२६ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १०
जिपले जत्ति नै कुदाए पनि आजको साँझ हामी आगरा बास बस्न नपुग्ने भयौं । बरेली बजारलाई छाडेर कचला गङ्गाघाट पुल आइपुग्दा बेलुकीको ६ः ४५ बजिसकेको थियो । घाम धमिलो उज्यालो बोकेर गङ्गाघाट नदीको तटबाट ओझेल हाल्दै थियो । सूर्यको एउटा गोलाकृति गङ्गाघाट नदीको पानीमा तैरिरहेको थियो । पुलवारि सडक छेउछाउ मटका चिया दोकानहरु थिए ।
‘यहाँके मटका चाय बहुत मिठी होती है ।’ ड्राइभरले भन्यो ।
‘त्यसो भए मटका चाय पिएर जाने ।’ पुरुजी पनि रमाए ।
ड्राइभरले जिपलाई छेउ लगायो । त्यहाँ मटका चिया पिउने अरु गाडीका मान्छेहरु थुप्रै थिए । हामीले आ–आफ्नो मोबाइल क्यामराबाट मटका चिया पिएका फोटाहरु लियौं । ड्राइभरले दोकानदारसँग बसेको हामी सबैको एउटा संयुक्त फोटो लिइदिए ।
‘धन्यवाद ! भाईजी । मिठी चाय पिलाया ।’ हिँड्ने बेलामा दोकानेलाई भन्यौं ।
‘अच्छा से जाना । आप लोग का यात्रा अच्छा रहे ।’ मुसुक्क हाँस्यो ऊ ।
०००
‘तपाईंको नाम के हो ? हामीले त अहिलेसम्म तपाईंको नाम पनि सोधेनौं ।’ जिपमा चढिसकेपछि मैले ड्राइभरसँग सोधें ।
‘सोनु खुराना ।’ उसले भन्यो ।
पंजाबी रहेछन् । छयालिस वर्षका । मोटो शरीर, मसिनो स्वर, बिस्तारै बोल्ने । फरासिला । बनबासामा घर रहेछ । घरमा आमा र श्रीमती । सरकारी हाइस्कुल पढ्दै गरेका दुई छोरीहरु । यो उनको आफ्नै स्कोर्पियो जिप । बाइस वर्षदेखि उनी यो ड्राइभिङ पेशामा रहेछन् । यसरी नै यात्रुहरुलाई लिएर रिजर्भमा हिँडिरहने रैछन् । हामीसँग कुराकानी गर्दै उनले आफ्नो घर र परिवारको जानकारी दिए ।
‘रमाइलो लाग्छ । धेरै किसिमका मानिसहरुसँग भेट हुन्छ । उनीहरुसँग सङ्गत हुन्छ । उनीहरुलाई देश देर्शना गराउँछु ।’ उनी भन्छन् ।
अघिसम्म उनलाई सबैले गुरुजी भनेर बोलाउँदै थिए । अब हामी सबैले उनलाई बोलाउने नाम ‘सोनुभाइ’ ।
‘सोनुभाइ, आप क्यूँ इतना मोटा ?’ पुरुजीले जिस्क्याइहाले ।
मुसुक्क हाँस्यो ऊ ।
‘इतना मोटा तो नही हुँ’ – उसले भन्यो, ‘हामी सरदारहरुको जिउडाल नै ठूलो हुन्छ । अरु मान्छेको दाँजोमा अग्ला हुन्छौं । अग्लो मान्छे मोटाएपछि झनै ठूलो देखिन्छौं ।’
यतिबेला भने उसको यो घतिला कुराले हामी हाँस्यौं ।
०००
‘यहाँबाट अर्को शहर पुग्न अब निकै टाढा छ । बिचमा अब कुनै बस्तीहरु र बास बस्ने होटलहरु छैनन् । हामीले यही टुँडलामा होटल खोज्नु पर्छ । एकछिनमा यहाँका होटलहरु पनि बन्द भइसक्ने छन् ।’ टुँडलामा आइसकेपछि सोनु भाइले हामीलाई भन्यो ।
ओहो ! घडीमा रातिको दश बजिसकेछ ।
