डा. अमर गिरी (जन्मः २०१७ भाद्र २७, दाङ) कविताका माध्यमबाट समाज रुपान्तरणको आन्दोलनमा निरन्तर सङ्र्षरत् नाम हो । उहाँका कवितामा श्रमिक र उत्पीडनमा परेका सीमान्तकृत वर्गको आन्दोलनप्रति समर्पण पाइन्छ । समकालीन प्रगतिवादी नेपाली कविताको क्षेत्रमा उहाँ अग्रगामी चेतनाका वाहक कविहरुको अग्रपंक्तिमा रहेर कविता लेख्दै आइरहनु भएको छ । उहाँका कविताहरु दुर्बोध्य र क्लिष्टताबाट मुक्त छन् । त्यसैले उहाँका कविता सरल र बोधगम्य हुन्छन् । कवितामा ग्रामीण अनुभूति पाइन्छ । त्यसैले पनि उहाँका कविता पठनीय छन् ।
उहाँका ‘घाम छेक्ने पहाड’ (२०५५), ‘तर पनि हामी जीवित छौँ’ (२०६१), ‘दुःसाध्य समय’ (२०६४), ‘शब्दहरूका बीचमा’ (२०७१), ‘समय संवाद’ (२०७३), ‘रातमा कलम’ (२०८२) कवितासङ्ग्रहहरु प्रकाशित छन् ।
त्यसैगरी उहाँका ‘समय, समाज र संस्कृति’–२०६७, ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’–२०७३, ‘भूमण्डलीकरण र साहित्य’–२०७४, ‘साहित्य विमर्श’–२०७५, ‘कवितामा वर्गद्वन्द्व’–२०७५ समालोचनात्मक कृतिहरु र ‘समय, शब्द र संवाद’–२०८२ निबन्धसङ्ग्रह प्रकाशित छन् । उहाँले ‘काव्य विमर्श’, ‘प्रज्ञा समकालीन नेपाली कविता विमर्श’, ‘नेपाली डायास्पोराका कविता’, ‘समकालीन नेपाली कविताको शिल्प’ लगायतका विभिन्न अनुसन्धानमूलक कृतिहरु र पत्रपत्रिकाहरुको सम्पादन गरिसक्नु भएको छ ।
उहाँ ‘तारापन्त पुरस्कार’–२०४७, ‘राष्ट्रिय प्रतिभा पुरस्कार’–२०५२, ‘लोकेन्द्र साहित्य पुरस्कार’–२०५६, ‘कृष्णमणि साहित्य पुरस्कार’–२०६२, ‘योगेश्वर कलासाहित्य पुरस्कार’–२०६६, ‘राप्ती सृजना पुरस्कार’–२०६८, ‘गोपालप्रसाद रिमाल पुरस्कार’–२०७३ लगायत थुप्रै साहित्यिक पुरस्कार र सम्मानबाट पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँका ‘दुःसाध्य समय’ कवितासङ्ग्रहबाट दुईओटा कविता प्रस्तुत गरिएको छ ।
घर नरहेपछि
यो घर नरहेपछि
हामी कहाँ जानेछौं ?
कुन द्वीप
कुन पहाडको काख
कुन नदीको किनार
कुन वृक्षहरुको माझ
कुन पङ्क्षीको
साङ्गीतिक मण्डलामा
हुनेछ हाम्रो बास ?
कुन खेतका गरा
कुन बारीका पाटा
कहाँ चल्नेछ हलो
कहाँ उम्रनेछ फापर
कहाँ फल्नेछ मकै
कहाँ लहलहाउने छन् धानका बाला
कहाँ फुल्नेछ सयपत्री
रातमा कुन आकाशमुनि
निदाउनेछौं हामी
र भोलिका निम्ति सपना देख्नेछौं ?
के भनेर बोलाइनेछ हामीलाई
घर नरहेपछि
के हुनेछ हाम्रो परिचय
कुन गीत गाउनेछौं हामी
कुन बाजा बजाउनेछौं
कुन नृत्य गर्नेछौं
के हुनेछन् आमाका पूजाका थालीहरु ?
साँच्चै
घर नरहेपछि
हामी कहाँ जानेछौं ?
ooo

इनार र स्त्री
बिहान/दिउँसो/साँझ
जुनसुकै बेला होस्
घेरिएको हुन्छ स्त्रीहरुले
गाउँमाझको इनार
दिन सुरु हुन्छ इनारबाट
रात इनारमै पर्छ
घर–इनार
इनार–घर
बाटो नापिरहन्छन् स्त्रीहरु
वर्षौंदेखि
वर्षौंवर्षदेखि
देखिरहेछु म यो सबै
इनारभन्दा गहिरो पीडा
इनारको पानीभन्दा धेरै आँसु
उफ !
कसरी सहन्छन् स्त्रीहरु ?
ooo
सुन्दर कविताहरु
सुन्दर कविताहर