क्रोधले कामिरहेको धर्ती
एकाएक आकाश अँध्यारियो । गडडडड…, जमिन हल्लियो ।
छिनभरमै हावामा पातहरुझैं घरहरु हल्लिरहेका थिए । सामुन्नेको अग्लो पहाड बेस्सरी कामिरहेको थियो र माथि पहरोबाट चट्टानहरु उप्किएर सडकमाथि खसिरहेका थिए । एउटा बडेमानको ढुङ्गा आँबुखैरेनी चोकको मेरो पसल नजिकैको मनकामना खाजा घरको दैलो अघिल्तिर बड्याम्म बज्रियो । मान्छेहरु अतालिएर यताउति भागदौड गरिरहेका थिए । एउटा अर्को च्याप्टो ठूलो ढुङ्गो खस्यो । सडकमा राखिएको एउटा डिभाइडरले त्यो ढुङ्गोलाई अल्झायो ।
एकछिनअघि बाहिर सडकपेटीमा उभिएर हामी आकाश नियाल्दै थियौँ । घाम थिएन । दिन गुम्म थियो । ओसिलो दिन । ‘पानी पर्छ कि के हो ?’ श्रीमती भन्दै थिइन् । शनिवारको बिदाको दिन परेकाले श्रीमतीको अफिस थिएन । दिउँसो पसलमा मसँगै थिइन् । एक्कासि पसलमा भएका सामानहरु भुइँमा झरे । कुर्सीहरु बेस्सरी हल्लिए । चटटटट …. बाहिर केही चर्किरहेको एउटा अनौठो आवाज सुनियो । ‘बुढो भुइँचालो’ श्रीमती चिच्याइन् । भुइँचालोले हल्लाएपछि अलमलिँदै दुवैजना पसलबाट बाहिर सडकमा निस्क्यौँ । माथि पहराबाट खसेर आएको बडेमानको एउटा ढुङ्गा सडकमा बज्रियो । सडकछेउमा बस कुरेर बस्ने यात्रुहरु अतालिएर यता र उता भागिरहे । मान्छेहरु कराउँदै घरबाट बाहिर निस्किरहेका थिए । धन्न ! ढुङ्गा खस्नुअघि वरिपरि कोही थिएन । जोगिएछ ।
आँबुखैरेनीको सडकको मध्यभागमा हामी चामलझैं निफन्निइरहेका थियौं । केही क्षणअघि शान्त देखिएको आँबुखैरेनी बजार पुरै कोलाहलमय थियो । चोकदेखि डाँडाटोलसम्म सडकमा मान्छेहरु एकै थुप्रो देखिन्थे । चररर वरिपरिका बिजुलीका लठ्ठाहरु बजिरहेका थिए । घरहरु भत्किएर बजार धुलाम्मे देखिन्थ्यो । जमिन पुरै कम्पायमान थियो । हामी उभिइरहेको सडक नजिकैबाट कतै चरक्क चर्किरहेको छ कि भनेझैं हामीलाई लाग्दै थियो । यसअघि भुइँचालोले जमिन यस्तरी हल्लाएको कहिल्यै कसैलाई थाहा थिएन । झण्डै अढाई मिनेटको भुइँचालोले हामीलाई पुरै हल्लाएर गयो । सबैका आँखाहरु आतङ्कित र भयभीत थिए । प्रायः सधैं क्यामरा हुन्थ्यो मेरो साथमा । त्यो दिन क्यामरा छुटेछ । मोबाइलले काम दिएन । भुइँचालोले हल्लाएको बजारका दृश्यहरु खिच्न सकिएन । पछुतो लाग्यो ।
प्रकृतिलाई सधैं आमा मान्दै आइरहेका हामी । हामी आफैले प्रकृतिलाई दोहन गर्न कहिल्यै छाडेनौं । बाल्यकालमा मैले गरेको बिठ्याइँले एकदिन मेरी आमा यस्तरी नै क्रोधले कामेकी थिइन् र मलाई एकचोटि नराम्ररी पिटेकी थिइन् । आज ठ्याक्कै मेरो सम्झनामा आइरहेछ त्यो । पहिलोपल्ट यतिसाह्रो क्रोधित भएर कामिरहेको धर्तीलाई देखिरहेँ । मेरी आमा क्रोधले कामिरहेजस्तै ।
‘फेरि फर्कन्छ, फेरि फर्कन्छ ।’
