दिपा मेवाहाङ राईका दुई कविता

deepa

दिपा मेवाहाङ राई (जन्मः २०४९, माघ १७, काठमाडौं) प्रेमका शब्दहरुलाई आफ्ना कविताहरुमा निकै सुन्दर ढङ्गले प्रयोग गर्नु हुन्छ । उहाँका कविताहरु प्रेमिल हुन्छन् । कवितामा वैचारिकता र कविताले सामाजिक चेतना निर्माण गर्न शब्दहरुले पनि प्रेमपूर्ण हुनुपर्ने र समाज बदल्न प्रेमको पनि उस्तै अहम भूमिका रहने कुरामा कवि विश्वस्त हुनुहुन्छ । त्यसैले पनि उहाँका कविताहरु ‘प्रेम कविता’ मात्र होइनन्, सामाजिक जीवनसँगको संवाद पनि हो । कवितामा कोमलता सिर्जना गर्ने र त्यही कोमलताभित्र सामाजिक जीवनका जटिलताहरुलाई प्रस्तुत गर्ने कवि दिपा मेवाहाङ राईको विशेषता हो ।

उहाँको हालसम्म ‘यादको सन्दुक’ (२०७८) कवितासङ्ग्रह प्रकाशित छ ।

यहाँ ‘यादको सन्दुक’ कवितासङ्ग्रहबाट दुई ओटा कवितालाई प्रस्तुत गरिएको छ ।

सर्किनी बोजू

कहिल्यै रोइनन् दुःखले
कर्महारा भएको ठानेर
कहिल्यै सरापिनन् भगवानलाई
लोग्नेको चिहानअघि गएर
कहिल्यै पोखिनन् बिलौना

जीवनको तीसौं वसन्त पार नगर्दै
चार सन्तानको एक्लै अभिभारा बनेर उभिँदा
एक पाइला पछि सरिनन्
उभिरहिन् सालको रुख झैं
जिन्दगीको अप्ठ्यारो धरातलमा
टिकिरहिन् उसै गरी सधैं
धर्तीको मजबुत छानो बनेर

बैंसको फूल फक्रिन नपाउँदै
सुकेर झरेपछि हो
काँडाहरुसँग मित लगाएको
सुख्खा मरुभूमिमा
क्याक्टस बनेर मुस्कुराउन थालेको

दिनहुँजसो
मेलापातमा सङ्गीहरुको
रहर लाग्दा कुरा सुनेर
रातमा एक्ले रहरहरुको सिरानी लाएर सुत्थिन्
अनि बिहान सखारै कुवामा गएर
रहरका बुट्टाहरु चिसो पानीले पखाल्थिन्

पुग्थिन् झिसमिसेमै जङ्गल
काट्थिन् दुःखेसोका बुट्टाहरु
बटुलेर, कसकास पारेर
पुराउँथिन् साहुबाको गोठमा
र पोको पारेर ल्याउँथिन् केही माना खुसीहरु
छोराछोरीका लागि
आँसु जस्तै नुनभुटुनहरु

हरेक बर्खामास आँखा चुहिन्थ्यो बलेसीमा
हरेक शिशिरमा मनभित्र गाँठो पथ्र्यो चोलोको तुना झै
हरेक शरदमा मुटु कक्रक्क पथ्र्यो लोग्नेको सम्झनाले
अभ्यस्त भइसकेकी थिइन्
आँसु, पीडालाई कक्टेल बनाई घुट्कोमै पिउन

सन्तानको भाग्य कोर्दाकोर्दै
आफू चुँडिएको चप्पल जस्तै
चुँडिएको भाग्य बोकेर
हिँडिरहिन् चुपचाप चुपचाप
चर्किएको कर्मरेखामा
नाङ्गो पैतालासँगै

जसरी बचेराहरुको
रहरलाग्दा प्वाँखको उचाइ बढ्दै जान्छन्
उसै गरी बढ्दै गए सन्तानहरुका सपना
निस्किए सपना खोज्दै टाढा टाढा
गुँड छाडेर
आ–आफ्नै परिवेश रोजेर

उनी अर्थात् सर्किनी बोजू
आज सत्तरी वर्षमा पनि
उसरी नै गाउँदै छिन् जीवनको गीत
सखारै उठ्छिन्
लाग्छिन् जङ्गलतिर
दुःखेसाका बुट्यानहरु काट्छिन्

बटुलेर, कसकास पारेर
पुराउँछिन् साहुबाको गोठमा
र पोको पारेर ल्याउँछिन् केही माना खुसीहरु
आफ्नै लागि
भोकको विरुद्ध ।
०००

yad ko sanduk

शहरले मलाई

दिनभरि
यो शहरले मलाई
मेसिन बनाउँछ
समयको चालसँगै दौडाउँछ
घरि कुदाउँछ
घरि सुस्तरी हिँडाउँछ

प्रदर्शनीमा राखेको डमी झैं
हरेक पल मुस्कुराई बस् भन्छ
मनभित्र विद्रोहको आगो भुर्भुराए पनि
दबाएर चुपचाप लाग् भन्छ
दुख्छु, थाक्छु, सहेर बस् भन्छ
दुःख लुकाएर फिस्स हाँस् भन्छ

हो, दिनभरि
यो शहरले मलाई
मेसिन बनाउँछ

जब रात पर्छ
तब म मान्छे हुन खोज्छु
दिल खोलेर रुन्छु
उन्मुक्त हाँस्छु

साँच्चै, मान्छे बनिन पनि
दिल खोलेर रुन सक्नुपर्ने रहेछ ।
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these