श्यामल (जन्मः २०१६ षौष २९, दैलेख) का कविताहरु समकालीन नेपाली कवितामा निकै बलिया छन् । उहाँका कविताहरुको आस्वाद अलग्गै छ । उहाँका कवितामा विचार र बिम्बको सुन्दर संयोजन पाइन्छ । कविताका बिम्बहरुले पाठकको मस्तिष्कमा विचारको एउटा तह निर्माण गर्छ र पाठकले कविताको आनन्द प्राप्त गर्छ । सत्ताको प्रतिरोधमा उहाँका कविताका बिम्बहरु सुन्दर ढङ्गले प्रयोग भएर आउँछन् । उहाँका कविताले लामो समयसम्म पाठकलाई विचलित(आनन्दित) बनाइरहन्छ ।
उहाँका ‘तपाईंहरु मार्फत’–२०४४, ‘लयब्रह्म’–२०६६ र ‘हतारमा यात्रा’–२०६८ कवितासङ्ग्रहहरु र ‘रित्तो गाउँ’–२०७० निबन्धसङ्ग्रह प्रकाशित छन् । ‘अभागी कर्णेल’–२०६८ उहाँको अनुवाद कृति हो ।
उहाँ ‘लोकेन्द्र साहित्य पुरस्कार’–२०५३, ‘राष्ट्रिय प्रतिभा पुरस्कार’–२०५५, ‘हृदयचन्द्रसिंह स्मृति सम्मान’–२०५९, ‘गरिमा सम्मान पुरस्कार’– २०६४, ‘अग्निशिखा पत्रकारिता सम्मान’–२०६६, ‘.कृष्णभूषण बल स्मृति सम्मान’ –२०७१ ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ –२०७४, ‘भूपी स्मृति सम्मान’– २०७५, ‘कर्णाली साधना सम्मान’–२०७६, ‘वासु शशी स्मृति पुरस्कार’– २०७९, ‘स्रष्टा चैत्र ३० सम्मान’– २०७९, ‘मध्यपश्चिम स्रष्टा सम्मान’– २०८०, ‘मानकुमारी स्मृति सम्मान’– २०६५ लगायत पुरस्कारहरुले पुरस्कृत र सम्मानित हुनुहुन्छ ।
यहाँ उहाँको ‘तपाईंहरु मार्फत’ कवितासङ्ग्रहमा रहेका दुईओटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।
पीडा वाचन
रुख हल्लाउँदै चलिरहने बतासले दुखाइरहेछ मलाई
मन्दिरमा मात्तिदै बज्ने घण्टाको ध्वनिले दुखाइरहेछ
रेडियोबाट हाम्फाल्दै निस्कने धार्मिक धून
र कहिले उदाउने कहिले हराउने शीतल जूनले दुखाइरहेछ
मनको अज्ञात कुनामा बसेर बिलाउने विगत
र के हुने हो पत्तै नलागेको आगतले दुखाइरहेछ
मानिसहरु रुन नसकेर हाँस्छन्
र हाँस्नै नसकेर फगत कहालीलाग्दो स्वरले रुन्छन्
हाँसो र रोदनको लयले दुखाइरहेछ
म स्वयं आफैलाई दुख्दैछु तपाईंहरुझैं
तपाईंहरु मझैं फगत आशाको भूइँमा उभिनुभएको छ
ओहो ! कसरी खप्यौं केवल पीडाहरु यतिन्जेल
जीवनले स्वयं जीवनलाई दुखाइरहेछ ।
जसलाई मारियो अंगालो मित्रता नै होस्
जसलाई ताकियो गुलेली अथवा शत्रुता नै होस्
सहानुभूतिले दुखाइरहेछ, धापले दुखाइरहेछ
मलाई करोडौं मानिसलाई झैं
सानो जीवनले प्रतिपल दुखाइरहेछ
आमाको नाङ्गो शरीर
र बाबुको प्रबल आशा सम्झँदै
यदाकदा सङ्गीत सुन्छु
बस्, त्यसको तरङ्ग पसेर कानमा
शैली फेर्दै फेर्दै दुखाइरहेछ मलाई
मलाई केले केले दुखाइरहेछ ।
खान बस्छु जब
भोको मानिसका इच्छाले रोक्छन् गाँसहरु
तपाईंहरुलाई स्वागत गर्न पलाँसझैं फुल्छु
र तन्काउँछु ओठहरु
खोल्छु जबर्दस्त दाँत, देखाउँछु
दुख्छ मलाई, म पुनः गभ्भीर हुन्छु
गम्भीरताले दुखाइरहेछ
प्रेयसीको प्रेमले अनायास हमला गर्छ
केही मानिसको आँखाले दुखाइरहेछ
हिउँद छल्न खोज्छु
वर्षात्बाट बाँच्न खोज्छु
धुप हटाउन खोज्छु
खोज्छु, निरन्तर खोज्छु हराएका सपनाहरु
निद्राले दुखाइरहेछ
खुल्ला झ्यालबाट छिर्ने सुप्रभातले दुखाइरहेछ
डाँडाबाट ओर्लेर भाग्ने विचरा घाम पर्खेर बस्छु
प्रतीक्षाले दुखाइरहेछ
मलाई केले केले दुखाइरहेछ ।
सेतो सगरमाथाले दुखाइरहेछ
सन्तला जस्तो पृथ्वीले दुखाइरहेछ
मृत व्यक्तिको पूण्य तिथिले दुखाइरहेछ
बस्, दुख्दैछु म सम्पूर्ण
जसरी दुखाउने गर्छ सम्पूर्ण तलाउ बकुल्लाले
वा नदी दुखाउँछ बल्छीले
यतिखेर मलाई बोल्ने नहुने शब्दको अनुहारले दुखाइरहेछ
आह ! मलाई केले केले दुखाइरहेछ ।
०००

देश दृश्य
शोक सन्तप्त पर्वत
भागिरहेका नदीहरु
र निरन्तर लुकिरहेको सूर्य
कुष्ठरोगीका औंलाझै
पात र क्रमशः हाँगा झारिहेका रुखहरु
सुगन्ध गुमाइरहेको फूलको सानो बगैंचानिर
सीमा हराइरहको चेक–पोष्ट
ग्रहण लागिरहेको चन्द्रमा
तुषारोमा ढुङ्गाझैं नुहाइरहेका
कथित इष्ट–देवताहरु
स्वर हराइरहेका गायक
र बौलाहा बाजाहरु
नाता बिर्सेको परिवारको मूर्ख बाबु
र उसको कामातुरताबाट
डरलाग्दो गरी जन्मेका कर्णाधारहरु
गलत हिसाब पढाइरहेको मास्टर
र चुप लागेको हावापानी
यस नक्सामा
यस भूगोलमा
र यस संस्कृतिमा
सधैं सपना देखिरहन्छ विक्षिप्त किसान
र सधें व्याख्यान दिइरहन्छ पागल दार्शनिक
सधैं सुनिरहन्छ अवाक् श्रोता
अथात् जनता ।
०००