भुइँचालोले हल्लाउन छाडे पनि मान्छेहरु अझै आतङ्कित मुद्रामा सडकमा कराइरहेका थिए । त्रसित थिए सबै । केही क्षणअघि सडकमा एकै डल्लोजस्ता देखिएका मान्छेहरु सल्बलाउन थालेका थिए । सबैले आफ्ना घरपरिवारका सदस्यहरु को कहाँ छन् खोजिरहेका थिए । सबैका आँखामा आफन्तहरुको सुर्ता देखिन्थ्यो । करिब बीस मिनेटपछि एउटा अर्को धक्का हानेर भुइँचालो गयो । अघिसम्म जिउ जोगाउन घर र पसल खुल्लै छाडेर सडकमा ओइरिएका मान्छेहरु दोस्रो भुइँचालोपछि सबै सटर र ढोकाहरु बन्द गरेर बाहिर निस्किए । सबै मान्छेहरु खुल्ला चौर र खाली ठाउँहरु खोज्दै आफूलाई सुरक्षित गर्न हिंडे । पुरै बजार सुनसान र चकमन्न बन्यो । एकैछिनपछि आँबुखैरेनी इलाका प्रहरी कार्यालयको प्रहरी भ्यान माइकिङ गर्दै बजारमा निस्क्यो ।
२०७२ वैशाख १२ गते शनिबारको मध्यदिनको महाभूकम्पले छाडेर गएको एउटा त्रासद र आतङ्कपूर्ण आँबुखैरेनी बजारको दृश्य थियो त्यो ।
धरहरा ढलेको खबर
कोलाहलकै बीचमा काठमाडौंमा धरहरा ढलेको खबर भीडभित्र व्यापक बन्यो । भुइँचालो सानो र सामान्य थिएन । २०४५ सालमा ५ रेक्टर स्केलको भुइँचालोले पनि भक्तपुर र धरानलाई ठूलो क्षति पु¥याएको थियो । यस्तरी हल्लाउने भुइँचालोको कम्पन त त्यसबेला पनि हामीले महसुस गरेका थिएनौं । यो भुइँचालो कम्तीमा पनि ७ रेक्टर स्केलभन्दा माथि हुनुपर्छ भन्ने अनुमान मैले साथीहरुलाई गरें । विद्युतको लाइन काटिएको थियो । मोबाइल सम्पर्कहरु विच्छेद थिए । अन्धाधुन्ध र अस्तव्यस्त थियो भर्खरका भर्खर मान्छेहरुको जमात र भुइँचालोपछिको वातावरण । सबैका आँखाहरुमा त्रासदी थियो । सबै भयभीत थिए । सबैका हातहरु मोबाइल थिचिरहेका थिए । यस्तरी हल्लाएको यो भुइँचालोले अन्त कहाँ, कति, केके बिगार ग¥यो होला ? सबैका आँखाहरुमा थप चिन्ता, डर, आशङ्का र उत्सुकताहरु थिए । कोही आफन्तहरुसँग फोन सम्पर्कहरु खोजिरहेका थिए । कोही घटनाका सूचनाहरु खोज्दै थिए ।
–‘काठमाडौंमा धरहरा ढल्यो ।’
–‘वसन्तपुरको दरबार भत्क्यो ।’
–‘भूकम्पको केन्द्रबिन्दु लमजुङ् रे ।’
–‘होइन, ‘बारपाक’ रे
–‘पोखराको मनिपाल हस्पिटल पनि भत्क्यो रे ।’
–‘काठमाडौ“मा धरहराबाट २५ जनाको लास निकाल्यो रे ।’
–‘काठमाडौं पुरै ध्वस्त छ रे ।’
छिनभरमै फेसबुक लगायतका सामाजिक सञ्जालहरुले अपडेट गराएका भूकम्पका देशव्यापी समाचारहरु बजारभरि तरङ्गित हुन थाले । सही सूचनामाध्यमहरु नहुँदा र सामाजिक सञ्जालका यस्ता अनगिन्ती होहल्ला र अड्कलबाजीहरुले दिनभरि नै अन्योल र त्रासहरु उब्जाइरहे । श्रीमती अतालिएर काठमाडौं फोन गर्दै थिई । छोरा काठमाडौंमा थियो । म्हैपीमा बहिनी सानु र ज्वाइँ थिए । कलङ्कीमा भतिज थियो । ढुङ्गेधारामा भान्जाभान्जीहरु थिए । कसैको फोन लाग्दैन । उताको चिन्ता र छटपटी बढ्यो ।
–‘के भो ?’ श्रीमतीलाई सोधें
–‘अनिशलाई कन्ट्याक त भो । राम्ररी बोल्न पाइएन । ठीक छ भन्थ्यो ।’
–‘सानु र ज्वाइँ नि ?’
