साँझ चकमन्न छ । हिजोअस्ति झैं फेरि ज्वरो बढेको छ । ज्वरोसँगै बढ्छ एउटा अत्यास । र, बढ्छ एउटा नीरवता । ज्वरोले शरीर शिथिल छ ।
घरको छतको एउटा भित्तोलाई अडेस हालेर बसेको छु । तातो हावाले साँझलाई अझै उच्चाटलाग्दो बनाउँछ । उँभो आकाशमा ताराहरु छन् । मन ताराहरुसँग एकतमास छ । आकाशको गहिराइलाई नियाल्छु । छतमा किरिङमिरिङ अँध्यारो खेलिरहन्छ । र, आँखामा एउटा शून्यता आएर बस्छ ।
‘ऊ फेरि एउटा अर्को तारा खस्यो । आज आकाशबाट कति ताराहरु खसिरहेका छन् हँ !’ बर्बराउँछु ।
‘के भो ?’ नजिकै टाँसिएर पानीपट्टी लगाइरहेकी जमुना मलाई झक्झक्याउँछिन् । थर्मामिटर झिकेर मेरो काखीमा राख्छिन् ।
१०४ डिग्री ।
ज्वरो उस्तै छ ।
‘ज्वरो कस्तो नघटेको अझै ।’ उनको स्वरमा एउटा अवरोह छ । उनले भाँडामा चिसो पानी फेरिन् । र, मेरो निधार र हातगोडामा चिसो पानीले पानीपट्टी लगाइरहिन् ।
‘कहिल्यै बिरामी नहुनेलाई डेङ्गुले थल्यायो ।’ जमुनाले मलाई ढाडस दिइन् ।
टोलका छिमेकीहरु पनि उस्तै थिए । कोही तङ्ग्रिदै थिए, कोही सुत्दै थिए । यसपटक आँबुखैरेनीका धेरै घरपरिवारलाई डेङ्गुको प्रकोपले लडायो । महामारीको रुपमा आँबुखैरेनी बजार र यसको वरपरका क्षेत्रहरुमा डेङ्गुको सङ्क्रमण फैलियो । बच्चा, केटाकेटी, बुढाबुढी, विद्यालय, व्यापारी, कार्यालय, स्वास्थ्य संस्था, लगभग सबै क्षेत्र डङ्गुले प्रभावित बन्यो ।
डेङ्गुले सङ्क्रमित नभएको कुनै घरपरिवार रहेन ।
०००
‘हैन, तारा सरको स्मृतिग्रन्थको लागि लेख नपठा’ ? साथीहरुले ढिलो गर्नु भएन क्या ।’ काठमाण्डौबाट मोदनाथ मरहट्टाको गुनासो मोबाइलमा बज्यो । भदौको गर्मी उस्तै छ । बेलुकी पनि हावा फिटिक्कै छैन । आँखाअघिल्तिरै ताराकान्त पाण्डेय सरको सपाट चित्र आएर बस्यो । एक सालअघि यही छतमै एकाध घण्टा हामी एकअर्काको आमनेसामने बसेर गफ गरिरहेका थियौं ।
चितवनमा रविकिरण निर्जीवको ‘शब्दविम्बमा रविकिरण निर्जीव’ किताबमाथिको परिचर्चा कार्यक्रम सकेर ताराकान्त सर र म दुवै जना सँगै स्कुटरमा आँबुखैरेनी आएका थियौं । साथमा मोटरसाइकलमा गोरखाका कवि गोपाल मरहट्टा र उहाँको मेडम हुनुहुन्थ्यो । आँबुखैरेनीकै होटल एक्ल् मा चारैजनाले सँगै कफी पिएर गोपाल सर र मेडम गोरखा फर्कनु भयो । ताराकान्त सरलाई लिएर म आफ्नो घर आएँ । भोलिपल्ट बिहान उहाँ काठमाडौं फर्कनु भयो ।
मोदनाथ मरहट्टाको मोबाइल फोनले अहिले मलाई फेरि झस्काएको छ । जमुना मलाई एकटकले नियाल्छिन् । यो छतमा ताराकान्त सरको विस्मृति फेरि बल्झिएको छ ।
