कथा – अनिल श्रेष्ठ

स्मृतिभित्र
साँझको धमिलो एकान्तलाई चिरेर अनायासै पर बस्तीबाट आएको चीत्कारपूर्ण कारुणिक कोलाहलले स्वाभाविक रुपमा मेरा आँखाहरु पर बस्तीतिर पुगे । बस्तीको एउटा आँगनअघिल्तिर मान्छेको भीड र कल्याङ्बल्याङ देखिन्थ्यो ।

‘आज पनि रक्सीले मातेर बीरबहादुरले स्वास्नीलाई पिटेछ क्यारे ।’ मेरो मनले सोच्यो । त्यसैबेला मेरी बहिनी बार्दलीमा देखा परी र भनी– ‘दाइ, लुरी मरी बाबै !’

‘हँ !’ लुरीको अप्रत्यासित मृत्युको त्यो खबरले मलाई झस्कायो ।

एउटा अविश्वासले मैले बहिनीतिर हेरें । उसको आँखामा शून्यता थियो । अनुहार मलिन देखिन्थ्यो । लुरीको मृत्युको त्रासदी खेलिरहेको थियो सायद उसका आँखाभरि । टोल्हाइरहेकी थिई ।

‘के भएर मरिछ हँ लुरी ?’ मैले सोधें ।

‘भाइलाई सुताएर पानी लिन खोलामा गएकी रे । बाटोबाट चिप्लेर लडिछ र मस्र्याङ्दीको तल किनारमा पुगिछ ।’ उसको स्वरमा आँसु थियो ।

लुरीको मृत्युले ऊ दुखेकी थिई यतिखेर । उसका आँखाहरु व्यथित देखिन्थे । बेथितिसँग उसका आँखाहरु रुन चाहन्थे सायद लुरीका सम्झनाहरुले । बहिनीकी दौंतरी थिई लुरी । लुरीको मृत्युको चोट लुकाउन ऊ घरभित्र आएकी थिई एकान्त खोज्न । र, मलाई देखेपछि उसले भनेकी थिई– ‘दाइ, लुरी मरी बाबै ।’

लुरीको मृत्युको यो अप्रत्यासित खबरले मलाई संवेदित बनाइरह्यो निकैबेरसम्म । यो धमिलो साँझमा उसका स्मृतिहरु हावाका छालहरुझैं घरि उठ्दै र घरि हराउँदै मेरो मानसपटलमा खेलिरहे ।

००००

‘ए लुरी, ……. लुरीऊ ।’

बस्तीमा सधैं साँझ बिहान उठिरहने यो दीन आवाज । एउटी स्वास्नीमान्छेको अन्तरको पीडाको अथाह सुस्केरा । जब यो आवाज यसरी नै मेरो कानसम्म ठोक्किन आइपुग्थ्यो, अनि स्वाभाविक रुपमा मेरा आँखाहरु त्यही परको बस्तीका झुप्राहरुअघिल्तिर पुग्थे जहाँ यस्तै ४०–४५ वयकी एउटी स्वास्नीमान्छे आफ्नो आँगनमा उभिएर त्यसरी नै कराइरहेकी हुन्थी– ‘लुरी, …. लुरी !’

तर प्रत्युत्तरमा जब कतै टाढाबाट लुरीको ‘किन ?’ भन्ने जवाफ पाउँथिनन् अनि उनका आँखाहरु आँगनभरि छरिएको कामको मेलोमेसो समात्न पुग्थे । त्यो हतासपूर्ण वातावरणबाट एकैछिन मुक्त हुन खोजेझैं उनका आँखाहरु अत्यासलाग्दो गरी आँगनबाट उठेर फेरि पर पुग्थे केही खोजेझैं । सायद उनका आँखाहरु त्यहाँ लुरीलाई खोजिरहेका हुन्थे । तर त्यहाँ परपरसम्म पनि कतै लुरीको उपस्थिति नदेखेपछि उनी फेरि कराउँथिन्– ‘लुरी, ….. ए लुरी हौ ।’

यदी कतैबाट लुरीको ‘किन ?’ भन्ने जवाफ पाइहाले उनी जोडले कराउँथिन्– ‘तँलाई कालले डो¥याउन कहाँ हिँडेकी हँ !’ उनको आक्रोश उम्लन्थ्यो ।

‘याँ आफूलाई कामको भ्याइनभ्याई छ, हन तँलाई चैं काँ काँ डुल्नु पर्ने हँ ……… ।’ लुरीलाई नजिकै देखेपछि उनको रिस लुरीमाथि खनिन्थ्यो– ‘तँलाई खुट्टा भाँचेर राखुम्ला ।’