–‘सँगै छन् रे ।’
–‘अमिर र समीक्षालाई फोन गर भनिनौ ?’
–‘भन्या छु ।’
त्यै भा नि भो । अलिकति मन ढुक्क हुने बाटो भो । एउटा तनाव घट्यो ।
निरन्तर भूकम्पका धक्काहरु
रातभरि पनि भुइँचालोका धक्काहरु निरन्तर चलिरह्यो । अँध्यारोमा गडडड जमिन हल्लँदा त्यो खुल्ला चौरमा पनि मान्छेहरु आफू बसेको ठाउँ छाडेर उठ्थे र पर भागिसकेका हुन्थे । फेरि एकत्रित हुन्थे र आफू भाग्दाको क्षणलाई सम्झेर मान्छेहरु फेरि एकैछिन मुर्छा परेर हाँस्थे । पर परसम्म पनि पिलिक्क पिलिक्क टर्चलाइटको उज्यालो प्रशस्त देखिन्थे । ‘आयो, आयो’ मान्छेहरु कराइरहेका थिए । अँध्यारोको यस्तै भागदौड, कोलाहल, होहल्ला, संत्रास र अनिद्रामा रात बित्यो ।
भोलिपल्ट बिहानसम्म भुइँचालोले बजारका नौवटा पुराना घरलाई क्षतिग्रस्त बनाएको खबरहरु आयो । अघिल्लो दिन पहराबाट लडेको ठूलो ढुङ्गा सडक विभागको डोजरले बिहान उठाएर लगेछ । रातिको अनिद्राले बिहानपख मान्छेहरु बारीका गराहरुमा अलिकति ओत पारेर उँघिरहेका थिए । बजार बन्दै रह्यो । कसैका पाइलाहरु खाली चौर छाडेर घरतिर फर्कन मानेनन् । अघिल्लो दिनको भुइँचालोले पु¥याएको क्षति बारे अन्योल र अस्पष्टताहरु बढिरहेको बेला दोस्रो दिनको १ बजेको भुइँचालोले फेरि चर्कै हल्लाएर गयो । यसले मान्छेहरुलाई अरु आतङ्कित बनायो । भुइँचालोको यो अर्को ठूलो धक्काले ठाउँ ठाउँमा झनै बढी क्षति पारेको खबरहरु सुनिए । गोरखा र काठमाडौं पछिको धादिङ, नुवाकोट, रसुवा, काभ्रे र सिन्धुपाल्चोक हुँदै देशको उत्तर–पूर्वी पहाडी भू–भागहरुलाई बाटो बनाएर भुइँचालोले पुरै गाउँहरुलाई ध्वस्त पारेछ । पुरै देश भुइँचालोको कम्पनले कोलाहल थियो । बेलुकी बिजुलीको लाइन आएपछि टिभी च्यानलहरुबाट दिइरहेको समाचारका क्षतविक्षत दृश्यहरुले मनलाई बेचैन बनायो । झनै यो विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक रहेको भन्ने समाचारहरुले हामीलाई लामो सास फेर्नुपर्ने बनायो । यो महाभूकम्पको विनाशबाट आँबुखैरेनी सुरक्षित रहेको थियो ।
औषधि बोकेर गाउँतिर
महाभूकम्पको पहिलो ठूलो धक्कापछिको ७२ घण्टा अझै असुरक्षित रहेको र सबैले घरभन्दा बाहिर सुरक्षित स्थानको खोजी गरेर बस्नुपर्ने समाचारहरु सञ्चार माध्यमहरुबाट आइरह्यो । भूकम्पबाट घाइते भएकाहरुको तत्काल उद्धार कार्यबाहेक मान्छेहरु आफ्नो घरभित्र बस्न सक्ने सामान्य अवस्था रहेन । कतिबेला अरु ठूला भूकम्पका धक्काहरु आउने हुन्, कतिबेला यी घरहरु लड्ने हुन्, सबैका आँखाहरुमा एउटा भयावह त्रास थियो । दुईदिनसम्म हामीले एउटा संत्रासपूर्ण र अन्योलको वातावरणमा खुल्ला चौर र खाली ठाउँहरुमा रात काट्यौं । तर धेरैदिनसम्म अब यत्तिकै एउटा अकर्मण्यतामा