‘एकदिन काठमाडौं शिला मेमलाई भेट्न जानु पर्ने ।’ जमुना भन्छिन् । उनको स्वर व्यथित छ । र, आँखामा ताराकान्त सरको झमmल्को छ ।
०००
बग्रेल्ती छन् यादहरु । २०५१ सालमा प्रकाशित मेरो पहिलो कविता सङ्ग्रह ‘राष्ट्रले शोकधुन बजाएको छ’ मा ताराकान्त पाण्डेयको भूमिका रहेको छ । स्मृतिमा खेल्छ काठमाडौं नरदेवी रक्तकालीमा रहेको ऐश्वर्य छापाखाना । त्यहाँ सधैजसो भइरहने एउटा साहित्यिक भेटघाट । डा. ताराकान्त पाण्डेय, कृष्ण सेन इच्छुक, ईश्वरचन्द्र ज्ञवाली, डा. ऋषिराज बराल, गोपिन्द्र पौडेल, बन्धुदेव पाण्डे लगायतको एउटा साहित्यिक जमात । ती राजनीतिक विचारमा माक्र्सवादी थिए र माक्र्सवादी सौन्दर्यशास्त्रका चिन्तक । साहित्यको लिप्साले तानिएर त्यही जमातमा साथीहरुसँग कहिलेकाहीं पुगिरहन्थें म । पञ्चायती व्यवस्थाको क्रूर जेल बसाइबाट भर्खरै छुटेर आउनु भएको थियो कृष्ण सेन इच्छुक । सधैं केही न केही लेखिरहन उत्साहित गरिरहनु हुन्थ्यो मलाई । त्रिचन्द्र क्याम्पसको चौर र प्रतिभा प्रवाहका कार्यक्रमहरुले मलाई ती अग्रजहरुसँग सामीप्य रहने अवसर जुराइरहन्थ्यो । एकदिन मैले पत्रपत्रिकाहरुमा प्रकाशित रहेका आफ्ना केही कविताहरुको पाण्डुलिपि लिएर ऐश्वर्य छापाखाना पुगें र चिन्तन प्रकाशनका प्रकाशक बन्धुदेव पाण्डेलाई त्यो पाण्डुलिपि बुझाएँ । बन्धु पाण्डे ऐश्वर्य छापाखानाका प्रोपाइटर पनि हुनुहुन्थ्यो । उहाँले पाण्डुलिपिलाई सहर्ष स्वीकार्नु भयो र प्रकाशनको अभिभारा लिनुभयो । भोलिपल्ट डा. ताराकान्त पाण्डेयको हातमा कविताको पाण्डुलिपि पुग्यो । केही दिनपछि उहाँको भूमिकासहित ‘राष्ट्रले शोकधुन बजाएको छ’ कविता सङ्ग्रह छापिएर बजारमा आयो । यसले मलाई थप उत्साह र आफ्नो लेखनप्रति अझै जिम्मेवार बनायो । विश्वविद्यालयको कक्षा कोठामा साहित्यको औपचारिक अध्ययन पाउन नसकेको मलाई डा. ताराकान्त पाण्डेयको सामीप्यता एउटा अनौपचारिक विश्वविद्यालय बन्यो । एउटा सुन्दर कविता सिर्जनाका लागि माक्र्सवादी सौन्दर्य दृष्टिकोण अनिवार्य हुने र यसले नै कविताको कला र विचारलाई सही ढङ्गले संयोजन गर्ने उहाँको वैचारिक प्रशिक्षणले मलाई सधैं सही मार्ग निर्देशन गरिह्यो । त्यसैले पनि मैले आफ्नो कवितालाई शैली र शिल्पका हिसाबले सधैं नयाँ बनाउने प्रयास गरिरहें । उहाँबाट मैले सधैं आफूलाई प्रशिक्षित हुने अवसर पाइरहें ।
