सिराइचुलीलाई सिरानी हालेर

att.pge6j4IZ3u1Y4lG6Do23iqUJAYU3XXDg42qu L9coho 1

अघिल्लो दिन बेलुकी बेपत्तासँग चलेको हावाहुरी र पानीले तेजविलास अधिकारीको मनलाई पनि बेपत्तासँग उडाइरहेको थियो । त्यसैले भोलिपल्ट बिहानैदेखि मेरो मोबाइलमा उनको स्वर सुनिरहेको थियो, ‘सर आज आकाश सफा छ । सायद पानी नपर्ला ।’

उनको त्यो व्यस्तता र व्यग्रताले मलाई पनि व्यस्त बनाइरहेको थियो मोबाइलबाट आउने उनको फोन उठाउन । छिन छिनमा नयाँ अपडेटहरु आइरहन्थ्यो उनको । कहिले गाडीको, कहिले साथीहरुको सङ्ख्याको, कहिले बादल उठिरहेको आकाशको । म निर्धक्कसँग उनलाई सुनिरहन्थें । फेरि फोन विच्छेद हुन्थ्यो । मसँग छुट्टिएर उनी सायद अन्त कतै जोडिएका हुन्थे । निकैबेरपछि मेरो मोबाइलमा फेरि उनको फोनको घण्टी बज्थ्यो ।

‘सर के छ त नि अरु नयाँ ?’ सोध्थे उनी ।

दिउँसोको झण्डै एक बजेसम्म यो क्रम चलिरह्यो ।
०००

‘सर एकचोटि सिराइचुली जानुपर्छ है तपाई हामी ।’ कहिलेदेखि पो हो तेजविलास अधिकारीले यसो भन्दै आइरहेको । तर यात्रामा निस्कनु पनि त समय जुर्नुपर्दो रहेछ । सबै कुरा मिल्नु पर्दो रहेछ । साथी मिल्नु पर्ने, समय मिल्नु पर्ने, गन्तव्य मिल्नु पर्ने, खर्चपर्च मिल्नु पर्ने । घरका सदस्यहरुको स्वीकृति मिल्नु पर्ने । उतिखेरै भनेजसरी सबैलाई निस्केर हिँड्नु कसलाई सजिलो छ र ? सबैलाई सबै कुराको तारतम्य मिलाएर हिँड्नु पर्ने ।

‘कि जाउँ है स्कुटर लिएरै तपाईं र म एकदिन । बाटो चैं के कस्तो छ ?’ म भनिरहन्थे ।

‘स्कुटरमा त गाह्रै हुन्छ कि !’ उनी एकैछिन अलमलिन्थे र भन्थे, ‘म पनि पुगेको ठाउँ चै होइन । एकदिन इच्छाकामना साहित्य प्रवाहको कार्यक्रम नै बनाएर जाउँला सर गाडीमा ।’

यस्तै फोन संवादमा हामी दुई दाजुभाइको बीच सिराइचुलीको प्रसङ्ग दोहोरिरहन्थ्यो । यसअघि पनि धेरैपटक सिराइचुलीको नाम सुन्दै आइरहेको हुँ । मुग्लीङ बजारमा एउटा होटलको नाम छ ‘सिराइचुली’ । रञ्जिता सिलवाल बहिनीको त्यो होटलको नामले मलाई सिराइचुलीसँग परिचित बनाएको हो । के होला यो सिराइचुली भन्थें । एकदिन मुग्लीङ बजारको पूर्वपट्टि रहेको डाँडाको सिरानबाट पछिल्तिर देखिने अग्ला डाँडाहरु देखाउँदै रञ्जिताले भनिन् ‘सिराइचुली चितवनको सबैभन्दा अग्लो डाँडा हो अङ्कल । यहाँ वर्षेनी नयाँ वर्षको दिन रमाइलो मेला लाग्छ ।’

स्थानीय चाडपर्व र नयाँ वर्षहरुमा पछिल्ला समय धार्मिक मान्यतासँग जोडिएका यस्ता स्थानीय अग्ला पहाडहरुमा लाग्ने रमाइलो मेलापर्वहरुले आन्तरिक पर्यटनलाई आकर्षण गरिरहेको छ । हिजो ओझेलमा परेका भूगोलहरु आज मानिसहरुको गन्तव्य बनेका छन् । हिजो विकट भनेका गाउँहरु आज होम स्टे चलाइरहेका छन् ।

