सुरज राना (जन्मः २०४९, सुनसरी) कवितामा नयाँ शिल्पका साथ देखा परेका पछिल्लो युवा पुस्ताका एक सशक्त कवि हुनुहुन्छ । उहाँका कविताका शब्दहरु सरल हुन्छन् । तर तिनै सरल शब्दहरुले कविताका विशिष्ट अर्थहरु बोक्छन् । पाठकहरु उहाँका कविताका बिम्बहरुसँग सललल बग्छन् । स्थानीय भाषा र लवज उहाँको कविताको विशेषता हो । समकालीन कवितामा उहाँका कविताहरुले एउटा अलग्गै स्थान बनाएको छ । कवि स्वप्निल स्मृतिका शब्दमा सुरज राना – ‘विषयलाई विचारदर्शनको गहिराइमै पक्रेर अभिव्यक्तिकलाको उचाइमा कविताको निस्फिक्री उडान भर्ने यो समयकै एक समर्थ कवि हुन् ।’
उहाँको हालसम्म ‘कल्चर अफ लभ’ (२०७०) गजल सङ्ग्रह र ‘जब कविता निस्कन्छ जुलुसमा’ (२०८१) कविता सङ्ग्रह प्रकाशित छन् ।
यहाँ उहाँको ‘जब कविता निस्कन्छ जुलुसमा’ कविता सङ्ग्रहबाट दुई ओटा कवितालाई प्रस्तुत गरिएको छ ।
ओ बाहुनी !
ओ बाहुनी !
तेरो र मेरो जात मिल्दैन
धर्म मिल्दैन
रुपरङ र कद मिल्दैन
तर, इः हेर् त !
हाम्रो मन कस्तरी मिलेको !
इतिहासमा
तेरो इतिहासको चुच्चो नाकले
मेरो नेप्टो इतिहासलाई घोच्यो होला
समयको पिरामिड अग्लिँदै जाँदा
मेरो चिम्से आँखाले
तेरो समुदाय विरुद्ध रक्तिम सपना देख्यो होला
समाज र प्रकृतिले तँलाई र मलाई
फरक बनाउने दुश्चेष्टा ग¥यो
ओ बाहुनी,
तेरो र मेरो भाषा मिल्दैन
शैली मिल्दैन
ढाँचा र लवज मिल्दैन
तर, इः हेर त !
हाम्रो प्रणय कस्तरी मिलेको !
जिन्दगीको धरातलमा उभिएर
जिउने अभ्यास गर्दै जाँदा
परिवेश अनुकूल÷प्रतिकुलमा
भलै तैंले अर्कै देवता पुजिस्
भलै मैले अर्कै देवता पुजेँ
तैले मन्दिरमा गएर मलाई नै मागिस्
जसरी मैले मेरो देउताथानमा तँलाई मागें
ओ बाहुनी !
हाम्रो भगवान मिल्दैन
संस्कार मिल्दैन
रीत र परम्परा मिल्दैन
तर, इः हेर् त !
हाम्रो आत्मा कस्तरी मिलेको !
तँलाई मन पर्छ
सभ्यता, एकता, शिष्टाचार
मलाई पनि मन पर्छ
मलाई मन पर्दैन
हिँसा, अन्याय, भेदभाव
तँलाई पनि मन पर्दैन
तँलाई सबैभन्दा बढी मन पर्ने म
मलाई सबैभन्दा बढी मन पर्ने तँ
ओ बाहुनी !
तेरो र मेरो वर्ग मिल्दैन
समुदाय मिल्दैन
कुल र खानदान मिल्दैन
तर, इः हेर् त !
हाम्रो चाहाना कस्तरी मिलेको !
ओ बाहुनी !
अब समाज र दुनियाँको नियम तोडेर
भगवानहरुलाई खुल्ला चुनौती दिँदै
निर्धक्क भएर मेरो अँगालोमा आइज
तेरो र मेरो संसर्गबाट जन्माइदिऊँ
एउटा समुन्नत समाज ।
०००

याक्थुम्बा बाजेको जीवनगीत
आरिन्ने लागे ?
फुर्लुङमा माछा लगाउँदा लगाउँदै
ठट्टैठट्टामा सिवाखोलामा
जिन्दगी त स्वात्तै बगिगएछ हौ आदाङ्बासे !
आज पो लाग्छ
तरुनीको ढाडमा फूलले हानेर लुकेको
लाओःत्नासँग रातभरि धान नाचेको
चतुरे मेलामा जाँड खाएर लडेको
खुकुरी नचाएको
पुलिसले खेदाएको
आरिन्ने लागे ?
आजु त
जोरपोखरीमा स्वात्तै
जवानी सुकेर गैपो सकेछ हौ आदाङ्बासे !
पुर्नेडाँडा र औंसीडाँडा उकालोमा
सुँगुरको फिला र रक्सीको थुन्चे बोक्दा बोक्दै
अल्लोक र हाङ्मानेको बाँझो गराहरुमा
हलोले जीवन कोर्दा कोर्दै
सिमाली र मिक्चिरीले देवता चोख्याउँदा चोख्याउँदै
अक्षतामा जोखना हेर्दा हेर्दै
ठट्टैठट्टामा
जिन्दगी–घाम चुर्लुम्मै डुबिसकेछ हौ आदाङ्बासे !
भर्ती जानेहरु कहाँ कहाँ पुगे र हराए
विदेश जानेहरु कुन लोक या परलोक पुगे
आफू त जान सकिएन है कतै
मायाले पालेको सन्तान जस्तो
बस्तुभाउ छोडेर
सल्लाहरुको सुरिलो पालाम बिर्सेर
रिठ्ठे धारा र सिस्ने धाराको रसिलो पानी भुलेर
जान सकिएन है कतै
बाउबाजेको आत्मा पुरिएको जमिन छोडेर
जङ्गलमा पात बजाउँदा बजाउँदै
च्याब्रुङको ताल समाउँदा समाउँदै
जुन, तारा र घाममा समय नियाल्दा नियाल्दै
तागेरा निङ्वाभू माङलाई पुकार्दा पुकार्दै
आरिन्ने लागे ?
उमेर त भाती जाँडको फुङ्गेमा
फ्यात्तै गलिसकेछ पो हौ आदाङ्बासे !
०००