मातृका पोखरेल(२०२३, असार ९) समकालीन नेपाली प्रगतिवादी साहित्यको क्षेत्रमा एक सशक्त र प्रभावशाली नाम हो । नेपाली साहित्यमा उहाँको कविता र कथामा सशक्त उपस्थिति रहेको छ । यस बाहेक उहाँको फुटकर रुपमा निबन्ध र समालोचनात्क रचनाहरु पनि प्रकाशित रहेका छन् । ‘वेदना’, ‘अमरज्योति’ लगायत विभिन्न साहित्यिक पत्रिकाहरु उहाँले सम्पादन गनुभएको छ । उहाँको हालसम्म ‘सेता दरबारको छेउबाट’(कवितासङ्ग्रह,२०५७), ‘यात्राको एउटा दृश्य’( कवितासङ्ग्रह, २०६०), ‘अनुहारहरु(कवितासङ्ग्रह, २०६४), सन्त्रस्त आँखाहरु (कथासङ्ग्रह, २०६१) र मित्रताको आकाश’(कथासङ्ग्रह, २०७६) प्रकाशित छन् ।
‘शब्दलाई संवेदनामा मुछेर कवितालाई आकार दिने मातृका त्यही कविताको कोदालीले विचारको भूमिलाई कोट्याउँदै अग्रगामी चेतनाको सयपत्री रोप्न सक्रिय छन् । कथ्य अनुरुप ललित र कठोर शब्दहरुको चयन गरी सहज कलात्मक सञ्जालमा तिनलाई ओछ्याएर कुरुपताको भेदन र अग्रगामी यथार्थको उद्घाटन उनका कवितारचनाको आधारशिला हो ।’ डा. ताराकान्त पाण्डेय लेख्छन् ।
उहाँले २०६४ सालमा अनुहारहरु कवितासङ्ग्रहका लागि काजी रोशन पाण्डुलिपि पुरस्कार प्राप्त गर्नु भएको थियो भने प्रलेस पुरस्कारबाट पुरस्कृत र सम्मानित भइसक्नुभएको छ ।
यहाँ उहाँको ‘यात्राको एउटा दृश्य’ कवितासङ्ग्रहबाट दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।
प्रिय मान्छेका गीतहरु
मैले धेरै गीतहरु सुनें
मान्छेहरुका गीत
त्यतिमात्र सुनिनँ
मान्छेले मान्छेलाई सिनो बनाएर
खानेहरुको गीत
मैले धेरै गीतहरु सुनेँ
सुनेका गीतहरुमा खोजें
मेरा प्रिय निष्ठाका गीतहरु
तर थोरै भेटें
मेरा प्रिय गीतहरु
अलिकति पानाहरुमा भेटें
प्रिय मान्छेका गीतहरु
धेरै धेरै सोचें
किन लेखिए ?
यति धेरै किताबहरुमा
मान्छे खाने मान्छेका गीतहरु
मलाई निष्ठाका गीतहरु गाउन मन लाग्यो
र आक्राशित भएर गाएँ
आस्थाका गीतहरु
मेरा प्रिय मान्छेका गीतहरु
जङ्गलका गीतहरु भन्दा पनि
किन लेखिए किताबहरुमा
त्यति नराम्रा मान्छेका गीतहरु
ती गीतहरुभन्दा
कति राम्रा छन् खेतबारीका गीतहरु
दानापानीका निम्ति
विवेक स्खलित गर्नेहरुका
टाँसिए तस्बिरहरु
भित्ताहरुमा
चोकहरुमा
म कसरी सहन्छु ?
र मैले गाएँ
असल मान्छेका गीतहरु
प्रिय मान्छेका गीतहरु
त्यति धेरै किताबहरुमा
यदि उसले खराब मान्छेका
गीतहरु नगाएको भए
म यो गीत किन गाउँथें ?
तर सहरका चोकहरुमा
बैठकका भित्ताहरुमा
बस्तीका सिरानहरुमा
मान्छे खाने मान्छेका गीतहरु लेखिए
तस्बिरहरु टाँगिए
अब मैले लेख्नैपर्छ
असल मान्छेका गीतहरु
प्रिय मान्छेका गीतहरु
०००

यात्राको एउटा दृश्य
हिजै मात्र
हामीलाई बाटो देखाएर
सिंहदरबार पसेपछि
एउटा यात्रामा थाकेर
भर्खरै मात्र उनीहरु
टुकुचाको पानी पिउँदै पिउँदै
दरबारमार्गको बाटो
उत्तरतिर लागेपछि
उनीहरुकै कारणले
इतिहासमा फेरि एकपटक
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।
बितेका केही वर्ष
गद्दारीको बाली राम्रैसित फल्यो
बाली भित्र्याउनेहरु
दरबारतिर खेताला भित्र्याइरहेछन्
जनताको आँसुमा सर्वत घोल्दै
मान्छेको जिब्रो र गिदीलाई परिकार बनाएर
उनीहरु भोज लगाइरहेछन्
कमलपित्तको रोगीझैं पहेलिएर
हिजोका मेरा सहयात्रीहरु
त्यही भोजमा सामेल हुँदै
मुर्दा हाँसो हाँसिरहेछन्
गत वर्ष
गद्दारीको बाली राम्रैसित फल्यो
उनीहरुले भखैरै मात्र
हाम्रो विवेकलाई धरौटी राखेर
कालो स्वार्थको भ¥याङ चढेपछि
हाम्रो विश्वासको छातीमा
तिखो छुरी रोपेपछि
यसपटक
उनीहरुकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं ।
मलाई अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
आफ्नो टाउको पैसामा साट्न
पसल थापिरहेका हिजोका नातेदारहरु
भेटिन्छन् बाटामा
मर्न लागेकासँग
अलिकति बोल्न
अलिकति हाँस्न
कति गाह्रो छ
मलाई अचेलभरि
दरबारमार्गको बाटो हिँड्न मन लाग्दैन
हाम्रो मीठो सपनालाई
बलात्कार गरेर
भर्खरै मात्र
कमलपित्तका रोगीहरु
दरबारमार्गको बाटो
उत्तरतिर लागेका छन्
यसपटक
उनीहरुकै कारण
ठेस लागेको घाउ हेर्दै
हामी यात्रामा अलिकति रोकियौं
०००