२०७८ मंसिर २३ देखि २५ गतेसम्म आँबुखैरेनी गाउँपालिकाले प्रवद्र्धन गरेको छिम्केश्वरी पर्यटकीय अवलोकन भ्रमण कार्यक्रममा देशका धेरै लेखक, साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई आँबुखैरेनी स्रष्टा समाजले संयोजन गरेको थियो । आन्तरिक पर्यटन प्रवद्र्धनमा यस कार्यक्रमको निकै प्रचारात्मक भूमिका रह्यो । तनहुँकै सबैभन्दा अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीमा नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘पैतालामा हिउँ आँखामा हिमाल’ नियात्रा कृतिको परिचर्चा कार्यक्रमले पर्यटन यात्रामा एउटा नौलो आयाम स्थापित गरेको थियो ।

‘पैतालामा हिउँ आँखामा हिमाल’ पढिसकेपछि यस नियात्रा कृतिभित्र समावेश गरिएका सिराइचुलीका दुई निबन्धहरुले मलाई त्यहाँ पुग्न झनै उत्सुक र उत्साहित बनाएको थियो ।
०००

‘सर यसपटक नयाँ वर्षमा कतै जाने कार्यक्रम नबनाउनु होला है ।’ एकदिन तेजविलास अधिकारीले फोनबाट भने, ‘साथीहरुको सिराइचुली जाने कार्यक्रमको निधो भएको छ । अहिलेलाई यत्ति खबर भो । बाँकी छलफल गर्दै गरौंला ।’

अनि कार्यक्रमको मिति तय भयो २०८० चैत्र ३० गते । कार्यक्रमको गन्तव्य स्थल इच्छाकामना गाउँपालिकाको अग्लो डाँडा सिराइचुली । कार्यक्रमको व्यानर हुने भयो दुई दिवसीय सिराइचुली काव्य यात्रा । कार्यक्रमको लक्षित समय थियो २०८१ सालको वैसाख १ गते । सिराइचुलीको सिरानमा नयाँ वर्षको काव्योत्सव । यसरी केही दिनपछि तेजविलास अधिकारीले फोन वार्तामा कार्यक्रमसहितको कार्यक्रममा सहभागी नामहरुको एउटा फेहरिस्त तयार गरे ।

अघिल्लो दिन बेलुकीको आकाशलाई बिथोलेको हावाहुरीले भोलिपल्ट ३० गते पनि बिथोलिदिने हो कि भन्ने चिन्तातुर तेजविलास अधिकारीमा थियो ।

‘सर आकाश खुलेकै छ क्यारे । पानी नपर्ला ।’ उनी आफैसँग विश्वस्त रहन्थे ।

‘भूपिन आउने कुरा भयो । बिहान फोन भएको थियो । भुपिनसँगै कान्तिपुरको रमेशकुमार पौडेल र सेतोपाटीको दिपेन्द्र अधिकारी पनि नारायणगढबाट आउने कुरा भएको छ ।’ उनले भने ।

‘कार्यक्रम रमाइलो हुने भो नि त ।’ भनें ।

‘आज त भूपिनको जन्मदिन पनि रैछ । बिहानै फेसबुकले उनको जन्मदिनको सेलिब्रेट सेयर देखाइ राथ्यो ।’

‘त्यसो भए आजको काव्यसाँझलाई भूपिनमय बनाइदिऊँ । तपाईं र मेरो मात्र कुरो । भूपिनलाई एउटा सरप्राइज मोमेन्ट ।’ भनें तेजविलास सरलाई ।

‘त्यो तपाईंले मिलाउनुस । तपाईंको कुरा भो । जाने साथीहरुलाई मैले केही भनिनँ ।’

‘हस् ।’

‘तपाईं दुई बजे अघि नै कुरिनटार आइसक्नु । दुई बजे त हिँड्ने कुरा छ । स्कुटर कुरिनटारमै कतै राखौंला । दुई ओटा स्कोर्पियो लैजाने कुरा भएको छ । यहाँबाट गाडीमै जाऔं ।’
०००