अनि एक्लै आफैसँग भुत्भुतिँदै त्यो स्वास्नीमान्छे आफ्नो काममा लाग्थिन् ।

यसैगरी सधैं यो बस्तीको हरेक साँझ र बिहान ती स्वास्नीमान्छेको एउटा आहत स्वरमा डुब्थ्यो । उनको छातीभित्र बल्किन्थ्यो समय । उनको ओंठको सुस्केराहरुलाई छोएर नीरस बहन्थ्यो हावा । उनको आँखामा उदाउँथ्यो एउटा उत्साहहीन घाम । र, साँझको अँध्यारोले उनको दैलोमा उदासी पोखिरहन्थ्यो ।

आठ वर्षकी थिई लुरी । गरिबीले हुर्किरहेकी । गाउँभरिका केटाकेटीहरु किताबको झोला बोकेर स्कुल हिँडिरहँदा ऊ आफ्नी आमाको कामलाई सघाउन अघिपछि हिँड्थी । डोको बोक्थी । घाँस काट्थी । पानी ल्याउँथी । उसको उमेरले यी सबै कामहरुसँग मेल खाँदैनथ्यो । उसको निधारमा सधैं नाम्लोको बोझ झुण्डिरहेको हुन्थ्यो । आङमा आधासरो च्यातिएको कमिज हुन्थ्यो । आफू सँगैकालाई हेर्थी । सुकिला देख्थी । उसको अवोध आँखामा रहरहरु पलाउँथे र झर्थे । डोको समातेर बारीको डीलबाट परको स्कुललाई नियाल्थी । बिचरीलाई आफ्नो रहर पोख्ने कल्लाई ? आमालाई हेर्थी । आफ्नोभन्दा नि बढी दश ठाउँमा च्यातिएको र टालेर मुजा हालेको कपडा आमाले लगाएकी छ । आमाको त्यो दीन अनुहारले उसको मनलाई झनै अरु उच्चाटलाग्दो बनाउँथ्यो । बाउ सम्झ्यो, एउटा कालो छायाँ मात्र उसको आँखाअघिल्तिर आएर खेल्छ । बाउको अनुहारै नसम्झिनु परे हुन्थ्यो जस्तो लाग्छ उसलाई । कालो पिचाशको छायाँ हो कि भनेझैं बाउको अनुहारले उसको मनलाई झस्काइरहन्छ घरीघरी । जब बाउलाई सम्झन्छ, आमाको शरीरभरिको नीला डामहरु उसका आँखाभरि आएर खेल्छ । मनभित्रै कहालिएर रुन्छ ऊ । आमाले कसरी सहेर बसेकी होली यी चोटहरु,’ सोच्छे । आमाप्रतिको एउटा नजानिँदो माया उसको मनमा उर्लिन्छ । कतिखेर उसको आँखामा आँसु आएर टल्बलाउँछ, थाहा हुन्न ।

टोलकै नम्बरी जँड्याहा वीरे भुजेल । जाँडरक्सीले नमातेको र टोलमा होहल्ला गर्दै नहिँडेको समय हुन्न । कहिलेकाहीँ विनावस्त्र बाटोमा पसारिएर लड्थ्यो र बाटो हिँड्नेहरुलाई मुखबाट आमाचकारी गाली निकाल्थ्यो । मान्छेहरुले उसको नजिकै भएर हिँड्न पनि छाडिदिएका थिए ।

‘शरम हरायो यसले ।’ कहिलेकाहीँ आमासँग बाउको बारेमा टोलका मान्छेहरुले गरेको गुनासो लुरीले सुन्थी ।

‘आ, ‘गु’ लाई चलाए गन्ध दिदी ।’ उसकी आमाले छिमेकीहरुलाई भन्थिन् । आमाले यसो भनिरहँदा लुरीले आफ्नी आमाको आँखामा लुकेको विवशता देख्थी । बाउका कारण छिमेकीहरुसँग आमाले सहनु परेको यो लाचारीले लुरीलाई मनभित्र दुखाउँथ्यो । बाउको क्रूर अनुहारसँग लुरीलाई रिस उठ्थ्यो र मनभित्र घृणा जागृत भएर आउँथ्यो । आमालाई मरणासन्न पिट्नु, जिउको कपडा च्यातिदिनु, पोल्टाको पैसा खोसेर लिनु, जाँड धोक्नु र बेहोसीले बाटो दोबाटोमा लड्दै हिँड्नु, बाउको योभन्दा अर्को चित्र लुरीको अबोध मानसपटलमा कहिल्यै आएन ।

