शान्ति प्रियवन्दनाका दुई कविता

att.Nhz5557umzm 3UiNdS 5k62lRkj7IF6fqpCZIG40c7U 1

२०५४ सालदेखि विभिन्न पत्रपत्रिकाहरुमा आफ्ना कविताहरुलाई प्रकाशित गर्दै आइरहनुभएकी शान्ति प्रियवन्दना (जन्मः १ वैशाख २०३५, हेटौडा), २०७८ सालमा पहिलो कविता सङ्ग्रह ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ मार्फत आफ्ना सशक्त कविताहरु लिएर काव्यिक फाँटमा देखिनु भएको छ । हेटौडामा रहेर आफ्नो लेखन सिर्जनकर्ममा निरन्तर जुटिरहनु भएकी कवि शान्ति प्रियवन्दनाका कविताहरुको मूल स्वर भनेको महिलाहरुले भोग्दै आइरहेका समस्याहरु हुन् । विसङ्गत समाज र सामाजिक उत्पीडनहरुबाट मुक्त रहन विद्रोहका आवाजहरु उराल्ने आव्हान हुन् उहाँका कविताहरु ।

उहाँ आँचल साहित्य कलापुञ्ज, मातृभूमि साहित्य समाज, साहित्य सङ्गम, प्रगतिशिल लेखक सङ्घ आदि साहित्यिक सङ्घसंस्थाहरुसँग सम्बद्ध हुनुहुन्छ । त्यसैगरी तुलसीमाया शिवकुमारी स्मृति सिर्जनशील नारी पुरस्कार २०७५, सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान २०७८, शान्तिदेवी स्मृति वनस्खण्डी साहित्य सम्मान २०७८, साहित्य पोष्ट उत्तम काव्य पुरस्कार २०७८, जसुदा साहित्य सम्मान २०७८, जागरुक महिला सम्मान २०८० बाट सम्मानित र पुरस्कृत भइसक्नु भएको छ ।

यहाँ उहाँको ‘जिल खाइरहेको एक्काइसौं शताब्दी’ कवितासङ्ग्रहमा सङ्गृहीत रहेका दुई कविताहरुलाई प्रस्तुत गरिएको छ ।

केत्तुकेको नाम्लो

रह्यो धेरै दिनसम्म
कुनामा थन्किएर केत्तुकेको नाम्लो

हर्कबहादुर दाइको
नाम्लो यसरी थन्किनु
र, बस्नु चुपचाप

भनिरहनुपरेन
धेरै दिनसम्म
केही पेट सेप्रिएर बसे

जुलुसमा हिँडे
हर्कबहादुर दाइ
भोट हाले
आन्दोलनमा नारा लगाए
लोकतन्त्र ल्याए
गणतन्त्र पनि ल्याए

नाम्लोको डाम बसेको थाप्लोमा हात लगाउँदै
कहिलेकाहीँ सोच्छन् उनी–
कागलाई बेल पाकेजस्तो
यो कस्तो समय हो ?
कस्तो व्यवस्था हो यो ?

रह्यो धेरै दिनसम्म
कुनामा थन्किएर केत्तुकेको नाम्लो
हर्कबहादुर दाइको चुलोमा
चिसो खरानी उदास उदास झोक्राइरहेको छ

जनयुद्धमा निस्किएको
उनको एउटा होनहार छोरा
फर्किएन आजसम्म
खाडीबाट बाकसमा बन्द भएर
फर्कियो अर्को छोरो
छोरी मलेसिया जान
म्यानपावर कम्पनी धाइरहेकी छे

हर्कबहादुर दाइ
भौतारिरहेका हुन्छन् काम खोज्न
चोक, बजार
साँझपख फर्किन्छन् लखतरान भएर

रहन्छ धेरै दिनसम्म
कुनामा थन्किएर केत्तुकेको नाम्लो
कुनै बेरोजगारको सपनाजस्तै ।
०००

ekaesau

नगरवधुको बकपत्र

एकाबिहानै
घरबाट आमाको फोन आउँछ
बको गरिखाने हलगोरु
लडे भीरबाट र भए भुतुक्कै

अघिल्लो साल पहिराले
निलेथ्यो खर्लप्प एक हलको पाखोबारी

कसले काटोस् खर ?
कसले छाओस् छानो ?

साउदीको कैदबाट फर्केनन् दाइ
घर थचक्क बस्यो

छिमेकीको पालीमा
शरणार्थी छन् आमा, बा र बूढी हजुरआमा
घर धान्नु छ
आफू बाँच्नु छ
पठाउनु छ हजुरआमालाई दमको ओखती

आम्दानी चुपचाप बस्छ
खर्च दौडिरहेको हुन्छ
महङ्गी बत्तिरहेको हुन्छ

महिना मर्नेबित्तिकै
ढोका ढकढकाउन आइपुग्छन् घरबेटी

आदिम तराजुमा चामल तौलिँदै
पुलुक्क मुखमा हेर्दै
सम्झाउँछन् रासन साहु–
महिना मर्दै छ, है

मेरै कोठाका पाहुनाहरु
मेरै कमाइमा हप्तौं बिताएर
गाउँ पुगेपछि
सुन्छु– काट्छन् मेरै कुरा
भन्छन् रे– सहरमा म अस्मिता बेच्दै छु रे

यहाँ सहरमा
दाँत झरेका
ढाड कुप्रिएका
अनुहारमा समयका वक्ररेखा कोरिएका
मोटा चस्मा नाकको डाँडीबाट
झर्नै लाग्दासमेत
हेर्ने गर्छन् चस्माको सिरानबाट
पुष्ट छाती, पुष्ट नितम्ब र पुष्ट शरीर
राता–राता चिल्ला गाला

सुन्नुहोस् महाशय !
यो सहरमा
म अस्मिता हैन
जवानी बेच्दै छु

यदी बिक्री हुँदो हो त अस्मिता
किन तल्लो गाउँकी फूलमती
भोकभोकै मर्थिन्
उमेर ढल्केपछि ?
०००

About the Author

One thought on “शान्ति प्रियवन्दनाका दुई कविता

  1. धेरै राम्रो
    यसै गरि प्रगती ग्ररदै जान्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these