सुष्मा रानाहँमाका दुई कविता

WhatsApp Image 2025 11 03 at 6.37.00 PM

‘आमाको तासफोटो’ (२०७७) कविता सङ्ग्रहमार्फत् काव्यिक फाँटमा आफ्नो बलियो उपस्थिति लिएर देखिनु भएका कवि सुष्मा रानाहँमा (जन्मः २०४९, खोटाङ) का कविताहरु बिम्बका दृष्टिले सरल शब्दहरुमा सबल र सशक्त देखिन्छन् । उहाँका कविताहरु सीमान्तकृत र आफ्नै भूमिबाट पहिचान गुमाउन बाध्य धार्मिक र सांस्कृतिक रुपमा एकात्मक राज्यसत्ताले उत्पीडनमा पारेका नागरिकहरुको इतर आवाज हुन् । उहाँको शब्दमा, ‘लाग्छ कि समय, चेतना, भावना, विचार, प्रेम, वेदना, विद्रोह, मिथ–बिम्बहरुलाई सबैभन्दा उत्तम, सटिक तर कविले बोल्ने मौलिक भाषा हो – कविता ।

यहाँ कवि सुष्मा रानाहँमाको आमाको तासफोटो कवितासङ्ग्रहबाट दुई ओटा कविताहरु प्रस्तुत गरिएको छ ।

हजुरआमाको ठेलागाडा

साँझ नछिप्पिँदै
गल्लीका कुनाहरुमा मधुरा बत्तीहरु बल्छन्
बूढी हजुरआमा सदा झैं
ठेला धकेल्दै आइपुग्छिन् यो बाटोमा

उमेरजस्तै ओइलिँदै गएका
फर्सीका मुण्टाहरु
सखरखण्डका पातहरु
फिँजाएर बाटोको छेउ
ग्राहक कुर्न थाल्छिन् हजुरआमा

आफै ओहोरदोहोर गरिरहन्छजस्तो यो बाटो
हजुरआमाको पसल नाघेरै हिँड्छन् मान्छेहरु
साँघुरो भएको छ यो बाटो

हजुरआमा डुब्न लागेको घाम हुन्
डुब्न लागेको घामको साथी अँध्यारो साँझ हो
हजुरआमाको दौतरी यही अँध्यारो साँझ
र यिनै ओइलाएका सागपात हुन्

बिस्तारै बिस्तारै जब
नोरेबाङका बत्तीहरु बल्न थाल्छन्
‘सिक्ताङ’का कुर्सी चकटीहरु भरिँदै जान्छन्
‘सेभेनइलेबेन’बाट प्याकेटका प्याकेट चुरोट बिक्री भइरहेछ
चुरोटमा बिक्री भइरहेको छ जिन्दगी
‘लोट्टो’ काट्ने हुलले भरिँदै छ ‘फ्यन्ह्युजम’
कसले किनोस् फर्सीका मुण्टाहरु,
सखरखण्डका पातहरु ?

जस्ताको त्यस्तै छ हजुरआमाको पसल
आशाहरु उमेरका धर्साहरुजस्तै
खुम्चाएर सब्जीका मुठाहरुलाई ठेलामा
पुनः ठेला गुडाउँदै
छेवैको जेब्राक्रस काटेर अब
परपर पुगिसक्छिन् हजुरआमा

चाङमाथि फैलिएको फर्सीको लहराजस्तो
सम्पन्नताको ‘फरेनहाइट’ नाघे पनि
चाङमुनि पहेँलिएका सागजस्तै नागरिकहरुलाई
सायदै देख्नेछ कोरियाले
हजुरआमालाई जस्तै

बाटो, चोक, गल्लीहरुमा
हरेक साँझ हजुरआमाको ठेला यसरी नै गुडिरहन्छ
लाग्छ उनीहरुको यो ठेलागाडाले
मृत्युको भिख मागिरहेछ ।
०००

  • ‘सिक्ताङ’ – रेष्टुरेण्ट
  • ‘फ्यन्ह्युजम’ – चौबीस घण्टा खुल्ला रहने सानो पसल
WhatsApp Image 2025 11 03 at 6.36.59 PM

आदिवासी

आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म

म रुँदा मलाई फकाउन
आपाले बजाएको बिनायोको धुन
त्यही धुनमा झुल्दै हुर्किएकी हुँ म
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म

कसरी भुल्न सक्छु ती सम्पैसप्पै
भुल्न सक्दिनँ मेरो भूमि
माया मार्न सक्दिनँ तीन चुला
मेरो माया
मेरो कसम
र मेरा अभिलेखहरु
भोलि मेरै सङ्ग्रहालयमा भेटिऊन्
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म

कसले चुँडाउन खोज्दै छ तानको धागो ?
र कसले च्यात्न खोज्दै छ बोजुले बुनेको ‘फेङ्गा’ ?
कसले मेट्न खोज्दै छ मेरो ‘मुन्दुम’ ?
र कसले मार्न खोज्दै छ मेरो लयदार भाषा ?
अहो ! मेरो साकेला
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म

चिम्सा आँखाभरि फैलिएको आकाश
थेप्चो नाकले सुँघिरहेको लोकगीतको बतास
नाङ्गा पाइतालाले डोब कोर्दै आएको रगताम्य इतिहास
मेरो चेतनाको ढोलझ्याम्टा मसँगै छ
ढोलझ्याम्टाले बोलाउने उँधौली र उँभौली छ
मेरा पुर्खाहरुको ताजा सम्झना छ
अझ मुख्य कुरा
मेरी आमाले बुन्दै गरेको तानमा टाँगिएको
सग्लो फूलबुट्टा छ
फूलबुट्टामा सग्लो स्वतन्त्रता छ

किनभने
आमाले तान बुन्दाबुन्दै जन्मिएकी हुँ म
चोमोलुङमाको हिउँसँग खेल्दै हुर्किएकी हुँ म
आदिवासी हुँ म ।
०००

  • ‘तीन चुला’ – किरात राई जातिमा तीन चुला नै सबथोक हो । जन्मदेखि मृत्युसम्मका सबै जीवनकर्महरु तीन चुलामै सम्पन्न गरिन्छ ।
  • ‘फेङ्गा’ – जुवारीकोट
  • ‘मुन्दुम’ – किरात राई जातिको संस्कार, संस्कृति । जीवन पद्धति । दर्शनशास्त्र

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these