रहनुहुन्न र यसलाई सामान्य बनाउँदै लग्नुपर्छ भन्ने मलाई लागिरह्यो । हामी कम्तीमा पनि क्षतिबाट जोगिएका छौं । ‘हामीले तत्काल राहतको एउटा कार्यक्रम सुरू गर्नुपर्छ’ भनेर मैले केही साथीहरुसँग सल्लाह गरें र आँबुखैरेनी स्रष्टा समाजको एउटा आकस्मिक बैठक डाकें । आँबुखैरेनीका विभिन्न सामाजिक सङ्घसंस्थाहरुको सहभागितामा राहत सङ्कलन कार्यलाई तुरुन्तै सुरू गर्नुपर्छ भन्ने छलफल भयो । आँबुखैरेनी उद्योग वाणिज्य सङ्घ र आँबुखैरेनी रेडव्रmस शाखाले राहत सङ्कलन कार्यलाई संयोजन गर्ने भए ।
डुम्रेमा अनिल प्रजापतिलाई फोन गरें ।
‘यो विपद्को बेला तनहँुका सिएमए सङ्घसँग आबद्ध स्वास्थ्यकर्मीहरुको एउटा टीम बनाएर भूकम्पग्रस्त गाउँहरुमा स्वास्थ्यको कार्यक्रम लिएर जानु प¥यो । तिमीलाई के लाग्छ ?’ मैले उसलाई भनें ।
‘राम्रो हुन्थ्यो । म साथीहरुलाई कुरा गर्छु ।’ ऊ सकारात्मक देखियो ।
उसले त्यसको संयोजन गर्ने काम ग¥यो । दमौलीबाट भवानी पोखरेलले नेपाल सिएमए सङ्घ केन्द्रीय कार्यालयसँग समन्वय गरिन् । केन्द्रीय कार्यालयले दैवीप्रकोप राहत कोषमा रहेको एकलाख रुपैयाँ पठाइदिने भए । त्यसले हाम्रो कार्यक्रमलाई अरु थप बल मिल्यो । भूकम्पले गोरखाका गाउँहरु क्षतिग्रस्त थिए । गोरखा जाने निधो भयो । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखामा सम्पर्क र त्यसको समन्वय गर्ने काम मैले गरें । भूकम्पको चौथो दिन हामीले तनहुँका स्वास्थ्यकर्मीहरुको दश जनाको एउटा नामावली तयार ग¥यौं । आ–आफ्नो औषधि पसलहरुबाट उपलब्ध हुनसक्ने जे जति औषधिहरु छन्, जम्मा ग¥यौं । जिल्ला जनस्वास्थ्य कार्यालय तनहुँबाट हामीलाई केही थप औषधिहरु उपलब्ध भए । हाम्रो तयारीको दोस्रो दिनसम्म हामीसँग करिब चार लाखभन्दा बढीको औषधिहरु जम्मा भइसकेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाबाट अनुमतिपत्र लिएर हिंड्दासम्म हामीसँग तेह्र जना स्वास्थ्यकर्मीको उपस्थिति रह्यो । हामीलाई चितवनबाट कपिल खनाल र गोरखाबाट मसलिनी पुन साथ दिन आइपुग्नु भयो । दमौलीबाट आएका पत्रकार समुद्र पौडेल पनि केही दिन हामीसँगै साथमा रहने भए । ‘जागौ युवा नेपाल दमौलीका उत्साही साथीहरुले सङ्कलन गरेका त्रिपाल लगायतका लत्ताकपडाका राहत सामग्रीहरु पनि हामीलाई साथ दिएर पठाउनु भएको थियो । उहाँहरुले मिहिनेतपूर्वक सङ्कलन गर्नुभएको यो राहत पीडितसम्म पु¥याउने थप जिम्मेवारी अब हामीसँग थियो ।