बाटोको अँध्यारो यात्रामा सबैका आँखा निद्राले झकाइसकेको रैछ । सोनुभाइले जिपलाई सडकको एक छेउ लगाइसकेपछि सबैका जिउ तन्किन थाले । पुरुजी र सोनु भाइ जिपबाट ओर्लिएर अलि पर रहेको एउटा होटलभित्र छिरे । होटलको अघिल्तिर उभिएर रातिको बत्तीको त्यो उज्यालोले निकै आकर्षक देखिएको टुँडला रोडलाई हामीले आफ्ना क्यामराहरुमा कैद ग¥यौं । केहीबेरमा हामी आ–आफ्ना झोलाहरु लिएर नजिकै रहेको होटल न्यु सत्कार ढाबाको करिडोरभित्र प्रवेश ग¥यौं । होटलको गार्डेनिङ निकै सुन्दर थियो । आकाशमा जून थियो र होटलको गार्डेनमा बसेर हामीले जूनको कोमल र शीतल स्पर्शको अनुभव गरिरहेका थियौं ।
खाना खाएर सुत्न हिँड्दा साढे एघार बज्यो ।
०००
२७ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र ११
बिहान छिट्टै हिँड्ने अघिल्लो रातको कुरा हुँदाहुँदै पनि बिहान होटल छोड्दा घडीले आठ त बजाइहाल्यो । आगरामा ताजमहल हेर्ने कुरा बाटोमै हरायो । आगरालाई छाडेर अघि बढेको हाम्रो अबको प्रस्थान यात्रा ग्वालियरतिर थियो । प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवको आज पहिलो दिन । दिउँसो एक बजेदेखि कार्यक्रम शुभारम्भ हुँदैछ । हामीलाई निम्ता दिने साहित्यिक संस्था उद्भव साहित्यिक मञ्चका सचिव दिपक तमोरसँग फोन सम्पर्कमा पुरुजी जोडिइरहनु भएको छ । कार्यक्रम सुरु हुने समयलाई ख्याल गर्दै सोनुभाइ निस्फिक्रीसँग जिपको गतिलाई दौडाइरहेको छ । नेपालमा जस्तो सडक बन्द र जामको समस्याहरुलाई यहाँको सडकमा गाडीहरुले बेहोर्नु परेको देखिन्न । निर्बाध रुपमा सडकमा गाडीहरु कुदिरहेका छन् । नेपालमा सडकहरुको रुग्ण अवस्थाले सधैं दिक्क बनाएका हामीहरुलाई यहाँको सडकहरु एकप्रकारले निर्जन झैं लाग्छ । एकनासले सडकमा कुदिरहेको गाडीको गतिसँगै हामीले यात्रालाई निकै सहज अनुभव गरेका छौं । वरिपरि सडकका छेउहरुमा देखिएका रुखहरुका हरियाली, देहाती घरहरु र यी ठूला र फराकिला सडकहरुको एकान्तले मनलाई आनन्दित बनाउँछ ।
‘हामी अब ग्वालियर सहरभित्र प्रवेश गरिसक्यौं ।’ सोनुभाइले हामीलाई भन्यो ।
हामी सबैका आँखाहरु उत्सुक भएर झ्यालबाहिर थिए । केही दिनदेखि हाम्रो यात्राको गन्तव्य बनेको, हामीले हेर्न खोजेको, हामीले बुझ्न खोजेको, मनको एक तहमा कल्पना बनेर बसेको ग्वालियरलाई यतिबेला आँखाको तहबाट प्रत्यक्ष गर्दै थियौं । उत्सुकता र रोमाञ्चकता आँखाबाट एकैचोटि पोखिएको थियो । सबैका आँखाहरु चनाखा थिए ।
एउटा प्रहरीपोष्टअघि सोनुभाइले जिपलाई रोके । हातमा केही कागजपत्रहरु लिए र ओर्लिएर अध्यागमन विभाग लेखिएको भवनभित्र पसे । एकैछिनमा उनी बाहिर आए र हामीलाई सोधे– ‘हामी कति दिन यहाँ रहन्छौं ?’
