0

विमल निभाका दुई कविता

Share

विमल निभा नेपाली कविताका क्षेत्रमा एक मानक कवि हुनुहुन्छ । उहाँ वैचारिक कवि हुनुहुन्छ । उहाँका कविताहरु माक्र्सवादी विचार दृष्टिकोणप्रति प्रतिवद्ध छन् । उहाँका कवितामा वैचारिक व्यङ्ग्यचेत प्रखर छ । कविता बाहेक व्यङ्ग्य निबन्धमा पनि उहाँको कलम उत्तिकै सशक्त देखिन्छ । ‘आगोनेर उभिएको मानिस’ कवितासङ्ग्रह–२०४०, ‘चौथो कालम’ व्यङ्ग्यसङ्ग्रह–२०४५, ‘एउटा बाहुला नभएको बुसर्ट’ कवितासङ्ग्रह–२०६०, ‘छेउको बधशाला’ व्यङ्ग्यसङ्ग्रह–२०६२, ‘डाइनोसोर जिउँदो छ’ व्यङ्ग्यसङ्ग्रह–२०६९ र ‘जोकरको बन्दुक’ कवितासङ्ग्रह–२०७६ उहाँका हालसम्म प्रकाशित कृतिहरु हुन् ।

उहाँ २०५० सालको पहिलो लोकेन्द्र साहित्य पुरस्कार र २०६१ सालको साझा पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ ।

‘आगोनेर उभिएको मानिस’ उहाँको बहुचर्चित कवितासङ्ग्रह हो । यस कवितासङ्ग्रहको प्रकाशनले ‘समकालीन नेपाली कविताको शैलीमा विशिष्ट प्रयोजन स्थापित गर्ने कवि’ (सम्पादकीय, साझा प्रकाशन) का रुपमा कवि निभालाई परिचित गराएको छ ।

यहाँ ‘आगोनेर उभिएको मानिस’ कवितासङ्ग्रहमा रहेका उहाँका दुई कवितालाई प्रस्तुत गरेको छु ।

जुम्ला

उज्यालो कतै छैन
स्वप्न हराएको छ
के तपाई अन्धकारको खुराक भएको
बस्तीमा जानुभएको छ ?

अपराधीझैं उभिएका छन्
नाङ्गा पहाडहरु
जोसँग खान दिनलाई केही छैन
जे छ, त्यो बाँझो भूमिझैं चारैतिर
फैलिएको छ
मानिसहरुको मुटु
गाईगोरु र भेडाहरुका करुण करङमा
धड्किरहेछ

र दुई चिसा हातहरु स्पर्श गर्न
निरन्तर अघि बढिरहेछन्
नदी
जहाँ साना–ठूला ढुङ्गाहरु
एकआपसमा टक्कराइरहेका छन्
तर आवाज कतै छैन
के जुम्ला मौन छ ?

रोटीको अनुहार फेरिएको छ
भोकको स्वाद तीतो भएको छ
र पेटभित्रको खालीपन
छचल्किएर
बाहिर निस्किएको छ
यसपालि जाडो धेरै छ
पसिना आइरहेछ
र आगोनेर उभिएको मानिसको
शरीर
तामाझैं चम्किरहेछ

जुम्लामा मौसमको कुनै ठेगान छैन
एकछिनमै जङ्गलको हावा सिटी बजाउन थाल्छ
के तपाईले फाँसीको तख्ताझैं हल्लिरहेको
सल्लाको हाँगालाई हेर्नुभएको छ ?
०००

aagonera uviyeko manish

जुत्ता

जुत्तामा तलुवा लगाऊ
काँटी ठोक
अर्को फित्ता फेर
धागोले सिऊ
या पालिसले खुब चम्काऊ
तर टाउकोमा जुत्ता लगाउन
अब कोही तयार छैन

जुत्ताको आकृति
देशको मानचित्रजस्तो बनाऊ
वा राष्ट्रप्रेमको अभिनय गरेर गाऊ
‘पञ्चै हो, यो देश बनाइदेऊ’
चुप नकराऊ

जुत्ता सम्पूर्ण चिसिइसकेको छ
छाला कुहिएर डुङ्डुङ्ती गन्हाइरहेको छ
रङ उडेर एकदम कुरुप भइसकेको छ
र त्यसमा लागेका काला–काला दागहरुले
असङ्ख्य घृणा जन्माइरहेका छन्
चिसिइसकेको, गन्हाउने, कुरुप
र घृणास्पद जुत्तालाई
इतिहासको एक कुनामा फ्याँकेर
अब हामीले आफ्नो नाङ्गो खुट्टामा
नयाँ जुत्ता लगाउनुपरेको छ

(त्यसैले श्रीमान, पाठ नपढाऊ
जऊ, धेरै नअलमलाऊ
अब धेरैजसोलाई आ–आफ्नो खुट्टाको नाम
थाहा भइसकेको छ)
०००

%d bloggers like this: