सरस्वती प्रतीक्षाका दुई कविता

WhatsApp Image 2026 07 24 at 4.04.14 PM 2

सरस्वती प्रतीक्षा नेपाली साहित्यमा एक सुपरिचित नाम हो । पोखरालाई आफ्नो कर्म र सिर्जना थलो बनाएर उहाँ साहित्य सिर्जनामा निरन्तर यात्रारत हुनुहुन्छ । उहाँको लेखन यात्रा कविताबाट शुरु भएको हो । ‘यद्यपि प्रश्नहरु’ (२०६२), ‘बिम्बहरुको कठघरा’ (२०६६) र ‘बागी सारङ्गी’ (२०६९) उहाँका प्रकाशित कविता कृतिहरु हुन्, जसले नेपाली काव्य क्षेत्रमा उहाँलाई शसक्त कविका रुपमा स्थापित गरिदिएका छन् । उहाँ पछिल्लो समय उपन्यास लेखनमा व्यस्त देखिनु हुन्छ । ‘नथिया’ (२०७४) र ‘स्व’ (२०८१) उहाँका दुई प्रकाशित उपन्यास हुन् ।

उहाँ ‘गणेश तथा हस्तकुमारी स्मृति पुरस्कार’ (२०६६), ‘भूपि स्मृति पुरस्कार’ (२०६९), ‘पहिचान पुरस्कार’ (२०७५), ‘गण्डकी प्रज्ञा नारी सम्मान’ (२०८१) र ‘कुन्तीदेवी साहित्य पुरस्कार’(२०८१) बाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

यहाँ उहाँको ‘बागी सारङ्गी’ कवितासङ्ग्रहमा रहेको दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।

कविको अज्ञात चिहान

मध्यरातमा
एउटा कविको
अज्ञात चिहानले बोलाइरहे झैं लाग्छ मलाई ।

तपाईं पत्याउनुस, नपत्याउनुस् ।
मध्यरातमा
मलाईं बाडुली लाग्छ – क्रोधित झिल्का र फिलिङ्गाहरुको
मलाईं बाडुली लाग्छ – आग्नेय खोपडीहरुको
मलाईं बाडुली लाग्छ – विचार, विचार र विचारहरुको ।

त्यो कवि
जो ज्ञात छ तर अज्ञात छ उसको चिहान
सुनेकी छु–
उसलाई आफ्नो चिहान आफै खन्न
लगाएका थिए रे जल्लादहरुले
जलाएर उसका सबै किताबहरु
खरानी महोत्सव मनाएका थिए रे आततायीहरुले
र बीच सडकमै
उसको नाङ्गो छातीमा गोली ठोकेका थिए रे
बर्बरताका हिमायतीहरुले

उसको बीभत्स हत्या
धेरैले देखेका थिए रे आफ्नै आँखा अगाडि
तर कहाँ लगियो उसको लास ?
अझै पनि अज्ञात नै छ रे उसको लासको कथा
कहाँ गाडियो उसलाई
र कहाँ छ उसको चिहान ?
अझै पनि अज्ञात नै छ रे उसको चिहानको कथा !

चिहान
मृत्युको गीत मात्र गाउँदैनरहेछ
चिहान
अजम्मरी मृत्युको क्यानभासमाथि टेकेर
जीवनको पक्षमा वकालत पनि गर्दोरहेछ
मुक्तिको पक्षमा
नयाँ नयाँ मुक्तिगानहरु पनि आविस्कार गर्दोरहेछ

थाहा छैन
मध्यरातमा किन बोलाउँछ मलाई
कविको अज्ञात चिहानले सधैंसधैं ?
मेरो चेतनाको आकाशमा
किन नक्षत्रहरु
प्रश्न मात्रै गर्न मन पराउँछन् अचेल ?
मलाई थाहा छैन धेरै कुरा
तर
पक्कै पनि थाहा छ एउटा कुरा
त्यसै खेर जाने छैन
उसको सोच र सङ्घर्षको रक्तआख्यान !
त्यो बिद्रोह र वगावतको जब्बरआख्यान !!

आजकल
आफ्नै मस्तिष्क निचोरेर
म बिद्रोही फूलका बेर्नाहरुमा पानी हालिरहेछु
किनभने
मलाई चढाउनु छ फूल
मेरो प्रिय कविको चिहानमा

मध्यरातमा
मेरो प्रिय कविको
अज्ञात चिहानले बोलाइरहे झै लाग्छ मलाई
(प्रसिद्ध कवि गार्सिया लोर्कामा सपर्पित)
०००

bagi sarangi

अनुत्तरित प्रश्न

उल्टो पाइताला हिँड्नेहरुले
कोरेको मार्गचित्र कसरी सुल्टो हुनसक्छ ?
मिलाइएका हातहरुमा पनि फुटको गुजुल्टो हुनसक्छ
अहो !
यता बाढी
उता त्यो पारीको पहिरो हुनसक्छ
काँचका मगज हुनेहरुले चलाइरहेछन् देश
त्यो देश कसरी बलियो हुनसक्छ ?
०००

About the Author

2 thoughts on “सरस्वती प्रतीक्षाका दुई कविता

  1. सरस्वती प्रतीक्षा अलग्गै वैचारिकतासम्पन्न विशिष्ट व्यक्तित्व हुनुहुन्छ । उहाँका कवितामा समाज दर्शन छ । समाजका व्यथाकथालाई मन पराउँदो अन्दाजमा पाठक समक्ष पुर्‍याउने अभूतपूर्व कला कविमा छ । सरस्वती प्रतीक्षाका कविताहरू नौलो मुक्ति पथ दर्शाउन सदैव तत्पर रहेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these