एक बजे आँबुखैरेनीबाट हिँडे स्कुटर लिएर । कुरिनटार पुग्न बीस मिनेट जति लाग्यो । केही साथीहरु आउने साथीहरुलाई पर्खदै थिए । भूपिनजी लगायतका साथीहरु नारायणगढबाट हिँडिसकेको कुरा आयो । स्कोर्पियोमा अट्ने साथीहरु बसिसकेका थिए । नअटेका स्थानीय केही साथीहरु बाइक र स्कुटरमा जाने भए । बाटो सजिलो छ भन्ने भएपछि तेजविलास सरलाई मैले पनि स्कुटर लिएरै जाने बताएँ । यसो गर्दा गाडीमा बस्नेहरुले पनि सिटमा सहज भएर जान सक्ने भए ।

हुग्दीखोलाबाट दक्षिणतिर फर्किएर उँभो पहाड उक्लिन सुरु गरेपछि दुई वटै स्कोर्पियोले हामीलाई उछिनेर अघि बढे । कुनै बेला चितवनको अत्यन्तै बिकट मानिने यी पहाडहरु यतिबेला यी कच्ची सडकहरुले सुगम बनेका थिए । अघि सँगै रहेका बाइक र स्कुटर पनि कुन मोडबाट हराइसकेका थिए । म उनीहरुलाई पछ्याउनु भन्दापनि यी पहाडहरुको एकान्तसँग एक्लै रमाउँदै हिँडिरहेको थिएँ । कहिलेकाहीँ यात्रामा हिँड्दा साथीहरुको समयलाई ख्याल गरेर हिँड्नु पर्ने । उनीहरुको समयलाई ख्याल गरेर हिँड्दा आफू निस्फिक्री भएर हिँड्न नपाइने । त्यसैले आजकल साथीहरुसँग बिरलै हिँड्ने गर्छु । संवादभन्दा बढी मौनमा रहन्छु । प्रकृतिको सान्निध्यमा रमाउँछु ।

बाटोको हरेक मोडहरुले एउटा उकालो ल्याउँथ्यो । उकालोपछि पहाडको एउटा नयाँ उचाइ थपिन्थ्यो । बाटो अग्लिँदै जाँदा पर परसम्म स–साना पहाडहरुको तरेली देखिन्थ्यो । भिरालो छलेर बनेका गाउँहरु देखिन्थे । कतै बाक्ला र कतै पातला घरहरु । बाटोमा देखिए – लताक, जयपुरी । सडक बनेपछि बनेका सडक छेउका यी गाउँहरुले आफ्नो स्वरुप बदल्दै थिए । जयपुरीबाट उँभो लागेपछि हावाको चिसो स्पर्शले मनलाई एकछिन आनन्दित बनायो । बाटो छेउछाउ एैसेलुका झाडीहरु देखिन्थे । लटरम्म र पहेंलै पाकेका एैसेलु । स्कुटरलाई सडकको एक छेउमा छाडेर एैसेलु टिप्न झाडीमा पुग्थें । एैसेलुले अञ्जुली भर्थें र मुखभरि राख्थें । खोलाखोल्सीहरुबाट आइरहेको कीराहरुको स्वर, भिरालोमा कताकतै देखिने स–साना बुट्यानहरु, उँधो बगिरहेको हुग्दी खोला, सडकको छेउछाउमा एकाध देखिएका घरहरुलाई छिचोल्दै उँभो बढिरहेको स्कुटरको गति । यात्रामा हिँड्न रमाउनेहरुका लागि यो पनि त एउटा काइदा हो क्यारे नि !

हात्तीबाङ पुग्दा तेजविलास मलाई पर्खिरहेका थिए ।

‘बाटोमा कुनै गाह्रोसाँघुरो त भएन नि ?’ सोधिहाले ।

‘बिन्दास भो ।’ भनें

‘तपाईं मान्छे बिन्दास नि !’ हाँस्यौ दुवै ।

घडी हेरें । चार बजेको थियो । पारि भुङ्लीचोकका डाँडाहरुमा घाम लागिरहेको थियो । आकाशमा कताकतै बादल देखिन्थ्यो । बेसीको गर्मीले सधैं अशान्त बनिरहेको हाम्रो मनलाई हात्तीबाङको चिसोले शीतल बनाइरहेको थियो ।