‘२७ देखि ३० अगस्तसम्म । चारदिन ।’ पुरुजीले हिसाब दिए ।
सोनुभाइ फेरि उतै फर्किए । सोनुभाइ फर्किएर जिपमा आइसकेपछि थाहा भयो अध्यागमन विभागले यहाँ आउने बाहिरी पर्यटकहरुको सङ्ख्या र बस्ने दिनको तथ्याङ्क लिँदो रहेछ । यहाँबाट अनुमति लिएर मात्र शहरभित्र प्रवेश पाइँदो रहेछ ।
महाराणाप्रतापको सालिक रहेको चोकलाई फन्को लगाउँदै सोनुभाइले जिपलाई कार्यक्रम स्थल रहेको भारतीय पर्यटन एवं यात्रा प्रबंध संस्थानको एक विशाल भवन रहेको कम्पाउण्डभित्र छिराए । आमन्त्रित अतिथिहरुको स्वागतमा टाँगिएका आकर्षक व्यानरहरुले मुल गेट सजाइएको थियो । अतिथि गृहभित्र रहेको एक भव्य स्वागत कक्षमा पाहुनाहरुलाई स्वागत गरिसकेपछि एक सहयोगीले हामीलाई बस्ने कोठाहरु देखाइदिए ।
‘सरहरु यात्राले थाक्नु भएको छ । एकैछिन आराम गर्नुस र खाना खानको लागि तल डाइनिङ हलमा आउनुस ।’ ढोकाबाट ती सहयोगीले हामीलाई भने ।
हामीले खाना खाएर कार्यक्रम स्थलभित्र प्रवेश गर्दा अपरान्हको कार्यक्रमको शुभारम्भको पहिलो उद्घाटन सत्र सकिएको थियो । उद्घाटन सत्रको मुख्य अतिथिको रुपमा रहेको भारत सरकारको नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य माधवराव सिंधिया दिल्लीको एक कार्यक्रममा व्यस्त रहेकोले भोलि मात्र आउने र कार्यक्रमलाई सम्बोधन गर्ने भन्ने कुरा सुनियो । साँझको सांस्कृतिक कार्यक्रम हेरेर हामी कोठामा फर्कियौं ।
२८ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १२
अघिल्लो साँझ हातमा परेको कार्यक्रमको कार्यतालिका सूचि हेरिसकेपछि हामीले बिहानको खाजा खाएर घुम्न जाने तयारी ग¥यौं । २८ अगस्तको आजको कार्यक्रम दिउँसो एक बजेदेखि शुरु हुँदै थियो । त्यसैले हिजो साँझदेखि नै हाम्रो झाँसी पुगेर ऐतिहासिक झाँसीको किल्ला हेर्ने र फर्कने सल्लाह थियो । कार्यक्रम आयोजक संस्थाका सचिव दिपक तमोरजीलाई पुरुजीले हाम्रो घुम्न जाने कार्यक्रमको जानकारी पनि दिए । दिपक तमोरजीले हाम्रो बिहानको बचत समयलाई ग्वालियर घुमेर सदुपयोग गर्नुस भनेर हार्दिकता देखाए । तर कोठामा पुगेर घुम्न जाने तयारी गरेर बाहिर ननिस्कँदै हामीलाई खबर आइपुग्यो ‘अहिले बिहान मन्त्री ज्योतिरादित्य सिंधिया कार्यक्रममा आएका अतिथिहरुलाई भेट्न आउँदैछन् । त्यसैले तपाईंहरु कार्यक्रम हलमा आइदिनू होला ।’
घुम्न निस्कनका लागि ढोका बाहिर उचालिएका हाम्रा पाइलाहरु ढोकाभित्र अडिए । तयार भएर हाम्रो ढोकाअघि उभिन आइपुगेका उषा के. सी., ओमकुमारीजी र जानकी कुँवर हामीलाई हेरेको हे¥यै भए । उनीहरु कपडा फेरबदलका लागि आफ्ना कोठातिर फर्किए ।
‘दौरा सुरुवाल निकाल्नोस साथीहरु ।’ पुरुजीले भने ।
बाहिर गाडीमा हामीलाई पर्खिएर बसिरहेका ड्राइभर सोनुभाइ पुरुजीलाई फोनमा सोध्दै थिए, ‘क्या हुआ ?
