५ वर्ष लाग्यो । बन्दीपुर इको टुरिजम प्रोजेक्ट र नोट्र्डम स्कुलले बन्दीपुरलाई पुनर्जीवित गर्ने काम ग¥यो । व्यक्तिगत रुपमा सन्त कुमार श्रेष्ठ र बन्दीपुर सामाजिक विकास समितिका प्रयत्नहरुले बन्दीपुरलाई पुनर्जल दियो । आज थुप्रै व्यक्तिहरुको लगानी र जनसहभागितामुलक सामुहिक कार्यहरुले बन्दीपुरलाई पुनर्जीवन दिएको छ । बन्दीपुरलाई पहाडकी रानीको रुपमा चिनाएको छ । बन्दीपुर पर्यटनको गन्तव्य बनेको छ ।

सुदर्शन प्रधानसँगको फोन संवादपछि पहिलो दिनको कार्यक्रममा मैले अवश्य पनि पुग्नुपर्छ भन्ने मनले सोच्यो । यसैपनि यो साहित्यिक कार्यक्रमसँग म निकै उत्सुक थिएँ । बन्दीपुरमा भएका साहित्य महोत्सवका यस्ता कार्यक्रमहरुमा यसअघि पनि म धेरैपटक सहभागी भएको छु । बन्दीपुर पुग्दा रमाइलो र आनन्द लाग्छ । यहाँको प्राकृतिक छटा र यसको सौन्दर्य अमिट छ । बन्दीपुरको पृष्ठभूमिमा यी साहित्यिक कार्यक्रमहरु र महोत्सवहरुले एउटा अलग्गै महत्त्व बोकिरहेको हुन्छ ।

‘केबुलकारबाट बन्दीपुर जाने हो ।’ अघिल्लो फोन संवादमा सुदर्शन प्रधानले भन्नुभएको थियो ।

०००

‘अनिलजी तपाईं डुम्रे बजारमा नै आउनु होला । केबुलकारको केही मर्मत कार्य भइरहेकोले हामी बसबाट नै बन्दीपुर जाने भयौं ।’ १२ गते बिहानै मेरो मोबाइलमा सुदर्शन प्रधानको फोन बज्यो ।

‘म स्कुटर लिएरै आउँछु । मलाई नपर्खिनुस ।’ मैले उहाँलाई भनें ।

‘ए, ए । ल तपाईं आफ्नो किसिमले आउनुस् । बन्दीपुरमै भेट्ने छौं हामी ।’

यति कुरा भइसकेपछि मलाई पनि अब हतार गरेर हिँडिहाल्नु पर्ने भएन । आयोजकलाई साथीहरु छुट्ला कि भन्ने छटपटी पनि रहेन । सबैतिरबाट निम्तालुहरु आइपुग्ने समयको हिसाबलाई लेखाजोखा गरेर ११ बजे स्कुटर लिएर आँबुखैरेनीबाट बन्दीपुर हिँडे । निर्माणाधिन सडकको कालोपत्रे भइसकेकोले बाटोको कुनै असहजता थिएन । खुरुरुरु बन्दीपुर पुगि त हालियो । स्कुटरलाई बन्दीपुर गेष्ट हाउसमा थान्को लाएर बजारतिर निस्कँदा बाटोमै भेटिए चितवनबाट आउनुभएको रविकिरण निर्जीव । र उहाँसँगै हुनुहुन्थ्यो चितवनका अर्का साहित्यकार बाबुराम पाढडे । दुवैजना सँगै भर्खरै बन्दीपुर ओर्लिनुभएको रैछ । पद्म पुस्तकालको सम्पर्कमा कोही पनि आयोजक साथीहरु नभेटिएपछि अल्मलिदै टँुडिखेलतिर हिँड्नुभएको थियो । बाटोमा उभिएरै उहाँहरुसँग भलाकुसारी भयो । सामुन्ने रहेको एउटा घरबाट बाहिर झुलुक्क देखा परे बन्दीपुर क्याम्पसका प्रमुख विक्रम पिया । हामी उहाँकै घरअघिल्तिर रहेछौं । उहाँसँग कुराकानी सुरु भयो ।