१७ गते जिल्ला जनस्वास्थ्य, गोरखाको कार्यालयमा भएको कुराकानीअनुसार हामीले मकैसिं, ताङ्लिचोक र भुङलिचोक जानुपर्ने थियो । तर १८ गते अनुमतिपत्र लिन जनस्वास्थ्यको कार्यालय पुग्दा हामीले कार्यक्षेत्रलाई बदल्नु प¥यो । भूकम्पबाट सबैभन्दा बढी क्षतिग्रस्त र धेरै जनसङ्ख्या रहेको बुङकोट र नामजुङ गाविसमा स्वास्थ्य समस्याहरु बढ्न थालेको र यी गाविसहरु महामारीले छिटो प्रभावित हुनसक्ने भन्दै जनस्वास्थ्यले हामीलाई ती गाविसहरु जान सल्लाह दिए । केही थप जानकारी लिएर हामी त्यहाँबाट हिंड्यौं । साँझ हामी बुङकोट स्वास्थ्य चौकी पुग्दा त्यहाँका इन्चार्ज चन्द्रबहादुर सुनार र हरिमान बस्नेत हाम्रो प्रतीक्षामा थिए । राति नै हामीले भोलिको स्वास्थ्य शिविरको कार्यतालिका बनायौं । भूकम्पले क्षतिग्रस्त बनाएको गाउँहरुसम्म छिटोभन्दा छिटो स्वास्थ्य सेवाहरु पु¥याउनु अत्यावश्यक थियो । त्यसैले यो ठूलो टीमलाई एकै ठाउँमा केन्द्रित गर्नुभन्दा दुई ओटा टीम बनाएर दुई गाविसमा बाँडिनु ठीक हुन्छ भन्ने सल्लाह भयो । दुईटै गाविसलाई वडा र जनसङ्ख्याको हिसाबले पायक पर्ने गरी केन्द्रहरु तय ग¥यौं । केही स्थानीय स्वयंसेवकसहित मलगायतका छ जना स्वास्थ्यकर्मीहरु नामजुङ गाविस जाने भयौं । एउटा अर्को टीम बुङकोट गाविस रहने भयो । भोलिपल्ट बिहानै आवश्यक औषधिको बाँडफाँट मिलायौं । शिविरको कामलाई सजिलो र छिटो छरितो पार्न हामीले आ–आफ्नो कामको जिम्मेवारी लियौ“ । बिरामीको चाप बढ्न सक्ने सम्भावनालाई हेरेर छिटो प्रेस्क्रिप्सन गर्न सक्ने दुईजना साथीहरुले ओपिडीमा रहने, दुईजना डिस्पेन्सरीमा, एकजना रजिष्टरमा र म आँखा जाँच र काउन्सिलिङमा रहने भयौं । भूकम्पले छाडेको मनोवैज्ञानिक त्रास सबैतिर थियो । त्यसको लागि काउन्सिलिङ जरुरी थियो ।
ध्वस्त गाउँहरु
पुरै गाउँका गाउँ ध्वस्त छन् । कतै एउटै सग्ला र सुरक्षित घरहरु बाँकी छैनन् । जताततै राता पालहरु देखिन्छन् । सबै पालहरुमुनि छन् । सबै बारीमा छन् । बारीका पाटाहरुको गुजारा छ । दिउँसो चर्को घाम छ । पाल तात्छ । बस्न सकिँदैन । रुखका सियालसँग पनि उनीहरुलाई डर छ । छिनछिनमा भूकम्पका धक्काहरु चलिरहेछ । रुख ढलेर केटाकेटीहरुलाई किच्ला कि भन्ने उनीहरुलाई डर र त्रास अझै उस्तै छ । बेलुकी हावाहुरी चल्छ । र, पालहरु सोहोरेर उडाउँछ । अँध्यारोमा पानी र हुरीले फेरि उनीहरु उस्तै चुटिन्छन् । कता लखेटिने ? लखेटिएर ओत्ने ठाउँहरु छैनन् । भागेर कतै लुक्ने ठाउँहरु छैनन् । सबैका आँखामा अनिद्रा छ । आँखाहरु उदास छन् । सबैको मन भक्कानिएको छ । तर उनीहरु बाहिर भक्कानिएर रुन सकिरहेका छैनन् । उनीहरुसँग यतिबेला संवादका लागि रित्ता आँखाहरु छन् तर बोल्नका लागि ओंठहरु खुल्दैनन् ।
