0

यो मन कहाँ दुख्छ ?

Share

आज म धेरैचोटि आफैसँग घोत्लिएको छु । मेरो यो घोत्ल्याइँले भने बिहानैदेखि घरमा श्रीमतीको छटपटीलाई बढाइरहेछ । मेरो यो घोत्लिनु र एकोहोरिनुले उनी निकै अघिदेखि अलमलिएर मलाई नियाली रहेकी छिन् । मेरो व्यवहारमा आएको यो एक्कासि परिवर्तनले उनलाई पनि एउटा सन्तापले लखेटिरहेको हुँदो हो सायद । उनी घरीघरी मेरो नजिक आउँछिन् । मेरो कपाल मुसार्छिन् र मलाई सोध्छिन्, ‘सञ्चो भएन कि के हो ? हँ ??’

म चुपचाप उनलाई हेरेर टोल्हाइरहन्छु ।

उनी दुविधापूर्वक मलाई हेरेरै टोल्हाइरहन्छिन् । र, फेरि सोध्छिन्– ‘सञ्चो लाग्या छैन ?’

तर मेरो छेउमै उभिएको उनको त्यो उपस्थितिसँग भने म बेसरोकार छु । उनका ती प्रश्नहरुले मलाई छुँदैन । मेरो यो मौन व्यवहारले उनी अचम्म मानेर फेरि पनि मलाई नियालिरहन्छिन् । म उनको आँखा र निधारभरि उठिरहेको उनको त्यो असामान्जस्य, चिन्ता र छटपटीहरुलाई हेरिरहन्छु । र, निस्फिक्री छु । म आफ्नै मनसँग एकान्तमा छु । मनको एउटा लयमा छु । मनसँग एकालापमा छु । र, बेफिक्र छु ।

मन एकातिर बाँधिएर
एकातिर पोखिने वस्तु हो
मन एकातिर खुम्चिएर
एकातिर फैलिने वस्तु हो
मन एकातिर कठ्याङ्ग्रिएर
एकातिर बल्ने वस्तु हो
मन यी अन्तरद्वन्द्वलाई
सम्हाल्ने वस्तु हो
थाहा नपाए,
एउटा प्रवेशद्वार हुन्छ जिज्ञासाको
ढकढकाउनु राम्रो ।
(संगतिहरुको आँखीझ्यालबाट, पारिजात)

जिन्दगी, साना–साना कुराहरुले टाल्दै हिँड्नुपर्ने । सिलायो, फुस्किन्छ । फेरि सिलायो, फेरि फुस्किन्छ । मन कहिले सियो बनिदिन्छ । मन कहिले धागो बनिदिन्छ । टाल्दा टाल्दै जिन्दगी मक्किएरै जानुपर्ने । च्यातिएरै सकिनुपर्ने ।

किन यो मनसँग आज मलाई यतिधेरै घोत्लिरहन मन लागिरहेछ !
०००
‘मन’ धेरैले, धेरैचोटि, धेरै ठाउँमा र धेरै प्रसङ्गमा प्रयोग र उच्चारण गरिरहने शब्द हो यो सायद । चाहे त्यो लेख्य साहित्य गीत, गजल, कविता होस् या दृश्यश्रव्य चलचित्रका संवाद, चाहे त्यो संवेगात्मक होस् या परिहासको अवस्था, दुःख होस् या सुख या एकान्तका क्षणहरु, मनको सम्बन्ध मनग्गे पाइन्छ । सामान्य बोलचाल र व्यवहारमा सधैं अस्तित्व जमाएर बस्ने यो भावपरक शब्दको प्रभाव र प्रयोग कहाँ र कसरी दोहोरिरहँदो रै’छ, एकचोटि हेरौ न ।

‘त्यसो नभन न, मन दुख्छ ।’
‘मैले उसलाई मनमनै मन पराएँ ।’
‘मेरो मन खुशीले नाचिरह्यो ।’
‘मन फुकाएँ ।’
‘मन रोइरह्यो ।’
‘मनको चोट ।’ इत्यादि, इत्यादि

अधिकांश फिल्मका गीतका दृश्यहरुमा प्रेमी र प्रेमिकाबीचको एउटा प्रेमिल क्षणलाई अभिब्यक्ति दिनका लागि पनि यो मन शब्दको अधिक प्रयोग भएकै छ क्यार । आसक्ति, प्रेम र अनुराग भावलाई मनको अवस्थासँग प्रकट गरेर एउटा आह्लाद सिर्जना गरिएका श्रव्यदृश्य साहित्य पनि प्रसस्तै निर्माण गरिएका छन् । मनको यो विराट स्वरुप र व्यापकतालाई खोज्न पनि म अहिले यति विछट्टले एकोहोरिरहेको छु ।

कहिलेकाहीँ एकलकाँटे भइदिन्छ मन । एउटा यायावर जो क्षितिज खोज्दै हिँड्छ र ऊ क्षितिज भेट्न निरन्तर एक्लै यात्रामा हिँडिरहेको हुन्छ, ऊसँग सधैं एउटै प्रश्न रहन्छ त्यो शून्य आकाशभन्दा परको जीवन कस्तो होला ! कहिलेकाहीँ म त्यो यायावरले झैं सोच्छु, साँच्चै मान्छेभित्र यो विराट मन अट्ने ठाउँ कस्तो होला ! एउटा व्यक्ति, व्यक्तिसँग जोडिने परिवार अनि समाज अनि देश अनि सिङ्गो मानव जाति र समुदाय, यी सबैसँग जोडिएर आउने भावना, विचार र स्वार्थ । ती आउँछन् कहाँबाट ?

