यादको एकान्त
(एक)
हावामा तैरिँदै आयो
एउटा शालीन तस्बिर
र, उसका आँखाहरुबाट
बर्षिरह्यो खुसी
पोखिरह्यो
उसका खुसीहरुले एउटा उज्यालो
क्षणभरमै हरायो
जङ्गलको त्यो उद्विग्नता
सर्सराएर खेलिरहे
रुखका पातहरु
र, तन्मयमा
चराहरुले गाइरहे
उज्यालोको त्यो गीत
बज्यो प्रेमको एउटा मधुर धुन
र, लहराइरह्यो हावा
म एक्कासि
उसको यादको एकान्तमा हराइरहें ।
०००
(दुई)
को हो ऊ
जसको न कुनै तस्बिर छ
न कुनै चित्र
प्रकाशजस्तै आउँछ
र, उसको उज्यालोले
निद्रामा मलाई
मुग्ध बनाउँछ
र, निद्राबाट ब्युँझेर
म उसको यादको एकान्तमा
हराइरहन्छु ।
०००
(तीन)
आऊ
ए बतास
मलाई बिथोल्नेगरी
यो हाँगाबाट चुँडिएर
अब म यो माटोलाई
अँगाल्छु
सदियौंदेखि
मलाई यो माटोसँग
अगाध प्रेम छ
र, यो बताससँगै
म उसको यादको एकान्तमा
हराइरहन्छु ।
०००
(चार)
गोधूलिमा
मलाई सधैं किन आइरहन्छ
उसको याद
यी बाटाहरुमा
उसले छाडेर गएका
पाइतालाका डोबहरुलाई
पछ्याइरहन्छु
र, म उसको
यादको एकान्तमा हराइरहन्छु ।
०००