‘अढाइ दुई घण्टामा त मज्जाले आइदो रै छ नि ।’ भने उनले ।

‘कति टाढा अब ?’ सोधें ।

‘आजको यात्रा यहींसम्म । आज हात्तीबाङको होम स्टेको बास । टङ्क सरहरु होम स्टेतिर बसाइ मिलाउँदै हुनुहुन्छ । अहिले स्कुटर र झोलालाई कतै व्यवस्थापन गरौं । कोठा मिलेपछि सिफ्ट गरौंला ।’

‘मनासिब कुरो ।’ मैले भनें

केही पर रहेको थियो सिराइचुली होम स्टे । टङ्क त्रिपाठी, त्रिविक्रम ढकाल, एकराज शर्मा ईश्वरविलास अधिकारी लगायतका साथीहरु होम स्टेको आँगनमा उभिएर बसाइको व्यवस्थापन मिलाउँदै थिए त्यहाँ । भूपिन, रमेशकुमार पौडेल, दिपेन्द्र अधिकारी, कृष्णप्रसाद पोखरेल पर राष्ट्रिय माध्यमिक विद्यालय पछाडि रहेको होटलमा चिया पिउँदै थिए । स्कुटरलाई स्कुलको आडैमा अड्याएर हामी दुवै चिया खोज्न नजिकैको होटलभित्र पस्यौं । चिया थिएन । त्यहाँबाट बाहिर निस्केर अरु दोकानतिर चिया खोज्न हिँड्यौ । कतै पनि चिया नभेटिएपछि हात्तीबाङमा चियाले चिसो मेट्ने तलतललाई त्यत्तिकै छाड्यौं । एकछिनपछि सबै साथीहरुलाई समेटेर हामी छेउमै उभिन आइपुगेका मुग्लीङका स्थानीय पत्रकार रोहिणी त्रिपाठीले हात्तीबाङमा बन्दै गरेको चेपाङ सङ्ग्रहालय हेर्न जाने कुरा बताएपछि हामी दुई पनि त्यही हुलमा समेटियौं । आर्थिक अभावले जीर्ण र रुग्ण रहेको सङ्ग्रहालयको अधुरो निर्माण कार्यले स्थानीय सरकारको सङ्ग्रहालयप्रतिको उदासिनता प्रष्ट देखिन्थ्यो । स्थानीय जाति र उनीहरुको भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र विकासमा स्थानीय तहमा रहेका सरकारहरुको चासो र चिन्ता शून्य देखिने कतिपय यस्ता कार्यहरुले जनप्रतिनिधिहरुको विकासे र भ्रष्ट मानसिकता उदाहरण बनेर रहेका छन् । गाउँमा देखिएको भग्नावशेष घरहरुले रित्तिदै गएको गाउँको अवस्थालाई चित्रण गर्दथ्यो ।

‘गाउँमा असी घरहरु छन् । अहिले मान्छे बस्ने भनेको बिस घर छन् । बाँकी घरहरु सबै भत्केर गएका छन् । गाउँमा मान्छे छैनन् ।’ हामीसँगै रहेका एक स्थानीयले बताए ।

‘२०२५ साल भाद्र १ गते शुक्रबार अर्थात आजभन्दा ५५ वर्ष ०७ महिना २९ दिन पहिले चितवनको खैरहनी हाइस्कुलमा कक्षा ६ मा पद्दै गर्दा वर्षे बिदा सकेर घरबाट स्कुल फर्किने क्रममा माइला दाइसँगै यही हात्तीबाङमा एक रात बास बसेको छु ।’ कवि कृष्णप्रसाद पोखरेल आफ्नो विगत सम्झन्छन्, ‘त्यसपछि पनि मुग्लीङ नारायणगढ सडक नखुल्दासम्म शिक्षण कालमा यही हात्तीबाङ हुँदै लटौलीको बाटो धेरै पटक ओहोर दोहोर गरेको छु ।’

हामीमध्ये उमेरले सबैभन्दा पाका उहाँका कुराहरुलाई हामीले निकै रमाइलो मानेर सुनिरह्यौं । तिनताका हात्तीबाङ पहाडबाट नुनतेल बोक्न चितवन हिँड्नेहरुको बासको थलो थियो । हुग्दी खोलाको किनार हुँदै उँभो उकालो चढेर मानिसहरु हात्तीबाङ बास बस्न आइपुग्थे । चितवनबाट पहाड हिँड्नेहरु शक्तिखोर हुँदै यहाँ आइपुग्थे । हात्तीबाङ हुँदै मान्छेहरुको ओहोरदोहोर चल्थ्यो ।