नामजुङ गाविसको माझीटार पुग्दा हामीलाई त्यहाँका दृश्यहरुले विचलित जस्तै बनायो । भूइँचालोले सबै घरहरु भग्नावशेष थिए । तल बुढीगण्डकी बगिरहेको छ । माथि टारमा भूइँचालोले भत्काएर गएका माझीटारका ध्वस्त घरहरु छन् । मैले भत्किएका घरका केही फोटाहरु लिएँ । एउटा घरछेउमा भेटिइन् फूलमाया माझी । छेउको भत्किएको घर उनको थियो । घर भत्किएर घाइते भएकी थिइन् । उदास थिइन् । आँखामा वेदना थियो । माझीटारका ७२ घरहरुमध्ये १७ घर माझी परिवारका थिए । पुरै ७२ घर परिवार विस्थापित थिए । माझीटारमा एकजना ६३ वर्षका हेमबहादुर थापाको मृत्यु भएको रहेछ । भूइँचालो आउनुअघि उनी बारीमा काम गरिरहेका थिए । बारीको काम सकेर खाना खाइवरी घरभित्र आराम गरेर बस्दा उनी घरले पुरिए । हेमबहादुर थापाको घरभन्दा ५०० मिटर परको दूरीमा एउटा पोखरेल परिवारको घर छ जहाँ एक सय वर्षका केशमाया पोखरेल पुरिंदा पुरिंदै निकालिइन् । नजिकै घरछेउमा मकै गोडिरहेका छोराबुहारीले आमामाथि घरको गारो खसिरहेको देखेछन् र दौडेर गएर तानेछन् । अगाडि कोपरा राखिदिए आफै दिसा गर्न सक्ने केशमाया पोखरेल ढाँडमा परेको चोटको कारण अहिले टुक्रुक्क बस्न सक्दिनन् र कपडामै दिसा गर्छिन् । उनी आँखा देख्दिनन् । उनी घाइते छन् भन्ने सुनेर म र समुद्र पौडेल उनको घरमा पुग्दा भूइँचालोले आधा भत्काएर बाँकी राखेको खरको छानो रहेको गोठको एउटा सियाँलमुनि आमैलाई सुताइएर राखिएको थियो ।
‘डाक्टर आउनु भाछ ।’ हामी आमैको आडैनिर बसेपछि बुहारीले अलि चर्को स्वरमा आमैले सुन्ने गरी बोलाइन् ।
‘हँ ?’ आमैले राम्ररी निधो पाइनन् ।
‘डाक्टर आउनु भाछ ।’ बुहारीले फेरि अलि चर्को स्वरमा भनिन् ।
‘हँ ? डाक्टर आउनु भाछ ? काँ ? यही आउनु भाछ ?’ सोधिन् ।
‘हजुर, तपाईंलाई जाँच्न आउनु भाको ।’
‘ए, … ।’ उनको प्रतिक्रिया थियो ।
शरीरको ढाँडमा परेको चोटको पीडाको कारण आमैले कसैलाई पनि शरीरमा छुन दिन्थिनन् । हामीसँग कुरा गर्दागर्दै उनी आफ्ना हातहरुले बिस्तारै आफैलाई सुम्सुम्याउँथिन् । हामीले चोट हेर्न खोज्दा उनले हामीलाई समेत छुन दिइनन् ।
हामीले एकैछिन आमैसँग कुराकानी ग¥यौं ।
‘९० सालको भूइँचालो जाँदा कहाँ हुनुहुन्थ्यो ?’ हामीले सोध्यौं ।
‘माइताँ थिँ । बिहा भा थेन । हामी भुरो, बारीतिर दगु¥यौं ।’
‘माइत काँ नि ?’
‘पोखरीडाँडा, खनालकी छोरी ।’
‘घराँ को को थे नि ?’
‘एउटा बहिरा भाइ थे अनि म । बाउ, आमा काममा गाथे ।’
‘गाउँमा भूइँचालोले केही भएन ?’
‘कहिले ? अहिले ? कि उहिले ?
‘उहिले । ९० सालाँ क्या ।
‘मरे नि । दुईजना मान्छे मरे । गाईबस्तु पनि मरे, पुरिएर ।’
‘अस्ति भूइँचालो जाँदा के गर्दै हुनुहुन्थ्यो नि ?’
‘बसिरा थे ।’
‘भूइँचालो गाको था पाउनु भो ?’
‘लगलग लगलग काम्यो । हल्लायो नि ।’ हातले पार लगाइन् ।
‘अनि भाग्नु भयो ?’
‘आमुई कहाँ भाग्न सक्नु नि । छोराबुहारी आएर ताने ।’
‘दुईदुई वटा भुइँचालोलाई भोग्नु भयो । कस्तो लाग्या छ त अहिले ?’