म एकैछिन् मनको अस्तित्वलाई खोज्छु । यो कहाँ, कुन आकार र स्वरुपमा, कुन आकृतिमा र कुन अस्तित्वमा विद्यमान छ ? घोत्लिन्छु । मैले स्वास्थ्य शिक्षा पढ्दा शरीरविज्ञान (एनाटोमी) पढेको छु । एनाटोमी भनेको शरीरका अङ्गहरु सम्बन्धि अध्ययन गर्ने विषय हो । मैले त्यहाँ हाडहरुको विषय पढेको छु । मान्छेको टाउकाको हाडभित्र रहने मस्तिष्क(गिदी), नसा र रक्तनलीहरु पढेको छु । छातीको हाड(करङ)भित्र रहेको मुटु, कलेजो, फोक्सो, आमाशय र पित्तथैली पढेको छु । र, पेल्भिस क्याभिटीभित्र रहेको मृगौला, मुत्रनली र मुत्रथैलीहरु पढेको छु । शरीरभित्र कहिलेकाहीँ यी अङ्गहरुमा हुने सङ्क्रमित रोगहरुले यी अङ्गहरु दुख्छ । तर एनाटोमीमा मैले कहिल्यै कतै ‘मन’ पढिनँ । शरीरका अन्य अङ्गहरुझै ‘मन’ कुनै अङ्ग विशेष र ‘मन’ रहने ठाउँ र स्थानविशेषको बारेमा कतै पढेको वा उल्लेख भएको पनि पाइनँ । अनि यो ‘मन’ भन्ने चीजको उपस्थिति हाम्रो शरीरभित्र कहाँ र कसरी रह्यो ? यो कसरी सङ्क्रमित हुन्छ ? कसरी दुख्छ ? मन, न शरीरमा कतै यसको उपस्थिति छ, न आँखाले कतै यसलाई देख्न सकिन्छ, न यसलाई कुनै आकार र स्वरुपमा छाम्न सकिन्छ । फेरि पनि मान्छेलाई यसले दुखाउँछ, रुवाउँछ, हँसाउँछ, खुशी बनाउँछ ।

मान्छेमा रिस कहाँबाट आउँछ ? कहाँबाट आउँछ सुख ? दुःख कहाँबाट आउँछ ? र, कहाँबाट आउँछ अभिमान ? सबैले दिने एउटै जवाफ हुनेछ सायद, ‘मनबाट’ । यो रिस, सुख, दुःख, अभिमान, सन्ताप, प्रेम, घृणा, आक्रोश, खुसी, आनन्द सबैको स्रोत मन हो भने यो मन चैं छ कहाँनिर ? एउटै हावाको स्पर्शले पनि किन कसैलाई आनन्द दिन्छ ? र, कसैलाई बिझाउँछ ? एउटै फूलको रङ किन कसैलाई मन पर्छ र कसैलाई मन पर्दैन ? कुनै मान्छे, कुनै वस्तु या चीजसँगको आकर्षण किन हुन्छ ? एकमन सोच्छु, मन यदी मान्छेको शरीरभन्दा बाहिरको अस्तित्व हो भने पनि मान्छेलाई यसले नदुख्नु पथ्र्यो । मान्छेलाई यसले नछुनु पथ्र्यो ।

एकदिन लामो समयपछिको एउटा भेटमा मेरो स्कुल पढ्दाताकाको एकजना केटी साथीले प्रसङ्गवसको एउटा कुराकानीमा मलाई जिस्किएरै भनिन्, ‘मैले तिम्रो मन छामेकी ।’

‘तिमीले कसरी छाम्यौ र मेरो मन ?’ म ऊसँग अलिकति हाँसो गरिदिन्छु । ऊ मलाई लजालु भावले हेरेर एकैछिन अल्मलिरहिन् ।

‘तिम्रो यो जिस्किने बानी अझै उस्तै छ हगि !’ भनिन्

०००

जन्म र मृत्यु सधैं शाश्वत छ ।

हामी सास फेर्छौ । हामीलाई आफूले सास फेरिरहेको यो हावा सधैं उस्तै लाग्छ । र, फेरि पनि यो हावा सधैं फरक छ । हामीले सास फेरिरहेका क्षणहरु सधैं फरक छन् । हामीले सास लिइरहँदा र सास फेरिरहँदाको बीचको त्यो एउटा क्षण नै सायद जीवन हो । यही सास फेराइको प्रत्येक क्षणहरुले जीवनको एउटा चक्र पूरा गरिरहेको हुन्छ । जीवनको यही चक्रसँगै दोहोरिएर आउँछ मान्छेको दुःख र सुख ।

