मोदनाथ मरहठ्ठाका दुई कविता

WhatsApp Image 2026 07 24 at 4.04.11 PM 1

कवितालाई सङ्घर्षको हतियार बनाउँदै सत्ताको खप्कीसँग निरन्तर लड्दै आइरहनु भएका कवि मोदनाथ मरहठ्ठा (जन्मः २०१२ साउन २, गोरखा) जनयुद्ध र ग्रामीण वर्गसङ्घर्षबाट जन्मिएका कवि हुनुहुन्छ । उहाँका कवितामा विचारको तीव्रता पाइन्छ । कविताले भात दिँदैन तर भोक लाग्दा भातको लागि लड्न सिकाउँछ भन्ने कवि मोदनाथ मरहठ्टाका कविताहरु श्रम गर्नेहरु र श्रम लुट्नेहरु बिचको अन्तरविरोधबाट जन्मिएका कविताहरु हुन् ।

उहाँका हालसम्म ‘पाइलाहरु शिखरतिर उकासिँदै गर्दा’ (कवितासङ्ग्रह, २०५५), ‘उज्यालो जन्मनुअघि’ (लघुकाव्य, २०६२), ‘लेख्ने विषयको खोजी’ (निबन्धसङ्ग्रह, २०७७) र ‘चित्र र चरित्र’ ( निबन्धसङ्ग्रह, २०८०) प्रकशित छन् ।

उहाँ ‘इच्छुक स्मृति पुरस्कार–२०७५ बाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

यहाँ उहाँको ‘पाइलाहरु शिखरतिर उकासिँदै गर्दा’ कवितासङ्ग्रहबाट दुईवटा कविताहरुलाई प्रस्तुत गरिएको छ ।

पाइलाहरु शिखरतिर उकासिँदै गर्दा

शान्तिक्षेत्रको आकाशमुनि
भोक, रोग र अन्यायको जाँतोमा पिँधिएर
शोषण, दमन र अत्याचारको आरीमा साँधिएर
गुजराको नयाँकोट फेर्न
साहसको रातो कफन बाँधेर
पाइलाहरु हिमशिखरतिर बढे

विश्वासको डोकोभरि
गरुङ्गो सातु सामल बोकेर
अनकण्टार भीर र पहरामा
आस्थाको दरिलो लठ्ठी टेकेर
दुर्गम कान्ला पाखामा
विश्रामको न्यानो पाल ठड्याउँदै
पाइलाहरु कठिन यात्रामा बढे

इतिहासको एउटा चक्रमा
यस्तै यात्रा थालनीको साहस जोडेर
शिखरको फेदीमा जम्मा भए
सल्लाह भो, शुभ साइतको पूर्वाद्र्धमा

केही ‘नेत्र’ फुटे
केही ‘रत्न’ गुमे
‘राम’ र ‘कृष्ण’ पनि नासिए
थोरै हिमपात भयो
र, पहाड खस्यो
यात्रा छिन्नभिन्न भयो, टुक्रियो

पहिलो साइत बिग्रदैमा
कहाँ मान्न सकिन्छ र दिनै बिग्रियो ?
एउटा युद्ध हार्दैमा
कहाँ भन्न सकिन्छ र लक्ष्य सिद्धियो ?
हिमशिखर नाप्न हिँड्दा
हिमपात केही त भइहाल्छ
कतै पहिरो त खसिहाल्छ

तेजवीर असफल हुँदैमा
तेन्जिङ कहाँ रोकिए र ?
यात्रा थाल्नु पथ्र्यो
र थालियो
यद्यपि यो यात्रामा
वर्षाती, बख्खु र वेतका लठ्ठीहरु
हिम कोट्याउने कुन्जा कीलाहरु
भौजुदा बोकेर पिठ्युँभरि
पाइलाहरु हिमशिखरति उक्लिरहेछन्

यात्रा अवरुद्ध गर्न
ग्रेटवालहरु ठड्याए पनि
सञ्जिवनी उखेल्न हनुमानहरुले
विन्ध्याचल बोके पनि
अंगरक्षक बर्दीधारीले कुखुराहरु
भट्टीमा पोले पनि
स्पातजस्ता चम्किला यात्रुहरु
फैलिँदै, फक्रिँदै
खारिन्छन्, तिखारिन्छन्

र, निरन्तर
यात्राहरु शिखरतिर लम्किरहेछन् ।
०००

paelaharu

को रोक्दछ ?

जतिसक्छौ लगाउ बल हत्याका ठेकेदार हो
उर्लिन्छन झन जति मास्छौ फैलियो सब व्याप्त भो
तर्सन्नन् गोली लाठीले फर्कन्नन् नजिती अब
उठाई मुक्तिका ध्वजा भइ ढिक्का जुटे सब
राता साइतका टीका रोल्पा गोरखा रुकुम हुँदै
वर्गयुद्ध उठ्यो माथि एण्डिजको चुचुरो छुँदै
कुर्चीका मात लागेका पहरेदार हो सुन
सत्ताको आयु छोटियो आयो अवसानको दिन

जे जति मोजमस्तिका सुखका दिन सिद्धिए
लठ्याई विष लागेका जनता बल्ल ब्युँझिए
माहुरी मह निकाल्ने चुस्ने ब्वाँसाहरु मह
साँच्चै मह अति घिच्यौ माडियो पेटमा बह
टल्कन्छन् चुचुरा सेता रातो घाम बिहानीमा
उठ््दैछन् हसिया कुञ्जा रातो तुल सिरानीमा
मार्ग घुमाउरो कठिन तर दिशा स्पष्ट छ
उर्लदो गण्डकी भेल लौरो लिइ को रोक्दछ ?
०००

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these