अन्तिम अर्थात चौंथो अनुच्छेद

antim arthat

घाम छैन
घामको तातो छैन
एकाएक चिसो बढेको छ
हावा छैन
चारैतिर तुवाँलो छ
पिरो धुवाँ छ
आँखामा जलन छ
सास फेर्न उकुसमुकुस छ
वायुमण्डलको ताप घटेको छ
र, वातावरण एक्कासि
कष्टकर बनिरहेको छ

निमोनियाका बिरामीहरु बोकेर
एम्बुलेन्सहरु कुदिरहेछ

अस्पतालको भीड बढेको छ
र, मानिसहरुको आँखामा व्याप्त छ
गहिरो शून्यता

एकथरी मानिसहरु
मन्दिरअघि उभिएर ईश्वर खोजिरहेका छन्
अर्काथरी मानिसहरु मन्दिरअघि उभिएर
ईश्वरलाई सरापिरहेका छन्

र ती दुवैथरी
एकअर्कासँग लडिरहेका छन्

मृत्युशैय्यामा पनि
मानिस मुठ्ठी कसेर लडिरहेछ

ए मलामीहरु हो
उसको कसिएको मुठ्ठी खोलिदेऊ
र मानिसहरुलाई भनिदेऊ –
मृत्युशैय्यामा लडिरहेका ती
मानिसहरुका मुठ्ठीहरु खालि छन् ।

(प्रिय पाठक,
म समय हुँ
र, यो समयको म अन्तिम मानिस हुँ

युगौंदेखि
यस धर्तीमा चलिरहेको छ
एउटा अहङ्कारको युद्ध,
यसरी नै

र, यो समयको
यो अन्तिम युद्ध हुनेछ
अन्त्य हुनेछन् मानिसले विकास गरेका
सम्पूर्ण सभ्यता

र, सायद
मेरो अब यही अन्तिम कविता हुनेछ ।)

पुनश्चः
र, एकदिन
पृथ्वीमा पुनः मानिसहरुको
नयाँ जातिको उदय हुनेछ
र यो धर्तीमा
फेरि शुरु हुनेछ
नयाँ मानिसहरुको गीत ।

कालीगण्डकी खबर

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these