0

सुन्दर कविता : विशिष्ट अनुभूति

Share

डा. रमेश भट्टराई

भूमिका लेखन एउटा जटिल तर सुन्दर कर्म । म अनिल श्रेष्ठको ‘मफलर युद्ध’ को भूमिका लेख्न बसेको छु । मेरा मित्र अनिल श्रेष्ठ कवि र कर्मशील तथा श्रमशील व्यक्तित्व । उनको भूमिका लेखिरहँदा कहाँबाट सुरु गरुँ भन्ने समस्याले केही छिन् बाँधिए र थालेँ यो अनौपचारिक लेखन । अनौपचारिक यस अर्थमा यहाँ म स्वतन्त्र छु र कुनै पनि बन्धनबाट मुक्त छु । यो कुनै पत्रिकाको लेख, अनुसन्धान पनि होइन र यो कुनै कविताका डाक्टरको झारा टराइ पनि होइन । इतिहासलाई बङ्ग्याएर आफ्ना वर्गकाहरुको स्तुति गान पनि होइन । त्यसैले म यहाँ पङ्खफुका छु । मेरा वर्गीय मित्र अनिल श्रेष्ठ र उनको ‘कविताको अनुभूति, म उनको यस अनुभूतिमा आफ्ना अनुभूति प्रस्तुत गरिरहेछु । त्यसैले म अनौपचारिक अनुभूतिमा ओर्लिएको छु । यो भूमिका हुन्छ वा हुन्न आफैं भन्न सक्तिन तर कवि अनिलमाथि न्याय गर्नु मेरो कर्तव्य हो । उनको आग्रह स्वीकार गरिरहँदा म आफैं पनि खुसी थिएँ किनभने राम्रा कविको भूमिका लेख्ने कुरा आफैंमा सुन्दर विषय हो ।

अनिल श्रेष्ठ पछिल्लो समयका सुन्दर लेखन क्षमता र राम्रो सम्भावनाले युक्त कवि हुन् । उनका ‘समालोचक’ कवितामा प्रस्तुत भए झैं काठमाडौंका महान र सुकिला भनिने समालोचकका आँखामा नपरेका कवि हुन् उनी । त्यसैले उनी इतिहासमा नपर्लान्, चर्चामा नआउलान् । काठमाडौंमा बस्नु र बाहिर बस्नुको अन्तर पनि यही हो सायद । अनिल काठमाडौं बाहिर बस्छन् । त्यसैले उनलाई काठमाण्डौले चिन्दैन । काठमाण्डौका कवि डाक्टरले चिन्दैनन् र चिनिहाले पनि मान गर्दैनन्, सम्मान गर्दैनन् । गाउँमा बसेको कवितामा सायद ग्रामीण गन्ध आउँदो हो, कतिपयलाई त राजनीतिको गन्ध । अझ कतिपयलाई निम्न वर्गीय र उत्पीडितको गन्ध पनि आउँदो हो । अझ अनिलसँग त समूह छैन, गुट छैन, प्रचारको मोह र स्पर्धा छैन र त्यस दुनियाँसँग सम्पर्क र सम्बन्ध पनि छैन । त्यसैले अनिलको कविता चर्चाको विषय बन्दैन, पाठ्यक्रमको विषय बन्दैन, कविताको दुनियाँभित्र छिर्न ठूलै फलामे बार तोड्नु पर्ने । तैपनि अनिलका कविता जनताका विषय हुन्, जीवनका विषय हुन् र नयाँ युग र चेतनाका विषय हुन् । केही समय विचार थुनिए झैं, केही समय समयको प्रवाह रोकिए झैं भए जस्तै अनिलका कविता कुनै दिन फलामे बार तोडेर आउने छन् । प्रगतिशील कविता यात्राको अविरलतामा नयाँ पदयात्राको निर्माण गर्ने छन् ।