‘खै आँखा देख्दिनँ । धेरै बिगा¥यो भन्छन् । यस्तो भो, उस्तो भो हजुरआँ भनेर नातिनातिनाहरुले सुनाउँछन् । राम्ररी कान सुन्दिनँ । भेउ पाउन छाड्यो कानले ।’
आमैसँग भएका कुराकानीहरुलाई मैले आफूसँग भएको कापीका टुक्राहरुमा नोट गरिरहें ।
माझीटारबाट रामभञ्ज्याङको अर्को शिविरको लागि हामी फर्कदै गर्दा केही क्षणअघि गएको भूइँचालोबाट बारपाक उद्धार गर्न पैदल गएका २५ जना पहिरोमा परेर बेपत्ता भएको खबर समुद्रजीको मोबाइल मेसेजमा आयो । त्यो समाचारले हामी हिंडिरहेको पहरोको मोटरका ती साँघुरा कच्ची बाटाहरुले हामीलाई एकपल्ट झस्कायो ।
हामी जहाँ पुग्छौं, यी र यस्ता भग्नावशेषहरुले मनलाई भावुक बनाउँछ । यी ध्वस्त गाउँहरुसँग यतिबेला चिसा सुस्केरा र मेलोमेसो हराएका रित्ता आँखाहरुबाहेक केही छैनन् । फेरि पनि यी केही दिनहरु हामी उनीहरुसँगै छौं । यी औषधिहरुले पुरिने घाउहरु पक्कै होइनन् । तर पनि उनीहरुको माझमा बसेर एकैछिन हामी उनीहरुका दुखिरहेका मनहरुलाई सुम्सुम्याउन सक्छौं । यतिबेला मन थाम्न नसकिने यी चोटहरु उनीहरुको मात्रै होइन, मेरो पनि हो । हामी सबैको हो । देशभरिको हो । कहीं न कहीं हामी सबै यतिबेला दुखिरहेका छौं, रोइरहेका छौं ।
जताततै स्कुलका भवनहरु पूर्णरुपले क्षतिग्रस्त छन् । यो क्षतिग्रस्त भग्नावशेषहरुलाई हेर्दा एकमनले यो भूकम्पले हामीलाई खबरदारी मात्रै दिएर गएको हो कि भनेझैं पनि लाग्ने । स्वास्थ्य शिविरको हाम्रो टीम नामजुङको आहालडाँडा (चिहानडाँडा पनि भनिँदो रै’छ यस गाउँलाई) मा रहेको श्री सरस्वती निमावि पुग्दा शिविरमा एकजना ८४ वर्षका वृद्ध भेटिए, पिताम्बर लामिछाने । भूइँचालोले उनको घर पनि पूरै भत्किएको थियो । उनी भन्दै थिए– ‘यो भूइँचालोले सबैलाई दुःख त पा¥यो । तर हामी सबैलाई जोगाएर गयो पनि ।’ उनले भत्किएको स्कुलतिर देखाएर फेरि भने– ‘शनिबारको बिदा नपरेको भए हाम्रा केटाकेटीहरु एउटै जोगिने रैनछ । सबैको यो ढुङ्गामाटोमुनि एउटै चिहान हुन्थ्यो । यो गाउँ साँच्चै चिहानडाँडा बन्थ्यो । यो गाउँमा रुवावासी चल्थ्यो ।’
यो विपत्तिले मान्छेहरुलाई एउटा चित्त बुझाउने ठाउँचाहि“ दिएर गएछ । साँच्चै ! त्यो शनिबारको दिन नभइदिएको भए ? त्यो भूइँचालो रातको बेला आइदिएको भए ? सायद कल्पना गर्नै नसक्ने क्षतिहरुलाई हामीले अहिले भोगिरहेका हुन्थ्यौ“ होला ।
‘बाबुहरुले खाना खानु भाथ्यो कि भाथेन कुन्नि ?’ आहालडाँडाको यो अग्लो पहाडको टुप्पामा पनि स्कुलको चौतारोले छेक्न नसकेको दिउँसोको गर्मीको हपहपी खेप्दै बिहानैदेखि बिरामी जाँच्दै गरिरहेको हामीलाई हेरिरहेका एकजना वृद्धले हामीसँग भने– ‘बाबुहरुका लागि खाजा बनाउन लगाउँ कि ?’