बेलुकी हात्तीबाङलाई चारैतिरबाट हेरेर सिराइचुली होम स्टे फर्किएका साहित्यकारहरुको बीचमा एउटा बहस सुरु भयो । देशमा गणतन्त्र आइसकेपछि प्रशासनिक संरचनाहरु फेरिए । जनताका जीवनस्तर फेरिएन । हिजो कविता शासकहरुका लागि लेखिन्थ्यो । आज सहरमा बस्ने शौखिन बुद्धिजीवीहरुका लागि लेखिन्छन् । गाउँका लागि कविता लेखिन्नन् । जबसम्म कवितालाई आन्दोलनको अभियानको रुपमा लिइन्न, हामीबाट लेखिने भनेको कुण्ठा मात्र हो । सहरमा बसेर कविताका कति किताबहरु बिक्री भए वा कति जनाले कविता पढे भन्ने होइन, मुख्य कुरा कविताले सामाजिक रुपान्तरण र आन्दोलनमा कति सचेत पाठकहरु तयार गरे भन्ने हो । कविता साहित्यको इतिहास लेखिनलाई मात्र होइन, सामाजिक रुपान्तरणको अभियानको लागि लेखिने हो । गाउँको जीवन बदल्नका लागि लेखिने हो । कविताले आन्दोलनको आधार निर्माण गर्नु हो । कविता गतिशील जीवनको लागि हो ।

बहसको सामुहिकतामा सबैका आ–आफ्ना धारणाहरु थिए । आखिर लेखनको उद्देश्य के ? अहिले लेखिरहेका साहित्यमा किन विषयवस्तुको पुनरावृति मात्र पाइन्छ ? किन अहिले लेखकहरु एकरस साहित्य लेखिरहन्छन् ? किन हाम्रा साहित्य विश्व साहित्यको मापडण्डमा छैनन् ?

साँच्चै ! हामी सबै लेखिरहेका त छौं । सबैले लेखेका कुराहरु पढ्दा उस्तै लाग्छन् । हाम्रो आफ्नो निजी शैलीहरु छैनन् । हामी एकांकी छौं । हामी अरुका कृतिहरु पढ्दैनौं । अरु त अरु आफैले एकचोटि लेखिसकेपछि दोहो¥याएर लेख्दैनौं वा परिस्कृत गर्दैनौं । परिमार्जन गर्देनौं । लेखकको आफ्नो निजी शैली नभएपछि लेखकको निजत्व हराउँछ । हामीले लेखेका किताबहरु पाठकले किनी त देलान् । तर यस्ता किताबहरुले पाठकलाई पढ्न रुचि जगाउँदैन । हामीले लेख्ने भनेको पाठक निर्माणका लागि हो जसको दराजमा हाम्रो आफ्नो कृति सधैं सुरक्षित रहोस् । हाम्रा किताबहरु कम्तिमा पनि सडकको शुपथ मूल्यको पसलमा नबेचियून । किताबहरुले कति हजार प्रतिको नाफाघाटाको व्यापारको हिसाब होइन, कति मूल्यवान पाठकहरुले हामीलाई स्मरण गरिरहे ? यसरी पो आजको साहित्य, साहित्य लेखन, लेखक र पाठक बीचको सम्बन्धलाई आत्मसात् गर्ने हो कि !

हात्तीबाङले साहित्यको बहस सिर्जना मात्र गरेन, साँझ निकै रमाइलो काव्यसाँझको आयोजना पनि ग¥यो । राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा कोठामा साँझ ६ बजेबाट सुरु भएको काव्यसाँझको रोचक र रमाइलो पक्ष भनेको मोबाइलको उज्यालोमा झण्डै दुई घण्टासम्म चलेको कविता वाचन थियो ।