अनिलमा विचारशीलता छ, प्रतिबद्धता छ र जीवनलाई बोध गर्ने क्षमता छ । उनी कर्ममा विश्वास गर्छन्, श्रममा विश्वास गर्छन् र लेखकीय निरन्तरतामा विश्वास गर्छन् । सङ्गठन र सङ्घर्षले जन्माएका कवि हुन् अनिल । तनहुँको आँबुखैरेनी उनको कर्मस्थल हो । मस्याङ्ग्दी नदी, वनपाखा तथा उकाली ओराली र त्यसकै सेरोफेरोमा अनिल सङ्घर्षरत छन् । त्यहीँको श्रमशील र कर्मशील जीवन तथा बाँच्नका लागि समेत गरिने सङ्घर्षबाट बचेको सानो क्षणबाट उनको कलम अघि बढेको छ । उनका लागि अवसर र पर्व भनेकै सङ्घर्ष हो र त्यही बीचको सानो क्षणलाई उनले लेखनमा उपयोग गरेका छन् । उनको पहिलो कवितासङ्ग्रह ‘मृत्युपर्व होइन मेरो देश’ बाट उनको कविता यात्राको निरन्तरता र जीवन्तता देखा परेको हो । पहिलो सङ्ग्रह उनको सङ्घर्ष र त्यसको अनुभव पुञ्जको प्रस्तुति हो, नेपाली जनयुद्धको कलात्मक अभिव्यक्ति हो । कुरुपता र विद्रूपताको विरूद्धको सुन्दरको प्रस्फुटन हो, उनको सङ्घर्षमय सिर्जना यात्राप्रतिको निष्ठाको प्रस्तुति हो । यस सङ्ग्रहका कवितामा केही भिन्न विषयवस्तु छन् । महान् जनयुद्ध र जनआन्दोलनपछिको नेपाली राजनीति र समाजको बोध छ । अनिलमा युगलाई बुझ्न र चिन्न सक्ने सामथ्र्य छ, नेपाली समाजलाई चिन्न सक्ने र जीवनलाई कवितामा व्यक्त गर्न सक्ने खुबी छ । जे होस्, कवि अनिल नयाँ पुस्ताका राम्रो सम्भावना सहित उभिएका कवि हुन् ।

‘मफलर युद्ध’ शीर्षकको यस कविता सङ्ग्रहमा तेत्तिसवटा कविताहरु छन् । कवितामा पाठकलाई समर्पित कवितामा पाठकीय प्रभाव सामथ्र्य छ र कवितात्मक ओज पनि छ । आड्रियान मिचेलले भनेझैँ धेरै मानिसहरु प्रायः कविताको अपेक्षा गर्छन् किनभने प्रायः कविताहरुले प्रायः मानिसलाई उपेक्षा गर्छन्, भन्ने अवस्था कवितामा छैन । कविता जनताका पक्षमा छन् र तिनले श्रमजीवी र उत्पीडित जनताका पीडा र समस्यालाई संबोधन गरेका छन् । त्यसैले कविता पाठकले उपेक्षा गर्ने, जनतालाई उपेक्षा गर्ने नभई जनतालाई संबोधन गरिएका छन् । कवि अनिल श्रेष्ठको कवितात्मक सामथ्र्य पनि यही हो ।

कविताका सन्दर्भमा चर्चा गरिरहँदा कविता के हो भन्ने कुरा पनि महत्त्वपूर्ण छ । आजका समालोचकले कवितालाई भाषामा बाँध्ने गर्छन् र त्यसकै सेरोफेरोबाट हेर्छन् पनि । कविता भाषा कविता होइन भाषा त कविताको झ्याल मात्र हो । किनभने कवितामा उज्यालो ल्याउने काम भाषाले गर्छ । त्यसै गरी यसले कविताको बाह्य संसारलाई चियाउन पनि मद्दत गर्छ । कविताको मूल त यसको कथ्य हो र कथ्य नै कविताको विश्व हो र विश्व प्रकृति पनि । कविले एउटा नवीन विश्व बनाउँछ तर त्यो विश्व हाम्रो जीवन, अनुभव र सङ्घर्षको प्रस्तुति हो । अनिल श्रेष्ठका प्रायः कवितामा यही मानवीय विश्वको कल्पना छ र जीवनको वर्णन छ । उनको विश्वदृष्टि स्पष्ट छ र त्यहाँ प्रगतिशील र प्रगतिवादी स्वर मुखरित छ । उनका कवितामा जीवन र समाजलाई टिप्न सक्ने क्षमता छ र त्यही कारण उनी सफल पनि छन् ।