आफै बिपत्तिमा रहेका बेलामा पनि अतिथि सत्कारलाई नबिर्सिएका यी वृद्धका कुराले हामीलाई कृतज्ञ बनायो । ‘अतिथि देवो भवः’ यही नै त गाउँको जीवन रहेछ । गाउँसँग रहेको आफ्नो निजत्व । गाउँसँग बाँकी रहेको जिउँदोपना ।
बुङकोट गाविसको खाब्दीभञ्ज्याङ, मास्कीछाप, तिवारीगाउँ, ओयाक, भञ्ज्याङ, काउलेभङ्गार, लाँकुरीभञ्ज्याङ र नामजुङ गाविसको माझीटार, रामभञ्ज्याङ, आहालडाँडा, बँदेलीडाँडालाई केन्द्र बनाएर हामीले ती ठाउँहरुमा पाँच दिनको स्वास्थ्य शिविरका कार्यक्रमहरु सञ्चालन ग¥यौं । अधिकांश बिरामीमा रक्तचाप बढेको थियो । सबै मानसिक रुपमा विक्षिप्त थिए । भूइँचालोले मनोवैज्ञानिक असर छोडेर गएको छ । बच्चा केटाकेटीहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र आँखाका समस्याहरु देखिन्थ्यो । छिनछिनमा गइरहेका भूइँचालोका साना ठूला धक्काहरुले उनीहरु अझै त्रसित थिए । आतङ्कित देखिन्थे ।
‘अस्तिको भन्दा नि ठूलो भूइँचालो आउँछ रे नि हो बाबु ?’ कोहीकोही हामीसँग सोधिरहेका हुन्थे ।
यस्तो सङ्कटको बेलामा पनि आफ्ना जनप्रतिनिधिहरु गाउँ नआउँदा भने दुखेसो गरिरहेका थिए स्थानीय गाउँलेहरु । आफ्नै नेताहरुप्रति पनि अब विश्वास र भरोसा रहेन उनीहरुलाई । गाउँ गाउँमा राहतका सामग्रीहरु खोसिन सुरू भएको छ । यसले ओल्लो पल्लो गाउँकै बीचमा एकअर्कासँग अविश्वास र आशङ्काहरु बढाएको छ । यस्ता असहिष्णुपूर्ण कार्यहरुले हामीलाई बलियो बनाउँछ कि कमजोर ? यसले हामीलाई जुट्न सिकाउँछ कि लुट्न ?
बुङकोट गाविसको लाँकुरीभञ्ज्याङ पुग्दा स्थानीय पीडितहरुले हामीसँग भने– ‘यो राहतको एक पाथी चामल थापेर हामीले कहिलेसम्म बारीका पाटाहरुमा त्रिपाल हालेर सुत्ने ? बरू सरकारले हामीलाई केही जस्तापाता उपलब्ध गराइदिए हुने थियो ।’
सायद लाँकुरीभञ्ज्याङका स्थानीय पीडितहरुले माग गरेजस्तै उनीहरुको बासको पुनर्स्थापनाको लागि यो उत्तम उपाय हुने थियो होला । तर अघि लाँकुरीभञ्ज्याङ आउँदै गर्दा बाटोमा देखिएको एउटा दृश्यले भने मेरो मनलाई अलिनु बनाइरहेको थियो । आफ्नो घरको आँगनमा खेल्दै गरिरहेको आठदश वर्ष उमेरका तीनजना केटाहरु हाम्रो जिपलाई देखेपछि सडकमा ओर्लिएर ‘पख, पख’ भन्दै हात उठाएर हामीलाई रोक्दै थिए । यस्ता गाडीहरुले गाउँमा उनीहरुका लागि केही न केही बोकेर बाँड्न ल्याइरहेको छ र उनीहरुले माग्नुपर्छ भन्ने एउटा मनोविज्ञान उनीहरुभित्र यी केही दिनहरुले हुर्काइसकेको थियो । बिहानको एउटा यस्तै दृश्यलाई फेरि यहाँ मैले सम्झेँ । हामी शिविरको लागि औषधि लिएर खाब्दीभञ्ज्याङमा एकछिन रोकिँदै गर्दा एउटा भद्रजस्तो देखिने प्रौढ उमेरको मान्छे हातमा कापी च्यापेर हामीतिर दौड्दै आइपुगे र गाडीको झ्यालबाट चियाएर हामीसँग सोधे– ‘तपाईंहरुले के ल्याउनु भएको छ ?’
हामी उनको त्यो व्यवहारले दङ्ग प¥यौं । उसकै अघिल्तिर रहेको निःशुल्क स्वास्थ्य शिविर लेखिएको त्यो ब्यानरलाई पनि उसले ख्याल गरेको थिएन । र, हामी उनलाई भन्न बाध्य पो थियौँ – ‘हामी स्वास्थ्य शिविरका लागि आएका हौं ।’
‘ए,..।’ भनेर उनी पन्छिए ।
यस्ता बिझाउने दृश्यहरु पनि हामीसँग रहे ।
जनमत, २०७२