०००
ग्वालियर अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको कार्यक्रम स्थल रहेको भारतीय पर्यटन एवं यात्रा प्रबंध संस्थानको त्यो विशाल र भव्य हल भारत सरकारका उड्डयन मन्त्री ज्योतिरादित्य सिंधिया आउने खबरले खचाखच र भरिभराउ थियो । पहिलो लहरमा साहित्य सम्मेलनमा सहभागी हुन नेपालबाट पुगेका हामी सातजना साथीहरु थियौं । दौरा सुरुवाल र ढाका टोपीले त्यो भीडमा हाम्रो अलग्गै पहिचान दिइरहेको थियो । जानकी कुँवरले हिमाली भेकमा महिलाले लगाउने पोसाक लगाएकी थिइन् ।
हलभित्र मन्त्री ज्योतिरादित्यको प्रवेशले तालीको गडगडाहट उठ्यो । दौरा सुरुवाल र ढाका टोपीमा उभिएको हामीलाई उनले सोधे, ‘नेपालबाट ?’ उनी नेपालीमा बोल्ने प्रयास गर्दै हामीसँग कुराकानी गरिरहेका थिए । नजिकै आइसकेपछि उनले मलाई सोधे, ‘तिमी नेपालको कहाँबाट आएको ?’ मैले भनें, ‘पोखराबाट ।’ यस बाहेक अरु उनले सोधेनन् । मुसुक्क हाँसे र अघि बढे ।
‘नेपालबाट आएका सप्तर्षिहरु, म यो ग्वालियर सहर र यो अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा स्वागत गर्छु ।’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा मञ्चबाट उनले नेपाली भाषामा गरेको यो सम्बोधनले हामीलाई अचम्भित बनायो । उनको झण्डै एक घण्टा लामो सम्बोधनमा सुरुको पाँच मिनेट जति उनले नेपाली भाषामा बोले । नेपाली भाषाप्रतिको उनको यो सद्भाव र हार्दिकताले हामीलाई खुसी मात्र बनाएन गर्वले हाम्रो छातीलाई चौडा पनि बनायो ।
भारतीय राजनीतिमा सिंधिया परिवारको प्रभाव एकछत्र रहँदै आएको देखिन्छ । सन् १९४७ मा अङ्ग्रेज उपनिवेशबाट भारत स्वतन्त्र हुनुअघि ग्वालियर सिंधिया राज घरानाबाट शासित थियो । जिवाजी राव सिंधिया ग्वालियरका अन्तिम महाराजा थिए । सन् १९६१ जिवाजी राव सिंधियाको निधनपछि उनकी पत्नी राजमाता विजयराजे सिंधियाले भारतीय राजनीतिमा प्रवेश गरिन् र लोकसभामा निर्वाचित भइन् । आमाको राजनीतिलाई पछ्याउँदै उनका छोरा माधवराव सिंधियाले १९७१ को लोकसभाको निर्वाचन जिते र राजीव गान्धीको सरकारको मन्त्री समेत भए । ज्योतिरादित्य सिंधिया उनै माधव राव सिंधियाको छोरा हुन् । उनकी आमा माधवी राजे (किरण राज्यलक्ष्मी देवी) नेपालको राणा परिवारको छोरी हुन् । सन् १९६६ उनको ग्वालियरका माधव राव सिंधियासँग वैवाहिक सम्बन्ध जोडिएको थियो ।
सायद यसैले पनि नेपालबाट गएका हामी अतिथिहरुसँग उनले देखाएको हार्दिकता र नेपाली भाषाप्रतिको यो उनको सम्मानको एउटा आशय थियो कि ? जे भएपछि यतिबेला उनको मावली देशबाट गएका हामी पाहुनाहरु थियौं । र, ग्वालियर हाम्रो देशकी एउटी चेलीको घर थियो ।
२९ अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १३