आफ्ना पछिल्ला केही कविता सङ्ग्रहहरुको भूमिका लेखिदिनका लागि उहाँसँग कुरा गर्दा उहाँले मलाई भन्नुभएको थियो, ‘अब पनि भूमिका लेखेर तपाईंका कविताहरुलाई चिनाइरहनु पर्छ ? तपाईंका कविता आफै चिनिएका छन् । भूमिका आवश्यक होइन, तपाईंका कविताहरुमाथि समीक्षा हुनु चाहिँ जरुरी हो ।’
पहिलो कविता सङ्ग्रह बाहेक अरु कुनै सङ्ग्रहमा उहाँले भूमिका लेख्न मान्नु भएन । ‘भूमिकाले नयाँ लेखकहरुलाई प्रोत्साहित गर्छ र परिस्कृत हुन सहयोग पुग्छ, यत्ति हो ।’ उहाँ भन्नुहुन्थ्यो । उहाँले यति भनिदिँदा ‘साँच्चै म आफू पनि परिपक्क लेखक भएछु कि ! भन्नेझैं लाग्थ्यो ।
ताराकान्त सरले जहिल्यै एउटा सामान्य जीवन बाँच्नु भयो । त्रिभुवन विश्वविद्यालयको एउटा प्रोफेसरले राज्यका सबै सुविधाहरु र पदीय मोहलाई त्यागेर सरल र इमानको जीवन बाँच्न खोज्नु पनि निकै कठिनको काम थियो जब कि उहाँका कनिष्ठहरु अनेक हत्कण्ठाले राज्यको उच्च तहमा पुग्न अवसरको राजनीति गर्थे र सत्ता चाकडीमा चुर्लुम्म डुब्थे । ताराकान्त सर यस्तो अवसरको राजनीतिबाट सधैं अलग रहेर इमानको जीवन बाँचिरहनु भयो । उहाँका हजारौं विद्यार्थीहरुले उहाँबाट सिक्नुपर्ने यो एउटा नैतिक पाठ पनि हो ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानको सदस्य–सचिव रहनु हुँदा र प्रतिष्ठानले कार्यक्रमहरु गरिरहँदा उहाँ मलाई फोन गर्नुहुन्थ्यो र बोलाउनु हुन्थ्यो । काठमाडौं र काठमाडौंबाहिरका धेरै कार्यक्रमहरुमा मैले उहाँहरुसँगै रहेर साहित्यिक यात्रामा सहभागी हुने अवसर पाएको छु । देशाटनमा रहेको छु । कला र साहित्यको विषयमा उहाँसँग विमर्श गरेको छु । माक्र्सवादी सौन्दर्यशास्त्रमा उहाँको अध्ययन निकै गहिरो थियो । प्रगतिवादी नेपाली कवितामा पहिलो विद्यावारिधि गर्नुभएको उहाँको ‘प्रगतिवाद र कविता’ (२०५६) कृति नेपाली साहित्यमा प्रगतिवादी कविताका शोधार्थीहरुका लागि पहिलो अध्ययन सामग्रीको रुपमा रहेको छ । विश्वविद्यालयका नेपाली साहित्यका शोधअनुसन्धानका विद्यार्थीहरुको लागि उहाँ पहिलो रोजाइ हुनुहुन्थ्यो । गहन अध्येता र सरल, शालीन व्यक्तिगत स्वभावका कारण पनि उहाँ विद्यार्थीहरुका लागि प्रिय हुनुहुन्थ्यो ।
वैचारिक, साङ्गठनिक रुपमा पनि एउटै सांस्कृतिक सङ्गठनभित्र रहेकोले अभिभावकत्व मात्र नभइ सहकार्यले पनि मैले ताराकान्त पाण्डेयसँग सँगै रहने प्रसस्त समय पाएको छु । र, यसले मलाई वैचारिक ऊर्जा र सिर्जनात्मक लेखनमा सचेततापूर्वक अघि बढ्न बल दिएको छ । साहित्य सोद्देश्य हुन्छ । र, उद्देश्यमूलक साहित्यले नै अग्रगामी पाठक र समाज निर्माण गर्छ । साहित्यले लेखक, पाठक र समाजको एउटा त्रिकोण आयाम बनाउँछ । एउटा आयाम नहुँदा अर्को आयाम बलियो हुनै सक्दैन । यही त्रिकोण सम्बन्ध मेरो सोद्देश्य लेखन बनिरह्यो । ताराकान्त पाण्डेय सधैं मेरो प्रशिक्षक बनेर उभिइरहनु भयो ।
