न्युगेन, म तिम्रा ती आँखाहरुलाई प्रेम गर्छु

WhatsApp Image 2025 01 19 at 19.45.14 6d5b188a

(दक्षिण भियतनामका सहिद न्युगेनभान ट्रायप्रति)

सूर्यजस्तै तेजिला आँखाहरु
जसका आँखाहरुले मृत्युलाई ललकार्छन्
जसका आँखाहरुसँग आँखा जुध्न नसकेर
काला मैकनमाराहरुका आँखाहरु तल झुक्छन्
जसका आँखाहरुले अमेरिकी सैन्य शिविरहरु ध्वस्त हुन्छन्
र शत्रुहरुमाथि धावा बोल्छन्

के ती सामान्य नागरिकका आँखाहरु हुन् ?

जो न कहिल्यै हट्यो आँधीहरुमा
जो न कहिल्यै झुक्यो मृत्युहरुमा
स्वाभिमानले उठेका ती शिरहरु
के पहाडजस्तै अटल/अविचल थिएनन् ?

जसको पवित्र हृदयबाट
आफ्नो भूमिप्रति अपार श्रद्धा बग्थ्यो
र जसको शीतल स्नेहले भरिएको आँखा
क्रूर अमेरिकाली आँखाहरुले डामेको
आफ्नो भूमि सुम्सुम्याइरहन्थ्यो
के ती आँखा भाव विह्वल थिएनन् ?

शान्त अनुहारमा चम्किरहेको आँखा
जब सैगोन हुँदै भियतनाम
र सम्पूर्ण विश्वभरि फैलन्थ्यो
के ती अदम्य साहसले
काला मैकनमाराहरुका मुटु काँपेनन् ?

फाँसीको अन्तिम सजाय सुनाउँदै
जब काला मैकनमाराहरुले
तिम्रो आँखामा कालो कपडा बाँधे
र, कपडा च्यात्दै
तिमी करायौ– ‘छाड, मलाई मेरो
अति प्रिय भूमि हेर्न देऊ’

न्युगेन,
ए ! मेरो प्रिय मानिस
के आस्थाको राता हिमाल मानेर
शिरहरु तिम्रो सामु नतमस्तक थिएनन् ?
के तिम्रो धर्तीमा रातो झण्डा फहराएन ?

जब इतिहास पल्टाउँछु म
र दक्षिण भियतनामको आकाशमा चम्किरहेको
एउटा रातो उज्यालो तारा देख्छु
न्युगेन, जाडोले एकतमास हिर्काइरहेको मेरो भूमिमा
म गर्मीको एउटा राहत महसुस गर्छु
र, दृढताको मुठी कस्छु

न्युगेन, न्युगेन
म प्रेम गर्छु तिम्रा ती आँखाहरुलाई ।
०००

‘मृत्युपर्व होइन मेरो देश’ (२०५५)
कवितासङ्ग्रहबाट

About the Author

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may also like these