डा. बिन्दु शर्माका दुई कविता

0
225

डा. बिन्दु शर्मा (२०३३, दाङ) सत्तरीको दशकको नेपाली कविताको पछिल्लो अवधिमा आफ्नो सशक्त उपस्थिति लिएर देखिनु भएको छ । मूलतः समालोचना लेखनमा आफूलाई स्थापित गरिसक्नु भएका बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ (२०७५) कवितासङ्ग्रह पहिलो प्रकाशित सिर्जनात्मक कृति हो । मदन पुरस्कारको लागि दश छनौट कृतिहरुमा परेपछि यो कृतिको निकै चर्चा रह्यो ।

उहाँका कवितामा राज्यबाट किनारीकृत भएका मान्छेहरुको स्वर र विद्रोह पाइन्छ । उहाँका कवितामा कथानक पाइन्छ र कविता पढ्दै जाँदा पात्रहरुको जीवन भेटिन्छ । सरल बिम्बहरु र स्थानीयताको प्रयोगले कविताले पाठकमा रुचि पैदा गर्छ र एउटा प्रभाव छाड्छ । उहाँ आफ्ना कविताहरुका बारेमा लेख्नुहुन्छ, ‘मेरो कवितालाई मैले दमनको प्रतिरोधका रुपमा लिएको छु । यस्तो दमन राष्ट्रिय, वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक वा समकालीन घटना र परिस्थितिजन्य जुनै प्रकारको पनि हुन सक्छ ।’

उहाँका हालसम्म ‘गीतिनाट्य परम्परामा राष्ट्रकवित घिमिरे (२०६२), आधारभूत नेपाली समालोचना (२०६५), नेपाली गीतिनाटकः स्वरुप र प्रवृति (२०७३), नेपाली समालोचनाका नवीन आयाम (२०७५), भीमनिधि तिवारीः सिर्जना र धरातल (सम्पा. २०७०), विश्वेश्वरप्रसाद कोइरालाः समीक्षा र सम्झना (सम्पा. २०७२), आदिकवि भानुभक्तः समसामयिक आकलन (सम्पा. २०७२) र समसामयिक प्रगतिवादी नेपाली कथा (सम्पा.२०७४) प्रकाशित छन् ।

उहाँ राष्ट्रिय युवा प्रतिभा सम्मानविश्वनारी साहित्य पदकबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

यहाँ ओक्कल दोक्कल पिपल पात कवितासङ्ग्रहबाट उहाँका दुईवटा कविताहरुलाई प्रस्तुत गरेको छु । 

ओक्कल दोक्कल पिपल पात

आमा !
ओक्कल दोक्कल पिपल पातको
रमाइलो खेल खेलाउँदै
सधैं झुक्यायौ र सोधिरह्यौ
तिम्रामाथि कसको हात ?
बालापनको रमाइलोमा
पहिचान गरेरै पनि भाइको हात
पटकपटक परास्त भइरहें म
झेली गरिरह्यो भाइले
मौन भइरह्यौ तिमी

तिमीले किनिदिएको
साइकलको रफ्तारमा
लखौं माइलको दूरी
पार गरिसक्दा उसले
म चाहिँ तिमीले नै ल्याइदिएको
कुरुस र एक लच्छी उनको धागोलाई
सिँगारेर सिपालु औंलाहरुमा
जिन्दगीको सादापनलाई
भरिरहें रङ्गिन बुट्टाहरुले
र खुम्चिरहें त्यसकै गोलो परिधिमा
अझैं मौन भइरह्यौ तिमी

मैले लुकेरै उडाउँडा च्यातिएको
भाइको पुरानो चङ्गाको मोल
चडकनले सम्झाएकी तिमीले
थाहा पाइनौ आमा !
चङ्गासँगै उन्मुक्त हुन नपाई
पाउजुको छमछमी पछ्याउँदै
अगेनामा खरानी भएका
मेरा स्वप्निल रहरहरुको मोल के थियो ?
प्रत्येक महिना केशसँगै छाँटिरहँदा
भाइले आफ्नो धीरता
मैल् भने चुल्ठोसँगै कस्दै लगें
र रिबनको फूलजस्तै फुलाइरहें
ओठमा बनावटी हाँसो
तर पनि मौन भइरह्यौ तिमी

किशोरी वयमै
पाकेको किम्बुजस्तो कोमल तनमा
अञ्जानमै कोरिदिँदा कसैले
रातो मसीका कुरुप धर्काहरु
फेरि पनि नवीकरण भइरह्यो
हाम्रो आँसुमा नुहाएको समृद्ध सम्झौता
र त जामाको फेरमा टाँसिन आएको
सेतो पुतलीलाई जस्तै
टपक्कै टिपेर मेरो आकाशलाई
सजिलै मिल्काइदियौ
अनि मौन भइरह्यौ तिमी

हिँडिरहें म तिम्रै गोरेटोमा लुरुलुरु
खोजिरहें सङ्घारभन्दा माथि उकाल्न
आफ्नो चाहनाको दियो
आमा !
मुक्त गर मलाई तिम्रो प्रभावबाट
अब त भनिदेऊ बहिनीलाई
ओक्कल दोक्कल पिपल पात
तिम्रा माथि तिम्रै हात
०००

Okaldokal pipal pat

डुम्रीको रुख

भौजी !
चराहरु चिरबिराइसके
आँखीझ्यालका प्वालबाट
चोरीचोरी हेर्ने
बदमास किशोरजस्तो
छेलिएर डुम्रीका पातबाट
चियाइसक्यो
रातो सूर्यले ।

भौजी !
हेर ! तिम्रो आँगनको
हरियो सेवाँली
अझै गएको छैन
बढार्नु छ, नौली बुहारीले
पँधेराको छेउमा थुकेको
कोलगेट टुथपेष्टको थुकजस्ता
कागका सेता विष्टाहरु
हुरीले झारेका डुम्रीका पतकरहरु

यो त्यही डुम्रीको रुख हो भौजी
काजीको बारीको डिलबाट तिम्रो आँगनमा सियाँल पार्ने
यो त्यही रुख हो भौजी
काखबाटै तिम्रो खुसी खोसिदिने
उठ !
कपाल सम्याऊ
समाऊ कोदालो र उधिनिदेऊ
त्यसका जराहरु
सुन त !
काग कराइसके
चिरबिराइसके सारीहरु
के तिमीलाई तिनको
खस्रो सङ्गीत मन पर्दैन ?
देख्यौ बाफ आइरहेको
सूर्यले तताउन थालिसक्यो यो चिसो धर्तीलाई
के तिमीलाई मन पर्दैन र
तिम्रो असमेल निराशाजस्तो अन्धकारलाई
सिनित्तै बढारेर
झुल्किआउने रातो तातो सूर्य ?
०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here