केशव सिलवाल, (जन्मः २०३० माघ, लेले, ललितपुर) दुई दशकभन्दा लामो समयदेखि साहित्यिक/साँस्कृतिक आन्दोलनमा क्रियाशील एक सशक्त कवि हुन् । आफ्ना कविताहरुमार्फत् वर्गविभेद समाजको विरुद्ध प्रतिरोधी आन्दोलनमा उनी निरन्तर सक्रिय छन् । ‘वर्जित अवशेष’(२०६३), ‘धारिला मानिसहरु’(२०६६) र ‘चिबेचरा’(२०७८) उनका हालसम्म प्रकाशित कविता कृतिहरु हुन् । ‘आफर’(२०७३) उनको संयुक्त कविता सङ्ग्रह हो । उनी प्रलेस प्रतिभा पुरस्कार–२०७४ बाट पुरस्कृत र सम्मानित भइसकेका छन् ।
डा. जगदीशचन्द्र भण्डारीका शब्दमा, ‘सिलवालका कविता व्याख्यामेयी छैनन्, कवितामा भाव÷विचारको शूक्ष्म तन्तु छ, जसले कवि र पाठकलाई आपसमा मिलाउँछ र कस्छ । …… कविताको सुन्दरतालाई नष्ट पार्ने र कविताको स्थापत्य भत्काउन खोज्नेहरुका निम्ति समेत सिलवालका कविता दरिला तथा धारिला जवाफ र प्रहारका रुपमा रहेका छन् ।’
यहाँ कवि केशव सिलवालका ‘धारिला मानिसहरु’ (२०६६) कवितासङ्ग्रहबाट दुईवटा कवितालाई प्रस्तुत गरिएको छ ।
मागपत्र
म कालीकोट
कृपया नकुल्च मेरो मागपत्र
मैले तिमीले दिन नसक्ने
सूर्यको गोला मागेको छैन
मैले तिम्रो तीनतले घरको बरन्डामा सजाएको
सुवासयुक्त रङ्गिन फूल मागेको छैन
मैले तिम्रो छोरालाई सबैभन्दा मनपर्ने
आयातित साइकल
मेरो छोरालाई देऊ भनेको छैन
मैले तिम्रो छाला काढेर
मलाई देऊ भनेको छैन
मैले त केवल
चामल मागेको छु चामल
भोको पेट भर्ने चामल
सयौंवर्षदेखि
भोका छन् मेरा छोराछोरीहरु
उनीहरु लेख्छन् आफ्नो अँध्यारो भविष्य
कुपोषणयुक्त लुलिएको
कमजोर हात पसारेर के दिऊँ म ?
मुखको ¥यालमा अड्किएका छन् झिँगाहरु
कसरी धपाउने हो ती झिँगाहरु ?
सफेद छु म चामलजत्तिकै सफेद
चाहिँदैन मलाई ठूला घरमा मात्र
उदाउने पक्षपाती घाम
चाहिँदैन मलाई ठूला घरमो ढोकामात्र
ढक्ढक्याउने दक्षिणवर्ती हावा
म चाहन्छु स्वतन्त्रता
त्यो मेरो थालमा आओस्
म चाहन्छु गणतन्त्र
त्यो मेरो आङमा आओस्
आफू नाङ्गै बसेर पनि मैले
थुप्रै पटक बोकें झण्डा र तुलहरु
तर किन पाइनँ एक धरो लुगा आङ ढाक्न ?
भोको पेट हातले अँठ्याएर
सुनें मैले अघाएकाहरुबाट
भोकको वर्णन
तर किन पाइनँ भोक मार्ने औषधी ?
मेरो रगतको रातो पेट्रेल हालेर
मेरो मासु, छाला र हड्डीले बनेको
ए.सी.युक्त पजेरो चढ्न बन्द गर
जे पनि खान्छस् भन्दै
कुहिएको चामल पठाउन बन्द गर
खोजें मैले तिम्रो कालो संविधानको
कुन कुन दफामा छौं हामीहरु ?
तर कतै उल्लिखित छैनौं हामीहरु
तिम्रो संविधान तिमीसँग राख
र दिनदिनै गीता पाठ गरेझैं
तिमी नै पढ
नयाँ नेपालको आँगनको छेउमा उभिएर
हेरिरहेँ मैले टुलटुलु
तर पाउन सकिनँ प्रवेश
तिम्रो नयाँ नेपाल तिमीसँगै राख
र आफ्नो घरको नयाँ रुप फेर
मलाई केवल चामल देऊ चामल
चामल चाहियो मलाई
आङ ढाक्ने एकसरो लुगा चाहियो मलाई
अरुको काखमा लुटपुटिएर
अरुको चोर औंला समातेर
संसारको सबभन्दा कुनो ठाउँलाई
तिमी आतङ्कको भण्डार नदेख
मैले कुनै हतियार मागेको छैन
मैले त केवल चामल मागेको हुँ चामल
यहाँ भीर मात्र छैनन्
यहाँ जङ्गली जनावर मात्र बस्दैनन्
म कालीकोट
म पनि नागरिक बन्न चाहन्छु
मलाई नागरिक देख्ने प्रयास गर
कालीकोटलाई कालो देख्न छोड
म कालीकोट
अब कुल्चन सक्दैनौ तिमी
मेरो मागपत्र ।
०००

प्लेकार्ड
म हुँ एक प्लेकार्ड
राष्ट्रसङ्घको प्राङ्गणमा प्रदर्शित
जी–बीसको बैठकस्थल अगाडि बोकिएको
एकदमै ओसिलो आँसु जत्तिकै
फुलेको मसीले लेखिएको
सधैं फोहोर कुल्चिएझैं कुल्चिएको
मेरो अस्तित्व
आज मई दिवस
फेरि काम आउँछ मेरो
टन्टलापुर घाममा माछा सुकाएझैं
फेरि सुकाइन्छु म
मेरो औचित्य मात्र त्यति
आज गरिबी दिवस
फेरि लिन आउँछन् ट्रकहरु मलाई
राजधानीको गरिबी निवारण प्रोजेक्टमा
त्यहाँ छ –
एउटा भव्य राष्ट्रिय समारोह
म सुन्नेछु गरिबी निवारणका भाषणहरु
म हुँ एक प्लेकार्ड
मलाई नै बोकेर तिनीहरुले
मागेका थिए नयाँ बिहानी
मलाई नै बोकेर तिनीहरु
सहभागी थिए जनयुद्धमा
खोज्ने हो भने नयाँ घाम
शासकको खल्तीमा नखोज
यही प्लेकार्डमा खोज
मानवताको नाङ्गो तस्बिर हेर्नुछ भने
यही प्लेकार्डमा हेर
त्यहाँ टाँसिएको छु म
संसारको सबैभन्दा निर्धन
र निर्दोष मानिस
जो बारम्बार बन्छ प्लेकार्ड
फगत म हुँ एक प्लेकार्ड
जहिले पर्छ आवश्यकता
तासको तुरुपझैं
फ्याँकिन्छु देशझैं फैलिएको खालमा
प्रदर्शन गरिन्छु क्रुसिफाइडझें
एउटा लुलो लठ्ठीमा
ल्वाङ किलाले ठोकिएर
निषेध छ मलाई
प्लेकार्डबाट बाहिर निस्कन
खुम्चिएर बस्नुपर्दा प्लेकार्डमा
गर्धन दुखेको छ
कुँजिएका छन्
मेरा हातखुट्टाहरु
मुक्त गर
मलाई प्लेकार्डबाट मुक्त गर
बन्द गर
मलाई प्लेकार्ड बनाउन बन्द गर ।
०००