कल्पना चिलुवालका दुई कविता

kalpana

कल्पना चिलुवाल (जन्मः २०३५ कार्तिक १६) सङ्घर्षलाई आत्मसात् गर्दै आम मुक्तिकामी मानिसकोे लागि कविताको महाअभियान बोकेर हिँड्ने सङ्घर्षशील र जुझारु कवि हुनुहुन्छ । वर्गविभेद, सामाजिक असन्तुलन, जातीय उत्पीडन र महिलामाथि हुने लैङ्गिक हिंसा उहाँका कविताका विषयहरु हुन् । र, यसका विरुद्ध उहाँले आफ्ना कविताहरुलाई प्रतिरोधी चेतनाले सशक्त बनाउनुभएको छ । ‘कविताको झिल्कोले सल्काइदिन्छ भने चेतनाको आगो म कविता लेखिरहन्छु’ भन्ने कविताप्रतिको उहाँको सङ्कल्प हो यो । कवि सरिता तिवारीको शब्दमा ‘कल्पनाले रोजेको यो (जोखिमपूर्ण) कला यात्रा अन्ततः मुक्तिको बृहत् परियोजनामा मिसिन्छ, यसमा सन्देह गर्ने ठाउँ छैन ।’

उहाँको ‘चुल्ठो’ (२०७७) कवितासङ्ग्रह प्रकाशित छ ।

उहाँ ‘इच्छुक प्रतिभा पुरस्कार’–२०७६ र ‘सहिद शिव पौडेल स्मृति पुरस्कार –२०७८ बाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।

यहाँ ‘चुल्ठोे’ कवितासङ्ग्रहबाट दुई ओटा कवितालाई प्रस्तुत गरिएको छ ।

गुलाफको ट्याटु र पन्युँको डाम

तिम्रो छातीमा
रातो गुलाफको ट्याटु भएकै ठाउँनिर
मेरो पनि धामीले पन्यु तताएर डामेको
दाग छ कल्साउँदो

दाग त दुवै दाग नै हुन्
आधुनिक भए पनि
पुरातन भए पनि

तिम्रो दाग
फेसनका लागि
मेरो दाग
बोक्सी लागेकी बिरामीको
उपचारका लागि

यी दुवै दागका लागि
बेलाबेला धुरिन्छन् क्यामराहरु

एउटा फोटो
कुनै म्यागजिनको
कभर पेजका लागि
अर्को फोटो
एनजिओको
आगामी प्रोजेक्टका लागि

एउटै समयमा
हामी दुई थरी दाग बोकेर हिँडिरहेका छौं

त्यो क्यामराको आँखा
सल्बलाउँछ तिम्रो छातीमाथि
कुँदिएको गुलाफमा
जसरी सल्बलाउँछ
मेरो शिरदेखि पाउसम्म
कुनै परचक्रीझैं
धामीको हातमा नाचिरहने
कुमन्त्रित कुचो

सल्बलाउन त
दुवै सल्बलाउँछन् आफूखुसी
एउटा बजारको नाममा
अर्को परम्पराको नाममा

एउटै समय
सल्बलाइरहेको छ हामीमाथि
नयाँ र पुरानो दुवै थरी
सर्पको काँचुली

काँचुली त
दाग लागेपछि
सर्पले पनि फेर्छ
तर, हामीले किन अझै
लगाइराखेका छौं
अरुले लगाइदिएको
दागी जडौरी

यो समय
को लगाइरहेको छ
हाम्रो तनमनमा
दागी संस्कृति ?
०००

chultho

पूर्वछापामारको बेचैनी–पत्र

मेरो थोत्रो कमिजको खल्तीमा
मेरा दुइृ प्रिय वस्तु हुने गर्थे
कम्युनिस्ट घोषणापत्र
र, प्रेयसीको प्रेमपत्र

यी दुवै पढ्दा
जति आनन्द आउँथ्यो
त्यति
आफू नखाई आफ्ना कमरेडहरुलाई
खुवाउन पाउँदा
आउने गथ्र्यो

यी दुवै खल्तीमा बोकी हिँड्दा
जस्तो खुसी आउने गथ्र्यो
त्यस्तै खुसी
आफ्नो नेतृत्वलाई सुरक्षा दिँदै
गोलीको पहिलो ढाल
आफ्नै छातीलाई बनाउँदा
आउने गथ्र्यो

प्रेयसी मारिइन्
दोहोरो भिडन्तमा
प्रेमपत्र
सहयोद्धा साथीजस्तै
कतै बेपत्ता भयो
कम्युनिस्ट घोषणापत्र
अझै मेरो खल्तीमा छ

अचेल सिंहदरबार
मेरी प्रेयसीको करङबाट बनेको
सिहासनमा बसी
मेरो बेपत्ता सहयोद्धाको
नलीहाडको राजदण्ड टेकेर
शासन गरिरहेको देख्दा
ढोकाको डोरम्याट बनाइएको म
कसैले खुट्टाको फोहर
मेरो प्यारो कम्युनिस्ट घोषणापत्रमा
पुस्छन् कि भनेर
निकै बेचैन हुने गर्छु ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these