एक सवेरा था
जब हँसकर उठते थे हम,
और आज कई बार बिना मुस्कुराये
ही शाम हो जाती है ।
कितने दूर निकल गए
रिश्तों को निभाते निभाते,
खुद को खो दिया हम ने
अपनों को पाते पाते ।
लोग केहते है
हम मुस्कुराते बहुत है,
और हम थक गए
दर्द छुपाते छुपाते ।
‘ख्वाहिसे’ हरिवंशराय बच्चन
कयौं रातहरु मैले निर्मलासँगै व्यग्रताले व्यतित गरेको छु । एउटा छटपटी हुन्थ्यो मनभरि । उनका आँसु मेरा पनि आँसु बन्थे । उनी एकोहोरिएर टोल्हाइरहँदा मेरो मनमा शुन्यता छाउँथ्यो । उनको अनुहारमा उनी खुशी भएको अलिकति भाव पोखिँदा पनि म आफूभित्र खुसीको एउटा काउकुति महसुस गर्थे । एउटा उत्साहहीन साँझको एकान्तले सधैं उनलाई लखेटिरहन्थ्यो । र, मलाई ती एकान्तले लखेटिरहेका उनका आँखाहरुले सधैं व्यथित बनाउँथ्यो । यतिधेरै उकुसमुकुस, यतिधेरै बेचैनी र गहिरो वेदनाले भरिएर एउटी सामान्य स्वास्नीमान्छे कसरी यो समाजको निरङ्कुशता र आफ्नो एउटा बेमेल परिवारको सम्बन्धलाई सजिलै झेल्न सक्छे हँ ! मेरो मन व्याकुल छ ।
मुंसी प्रेमचन्द कृत ‘निर्मला’ उपन्यासको सान्निध्यमा केहीदिनदेखि बितेका मेरा पठन अनुभूतिका यी जीवन्त क्षणहरु हुन् । निर्मलालाई पढिसकेपछि धेरै प्रश्नहरु मनमा यसरी नै विवश भएर खेल्न आइपुग्छन् ।
सोचा था घर बना कर
बैठुंगा सुकून से,
पर घर की जरूरतों ने
मुसाफिर बना डाला मुझे ।
सायद कवि हरिवंशराय बच्चनले आफ्ना कविताका यी पङ्क्तिहरु निर्मलाकै लागि लेखिदिएझैं लाग्छ ।
साँच्चै भन्ने हो भने प्रेमचन्दलाई पढ्नुभन्दा अघि मैले हिन्दी साहित्यमा गुलसन नन्दा, रानु, सुरज र वेदप्रकाशहरुलाई खुब पढें । रानु र गुलसन नन्दाहरुकै रोमान्टिक उपन्यासहरु पढेर मैले हिन्दी साहित्यलाई पढ्न सुरु गरें । त्यो स्कुले जीवन थियो । एक किसिमको कल्पनाशील बेला र उमेर । जब उपन्यास पढ्न बस्थें, समयको ख्याल हुन्नथ्यो । भावुकताले बगाउँथ्यो । कुनै युवतीको एउटा चित्रमय सौन्दर्य आँखामा आएर बस्थ्यो । यसरी हिन्दीका यी एकथरी प्रेम र रोमान्सले भरिएका उपन्यासहरुले मलाई भावुक र कल्पनाशील बनाउँदै लगिरहेको थियो ।
एकदिन प्रेमचन्दको उपन्यास ‘निर्मला’ बोकेर आएँ । सायद त्यसबेला प्रेमचन्दको नामसँगभन्दा पनि बढी म त्यो किताबको नामसँग आसक्त थिएँ । प्रेमचन्दका किताबहरु यसअधि पढेको थिइनँ । एउटा आसक्ति थियो किताबको गातासँग । एउटी रुपवती युवतीको प्रेमासक्तिपूर्ण चित्र मेरा आँखाअघिल्तिर खेलिरहेको थियो । निर्मलाले मनमा अनेक उत्सुकता उब्जाएको थियो ।
उपन्यास पढ्न सुरु गरेदेखि पढिसक्दासम्म कतिचोटि मेरो गला अबरुद्ध बन्यो होला ! कतिपटक मेरा आँखाहरु अनायास आँसुले रसाए होलान् ! र, कतिपटक मैले त्यो उपन्यासलाई दोहो¥याएर पढें हुँला ! कतिखेर दिनको उज्यालो बित्थ्यो र रातको अँध्यारो सुरु हुन्थ्यो ! कतिखेर बिहानको दुई बज्थ्यो र म सुत्न पल्टन्थें । एउटा किताबले बनाएको यतिसाह्रो अधैर्यता यसअघि मैले कहिल्यै यसरी महसुस गरिनँ ।