एकछिन फेरि यसो गम्छु, यो दुःख के हो ? सुख के हो ? मान्छेको जीवनमा सिक्काको दुई पाटाझैं यो दुःख र सुख किन टाँसिएरै बस्छ ? अधिकांश मान्छे सुखलाई क्षणिक मान्छन् र दुःखलाई स्थायी । त्यसो हो भने मान्छे सधैं किन दुःखमा छ ? मान्छे सधैं किन यो दुःखको भय, डर, संत्रास, चिन्ता र छटपटीमा छन् ? दुःखबाट मुक्ति खोज्न कपिलवस्तुका राजकुमार सिद्धार्थले दरबार त्यागे । दरबारको सबै भौतिक सुविधाहरुलाई त्यागे । उनका लागि दुःख के थियो ? र सुख के थियो ? किन दरबारका सम्पूर्ण सुविधाहरुले पनि उनी संपन्न हुन सकेनन् ? र, उनी दरबार छाडेर निस्के ?

सिद्धार्थ ध्यानको खोजमा निस्के । लामो ध्यान साधनाबाट उनले बुद्धत्व प्राप्त गरे । दुःखको कारण खोजे । दुःखबाट मुक्त हुन र सुख प्राप्तिको लागि अष्टाङ्ग मार्ग हिँडे । सुख प्राप्तिको यी बाटाहरुले पनि मान्छे किन अझै दुःखमा छन् ? म गम्छुु ।

म गम्दैछु– जबसम्म यो देह छ, देहको अभिमान छ । दुःख छ । देहको अभिमानले ल्याउने लोभ, मोह, रिस, द्धेष, ईष्र्या, घृणा, अहङ्कार, तृष्णा, क्रोध, आलोचनाबाट नै दुःख जन्मन्छ । यी सबैबाट मुक्त हुनु नै सुख हो । फेरि यी सबै आउँछ कहाँबाट? मनबाट ।


अनि यो मन छ चैं कहाँनिर ? प्रश्नहरु उठ्छन् मनभरि ।

अचम्मको छ यो मन । कतिले कतिलाई रुवाएको छ । कतिले कतिलाई दुखाएको छ । कतिले कतिलाई निस्फिक्रीसँग हँसाएको पनि छ । भन्छन् नि, ‘मन रोएको देखिँदैन । मन बिमारी भएको औषधि लाग्दैन ।’ बिचरा ! चिकित्सकहरु, शरीरको घाउ पो देख्छन् । उपचार गर्छन् र निको बनाउँछन् । मनको घाउ देख्दैनन् । जाँचपड्ताल गर्छन् । सबै अङ्गहरु हेर्छन् । सबै उस्तै दुरुस्तै छन् । कुनै सङ्क्रमण देखिँदैन । अनि भिटामिनको झोल लेखिदिन्छन् र भन्छन्, ‘लाऊ, यो खाऊ र एकहप्ता पछि आऊ ।’

बिरामीको दुब्लाउँदै र पातलिँदै गएको जीउलाई हेरेर डाक्टरले छातीको भिडियो एक्सरे गरिदिन्छन् । तर कतै मस्तिष्कको, मुटु र कलेजोको छेउको कुनै भागमा मनको भाग देखिँदैन । अनि कुन अङ्गको उपचार गरिदेओस् चिकित्सकले !

म घोत्लिएको छु निकै दिनदेखि आफ्नो मनसँग । दुःख, पीडा, खुसी, हाँसो, उत्साह, निराशा, छटपटी, वेदना मान्छेको मनसँग गाँसिएर कसरी आउँछ ? मान्छेभित्र यो कसरी उब्जन्छ ? विचारहरुको तरङ्गले शरीरमा ल्याउने प्रभाव हो सायद मन । त्यसैले देहको अभिमानबाट पूर्णरुपमा मुक्त रहेर हामीले सोच्ने विचारहरु असल र राम्रा भइदिए त्यही असल विचारहरुले हाम्रो शरीरमा उत्पन्न हुने तरङ्ग हो सुख ।

मेरा घोत्ल्याँइहरु बाँकी छन् अझै । म भने अरुणा लामाको सुमधुर आवाजमा राजेन्द्र थापाको गीतलाई गुन्गुनाइरहेको छु यतिखेर,

पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें
त्यही साल माया फाट्यो त्यसलाई पनि मनले टालें
यसपालि त मनै फाट्यो
केले सिउने, केले टाल्ने हो ।

कान्तिपुर कोसेली
२३ कार्तिक २०७६