कविता इतिहास हो र त्यो विगत, वर्तमान र भविष्यको रेखाङ्कन पनि हो । प्रगतिवादी कवि भविष्य द्रष्टा हो र उसको भविष्य क्रान्तिकारी आशावादबाट ओतप्रोत हुन्छ । कवि अनिलले पनि वर्तमानबाट भविष्यलाई हेर्ने दृष्टि प्रस्तुत गरेका छन् । त्यसैले उनका कवितामा वर्गको कथा छ र वर्ग परिवर्तनको कथा पनि छ । सिंहदरबार, संविधान सभा, संसद् र संसद्का विषय कवितामा उठेका छन् । नेपाली राजनीतिमा संविधान सभा जनताको विषय हो र थियो पनि । जनताले संविधान बनोेस् भनेर संविधान सभाको चयन गरे तर गिद्धरुपी सिंहदरबार जस्ताको तस्तै छ, संविधान सभा संविधान निर्माण बेखबर र संविधान सभा आशाको केन्द्र भए पनि त्यसले केही गर्न नसकेको यथार्थ कवितामा ध्वनित छन् । ‘जुत्ताको दाम’, ‘सिंहदरबार’, ‘एक पोट्रेटःसंविधान सभा’, ‘विसर्जन’, ‘झुसिल्किरा’, ‘लुतो’, ‘सभासद् सपना मल्लको हाँसो’, ‘अग्निसेचनका यामहरु’, ‘सांसदको रुघा’, ‘संसद् ठिकठाक चलिरहेछ महोदय’, जस्ता कविता नेपाली राजनीतिमा देखिएका विसङ्गतिको उद्घाटन गर्न सक्षम छन् । यी कविताले गणतन्त्रको प्राप्तिपछिको नेपाली राजनीतिको सूक्ष्म विश्लेषण गरेका छन् । ‘जुत्ताको दाम’ राजनीति र वर्गीय विषमताको चित्रणका दृष्टिले सुन्दर कविता हो । जनताको करले चलेका नेता सगरमाथाको फेदीमा करोडौको भोज गरिरहँदा श्रमिकहरु र निम्नवर्गको पीडासम्म पनि बोध नगर्ने अवस्थाको चित्रण कवितामा छ । यस कवितामा कविको कलम प्रतिरोधी चेतनाबाट डोरिएको छ । कवि भन्छन्ः–

किनकि
तपाईंको जुत्ताका पालिसको लागि
अब कुनै तिरो बुझाउन
हामी तयार छैनौं
(पृष्ठ, ४)

यसरी प्रारम्भ भएको कविको राजनीतिक र वैचारिक चिन्तन अझ कवितामा पनि तिख्खर रुपमा प्रकट भएको छ । सिंहदरबारको कवितामा कविले नेपाली प्रशासनलाई गिद्धको नङ्ग्राका रुपमा चिनाएका छन् र मन्त्री परिषद्लाई गिद्धको आत्मा र ती गिद्धको शोषणमा परेका नेपाली जनतालाई उनले निरीह र शोषित नागरिकका रुपमा चित्रण गरेका छन् । ‘एक पोट्रेट संविधान सभा’मा उनले संविधान सभालाई धुँवाको रुपमा चिनाएका छन् भने उनको यो कल्पना सत्य पनि सावित भएको छ । ‘विर्सजन’ कविताले चाहिँ नेपाली प्रगतिवादी राजनीतिमा देखा पर्दै गरेको विसर्जनवादी प्रवृत्ति माथि व्यङ्ग्य गर्दै सत्तामा पुगेपछि पार्टी नेताहरुमा पाइने गलत र जनता, क्रान्तिलाई बिर्सने प्रवृत्तिप्रति रोष प्रकट गरिएको छ । ‘झुसिल्किरा’मा पुराना राजनीतिक शक्ति र प्रतिक्रियावादीहरुको यथार्थ स्वरुपको चित्रण छ भने ‘लुतो’ मा नेतृत्वमाथि व्यङ्ग्य छ भने ‘सभासद् सपना मल्लको हाँसो’, ‘संसद्को रुघा’, ‘संसद् ठिकठाक चलिरहेछ’ कवितामा वर्तमान संसद् र तिनका काम तथा क्रियाकलापप्रति कटाक्ष गरिएको छ ।