निर्मला उपन्यास पढिसकेपछि मेरो साहित्यलाई पढ्ने र बुझ्ने दृष्टिकोणलाई बदलिदियो । यसले मेरो पठनलाई विस्तार गरिदियो । यसरी गुलसन नन्दा र रानुको उपन्यासलाई पढेर सुरु भएको हिन्दी साहित्यको मेरो अध्ययनले एउटा सतहबाट सुरु भएर प्रेमचन्द, शरदचन्द्र र राहुलसांस्कृत्यान हुँदै हिन्दी साहित्यको गहिराइको अर्को अनुभूतितलमा प्रवेश ग¥यो ।
प्रेमचन्द मेरो मन रोजाइ लेखक बन्यो । र, निर्मला मेरो अधिक रुचिको किताब थियो । रुसी साहित्यमा जति माक्सिम गोर्कीको ‘आमा’को क्रान्तिकारी भूमिका छ, भारतीय साहित्यमा प्रेमचन्दको उपन्यास र कथाहरुले उत्तिकै सामाजिक विद्रोहको मनोविज्ञान बोकेको छ ।
०००
प्रेमचन्द हिन्दी भाषाका विश्व प्रसिद्ध भारतीय साहित्यकार थिए । उनी उपन्यासका सम्राट थिए । उनका थुप्रै उपन्यास र कथाहरु हिन्दी भाषाबाट विश्वका अन्य भाषाहरुमा अनुवाद भएर प्रकाशित भएका छन् ।
प्रेमचन्दको लेखनको लोकप्रियता बढ्दै थियो । एकदिन उनका समकालीन मित्र कवि कन्हैयालाल मिश्र ‘प्रभाकर’ले मुंशी प्रेमचन्दलाई सोधे– ‘मुंशीजी, तपाईं कस्तो कागजमा र कस्तो कलमले लेख्नुहुन्छ ?’ प्रेमचन्द जोडले हाँसे र उत्तर दिए– ‘यस्तो कागज जसमा पहिले केही नलेखिएको होस् र यस्तो कलम जसको नीब नभाँचिएको होस् ।’
यस्ता वाक्–पटुताका लागि सिपालु प्रेमचन्दको जन्म ३१ जुलाई, सन् १८८० मा बनारस सहरदेखि चार माइल टाढा लमही गाउँमा भएको थियो ।
निर्मला प्रेमचन्दको बहुचर्चित उपन्यास हो । यो भारतीय समाजको निम्नमध्यम वर्गीय परिवारको कथा हो । यो भारतीय समाजभित्र हुर्किरहेको रुढीवाद र त्यसबाट भारतीय नारीमाथि भएको उत्पीडनको कथा पनि हो । निर्मला उपन्यासमा प्रेमचन्दले भारतीय समाजमा रहेको दाइजो प्रथा र अनमेल बिबाहका कारण नारीहरुले भोग्नु परेका मानसिक दशा र नारी मनोविज्ञानको निकै मार्मिक ढङ्गले चित्रण गरेका छन् । निर्मला त्यो समाजको एउटा प्रतिनिधि चरित्र(पात्र) हुन् । यस्ता धेरै निर्मलाहरु जो आज पनि भारतीय समाजमा सामाजिक रुढीवाद र दाइजोको कारण पारिवारीक हिंसाको सिकार बन्न उत्तिकै बाध्य छन् । र उनीहरु सामाजिक उत्पीडन भोगिरहेका छन् ।
१९२७ को जनवरीमा किण्डल प्रकाशनबाट निर्मला उपन्यासको पहिलोपटक प्रकाशन भएको थियो । त्यसयता उपन्यासको दर्जनौं संस्करण र लाखौं प्रतिहरु बिक्री भइसकेका छन् ।
०००
प्रेमचन्दका बुबा अजायव राय हुलाकका एक साधारण कर्मचारी थिए । उनको बुबाको पूख्र्यौली जायजेथा थिएन । त्यसैले पनि प्रेमचन्दको परिवारको आर्थिक अवस्था उनको बुबाको तलबको सामान्य आम्दानीमा आश्रित थियो ।