प्रथम अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सवको तेस्रो दिन । दिउँसोको चौथो सत्रको विषय थियो – ‘रंगमञ्च, चित्रपट र साहित्य बीचको अन्तर्सम्बन्ध’ । समय एकदेखि तीन बजेसम्म थियो । बेलुकी चारदेखि छ बजेसम्म ‘लोक साहित्य, यात्रा साहित्य र समाज’ विषयक पाँचौ सत्र थियो । चारदिनसम्म विभिन्न सत्रमा बाँडिएको कार्यक्रममा निकै गहन विमर्शका विषयहरु थिए । विमर्श कार्यक्रममा विद्वान कार्यपत्र प्रस्तोताहरुबाट कार्यपत्रहरु प्रस्तुत भइरहेकोे थियो । अन्तिम दिनको छैटौं सत्र अन्तर्राष्ट्रिय सत्र थियो । नेपालको तर्फबाट पुरु लम्सालले ‘नेपाली साहित्यमा भारतीय साहित्यको प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो ।
ग्वालियरमा उद्भव साहित्यिक मंचले पहिलो पटक यो साहित्य उत्सवको आयोजना गरिरहेको थियो । उद्भव सांस्कृतिक एवं खेलकुद संस्थानले आफ्नो स्थापनाको २५ औं वर्ष पूरा गरेको अवसरमा ५ फेब्रुअरी २०२२ वसन्त पंचमीका दिन यो साहित्यिक मंच गठन गरेको थियो । साहित्यका माध्यमबाट युवा पिढीमा जागरुकता पैदा गर्ने र लुकेका प्रतिभाहरुको खोजी गरी उनीहरुको लेखन कार्यमा निखार ल्याउने, अग्रज साहित्यकारहरुको सम्मान गर्ने र उनीहरुको योगदानलाई प्रतिष्ठापन गर्ने, ग्वालियरको साहित्यिक परम्परालाई विश्वका मुलुकहरुमा प्रतिस्थापित गर्ने यो साहित्यिक मंचको उद्देश्य रहेको छ ।
‘अहिले बिहान हामी ग्वालियरको सबैभन्दा पुरानो पुस्तकालय हेर्न जाँदैछौं । नास्ता गरेर तयारी रहनु होला ।’ संस्थाका सचिव दिपक तमोरजीले डाइनिङ हलमा खाजा खाँदै गर्दा पुरुजीलाई भनेर गए । केहीबेरमै साहित्य उत्सवमा आएका अतिथिहरुलाई लिएर आयोजक संस्थाको गाडी पुस्तकालयतिर लाग्यो । पुस्तकालयको भवन निकै पुरानो थियो र किताबहरुलाई निकै व्यवस्थित रुपमा संरक्षण गरेर राखिएको थियो । पुस्तकालय रहेको कक्षका चारै भित्ताहरुमा भारतीय साहित्यका प्रसिद्ध साहित्यकारहरुका फोटाहरु टाँगिएका थिए । ठाउँ ठाउँमा कविताका महत्त्वपूर्ण पङ्क्तिहरु टाँसिएका थिए । पुस्तकालय अवलोकनको त्यो छोटो कार्यक्रमपछि पुस्तकालयबाट निकै न्यानो आतिथ्यता र पुस्तकहरुको उपहार लिएर फर्कियौं ।
दिउँसो दुई महत्त्वपूर्ण विषयहरु रहेको कार्यपत्र प्रस्तोताहरुको कार्यपत्रले भारतीय साहित्यलाई बुझ्ने एउटा अवसर मिल्यो ।
‘ग्वालियरकी यह साहित्य सृजन परंपरा सिंधिया राजवंश के संस्थापक महाद्जी सिंधिया से होते हुए सन १९०० के लगभग जनसाधारण के मध्य पहुँच गई और सन् १९०२ मे कुछएक साहित्य और सृजनप्रेमी सज्जनों ने एकत्र होकर ‘नागरी हितेषणी सभा’ की स्थापना की । इस सभा ने सदी के आरंभिक वर्षो में ग्वालियर नगर में साहित्यिक गतिविधियों के विकास हेतु महत्त्वपूर्ण कार्य किए । वर्ष १९०८ में इसका नामाकरण ‘ग्वालियर साहित्य सभा’ किया गया और १०४८ मे यह ‘मध्य भारतीय हिंदी साहित्य सभा’ के रुप में जानी जाने लगी । गौरवका विषय है कि लगभग १२० वर्षो का सृजन सफर तय करने के बाद आज भी यह संस्था अपने संपूर्णा सृजनात्मक वैभव के साथ नगर के साहित्य प्रेमियो को अपने साथ जोडकर ग्वालियर की साहित्यिक परंपरा को निरंतर बनाए रखने में विशिष्ट योगदान दे रही है ।’