कवि अनिलका कवितामा विषयवस्तुको विविधता छ र व्यापकता पनि छ । उनले नेपाली समाजको वर्गीय जातीय, लिङ्गीय उत्पीडनको चित्रण आफ्ना कवितामा सशक्त रुपमा गरेका छन् । ‘छायाचित्र’, ‘म कुँडुलेटार’, ‘किनकि ऊ हलियाको छोरो थियो’, ‘मफलर युद्ध’, ‘तमसुकहरुका विरुद्ध’, ‘हँसियाहरु खिएपछि’, ‘साइँली कमिनीको देश’, ‘सियावती सदा’, जस्ता कवितामा यो स्वर तिब्र रुपमा प्रस्तुत भएको छ । ‘छायाचित्र’ आमाहरुको कथा हो र उनीहरुको सङ्घर्ष र उत्पीडनको कथा पनि हो । पित्तृसत्ताका आमाहरु सधैँ चुलोचौकोमा हराउने प्रसङ्ग कवितामा छ । ‘कुँडुलेटार’ मा प्रकृतिका माध्यमबाट दलित शोषणको सन्दर्भ प्रस्तुत गरिएको छ भने प्रकृतिको उदात्तता र उदारताका माध्यमबाट श्रम गरे प्रकृतिले सम्पूर्णता दिन्छ भन्ने सन्देश पनि छ । ‘किनकि, ऊ हलियाको छोरो थियो’ कवितामा सामन्तवादी नेपाली समाजको निम्न वर्गको जीवनावस्थालाई प्रस्तुत गरिएको छ । सङ्ग्रहको शीर्षकका रुपमा रहेको ‘मफलर युद्ध’ कविता नेपाली वर्ग विषमताको चित्रण गरिएको कविता हो । वर्ग विषम नेपाली समाजमा मफलर लाउनु उच्च वर्गको विशेषता हो भने मफलर पनि वर्ग अनुसार फरक हुने सन्देश यस कवितामा छ । मफलर जस्तो सामान्य विषयलाई वर्ग विषमता र वर्ग भेदको चित्रणको विषय बनाइनु यस कविताको विशेषता हो । ‘तमसुकहरुको विरूद्ध कविताले सामन्तवादी नेपाली समाजमा सामन्तहरुले गर्ने शोषणको कथा प्रस्तुत गरेको छ । यस कथामा जनयुद्धका समयमा सामन्तवाद विरूद्धको आन्दोलन तिव्र भए पनि सामन्तहरु पुनः जुर्मुराउन थालेकाले अब पुन तिनका विरूद्ध जाइ लाग्नु पर्ने र आरन जुटाउनु पर्ने सन्देश दिइएको छ । ‘हँसियाहरु खिएपछि’ कवितामा क्रान्तिकारी धार भुत्ते भएपछि पार्टीको प्रभाव पनि हराउने कुरा प्रस्तुत गरिएको छ । सामन्ती दमन र उत्पीडन पुनः बढेपछि हँसिया पुनः साँध लाएर मात्र देशको राष्ट्रियता बचाउन र उत्पीडनबाट मुक्ति प्राप्त गर्न सकिने अप्रत्यक्ष सन्देश प्रस्तुत कविताले दिएको छ । ‘एउटी बादी आइमाईको पेटीकोटका टुक्राहरु च्यातिएर’ कवितामा वर्ग र लिङ्गभेद युक्त नेपाली समाजमा सत्तामाथि व्यङ्ग्य गर्दै वादी महिलाको जीवनावस्था र त्यसमा राज्यको उदासीनताको चित्र प्रस्तुत गरिएको छ । ‘साइँली कमिनीको देश’ निम्न वर्गीय चित्रणको सुन्दर नमुना हो । शीर्षकले नेपाली जातिय उत्पीडनको सङ्केत गर्छ भने जातीय उत्पीडनको केन्द्रमा रहेको वर्ग उत्पीडनको विषय कविताको मूल कथ्यका रुपमा रहेको छ । लोकतन्त्र, सहिदी मृत्युवरण जस्ता विषय पनि उपेक्षित बनेको अवस्थाको चित्रण यस कवितामा शक्तिशाली रुपमा आएको छ । ‘सियावती सदा’ कोसी पीडित नेपालीको कथा हो भने राज्यको जनता प्रतिको उदासीनताको अवस्थाको चित्रण पनि हो । राज्यको सत्ता वर्गीय विमर्श र वर्चस्वकै कारण नेपाली जनताले सबै प्रकारका उत्पीडन भोग्नु परेको हो भन्ने विषय कविताको मूल कथ्य हो । ‘र यी लखन थापाहरु’ र ‘आदिम पोशाक’ इतिहासका दुई भिन्न अवस्थाको चित्रण गरिएका कविता हुन् । लखन थापा विद्रोहका प्रतीक हुन् र जनजाति सहिद पनि हुन् । गोरखामा जन्मिएका यी थापा (मगर) सहिदका सन्दर्भबाट कविले निम्न वर्गीय जाति र जनजातिको श्रम सन्दर्भको चर्चा गरेका छन् । जनजातिको श्रम र मेहनतले चर्चेको भूमिका भएको सन्दर्भ पनि कवितामा छ । ‘आदिम पोशाक’ कवितामा राजतन्त्र र गणतन्त्रका बिचको द्वन्द्व र गणतन्त्रको प्राप्तिपछिको राजतन्त्रको अवस्थाको चित्रण गरिएको छ ।