०००
फेरि छतको तातो हावाले बिथोलिदिन्छ मलाई । निरन्तरको पानीपट्टीले ज्वरोलाई झारिदिन्छ र जिउलाई अलिकति हलुका बनाइदिन्छ । जमुनाले अलिकति खानेकुरा अघिल्तिर ल्याएर राखिदिएकी छ । हेर्नु मन छैन । तितोले मुख बेस्वाद बनाइदिएको छ । मुखमा खानेकुरा हाल्यो, तितै छ । थालको भात तिहुन पनि गन्ध आउँछ । मान्छेलाई सिकिस्तै पार्ने यस्तो रोग त कसैलाई पनि नलागोस् है भन्छु मनमनै ।
‘प्रिय कवि, म पनि केही महिनाअघि डेङ्गुले सङ्क्रमित बिरामी हुँ । अहिले त ठिक भएकी छु । यो डेङ्गुले साह्रै गारो बनाउँछ । लामो समयसम्म पनि यसको असरले कमजोर बनाइरहन्छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला । सिघ्र स्वास्थ्यलाभको कामना छ ।’
मोबाइलको फेसबुक म्यासेञ्जर बक्समा हेटौडाबाट कवि शान्ति प्रियवन्दनाको म्यासेज आउँछ । साथीहरुको यस्तै सद्भावका शब्दहरुले पनि मनलाई दरो बनाउँछ ।
‘यहीँनिर ताराकान्त सर र म बसेर गफ गरेका थियौं ।’ जमुनालाई भन्छु ।
यस्तै गर्मी महिनाको एउटा साँझ थियो त्यो । घरको छतमा बसेर बत्तीको उज्यालोले झलमल्ल देखिएको आँबुखैरेनी बजार र मनकामनाका डाँडाहरुलाई नियालिरहेका थियौं । जुनकिरीजस्तै टिल्पिराइरहेका ताराहरु थिए आकाशमा । साहित्य र समसामयिक राजनीतिका विषयमा उहाँसँग भएका कुराकानीहरुले मलाई साहित्यको सौन्दर्यचिन्तनसँग सम्बन्धित धेरै कुराहरुमा आफूलाई प्रशिक्षित भइरहेझै लाग्यो । बारपाक–सुलिकोटको साहित्यिक यात्रामा ताराकान्त सर र शिला योगी मेडमसँग जमुनाको सँगैको यात्राले पनि घरमा ताराकान्त सरको आतिथ्यमा उसलाई सहज बनाएको थियो ।
‘कस्तो अकल्पनीय दुर्घटनाबाट बित्नु भयो !’ जमुनाको स्वरमा आद्रता छ ।
‘मलाई त अझै विश्वासै लाग्दैन । कार्यक्रममा उहाँसँगै हिँडिरहेको छु झैं लाग्छ ।’ भन्छु ।
मलिन छ बत्ती । वरिपरि बत्तीको आफ्नै उदास छाया खस्छ । आफ्नै सृष्टिचक्र छ प्रकृतिको । मान्छेले एकदिन आफ्नो सबै कर्महरु छाडेर जानुपर्छ । केबल बाँकी रहन्छन् उसका यादहरु । लेख्नेहरुले लेखिदिन्छन् एकदिन उसको उज्यालो कथा ।
०००
बिहानै मेरो मोबाइलमा आकाश अधिकारीको फोन बज्यो, ‘तपाईं काँ ?’