आठ वर्षको कलिलो उमेरमा प्रेमचन्दले आफ्नी आमाको असामयिक निधन बेहोर्नु प¥यो । आमाको मृत्युले प्रेमचन्दको बाल्यावस्थामा एउटा गहिरो चोट त दियो नै, आमाको मृत्युको केही समय नबित्दै बुबाको दोस्रो विवाहले उनले जीवनमा धेरै विषम परिस्थितिहरु भोग्नु प¥यो । सौतेनी आमा दुष्ट स्वभावकी थिइन् । सौतेनी आमाबाट उनले वात्सल्यता पाउन सकेनन् । उनी कहिलेकाहीं भोकै रहन्थे । उनले कहिल्यै भनेजस्तो लाउन, खान पाएनन् । कान्छी स्वास्नीको छोराप्रतिको यो व्यवहारबाट उनका बुबा अजायव राय पनि सन्तुष्ट थिएनन् । र, उनको घरभित्र विस्तारै पारिवारीक कलह र बेमेलहरु सुरु भयो ।
प्रेमचन्द १५ वर्षको हुँदा बुबाले उनको विवाह गरिदिए । प्रेमचन्दको विवाह भएको अर्को साल उनको बुबाको मृत्यु भयो । बुबाको मृत्युपछि घरको सम्पूर्ण जिम्मेवारी र आर्थिक बोझ प्रेमचन्दको काँधमा आइप¥यो । सौतेनी आमा, उनका दुई केटाकेटीहरु, श्रीमती र उनी स्वयंको खर्च जुटाउन उनलाई धौधौ पर्न थाल्यो । उनले ठूलो आर्थिक अभाव झेल्नु प¥यो । गरिबीले उनको अगाडि आएर अजिङ्गरलेझैं मुख बाइरह्यो । अभावले विस्तारै उनको ढाँड हिर्काउन थाल्यो । परिवार पाल्न उनले ट्युशन पढाउनु प¥यो । उनी महिनाभरि ट्युशन पढाएर पाँच रुपैया कमाइ गर्थे । तीन रुपैया घरमा पठाउँथे र दुई रुपैया आफ्नो खर्चको लागि राख्थे । अभाव बढ्दै गएपछि उनले एकदिन आफूसँग भएको एउटा कोट र किताबहरु समेत बेच्नु प¥यो ।
प्रेमचन्दको इच्छा पढेर आफू एकदिन वकिल बनुँला भन्ने थियो । उनी पढ्नमा असाध्य सौखिन थिए । आफ्नो गाउँबाट नाङ्गै खुट्टा हिँडेर उनी पढ्नका लागि बनारस पुग्थे । तर बुबाको मृत्यु र घरको कमजोर आर्थिक अवस्थाले गर्दा उनले मैट्रिकपछि आफ्नो औपचारिक सरकारी शिक्षालाई अगाडि बढाउन सकेनन् । र उनी स्वअध्ययनमा लागे । उनीलाई सानैदेखि उर्दु भाषाको राम्रो दखल थियो । उनले उर्दु साहित्यको अध्ययन थाले । उनमा उर्दु उपन्यासहरु पढ्ने एउटा यस्तो उन्माद थियो कि सयकडौ उपन्यासहरु उनी महिनाभरिमै पढी सिध्याउँथे । यसबाट पनि उनको पढ्ने भोक र साहित्यप्रतिको रुचि र प्रभावलाई बुझ्न सकिन्थ्यो । उनले उर्दु भाषाका साहित्यकार सरुर मोलमा शार, रतननाथ, सरशार आदिका किताबहरु सिनित्तै पढेर सिध्याउँथे ।
उनकी श्रीमती उमेरले उनीभन्दा जेठी थिइन् । र, चोथाले थिइन् । रुखो स्वभावकी थिइन् । कसैलाई टेर्थिनन् । लोग्नेसँगको तिनको सम्बन्ध कहिल्यै प्रेमपूर्ण र सुमधुर रहेन । आफ्नो पहिलो विवाह बारे प्रेमचन्द यसरी लेख्छन्– ‘बुबाले जीवनको अन्तिम वर्षमा आएर एउटा यस्तो ठक्कर खाए कि आफू स्वयं त लडे लडे, साथमा मलाई समेत डुबाए । सुझबुझ नगरिकनै मेरो विवाह गरिदिए ।’