अनिलका केही कवितामा बाल सन्दर्भ पनि छन् । ‘बाँसझ्याङ र त्यो फुच्चे दादा केटो’, ‘त्यो के आकाश नि डैडी’ जस्ता कवितामा बालकका सन्दर्भ प्रस्तुत भएका छन् । ‘अँगेना छेउको घाम’, ‘म उभिएको जमीन’, ‘बेसोमति झिँगाहरु’, ‘गाउँको गोठ’, ‘कृपया मलाई ब्युँझाऊ’, भालेमुङ्ग्राको रङ र ‘विस्मृति’ जस्ता कवितामा कविका अनुभूतिका विविध सन्दर्भ प्रस्तुत भएका छन् । ‘समालोचक’ कविता चाहिँ परम्परागत नेपाली समालोचकमाथि व्यङ्ग्य गरेर लेखिएको कविता हो । नेपाली साहित्यको मूल्याङ्कन गर्ने भन्ने समालोचकले आफैँ सत्ता बनाएर बस्ने र स्रष्टालाई उपेक्षा गर्ने वास्तविकतालाई कवितामा प्रस्तुत गरिएको छ । काठमाडौंमा बस्ने समालोचकको धाक, रवाफ तथा आडम्बर, उनीहरुको वर्ग दृष्टिलाई तिनले कविहरुमाथि गर्ने काखापाखा र अन्यायको चित्रण यस कवितामा स्पष्ट रुपमा उत्रिएको छ ।

अनिल श्रेष्ठको कविताहरुको सर्सर्ती चर्चापछि उनको कवित्वको विश्लेषण गर्न सकिन्छ । अनिलका कवितामा मूलत समयको स्पन्दन छ, युगको आवाज छ, नेपाली समाजका दुःख, दर्द, सङ्घर्ष र प्रतिरोधको कथा छ । सुविधाविहीन ग्रामीण समाजमा पढ्ने, छलफल गर्ने र चिन्तन गर्ने अवसर आफैंमा कम हुन्छ । काठमाडौंसम्मको यात्रा पनि असहज हुने अवस्थामा अनिलको कलम तिख्खर छ । साहित्य सिर्जना भन्दा परको व्यावसायिक कर्ममा सक्रिय रहेर पनि उनले रोजेको कविताको विषय र प्रस्तुति निकै शक्तिशाली छ । विषयवस्तुका अतिरिक्त अनिलको कविता सिर्जना कौशलको चर्चा पनि आवश्यक हुन्छ । भनिन्छ कविताले अन्तर्वस्तुको रुप पनि लिएर आएको हुन्छ । यथार्थमा अन्तरवस्तु हुनासाथ कविताको शिल्प तयार हुने होइन । अन्तर्वस्तुलाई शिल्प र संरचनामा ढाल्ने कौशलमा नै कविको विशिष्टता जाँचिन्छ । अनिलका लघुतम र लघु कविता बान्कीका कविताहरुमा कवितात्मक कौशल छ र भन्ने र व्यक्त गर्ने तरिकामा विशिष्टता र मौलिकता छ । उनले परम्परागत प्राकृतिक र सामाजिक विम्ब र प्रतीक टिपेर कवितात्मक स्वरुप दिएका छन् भने कतिपय अवस्थामा ती शक्तिशाली पनि छन् । प्रतीक र अलङ्कारहरुको आयोजना प्रस्तुति बिना पनि कविता शक्तिशाली हुन सक्छन् भन्ने सूचना पनि अनिलका कविताले दिएका छन् । तीमध्ये पनि शीर्षकमा पाइने स्थानीयता, प्राकृतिक तथा सामाजिकता उनको विशिष्टता हो । उनले प्रकृतिको मानवीकरणमा पनि छुट्टै विशेषता बनाएका छन् । बत्तीको धमिलो उज्यालो, थालमा खसेपछि, साँझको दैलो टेकेर जस्ता प्रयोगले उनले कवितालाई विशिष्टता प्रदान गरेका छन् ।