‘मेरो घर यही हो ।’ विक्रम पियाले भन्नुभयो । चिनापर्ची भयो विक्रम पिया र रविकिरण निर्जीवको । केही छिन कुराकानी भएपछि म उहाँहरुसँग छुट्टिएर बजारतिर लागें । आफूसँग ल्याएको केही किताबहरु पद्म पुस्तकालयलाई दिनु थियो ।

पद्म पुस्तकालयबाट बाहिर निस्केर सुदर्शन प्रधानलाई फोन गरें । केही सामान र बाहिरबाट आएका साथीहरुलाई रिसिभ गर्न उहाँ डुम्रे ओर्लिनु भएको रहेछ । बजारमै भेटिनु भयो नमस्तेलाल भूमि । कार्यक्रमको उहाँ पनि आयोजक । कार्यक्रमको तयारीको दौडधुपमा देखिनुहुन्थ्यो ।

बजारमा केही चिनारु र आफन्तहरुसँग गफिदै गर्दा दिउँसो ३ बजे टुँडिखेलको होटल दरबार हिमालयमा साँझको कार्यक्रम हुने अनौपचारिक जानकारी पाएँ । टुँडिखेल पुग्दा त्यहाँको केही होटलहरुमा आगन्तुकहरुको लागि बासको व्यवस्था मिलाइएको रहेछ । दमौलीबाट आइपुग्नुभएका गीतकार सागर उदास र पत्रकार अमरराज नहर्की त्यहीँ भेटिए । सागर उदाससँग दरबार हिमालय होटलमा चिया पिउँदै थिएँ भागिरथी श्रेष्ठ, द्धारिका श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, पद्मावती सिंह लगायतका केही साहित्यकारहरु होटलको ढोकामा देखिए । स्कुल पढ्दादेखि नै भागिरथी श्रेष्ठका कथाहरु पढिरहेको थिएँ । द्धारिका श्रेष्ठ स्वयं बन्दीपुरे हुनुहुन्छ । विसङ्गतीवादी कविताका प्रयोक्ता पनि हुनुहुन्छ । उहाँको द्धारिका श्रेष्ठका कविताहरु २०५० सालमा पद्म पुस्तकालयमा बसेरै पढेको छु । उहाँहरुलाई होटलमा देखेपछि मन एक किसिमले प्रफुल्ल थियो ।

उतिखेरै हावासँगै बतास्सिएर पानी प¥यो ।

एकैछिन परेको पानीले बन्दीपुरलाई स्निग्ध बनायो । कुहिरो र साँझको बत्तीले बन्दीपुरलाई अरु लावण्य बनायो । टुँडिखेलको सडकमा बतासको चिसो स्पर्श चलिरह्यो । होटल दरबार हिमालयबाट बाहिर निस्कँदै गर्दा साँझको बत्तीको उज्यालोमा केही पर रहेका होटलहरुको अघिल्तिर एक गाडी मान्छेहरु ओर्लिए । अहो ! गाडीबाट ओर्लिएका मान्छेहरुलाई नियालिरहेका यी आँखाअघिल्तिर त थिए प्रमोद प्रधान, किशोर पहाडी, रमेशचन्द्र अधिकारी, त्रिभुवनचन्द्र वाग्ले, दुर्गाकिरण तिवारी, निरुपा प्रसुन, डा. ज्ञानु पाण्डे, सुमन थापा सङ्गम, लीलाराज दाहाल, मिसन अधिकारी, वैरागी जेठा, विमल भौकाजी, भुवनहरि सिग्देल, दिव्य गिरी, मुकेश मल्ल, ज्ञानुवाकर पौडेल, डिल्लीराम मिश्र, दीपक लोहनी, वसन्त महर्जन, शरद प्रधान, त्रिचन्द्र श्रेष्ठ । चिनेका कति हुन् कति । कति नचिने पनि नाम सुनिएका र पढिएका ।