‘पसलमा ।’ उसलाई भनें
‘के गर्दै हुनुहुन्छ ?’
प्रायः फोनमा ठट्टा गरिरहने उसको बानीसँग जिस्किएर मैले भनें ‘आकाश अधिकारीसँग कुरा गर्दैछु ।’
‘ठट्टा होइन के । सिरियस्ली कुरा गर्दैछु । फेसबुक हेर्नु भो ?’
‘छैन ।’
‘ल, अमर गिरीको फेसबुक स्टाटस हेर्नुस र स्टाटसको कुरो के हो, मलाई खबर गर्नुस त । अहिले छुट्छु । पछि कुरा गरौंला ।’
मोबाइलको संवाद टुट्यो ।
यी अधिकारीले पनि के दोधारको कुरा गरेर छाडेको हो । मन अलमलियो ।
फेसबुक खोलें र अमर गिरी सरको स्टाटस खोजें । र, पढें । पसल बढार्दै गरेको मेरो हातको कुचो भुइँमा खस्यो । भाउन्न बनायो । थचक्क नजिकैको कुर्चीमा बसें । एकैछिन मन चकमन्न भो । मित्रलाल पंज्ञानीलाई फोन गरें । फोन उठेन । फेरि मोदनाथ मरहट्टालाई फोन गरें । काठमाडौंमै हुनुहुँदो रैछ ।
‘के हो के हो त नि । केही निक्र्योल भएन । हिरामणीलाई फोन गरेको, उठेन । जगदीशचन्द्र पनि अलमलमा हुनुहुन्छ, बोल्न सक्नु भा’छैन । पर्खनुस्, फेरि एकपल्ट हिरामणीलाई फोन गर्छु र तपाईलाई खबर गर्छु ।’ बुढाको ओसिलो आवाज सुनियो ।
बेला बेलामा बजिरहने मोबाइल फोनको घण्टीले पनि झस्काइरह्यो । अनेक दुविधाहरु मनमा खेलिरहे । कतैबाट कुनै खबर आइहाल्छ कि भन्ने लागिरह्यो । मोबाइलमा केहीछिन अघिको गोपाल मरहट्टाको मिसकल थियो । फोन गरें । उनी पनि मजस्तै अलमलमा थिए ।
निकैबेरपछि फेरि मोदनाथ मरहट्टालाई फोन गरें, ‘ए बुढा सर, के भो ? के खबर आयो ?’
‘हिरामणीसँग सम्पर्क भयो । हाम्रै तारा सर ..... ।’ त्यसपछि उनी बोल्न सकेनन् । फोन राखिदिएँ । दमौलीमा आकाश अधिकारीलाई ताराकान्त सर दुर्घट्नामा परेको र अमर गिरीको फेसबुक स्टाटस यथार्थ रहेको कुरा सुनाइदिएँ । उनी अरु केही बोलेनन् ।
‘ल अहिले राखिदिएँ ।’ उनलाई भनें ।
यथार्थ पनि कति अपत्यारिलो भइदिन्छ कहिलेकाहीँ । अप्रत्यासित रुपमा भोग्नुपर्ने घटनाहरुले मान्छेलाई कति साह्रो विचलित र विघटित बनाउँछ । क्षणभरलाई बिजुलीजस्तै चम्केर हराउँछ एउटा उज्यालो र त्यही उज्यालोमा हामी परको वस्तुको आकृतिलाई नियालेर अघि बढछौं र अँध्यारोको यात्रा तय गर्छौ । सायद धेरैले यसलाई जीवनको नोस्ताल्जिक मान्छन् ।
‘सर काठमाडौं आऊँ ?’ फेरि फोन गरें मोदनाथलाई ।