हात्तीबाङमा भएको लोडसेडिङ र अँध्यारोले कविहरुलाई छेकेन । सबैका मोबाइलहरु बलेका थिए ।
अँध्यारोमा पहरा दिइरहेको सिपाहीले झैं टङ्क त्रिपाठीको हातमा बलिरहेको मोबाइलले सबै कविहरुलाई कविता वाचन गर्न थप साथ र उत्साह दिइरहेको थियो । बालकवि आयाम अधिकारीबाट सुरु भएको काव्यसाँझमा झण्डै एक दर्जन कविहरुले कविता वाचन गरिसक्दा पनि टङ्क त्रिपाठीको हातमा रहेको मोबाइलले आफ्नो उज्यालोलाई कम हुन दिएन ।

कविताको क्रम सकिएपछि काव्यसाँझको एउटा अर्को पटाक्षेप बाँकी थियो । कार्यक्रमलाई नयाँ क्लाइमेक्स दिने काम बिहानै तेजविलास अधिकारीले मलाई दिइसकेका थिए । काव्यसाँझको प्रमुख अतिथि थिएँ म । कार्यक्रमको बीट मार्नु पर्ने थियो मैले । मलाई हेरेर मुसुमुसु हाँस्दै थिए तेजविलास अधिकारी । भूमिका बाध्दै गएँ, सबैको अनुहारमा एउटा उत्सुकता र अनभिज्ञता थियो । मैले कवि भूपिनको जन्मदिनको उत्सवका केही शब्दहरु पोख्न नपाउँदै एक्कासि सबैको स्वर हलभित्र एकसाथले गुन्जायमान भयो, ‘ह्याप्पी बर्थ डे कवि भूपिन ।’

मैले आफूले ल्याएको एउटा सानो उपहार भूपिनको हातमा थमाएँ । केही साथीहरुले उनको गालामा अबीर दले । कवि कृष्णप्रसाद पोखरेलले उनको गलामा माला हालिदिए ।

एकछिन त कवि भूपिन ट्वाँ । हेरेको हे¥यै भए । यो आकस्मिक कार्यक्रमको माहोलले सबै दङ्ग थिए । सबैको अनुहारमा एउटा उत्सवको खुसी थियो । नारायण पौडेलले गीतबाटै भूपिनलाई शुभकामना दिए । सबैले ताली बजाएर उनलाई निकै रमाइलोसँग साथ दिइरहेका थिए । यो वातावरणमा निकै भावुक देखिए कवि भूपिन । एकछिनपछि उनको वाक्य फुट्यो, ‘क्या अनिलजी ! ह्वाट अ सरप्राइज ।’

योभन्दा बढी उनी बोल्न सकेनन् । ग्लाम्लाङ्ग मलाई अङ्गालो हाले । हामी दुवैले एकअर्काको अङ्गालोमा एउटा न्यानो आत्मीयता महसुस गरिरह्यौं ।

‘यो मेरो जीवनको अविस्मरणीय उपहार हुनेछ ।’ उनले भावुक हुँदै मैले दिएको उपहारलाई चुमे ।

‘भोलि बिहान सबेरै सबै जना तयार हुनुहोला है । हात्तीबाङबाट माथि सिराइचुली जानको लागि बाटो अवरुद्ध भएको जानकारी आएको छ । गाडीलाई यहीँ छाडेर हामीले पैदल हिँड्नु पर्नेछ । दुई घण्टा पैदल हिँड्नु पर्ने भन्ने कुरा छ । त्यसैले सबेरै शीतलमा हिँड्नु राम्रो ।’ इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माले काव्यसाँझको समापन गर्दै भने ।
०००

‘नयाँ वर्षको २०८१ को शुभकामना सर ।’ एकाबिहानै निद्रामा तेजविलास अधिकारीको मोबाइलमा कसैको स्वर सुनियो । निद्रा बिथोल्ने गरी बजेको मोबाइलको घण्टीले तेजविलास सरलाई निद्राबाट ब्युँझाएको थियो । मोबाइलको चर्को आवाजले राष्ट्रिय माध्यमिक विद्यालयको अतिथि कक्षमा सुतिरहेका हामी सबैलाई पनि ब्युँझाएकै थियो । तीन पनि नबज्दै हल्लाखल्ला गरेर सिराइचुलीतिर हिँड्नेहरु थिए ।

‘रोहिणी त्रिपाठी दाइको फोन ।’ ओछ्यानमा उठेर बस्दै तेजविलासले भने, ‘साथीहरु अँध्यारैमा हिँडे त । रातभरि सुतेनन् क्या हो साथीहरु ।’