‘गाडीमा तपाईंकै गफ गर्दै आइयो ।’ नजिकै पुगेपछि डा. रमेशचन्द्र अधिकारी मलाई अङ्गालो हाल्दै भनिरहनु भएको थियो । त्यहाँ लामो समयपछि भेटिएका कति साथीहरुका आँखामा त खुसीहरु छचल्किरहेकै थियो । एकपछि अर्को साथीहरुसँग आत्मीयता र हार्दिकताले हातहरु कस्सिरहेका थिए । सायद यस्तो बेला मनमा उठ्ने आल्हादक स्थितिले मनलाई झनै भावुक बनाउँदो रैछ । यसअघि पनि पोखराको गीतकार प्रतिष्ठान, नेपालको कार्यक्रममा भेटिनुभएकी दुर्गाकिरण तिवारी मलाई हेरेर अलि परबाट मुसुक्क हाँस्दै हुनुहुन्थ्यो । नजिकै गएर उहाँसँग बोल्न भ्याएको थिइनँ ।

सबैसँग गफ गर्दागर्दै हामी होटल दरबार हिमालयको सभाहलभित्र प्रवेश गरिसकेका थियौं । त्यहाँ साँझको कार्यक्रमको आयोजना गरिएको थियो । अगाडि मञ्चमा निकै सुन्दर र आकर्षक शैलीको ब्यानर थियो । निकै काव्यात्मक थियो ब्यानरका अक्षरहरु– ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ ।

‘बन्दीपुर भ्रमण वर्ष – २०२५’ को ब्यानरमा गोरखापत्र संस्थान र पद्म पुस्तकालयले संयुक्त रुपमा आयोजना गरिरहेको यो राष्ट्रिय साहित्य महोत्सवले बन्दीपुरलाई काव्यमय बनाउँदै थियो । साहित्य महोत्सवको पहिलो दिनको यो काव्य साँझ परिचयात्मक कार्यक्रम रहेको थियो ।

साँझको कार्यक्रम सकेर हामीलाई फेरि आफू बस्ने होटलतिर जानुपर्ने थियो ।

‘तपाईसँग बसेर चिया पिउने हो दाजै ।’ भ¥याङ ओर्लदादेखि दुर्गाकिरण मेरो हात समातेर मसँगै हुनुहुन्थ्यो । उहाँको त्यो स्वभाव निकै हार्दिक थियो । मान्छेसँग छिट्टै खुल्न सक्ने, बोलिरहनुपर्ने । यसै त हामी लामो समयदेखि फेसबुकमा पनि साथी थियौं । यसले पनि हाम्रो परिचय र सम्बन्धलाई अझ नजिक बनाएको थियो ।

‘दरर रर र’

बाहिर सडकमा निस्केपछि आकाशले एक्कासि झरी हाल्यो । नजिकैका घरहरुमा ओत लिन सबैको दौडादौड चल्यो । पछाडि हामी प्रमोद प्रधान, दुर्गाकिरण तिवारी, शरद प्रधान, मुकेश मल्ल र उहाँकी सङ्गिनी ललिता मल्ल, म र अरु केही साथीहरु थियौं । अलमलिएर ओत लिने ठाउँ खोज्यौं ।

‘बहिनी चिया पाइन्छ ?’ पानीमा रुझ्दै एउटा पसलअघिल्तिर उभिएर दुर्गाकिरणले दलिनमा उभिएकी पसल्नी बहिनीलाई सोध्नु भयो ।

‘सिया खाने बेला के को चिया ?’ प्रमोद प्रधान जिस्किनु भयो ।

‘सिया तपाईं पछि खानुहोला । पहिले सँगै चिया पिऊँ, आउनुस् ।’ दुर्गाकिरण हाँस्नुभयो ।

