अभय श्रेष्ठका दुई कविता

WhatsApp Image 2025 06 24 at 13.12.28 bd8ae552

अभय श्रेष्ठ (जन्मः २०२८, भाद्र २५) नेपाली कविताको फाँटमा चर्चित र स्थापित नाम हो । आफ्ना समकालीन कविहरुका माझमा उहाँ एक बलशाली कवि हुनुहुन्छ । एकताका चंकी श्रेष्ठको नामबाट कविता लेख्नु हुने उहाँ पछिल्लो समय अभय श्रेष्ठको नामबाट आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहनु भएको छ । विद्रोही स्वभाव र चरित्र उहाँका कविताहरुको गुण हो । उहाँका कविताहरुमा दलितहरुको आवाज पाइन्छ । दलनमा बाँचिरहेकाहरुप्रति सहानुभूति र शासकहरुप्रति घृणाभाव र कटाक्ष पाइन्छ । उहाँका कविताहरु मानवद्वेषी राज्य व्यवस्थाका प्रतिरोधी छन् । त्यसैले सत्ता र शासकहरुका लागि उहाँका कविताहरु अवगुणी छन् । उहाँ साहित्य र पत्रकारिता दुवै क्षेत्रमा उत्तिकै क्रियाशील हुनुहुन्छ ।

उहाँका हालसम्म ‘फूलविनाका शाखा’ (गजलसङ्ग्रह, २०६०), ‘कायाकल्प’ (कवितासङ्ग्रह,२०६२), ‘तेस्रो किनारा’ (कथासङ्ग्रह, २०६८) र ‘लहना र तीर (कवितासङ्ग्रह, २०८०) कृतिहरु प्रकाशित छन् ।

उहाँ ‘राष्ट्रिय गजल सम्मान’ (२०५७), आमसञ्चारमा साहित्यिक पत्रकारिता सम्मान’ (२०६०), ‘प्रज्ञा कथा पुरस्कार’ (२०६१), ‘गरिमा उत्कृष्ट गद्य सम्मान’ (२०६९), ‘बालकुमारी रिसाल पत्रकारिता सम्मान’ (२०७५) लगायतका पुरस्कारहरुबाट सम्मानित र पुरस्कृत भइसक्नु भएको छ ।

यहाँ उहाँका ‘लहना र तीर’ कवितासङ्ग्रहबाट दुई ओटा कविताहरुलाई प्रस्तुत गरिएको छ

वादी युवतीको घोषणा

खाडीजस्तो
जिन्दगीको अघोर अन्धकारबाट उठेर
उज्यालो बिहानीलाई चिहाउँदै
एउटी वदिनीले घोषणा गरी–
‘अब म मिल्काउँछु
सभ्यताको यो असभ्य परिधान
र, देखाउँछु पातालजस्तो दुःख संसारलाई !

छाती ! मान यो छाती हो
काठमाडौंको नाभीमा फैलिएको टुँडिखेल
जहाँ मानिसहरु खेल्छन् अनेक खेल
यी सुन्तले ओठका केस्रामा
दाँतका सहस्र डोबहरु हेर
आकाशमा सहस्र ताराझैं मेरो स्तनका
अनगिन्ती घाउहरु हेर
मानौं क्रूर नदीको भेलले चुटेर गएको
बगर हो यो
यो पिठ्युँ, यी पाखुरा
नीलकमलझैं यी घुँडा र तिघ्राका निलडामहरु हेर ।

भन्न सक्छु म
प्रेमले भरिएको मेरो आत्मामाथि
क–कसले गरे प्रहार
ज–जसले गरे बलात्कार
ती सम्मानित साहेब रहिरहे
मेरो कोखमा जन्मेका तिनकै सन्तति
अछुत र आत्महीन वादी भइरहे
मेरो आँसु, भोक र आत्महीनताको
रुजु नभएको यो हिसाब किताबलाई हेर ।

म पनि गर्न सक्छु प्रतिकार
आँसुले पनि लगाउन सक्छ आगो
बाँसको तामाजस्ती मेरी छोरीको शिरमाथि
बिसाउन दिन्नँ
अब कुनै अभिशापको भारी
सुन्न चाहन्नँ उसको गलाबाट
शोकधुनजस्तो चित्कार
प्रकृतिको विलक्षण रुपजस्तो
उसको शरीरको मालिक ऊ आफैं हो
तोड्न दिन्नँ कसैलाई
उसको शरीरको गोप्य खजानाको सन्दुक
जो केवल उसकै मर्जीमा खुल्छ ।