दुई तीनचोटि नै तेजविलास सरको मोबाइलमा घण्टी बज्यो ।

‘अँध्यारैमा त के हिँड्नु र हो । कम्तिमा पनि बाटोका दृश्यहरुलाई आँखाले टिप्दै हिँड्नुको मज्जा त होस् । हामी उज्यालो भएपछि नै हिँडौं । अँध्यारोमा प्रकृतिसँगको आँखाको सामीप्य रहन्न ।’ मैले भनें ।

‘आइमाई, केटाकेटीहरु पनि छन् । उनीहरुलाई छाडेर हिँड्न मिलेन । यो अँध्यारोमा उनीहरुलाई कसरी हिँडाल्नु । बाटोको अप्ठ्याराहरु हुन सक्छन् । ठिक हो तपाईंले भनेको । हामी उज्यालो भएपछि नै हिँडौं । केलाई हतार छ र ! हैन त ?’ तेजविलास सरको निष्कर्ष ।

चार बजे ओछ्यान छाडेर हामी सिराइचुली होम स्टेको आँगनमा पुग्दा केही साथीहरु चिया पिउँदै थिए । ती परिवार र केटाकेटी हुने साथीहरु थिए । परिवारलाई छाडेर हिँड्न नमिलेकोले अडिए । अरु त बिहान अँध्यारैमा निस्किहाले ।

हात्तीबाङदेखि सिराइचुलीसम्मको बाटोको मेरा दुई सहयात्रीहरु थिए आयाम अधिकारी र युवि ढकाल । यी दुवै यो दुई दिवसीय काव्ययात्राका बालकविहरु थिए । उमेरले उस्तै थिए । हिँड्दाहिँड्दै उनीहरुका अभिभावकहरु पछाडि छुटे । आफ्नो अभिभावक छोडेर यी दुवै मसँग अघि निस्के । बाटोमा दुवै गफिएर मभन्दा अघिअघि हिँडिरहेका थिए । एकछिन अडिन्थे, हिँड्थे । मलाई पर्खिन्थे ।

‘अङ्कल, थकाइ लाग्यो भने भन्नु है ।’ मलाई अलि पछाडि परेको देखेपछि आयाम अडिएर भन्थ्यो । मलाई हेरेर ऊ फिसिक्क हाँस्थ्यो । निकै मज्जा लाग्थ्यो मलाई उसको यो व्यवहार । मनमनै हाँस्थें । थकाइ र पसिनामा यी दुईको गालामा पोखिएको सिराइचुलीको घामले पनि निकै रमाइलो मानिरहेको थियो । केटाकेटीहरुको मनोविज्ञानलाई बुझेर उनीहरुसँग रमाउनुको आनन्द पनि अलग्गै हुँदोरहेछ ।

२०८१ सालको पहिलो बिहान अर्थात वैसाख १ गते ।

अर्थात सिराइचुली दुई दिवसीय काव्ययात्राको दोस्रो दिनको प्रभातीय यात्रामा हामी हिँडिरहेका छौं सिराइचुलीको सिरान टेक्न । नयाँ वर्षको दिन सिराइचुलीमा स्थानीय मेला लाग्छ । मेला हेर्न पैदल हिँड्नेहरुको भीड छ बाटोभरि । बाइक, स्कुटरहरुको चाप उस्तै छ । मेलामा आउनेहरुको भीडको रौनक र उनीहरुका बीच आदानप्रदान भइरहेका नयाँ वर्षको शुभकामनाका शब्दहरुले सिराइचुलीको उकालो पनि गुञ्जित छ । सिराइचुलीको उकालो पनि आज हर्षले खेलेको छ । बाटोभरि फुलिरहेका लालीगुराँसका फूलका बुट्यानहरुले सिराइचुली शोभायमान छ ।

आहा ! सिराइचुली ।

सिराइचुलीको सिरानलाई टेकेर चिसो हावाले स्पर्शित भइरहँदा मन बतासिएर उड्यो । मनले कावा खाइरह्यो । वरिपरि थुम्काजस्ता स–साना पहाडहरु देखिन्थे । माथि निलाकाश थियो । आफ्नो शरीरलाई डङ्रङ्ग चौरमा लडाएँ र सिराइचुलीलाई सिरानी हालेर त्यो निलो आकाशलाई नियालिरहें ।
०००










About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these