स्वप्निल स्मृतिका दुई कविता

ss

स्वप्निल स्मृति (जन्मः २०३८, कार्तिक २९, पाँचथर) नेपाली साहित्यमा पचासको दशकले जन्माएको एकजना शक्तिशाली कवि हुनुहुन्छ । विद्रोह उहाँका कविताको स्वर हो । सामन्ती सत्ताको उत्पीडन र विभेदका विरुद्ध आफ्नो माटो र जातिको पहिचानको लागि स्वयं सङ्घर्षको मोर्चामा उभिएका उहाँका कविताहरु पनि यो समयको प्रतिरोधी कविताहरु हुन् । वर्गबोध र काव्यिक चेतले उहाँका कविताहरु शसक्त र सुन्दर छन् । आफ्ना कविताहरुलाई उहाँ ‘मैले भोगेको जीवन र समयको फुल्टिनबाट टप्किएको एक थोपा रङ्ग हो’ भन्नुहुन्छ ।

उहाँका हालसम्म ‘रङ्गैरङ्गको भीर’ (२०६२) र ‘बाडुली र सुदूर सम्झना’ (२०६८) कवितासङ्ग्रह प्रकाशित छन् ।

उहाँ ‘गोपालप्रसाद रिमाल पुरस्कार’–२०८० र ‘अमर नेम्बाङ लिम्बु स्मृति साहित्य सम्मान’–२०८२ ले सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

यहाँ ‘बाडुली र सुदूर सम्झना’ कवितासङ्ग्रहबाट दुई ओटा कवितालाई प्रस्तुत गरिएको छ ।

मधेश

यो वर्ष पनि
तेस्तो अन्तर छैन अन्य वर्षभन्दा

उस्तै छ धान उठाएर गइरहेको
ट्याक्टरमा सवार जमिनदारको सुसेली
उस्तै छ अधिया खेतबाट
उठिरहेको हुस्सुको रङ्ग
बरु झन्झन् भोक लाग्न थालेको छ
हुर्किदै गएको छोरालाई
एकाएक छोरीलाई साँधुरो भएको छ
पोहोर साल सिलाइदिएको लेहेङ्गा

यो वर्षचाहिँ
कसरी फरक हुन्थ्यो र अन्य वर्षभन्दा ?
राजधानीतिर खाली शिशी बटुल्न गएको लर्कोले
थोत्रो श्रीपेच दरबार मार्गमा भेटेको खबर छैन
इनार खन्न गएको हूलले
तानाशाह इनारमा हाम्फालेर
आत्महत्या गरेको खबर पठाएको छैन

छाती चिरेर दौडिरहेको राजमार्ग
र, मरिरहेको अजिङ्गरमा
खासै अन्तर छैन
कि कहिलेसम्म हिँडिरहने हुन् नयाँ सालहरु ?
बूढो महेन्द्र राजमार्गमा

कोशी ब्यारेजमा थुनिएको सातकोशी
र, पटक–पटक संविधानको थाङ्नामा सुताइएका
यहाँका मानिसका निद्रामा
कुनै अन्तर छैन
कि कहिलेसम्म अँध्यारोले राज्य चलाउने हो ?
सुन्दर कालो चारकोसे मधेशमा

यो वर्षसमेत
अन्य वर्षभन्दा फरक किन छैन भने–
न गाडिएका छन्
दशगजामा उखेलिएका स्तम्भ
न छोडेको छ राजधानीको चीलले
चल्लाको झैं मधेशको भुत्ला उखेल्न

राजधानीतिर
पानीपुरी बेच्न गएका जन्तीले
उही हजार वर्ष पुरानो बात गरेका छन्–
शासकहरुले पानीपुरी खाएनन्
रगत नै खाए यो वर्ष पनि
विद्यमान वर्ष पनि
भूतपूर्व दुईतीन सय वर्षहरुजस्तै छ

तर यो वर्ष
एउटाचाहिँ अन्तर छ
अन्य वर्षहरुभन्दा
सालिन्दा
शीतलहरले सहादत मधेश
रङ्गिन आगोमा नुहाइरहेछ ।
०००

baduli

बालुवाटार

यस्तो ‘पिक्निक स्पट’ हो बालुवाटार
मानौं, मेरो देशको नक्साभित्र पर्दैन त्यो

सारा मानिस भोका छन्
तर भोज अहोरात्र चलिरहेछ बालुवाटारमा
जहाँ एक दाना अनाज उब्जँदैन
फगत ! खेती हुन्छ झुठको
जहाँ एक थुँगा फूल फक्रँदैन
फगत ! मौलाउँछ नीलकाँडा षडयन्त्रको
तर त्यहाँ ढल्काएर फूलमाला
सरकार चाटिरहेछ सत्ताको गुलियो

आगलागी भइरहेछ मानिसका मन–मनमा
भागदौड मच्चिरहेछ सारा गाउँसहरमा
मानौं, बालुवाटार विश्वको मानचित्रमै पर्दैन
जहाँ चलिरहेछ निरन्तर नाचगान
मादक डढेलो उठिरहेछ मनोरञ्जनको
जुद्ध बारुणयन्त्र लगातार निभाइरहेछ
विदेशी रक्सी सल्किएको मन्त्रीहरुका टाउको
‘कक्टेल’मा मदहोस प्रधानमन्त्री
¥याप हानिरहेछ ‘शान्ति ! शान्ति !’

हुरी हुन्हुनाइरहेछ भूगोलका कुना कुना
चारैतिर मडारिइरहेछ रुखपात, बुट्यानहरु
बालुवाटारको आकाशै छोपिनेगरी
भुँवरी उठिरहेछ प्रत्येक बाह्रबजे
सराकार पछारिरहेछ बालुवामा
हरुवा गोरुझैं डङ्डङ्ती

तर सरकार ……
सरकार बालुवामुनि हतियार लुकाएर
लड्डु खाइरहेछ लोकतन्त्रको

यस्तो ‘पिक्निक स्पट’ हो बालुवाटार
मानौं, मेरो देशको नक्साभित्र पर्दैन त्यो
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these