अन्ततः प्रेमचन्दको पहिलो बैवाहिक जीवन सुखद रहन सकेन । यही पारिवारीक कटुताका कारण सन् १९०५ मा उनले आफ्नी पहिली श्रीमतीलाई छोडपत्र दिए र यसै वर्षको अन्त्यतिर उनले शिवरानी देवीसँग दोस्रो विवाह गरे । शिवरानी देवी एक विधवा आइमाई थिइन् । शिवरानी देवीको शील, स्वभाव र व्यवहारसँग भने प्रेमचन्द सधैं नतमस्त रहन्थे । उनको लेख्ने कार्यलाई शिवरानी देवीले सधैं प्रेरणा र साथ दिइन् । जीवनको अन्तिम क्षणसम्म पनि शिवरानी देवी सँगै रहिन् ।
प्रेमचन्द जस्तोसुकै दुःखलाई पनि सहन सक्थे । दुःखमा उनी कहिल्यै आत्तिएनन् । दुःखमा पनि सजिलै हाँस्थे । उनी सधैं हँसिला देखिन्थे । ठट्यौली स्वभावका थिए । हाँसो, ठट्टा गरिरहन्थे । के बच्चा, के युवा, के वृद्धवृद्धा उनी सबैका साथीजस्ता थिए । सबैसँग उनको व्यवहार मित्रवत् रहन्थ्यो । उनीसँग सबै रमाउँथे । उनी सरल र उदारभावका थिए । त्यसैले गाउँमा उनको उत्तिकै सम्मान र लोकप्रियता थियो । उनी गाउँका जमिन्दार र सुदखोर व्यापारीहरुलाई सधैं घृणा गर्थे । र, गरिब, असहाय र उत्पीडनमा परेकाहरुप्रति सहानुभूति राख्थे । उनका धेरै उपन्यास र कथाहरु ग्रामीण जीवनका यिनै पात्रहरुको चरित्र चित्रण गरेर लेखिएका छन् ।
विशेषतयाः समाजमा रहेका सीमान्तकृत र उत्पीडनमा रहेका वर्ग प्रेमचन्दको उपन्यास र कथाको मूख्यपात्र हुन्थ्यो । र, उनीहरुको मनोविज्ञानलाई सुन्दर ढङ्गले उनले आफ्ना उपन्यासमा प्रस्तुत गर्थे । निर्मला भारतीय समाजमा नारीहरुले भोगिरहेका विभेद र उत्पीडनको एउटा जीवन्त कथा हो ।
०००
प्रेमचन्दले १३ बर्षकै उमेरदेखि साहित्यिक लेख, रचनाहरु लेख्न सुरु गरेका थिए । सुरुमा उनले केही नाटकहरु लेखे । सन् १८९८ मा उनले उर्दु भाषामा पहिलो उपन्यास लेखे । यसै वर्ष उनले इतिहासलाई बिषयवस्तु बनाएर अर्को उपन्यास ‘रुठी रानी’ लेखे । सन् १९०५ मा उनको अर्को उपन्यास ‘प्रेमा’ प्रकाशनमा आयो । यसले उनलाई पुरै भारतभरि साहित्यकारको रुपमा स्थापित ग¥यो । यसरी उनको लेखन धाराप्रवाह रुपमा अगाडि बढिरह्यो ।
सन् १९०७ मा जब उनको कथा सङ्ग्रह ‘सोडो वतन’ प्रकाशनमा आयो, भारतलाई औपनिवेश बनाएर शासन गरिरहेका अङ्ग्रेज प्रशासकहरुका बीचमा हल्लीखल्ली मच्चियो । उनको यस कथा सङ्ग्रहभित्र पाँच वटा कथाहरु सङ्ग्रहीत थिए । ‘सोडो वतन’ किताब लेख्दासम्म प्रेमचन्दले नवाव रायको नामबाट लेखिरहेका थिए । यो किताबभित्र अङ्गे्रज प्रशासकहरुले ठूलो विप्लब देख्यो । उनीमाथि राजनैतिक प्रचार गर्न खोजेको आरोप लाग्यो । नवाव रायको खोजी सुरु भयो । अङ्ग्रेज प्रशासनले उनी विरुद्ध वारेण्ट जारी गरे र उनलाई गिरफ्तार गरे । अङ्ग्रेजहरुले उक्त किताब जलाए र अब आइन्दा अङ्ग्रेजहरुको स्वीकृति नलिई किताब लेख्न र प्रकाशन गर्न नपाउने कागजात गराएर छाडिदिए । एककिसिमले उनको लेखनमाथि अङ्ग्रेजहरुबाट प्रतिबन्ध लगाइए । अङ्ग्रेजहरुको यस्तो दबाबले प्रेमचन्दको स्वाभिमानमाथि ठूलो आघात पा¥यो । उनको स्वाभिमानले आफूलाई एउटा मौनतामा चुपचाप बाँधेर अङ्ग्रेजहरुको यो दबाब र अत्याचारलाई सहिरहन मानेन । उनी आफ्नो सिर्जनालाई मर्न दिन चाहँदैनथे । उनी लेखिरहन चाहन्थे । यो दुबिधापूर्ण मानसिकताबाट कसरी छुटकारा पाउन सकिन्छ भनेर एकदिन उनले आफ्ना मित्र दयानारायण निगमलाई पत्र लेखे र सुझाव मागे । दयानारायण निगमले नै उनलाई प्रेमचन्द नाम दिए र अब आइन्दा यसै गुप्त नामबाट आफ्ना रचनाहरु प्रकाशित गर्न सुझाव दिए । यही नाम उनको जीवन पर्यन्तसम्म रह्यो । यसरी धनपत राय, नवाव राय हुँदै सधैंका लागि उनी प्रेमचन्दको नामले प्रसिद्ध रहे ।
प्रेमचन्दले धेरै युग जनित कथा र उपन्यासहरु लेखे । निर्मला लगायत ‘सेवासदन’, ‘गोदान’, ‘कर्मभूमि’, ‘प्रेमाश्रम’, ‘कायाकल्प’ आदि उनका चर्चित उपन्यासहरु हुन् । उनका उपन्यासहरुमा आजभन्दा करिब दुईसय वर्षअघिको भारतीय समाजको पृष्ठभूमि पाइन्छ । र यी उपन्यासहरु अहिले पनि उत्तिकै समसामयिक र सान्दर्भिक छन् । उनका उपन्यासहरुमा समाजको यथार्थ पाइन्छ । उनी सामाजिक यथार्थवादी साहित्यकार हुन् । उनले सधैं भारतीय समाजमा नारीहरु विरुद्ध रहेको कुरीतिहरुसँग लड्दै आइरहे । र, त्यसका विरुद्ध निरन्तर लेखिरहे । सन् १९३५ मा उनको ‘गोदान’ उपन्यास प्रकाशनमा आएपछि उनी एकाएक चर्चाको केन्द्रमा रहे । यो उपन्यासको प्रकाशनले उनलाई सामाजिक न्याय र समानताको लागि सधैं पक्षपाती र विद्रोही साहित्यकारको रुपमा उभ्याइदिए । उनको ‘मङ्गलसुत्र’ उपन्यास भने अधुरो रह्यो । यही नै उनको अन्तिम कृति पनि रह्यो ।
सन् १९३६ मा प्रेमचन्द अचानक गम्भीर विरामी परे । कमजोर आर्थिक अवस्थाका कारण उनको राम्रोसँग उपचार हुन सकेन । विरामीको यस्तो अशक्त अवस्थामा पनि उनी एकदिन आफ्ना मित्र जैनेन्द्रसँग आफ्नो स्वास्थ्यबारे ठट्टा गरिरहेका थिए– ‘जैनेन्द्र, मान्छेहरु अक्सर यस्तो समयमा ईश्वरलाई सम्झन्छन् । र, उनीहरु मलाई पनि ईश्वर सम्झन भनिरहेका छन् । तर मलाई अझै पनि किन ईश्वरलाई कष्ट दिने आवश्यकता महसुस भइरहेको छैन ।’
‘प्रेमचन्द, कलमका सिपाही’ को प्रस्तावनामा प्रेमचन्दका अन्तिम दिनहरुबारे आलोक राय लेख्छन्ः ‘प्रेमचन्द की आखिरी तसवीर आज भी हिला देती है – ५६ सालका जीर्ण, मृतप्राय चेहरा, कैमरे मे नजर मिलाए, बीच महफिल से चले जाने पर मजबूर, आज भी कुछ कह रहा है ।’
जीवनसँग उनको अगाध आस्था थियो । तर पनि जीवनभरि आफूले पाएको दुःखका कारण ईश्वरप्रति उनले कहिल्यै आस्था राख्न सकेनन् । उनी अनिश्वरवादी रहे ।
र उनले लेखे–
विपत्ति से बढकर
अनुभव सिकाने वाला विद्यालय
आजतक नहीं खुला ।
सन् १९३६ अक्टोबर ८ मा प्रेमचन्दको देहान्त भयो ।
नेपाली साहित्यघर