चुल्होमा चिया पाक्दै थियो । बाहिर पानीले रोकिने छाँट थिएन । भित्र होटलको टेबलमा चिया पर्खिरहेका हामी प्रमोद प्रधान, मुकेश मल्ल, शरद प्रधान, ललिता मल्ल, दुर्गाकिरण र म थियौं । कहिलेकाही संयोगले मिल्ने यस्ता क्षणहरु पनि कस्तो अविस्मरणीय रहने । त्यो छोटो समय कला र साहित्यको विषयमा भएको बहसको निकै महत्वपूर्ण समय थियो । मुकेश मल्ल कलाको प्राध्यापक हुनुहुन्छ । उहाँको कला निबन्धहरु निकै सशक्त छन् । कलामा उहाँका नयाँ प्रयोगहरु पाइन्छ । प्रमोद प्रधान बालसाहित्य र निबन्धका अध्येता हुनुहुन्छ । निकै अध्ययनशील व्यक्तित्व । यी दुई विराट व्यक्तित्वहरुको साँझको त्यो सानिध्यले मलाई साँच्चै नै कृतज्ञ बनायो ।

दुर्गाकिरणको चिया पिउने त्यो जिद्दीले पनि त्यो साँझलाई उपलब्धिमूलक बनायो ।

०००

१३ गते
अर्थात महोत्सवको दोस्रो दिन ।

बिहानको पहिलो–सत्र कविताको सत्र थियो । भानु हाइस्कुलको सभाहलमा सबै कविहरुले उत्साहपूर्वक कविता वाचन गरिरहेका थिए । कार्यक्रमलाई मधुपर्कका निमित्त सम्पादक त्रिभुवनचन्द्र वाग्लेले सञ्चालन गरिरहनु भएको थियो । गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीका साथै मधुपर्क, शारदा, मुना, युवामञ्च लगायतका साहित्यिक पत्रिकाका सम्पादकहरु र देशभरिका झण्डै असीभन्दा बढी साहित्यकारहरुको उल्लेख्य सहभागिता स्थानीयहरुको उपस्थितिले कार्यक्रमलाई भव्य र उत्सवमय बनाएको थियो ।

मलाई भने अब यो उत्सवमय कार्यक्रमलाई छाडेर हिँड्नुपर्ने थियो । घडी हेरें । ११ बजिसकेको थियो । काठमाण्डौबाट ताकुकोटको कार्यक्रमको लागि हिँडेका नेपाल प्रज्ञा प्रतिष्ठानका साथीहरुले मलेखु कटिसकेको खबर दिइरहेका थिए ।

‘म अब निस्कन्छु । गोरखाको कार्यक्रममा जानुपर्नेछ ।’ प्रमोद प्रधान र बिमल भौकाजीको कानमा खुसुक्क भनें । एकछिन अलमलिएर उहाँहरुले मलाई हेरिरहनु भयो । त्यो कानेखुसीमा कवि सुमन थापा ‘सङ्गम’ र दुर्गाकिरण तिवारी पुलुक्क मलाई हेर्दै हुनुहुन्थ्यो । मैले अलिकति मुस्कुराएरै उहाँहरुसँग मौन बिदाइ लिएँ । सुदर्शन प्रधानलाई पनि हिजो साँझ ‘भोलि म छिट्टै निस्कनुपर्छ’ भनिसकेको थिएँ ।े

‘खाना खाएर जानू । मेसमा खाना तयार भइसकेको छ ।’ सुदर्शन प्रधान भन्दै हुनुहुन्थ्यो ।

कार्यक्रमबाट सुटुक्क बाहिर निस्कें । र, भानु हाइस्कुलको गेटबाट बाहिरिएँ । त्यो भव्य काव्यगोष्ठी र साथीहरुसँग छुटिएर हिँड्दाको विषाद मनमा छँदै थियो । आँखामा त अझै ब्यानरका ती आकर्षक अक्षरहरु खेलिरहेका थिए– ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ ।

फेरि पनि बाटोभरि मनले बन्दीपुरका गीतकार रेशमलाल श्रेष्ठको गीत गुन्गुनाइरहेको थियो–

आँखाभरि मनैभरि छाया बन्दीपुरको
म मरे नि मर्ने छैन माया बन्दीपुरको

सपनीमा पनि देख्छु तिम्लाई झलझली
सयपत्री, लालुपाते, फूल मखमली
मिर्मिरेमा खुल्ने हिमाल बायाँ बन्दीपुरको
०००

मधुपर्क, २०८२ जेठ

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these