‘आज नआउनुस् । हिरामणी सर उतै हस्पीटलमा हुनुहुन्छ । दाङबाट तारा सरलाई लिएर बेलुकी हिँड्ने कुरा छ । अमेरिकाबाट छोरी भोलि आउँछिन् । तपाईं पर्सि बिहानै काठमाडौं हिँड्नु होला ।’ उहाँले भन्नुभयो ।
छिन छिनमा फेसबुक खोलिरहें र दाङको भालुवाङ बस दुर्घटनाको समाचारको अपडेट लिइरहें । बिहानैदेखि फेसबुकमा ताराकान्त पाण्डेयको फोटो र समवेदनाका पोष्टहरु आइरहेका थिए । अत्यासलाग्दो भएर दिन बित्यो ।
आज एकाबिहानै मात्र मेरो फेसबुक म्यासेन्जर बक्समा हिरामणी दुःखी सरको म्यासेज टुप्लुक्क देखा परेको थियो । शीला योगीको सपनाका मेघमाला कवितासङ्ग्रहमाथि मेरो समीक्षात्मक लेख मुलबाटो अनलाइनमा छापिएको लिङ्क थियो त्यो । ओहो ! यो समीक्षात्मक लेखको लिङ्क ताराकान्त सरले पाउनु भएपछि शीला योगी मेडमको कवितामाथिको यो लेखले मलाई पक्कै केही सुझावसहितको प्रतिक्रिया दिनुहुनेछ । मेरो मनले सोचेको थियो । तर संयोगले एकैचोटि मुलबाटोमा आएको यो लेख र ताराकान्त सरको दुर्घटनाको खबरले क्षणभर पनि मेरो मनमा त्यो अघिको खुसी रहेन । दिनभरि नै मन स्तब्ध थियो ।
‘ताराकान्त सर दुर्घट्नामा बित्नुभएछ ।’ बेलुकी घर पुगेर जमुनालाई भनें ।
‘बिहानै, तपाईं घरबाट निस्कनुअघि फेसबुकमा देखिसकेको थिएँ । तपाईंलाई झट्ट केही भन्न सकिनँ । फेसबुक हेर्नुहोला र आफै देख्नु होला भनेर केही भनिनँ ।’ जमुनाले भनिन् । सायद यतिबेला ऊ मेरा खालि आँखालाई पढिरहेकी थिइन् ।
०००
‘हैन, ताराकान्त सरको स्मृतिग्रन्थको लागि लेख नपठा ?’
केहीबेर अघि मोबाइलमा बजेको मोदनाथ मरहट्टाको स्वर अझै मेरो कानमा ब्युँझिरहन्छ । तर कसरी म ताराकान्त सरलाई स्मृतिमा राखेर उहाँप्रति श्रद्धाञ्जलीका हार्दिक शब्दहरु लेख्न सक्छु ? आँबुखैरेनी वाङ्मय परिषद्ले २०८० साल बैशाख २८ गतेदेखि ३० गतेसम्म आँबुखैरेनी क्याम्पसमा आयोजना गरेको कविता लेखन प्रशिक्षण कार्यक्रममा भिजुअल गरिएका भिडियोहरु मेरो मोबाइलमा अझै सुरक्षित छन् । मोबाइल खोलेर हेर्छु । उहाँ अझै पनि कक्षा कोठामा हामीलाई प्रशिक्षण दिइरहनु भएझैं लाग्छ । साथमा अर्का प्रशिक्षक रामप्रसाद ज्ञवाली पनि हामीसँगै हुनुहुन्छ । ज्ञवाली सर, भन्नुस न । के ताराकान्त सर यतिबेला पनि हामीसँगै जीवन्त हुनुहुन्न र ?
भो मोदनाथ सर, मैले ताराकान्त पाण्डेयप्रति श्रद्धाञ्जलीका कुनै शब्दहरु लेखिनँ ।
०००
ताराकान्त स्मृति ग्रन्थ