हिरामणि दुःखी (जन्मः वि. सं. २०२५ असार १४, दाङ) प्रगतिवादी कवि हुनुहुन्छ । उहाँ माक्र्सवादी विचार दृष्टिकोणबाट आफ्ना सिर्जनाहरुलाई सिर्जित गर्नुहुन्छ । उहाँका कविताहरुमा सामाजिक यथार्थको प्रतिबिम्बन पाइन्छ । उहाँका कविताहरु जनविरोधी सत्ताप्रतिको तीब्र असन्तुष्टिहरु र शासकहरुको क्रूरता विरुद्ध प्रतिरोधी कविताहरु हुन् । उहाँ कवितालाई आन्दोलनको हतियारको रुपमा प्रयोग गर्दै कवितामार्फत् नवीन समाज र चेतना निर्माणको आह्वान गर्नुहुन्छ ।
उहाँको ‘परिभाषा’–२०६१, ‘जून पस्किने यात्रामा’–२०६१, ‘आगो पाक्दै छ’–२०८३ कवितासङ्ग्रह, ‘युद्धका कथाहरु’–२०६९, ‘हेडक्वाटर’–२०८२ कथासङ्ग्रह र ‘स्मृतिका कुइनेटा’–२०७० संस्मरणसङ्ग्रह प्रकाशित छन् ।
उहाँ ‘प्रगतिशील साहित्य पुरस्कार’–२०६७, ‘कृष्ण सेन इच्छुक पत्रकारिता पुरस्कार’–२०६७, ‘चिन्तामणि जमुना साहित्य पुरस्कार’–२०७३ लगायत विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘आगो पाक्दै छ’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।
किसान
हो महाशय
म माटोलाई चुम्ने किसान
जब धुलो र हिलोलाई आलिङ्गन गरेर
सुनौला धानका बाला झुलाउन
धर्तीका गहिरा फाँटहरु कुल्चिन्छु
मेरो शरीरबाट निस्कने पसिना
र त्यो पसिनामा टाँसिएको धुलो
मेरो श्रमको चन्दन हो
जो तिमीलाई गन्हाउन सक्छ
सुखा खेतका धाँजाजस्तै
फाटेका मेरा खुट्टा
हिलोले रङ्गिएका कपडाहरु
तिम्रो सहरका फहराउने झण्डाहरुभन्दा
सुन्दर ध्वजाहरु हुन्
जो तिमीलाई लाग्न सक्छन् फोहोर
हो महाशय
म एक फोहोरी किसान
जोवनका कैयौं दशक गुज्रिए
हिलो धुलो बर्खाको माटोमा
माटोमै सुत्छु
माटोमै खान्छु
माटोमै पिउँछु
माटो टक्टकिने हातले
एक मुठ्ठी सातु फाँको हाल्दा
सातुसँगै पस्छन् मेरो पेटभित्र
माटोका धुलीकणहरु
लाग्छ, म माटोको प्रेमी हुँ
मेरो पसिनामा
फल्छन् जब मकैका घोगा
रापिलो आगोमा धुस्रेफुस्रे हुँदै
ठाउँकुठाउँ भ्वाङ परेका
एकसरो कपडाले बेरिएर
आमाहरु
असरल्लै छरिएका सडकपेटीमा
अशोभनीय भोका यात्रुहरुको
खटिन्छन् भोक मेटाउन
तिम्रो भव्य सहरलाई
कुरुप तुल्याउने मकै पोल्नेहरुमाथि
तिम्रा पहरेदारहरु
ताण्डवनाच देखाउँछन्
र छुरा धस्छन् निम्छरा पेटहरुमा
मेरा ससाना बालबच्चाको
हो ! यतिबेला म फोहोरी मात्र हैन
असाध्य कुरुप पनि देखिन्छु
तिम्रो महलको कौसीबाट
¥याप अलाप्दै सहरतिर
दृष्टिगोचर तिम्रा नयनहरुमा
बुझिराख महाशय
जब किसानका
आँखाहरु विष्फोट हुन्छन्
र निस्कन्छ ज्वालामुखीको लाभा
पैदा हुन्छ कम्पन
र पाखुराहरुले छोड्छन् हलो समाउन
बोक्छन् जब मशाल
मजस्तै मजदुरका
घोटेर हड्डी
ठड्याइएको तिम्रो महल
खरानी बन्छ तत्क्षण
भग्नावशेषमा थुप्रिएको खरानीबाट
निर्माण हुन्छ
किसानहरुको सुनौलो इतिहास
०००

घनानन्दहरुलाई गिज्याइरहन्छ माइतीघर
माइतीघर मण्डला
मुटु हो काठमाडौंको
छेवैमा खडा छ सिंहदरबार
अर्थात् देशको भीमकाय सत्ता
बेलाबखत डसिरहन्छ
मण्डला थियटरको गिदी
माइतीघर मण्डला
जहाँ जुलुस बनेर उपस्थित हुन्छन्
हलो समाउने हातहरु
मेसिन समाउने पाखुराहरु
भविश्य कोर्न काठमाडौं छिरेका
कलिला जोवनहरु
समानता खोज्न निस्किएका
आदिवासी थेवा र छोट्काहरु
सदियौंदेखि सीमा रक्षार्थ तैनाथ
अनागरिक मधेशी तनहरु
स्वाधीनता बचाउन उठेका मुठ्ठीहरु
र युद्धमा ज्यान अर्पेका शीरहरु
सबै सबैले
रगत पसिना पोखेर
प्राण भरिरहेछन् मण्डलाबाट
वर्गबैरी सिंहदरबारको
कहिले उखु किसानहरु
कहिले मुक्त हलिया कमैयाहरु
कहिले वेश्यामा नाउँ दरिएका
आधा आकाशको एक हिस्सा
यही थियटरमा उभिएर
भोक र प्यासले
वर्षौदेखि थिलथिलिएको
कङ्काल शरीरको मुटु निचोरेर
अर्पण गर्छन् रगत सिंहदरबारलाई
सिंहदरबार बाँचेको छ
मण्डलामा पटक पटक भेला हुने
तिनै दबिएका दबाइएका
हेपिएका चेपिएका
छुत र अछुतहरुका
हजारौं लाखौं मुटुहरुले
प्रवाह गरिरहेको अक्सिजन पाएर
मोटाएको छ सधैं सधै
मण्डलामा घोप्टिएका रगत र पसिना
लपलपी चाटेर
मण्डलाले जन्माएको हो घनानन्द
र दर्जनौं घनानन्दहरु
र त घनानन्दहरुमा पलाएको हो
समाजवादको व्याख्या गर्ने साहस
घण्टौंसम्म
सेमिनारहरुमा
क्लबहरुमा
केही थान बुज्रुकहरुका
गफिला अखडाहरुमा
विमोचित हुन्छन्
पर्यटनबोर्डका सोफाहरुबाट
घनानन्दहरुका समाजवादी किताब
समाजवादको किताब बोकेर
जब छिर्छन् घनानन्दहरु सिंहदरबार
घोषणा गर्छन्
मण्डलामा तैनाथ
ठिही र तुसारोमा कठ्याङ्ग्रिदै
रुमालले टाउको छोपेर झरीमा
मुटु निचोर्दै रगत पोखिरहेका
सत्तरी वर्षे जोवनहरुको जुलुसलाई
तिमीहरुको पसिनाको मूल्य
तिम्रै मालिकहरुलाई
सरकारबाट अनुदान अर्पेर हामीले
समाजवादको सुरुआत गरिसक्यौं
माइतीघर मण्डला
घनानन्दहरुलाई गिज्याइरहन्छ
चिच्याइरहन्छ र बिझाइरहन्छ ।
०००