लक्ष्मी माली नेपाली प्रगतिवादी कविताको क्षेत्रमा एक परिचित नाम हो । सामाजिक उत्पीडनमा रहेका महिलाहरु र उनीहरुको श्रमको मूल्यको खोजी उहाँका कविताका विषयहरु हुन् । न्यायपूर्ण र समतामूलक समाजको निर्माणका लागि सङ्घर्षरत् र अग्रगमन विचारको खोजी उहाँको कविताको मूल स्वर हो । जीवनका भोगाइका अनुभवहरु र प्रकृतिका बिम्बहरुलाई उहाँ आफ्ना कविताहरुमा शूक्ष्म र सुन्दर ढङ्गले प्रयोग गर्नुहुन्छ ।
उहाँका ‘आगोका याम’ (२०६२), ‘आरुका फूलहरु’ (२०६७) र ‘आमा तिम्रो नाम के हो ? (२०७५) कवितासङ्ग्रह प्रकाशित छन् ।
उहाँ ‘चन्द्रागिरी साहित्य सरोवर सम्मान’–२०८२ र ‘राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान’–२०८२ बाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।
यहाँ उहाँको ‘आमा तिम्रो नाम के हो ?’ कवितासङ्ग्रहमा रहेका दुईओटा कवितालाई प्रस्तुत गरिएको छ ।
आमा तिम्रो नाम के हो ?
हजुरबा छोरी भन्नुहुन्छ
मामा दिदी भन्नुहुन्छ
बाबा श्रीमती भन्नुहुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?
म विद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई आफ्नो परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन
म बालिग भएँ,
मताधिकार पाएँ
मेरो परिचयपत्रमा
तिम्रो नाम लेखिएन
म नागरिक भएँ
बाबुकै नामबाट
म जागिरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम के हो ?
कसैबाट सोधनी नगरेको
कतै उच्चारण गर्न नपरेको
तिम्रो नाम सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा
मलाई तिम्रै नाम चाहिन्छ
भन आमा तिम्रो नाम के हो ?
०००

माइलीकी कोइली
ए, कोइली
गाइदे एउटा नयाँ गीत
ए, गीत
उडेर जा
त्यो बहेको हावा पछ्याउँदै जा
त्यो उघ्रेको घाम पछ्याउँदै जा
र भनिदे
कि
रुखहरुमा पालुवा लागिसके
आरु र नासपाती फुलिसके
म तिम्री माइली
किनारामा जाल बोकेर सम्झिरहेको छु
पर्खिरहेको छु
भनिदे
ए, गीत
त्यो बहेको हावा पछ्याउँदै जा
त्यो उघ्रेको घाम पछ्याउँदै जा
टाढाको मायालाई
गाउँको सम्झना गराइदे
माइलीको याद भराइदे
मरे, यही माटोमा पुरिउँला
बाँचे हातेमालो गरी बाँचुला
ए, कोइली
गाइदे एउटा नयाँ गीत
ए, गीत
उडेर जा
त्यो बहेको हावा पछ्याउँदै जा
त्यो उघ्रेको घाम पछ्याउँदै जा
०००