डा. दिनेश पाठकले ग्वालियरको साहित्य परम्परालाई निकै सटिक र सुन्दर ढङ्गले आफ्नो कार्यपत्रमा प्रस्तुत गरेको थियो ।
साँझ मुंसी प्रेमचन्दको प्रसिद्ध कथा कफनलाई नाट्य रुपान्तरण गरी रंग सारथी संस्थाका कलाकारहरुबाट मञ्चन गरिएको थियो । कथालाई निकै सशक्त ढङ्गले नाटकमा प्रस्तुत गरिएको थियो । कलाकारहरुको अभिनय जीवन्त र बजोड थियो ।
३० अगस्त २०२२, तदनुसार वि. सं. २०७८ भाद्र १४
श्रीधर पराडकर, यस कार्यक्रमका मुख्य संरक्षक थिए । ग्वालियरमा उनको प्रतिष्ठा र सम्मान निकै देखिन्थ्यो । कार्यक्रममा आउनेहरु उनलाई श्रद्धापूर्वक निहुरेर ढोग्थे । उनीसँग बसेर फोटो खिच्थे । उनी प्रेमपूर्वक सबैसँग हालखबर सोध्थे । निकै वय देखिन्थे ।
पराडकरको जन्म १५ मार्च १९५४ मा ग्वालियरमा भएको थियो । उनी ३० भन्दा बढी कृतिहरुका लेखक हुन् । भारतको पूर्वीय साहित्य लेखनका लागि भारत सरकारले उनलाई सन् २०१५ को लोकप्रिय पुरस्कार ‘विवेकानन्द पुरस्कार’ र ‘विश्व हिन्दी सेवी सम्मान’बाट सम्मानित र पुरस्कृत गरिसकेको छ ।
कार्यक्रम स्थल नजिकै पुस्तक प्रर्दशनी र पुस्तक बिक्री कक्षहरु थिए । किताब बिक्री कक्षमा श्रीधर पराडकरको ‘आखिल भारतीय साहित्य परिषदको इतिहास’ नामक किताब देखें । उनको यो किताबसँगै हिन्दी साहित्य र पूर्वीय साहित्यका केही किताबहरु किनेँ ।
बिहानको खाजापछि आयोजकले हामीलाई ग्वालियरमा रहेको मध्यप्रदेशको सबैभन्दा ठूलो गौशाला अवलोकनको लागि लिएर गए । केही स्थानीय टेलिभिजन र पत्रपत्रिकाका समाचारहरुले हाम्रो त्यो गौशाला भ्रमणलाई निकै महत्व दिएर प्रचार गरे ।
०००
प्रिय ग्वालियर, अब केहीबेरमा त हामीले तिमीसँग छुट्टिएर हिँड्नु पर्नेछ । पाहुनाले धेरै दिन पराइ घर बस्नु हुँदैन । तिम्रो यो न्यानो सत्कार र आतिथ्यताको लागि धेरै धेरै आभारी छु । तिम्रो यो हार्दिकतालाई कहिल्यै बिर्सन्न । मेरा लागि यी दिनहरु अविस्मरणीय रहनेछन् । एउटा वेगवान इच्छाले मलाई तिमीसँग भेट्न यहाँ डो¥याएर ल्यायो । आदिइत्यादि नाट्य समूह र यसका संयोजक पुरु लम्साल यसको निमित्त बन्यो । यसको निम्ति पुरुजीलाई धन्यवाद दिन्छु । यो वीर योद्धाहरुको रगतको ऊर्जाले उठेको भूमि, यो झाँसीकी रानीको सहादत र उनको वीरताको इतिहास लेखिएको भूमि, यो प्राचीन पूर्वीय साहित्य र कलाको उद्भव भूमि । तिम्रो यो सान्निध्य र स्पर्शलाई कहिल्यै बिर्सन्न ।
अब छुट्छु ग्वालियर ।
यो मनलाई यहीँ ग्वालियरको किल्लामा छोडेर जान्छु ।
०००