सुन, घामजतिकै
परदर्शी झुट बोल्ने समानित भद्रभलाद्मीहरु
सुन, यो बतासे दुनियाँलाई
नरकको डर देखाएर
महान् भएका
पुजारी, मौलवी, पादरीहरु
सुन, सर्पघुम्तीजस्ता घुमाउरो भाषा लेख्ने
फूलबुट्टे झुटा कविहरु
महान् नेता
कार्यकर्ता
नायिका
सम्पादक
व्किल
न्यायाधिश
प्रधानमन्त्री
मन्त्री
प्रशासक, नाफाखोर
र, सम्मानित तस्करहरु
सुन, सुन
संसारका सारा मानिसहरु सुन ।’

खाडीजस्तो
जिन्दगीको अघोर अन्धकारबाट उठेर
उज्यालो बिहानीलाई चिहाउँदै
एउटी वदिनीले घोषण गरी–
अब म असुल्छु पहिरो लागेको लेकझैं
बर्बाद जिन्दगीको मूल्य
र, नाङ्गिन्छु यो सार्वजनिक सभामा
जहाँ घामका करोडौं धर्का किरणजस्तै
देखिनेछन् मेरा दुःखहरु
र, जहाँ
मेरो शरीरसँगै
नाङ्गिनेछ यो व्यवस्था ।
०००

WhatsApp Image 2025 06 24 at 08.19.45 c568f0b9

‘अछुत’को प्रेमगीत

म छु वारि भिरमाथि
डाँडाको बतासजस्तै टाढा छ मेरो माया

जसरी पुरानो भित्तामा चल्छ
खिया लागेको पुरानो घडी
ठिक त्यसरी नै चल्छ
नयाँ संविधानमा सत्ताको रथ
त्यसरी नै तिम्रो नजरमा
म अझै पिँढीभन्दा तल
करजोरी गरिरहने उही पुरानै अछुत हुन्छु ।

हार्नेहरुको वीरताझै मेटिन्छ
त्यहाँ मेरो आँसु, पसिना र रगतको इतिहास ।

प्रेम त उन्मुक्त आकाश हो
जहाँ कुनै भित्ता हुँदैन
एक बारको अमूल्य जुनीकै जोखिममा
रोजेको हुँ मैले एक सवर्ण युवतीको प्यार
तर, हरेकपटक प्रेमको आलिङ्गनमा
मेरो कलेजाको मध्य भागमा रोपिन्छ जातको खञ्जर ।
यो देशको सर्वोच्च विधान
रगतले सिंचेको यो भूमि
इो घाम, यी जूनतारा
बतास र रुखपातले पनि
युगमाथि तर्जनी औंला ठड्याइसके ।

तर, भोरको मन्द हावाझैं
मेरो हृदयमा नित्य ठोकिएको
प्रेमको जवाफमा
किन रोकिन्छ मलाई प्रेमनगरको प्रवेशद्वारमा ?

म प्रेमको अतुल गहिराइमा
बोल्छु मौन भाषा
त्यसलाई तिमी तरबारले थुन्छौ
जवाफमा वाचाल छ मेरो मौन
जलाएर धर्मशास्त्रका पाना र उद्धरणहरु
छाड्नु छ मैले यहाँ पवित्र प्रेमको डोब
दिनु छ युगलाई प्रेमको भाषामा
एउटा बाफिलो जवाफ
यो देश सबैको फूलबारी हो भने
मत्स्यवेधको प्रवेशद्वारमा तोड्नु छ मैले निषेधाज्ञा ।

म पनि त चाहन्छु
यो दुःखी दुनियाँमा नचलोस् आँधीहुरी
मेरो पवित्र प्यारको आकाङ्क्षामा
नखलबलियोस् कुनै रुखको जरा
नलागोस् कुनै वनमा डडेलो
तर, दुनियाँमा कैयन् यस्ता कुरा छन्
जसलाई नजलाए
यहाँ धेरैले जिउँदै जल्नुपर्छ ।

म छु वारि भिरमाथि
पिँजराको बुलबुलझैं टाढा छ मेरो माया ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these