अनिल श्रेष्ठको अघिल्लो कविता सङ्ग्रह ‘आरू फुलेको साँझ’ (२०६३) पढ्दा नै मलाई उनको कवित्व क्षमताले प्रभावित पारेको हो । उनको त्यस सङ्ग्रहका बारेमा जति चर्चा र बहस हुनु पर्ने हो र त्यसले जति महत्व पाउनु पर्ने हो त्यसो भएन भन्ने मलाई लागेको छ । उनका कविताले प्रस्तुत गरेको विषयवस्तु, उनका कविताको शैली शिल्प र भाषाका कारण नवीन पुस्ताका राम्रा कविका रुपमा अनिल श्रेष्ठ उदाएका छन् । कविताको मृत्यु भयो भन्ने र कवितालाई शब्दको खेल मात्र ठान्नेहरुका विचारलाई चुनौति दिने गरी प्रस्तुत सङ्ग्रह आएको छ र अनिलका तिनवटा सङ्ग्रहका आधारमा उनको कवित्वको शक्तिशाली क्षमतालाई बोध गर्न सकिन्छ । अनिलका समग्र कविताको अध्ययन र मूल्याङ्कन भएपछि मात्र उनका कविताको वास्तविक मूल्य निरुपण हुन सक्ने देखिन्छ ।

भूमिका लेखनको आग्रहकै बीचमा पनि मैले आफ्नो कमजोरीलाई पनि राख्नै पर्ने हुन्छ । अनिलजीले भूमिका लेख्न आग्रह गरेपछि कविता त पढें तर आज लेख्छु, भोलि लेख्छु भन्दाभन्दै समय त्यसै गएछ । अन्त्यमा ‘छाप्ने बेला भयो नि’ भन्दै अनिलजी तनहुँबाट आएपछि झसङ्ग मात्रै भइन आफ्नो कमजोरीप्रति आफैं आलोचित पनि भएँ । लेख्छु भन्न सजिलो हुने समय नपुग्ने समस्याले मलाई सधैँ सताउने गर्छ । जीवनको अर्को नाम व्यस्तता र बेफुर्सदी रहेछ । फुर्सदमा लेख्छु भन्नु हामी जस्ताका लागि सायद कुरा मात्र हो । अनिलजीले लेख्नु भएका समालोचक र हामीमा फरक भनेकै समय र त्यसको व्यवस्थापन रहेछ । हामी राजनीति पनि गर्छौँ, व्यवसाय पनि गर्छौँ, सामाजिक काम पनि । हाम्रा लागि पूर्णकालीन लेखक हुने अवसर नै कहाँ छ र ? त्यसैले भूमिका पनि हडबडी र हतारकै उपज हुँदो रहेछ । जेहोस्, अनिलजीका सबै कविता पढेर मूल्याङ्कन गर्ने वाचाका साथ उहाँको भावी लेखनको कामना गर्दछु । आगामी सङ्कलनमा यस सङ्कलनमा परेका जस्ता २/४ कमजोर कविताले समेत स्थान नपाऊन् भन्दै अनिलजीको लेखनको उत्तरोत्तर प्रगतिको अपेक्षा समेत गर्दछु ।

मफलर युद्धको भूमिकाबाट