‘अरु साथीका बा’हरु कति जाती छन् ।’ लुरीको आँखामा बा’को मायाको तृष्णा खेल्थ्यो ।

०००

‘तिमी स्कुल पढ्न जाँदिनौं ?’ एकदिन बाटोमा खेल्दै गरेकी लुरीलाई सोधें

उसले पुलुक्क मतिर हेरी र जवाफमा संकोचले भुइँतिर हेरेर एकोहोरिई ।

‘किन नगएकी पढ्न ?’ मैले हप्काउने पारामा भनें

‘बा’ले जान दिन्न,’ उसको अनुहारमा अलिकति अँध्यारो खेल्यो । र उसले भनी, ‘बाले स्कुलमा भर्ना त गरिद्या’ छैन ।’

‘किन भर्ना नगरिद्या त ?’ सोधें

‘अनि मैले भाइ खेलाउनु पर्छ नि त ।’ उसको बालसुलभता बोल्यो ।

लुरीको खेलको तन्मयतालाई मैले अरु केहिबेर त्यहाँ उभिएर हेरिरहें । मैले हेरिरहें– उसको अनुहारमा निस्फिक्रीपना थिएन । अनुहारमा विषाद्ले खेलिरहेथ्यो । उसको मनको अन्तरमा खेलिरहेको द्वन्द्वले उसको कलिलो मनोविज्ञान अल्झिरहेको देखिन्थ्यो । उसको आँखामा चञ्चलता थिएन । थकाइले उसका आँखा गलिरहेको देखिन्थ्यो ।

हिउँदको एकदिन ।
घामको न्यानो पाहार ताप्दै म घरको कौसीमा बसेर किताब पढ्दै थिएँ, तलबाट कसैले बोलाइरहेको स्वास्नीमान्छेको स्वर सुनियो, ‘ठूला बाबु, … ए ठूला बाबु ।’

कौसीबाट निहुरिएर हेरें, लुरीकी आमा थिइन् ।

‘खै, आमा हुनुहुन्न ?’ सोधिन्

‘हुनुहुन्छ । किन ? केही काम छ कि दिदी ?’ मैले सोधें

‘बिहान आमासँग कुरा गरेकी थिएँ । बारीको बोडीको झ्याङ उखेलेर लैजाऊँ कि भन्या ।’

‘लैजा भन न ।’ बाहिर लुरीकी आमाको स्वर सुनेर आमा भित्रबाटै कराइन्

‘हुन्छ, लैजानोस् रे ।’ मैले आमाको अनुमतिलाई बाहिर सुनाइदिएँ

एकैछिनपछि मैले बारीको कान्लातिर आँखा पु¥याउँदा बोडीको झ्याङको भारी हालेर लुरीकी आमा चुरोट सल्काएर थकाई बिसाइरहेकी थिई । त्यसैबेला लुरी भाइलाई बोकेर त्यहाँ आइपुगी ।

‘हैन, फेरि किन आइपुगेकी अर्काको बारीमा ? घर हिँड् ।’ आमा कराइन्

‘अँ, भाइ रोएको रोयै त गर्छ ।’ लुरीले आफ्नो आजित पोखिदिई

‘जा न जा, लैजा । म आइहाल्छु । जा त ।’

तर लुरीले आमालाई नसुनिकन कुम हल्लाएर अटेरी गरी । आमाको नजिकै उभिई र आमाको अस्तव्यस्त कपाललाई स्याहारिदिई । छोरीको साना औंलाहरुको त्यो स्पर्शले लुरीको आमालाई एउटा शितलता दियो । छोरीप्रतिको उनको स्नेह उर्लियो मनभित्र । बोलिनन् केही । छोरीको औंलाहरुलाई महसुस गरिरहिन् । र, चुरोटको सर्को तानिरहिन् । एउटा मौनता थियो त्यहाँ । तर पनि वातावरण रङ्गिन थियो ।

लुरीको आँखामा टिल्पिराइरहेको आँसुले छिनभरमै त्यो वातावरणमा खेलिरहेको रङहरुलाई पखालिदियो । लुरीको आँखाले एकटकले आमाको आङलाई नियालिरहेको थियो । आमाको मैलो र फाटेको चोलोले छोप्न नसकेका थुप्रै रातानीला डामहरु आमाको आङभरि थिए । एकपल्ट जिरिङ्ग भएर फुल्यो लुरीको जिउ । लुरीले आफ्ना साना औंलाहरुले ती डामहरुलाई मुसार्न चाही । तर अलिकति छुदा पनि आमालाई ती घाउहरु दुख्ला भनेर उसले आफ्ना औंलाहरु हटाई । लुरीको मनले भक्कानो हाल्यो तर उसले त्यो भक्कानोलाई भित्रभित्रै दबाई । जति रोक्न खोज्दा पनि लुरीको आँखाको डिलको दुई थोपा आँसु आमाको आङमा खसे । लुरीले आमालाई हेरी । चुरोटको लामो सर्कोसँगै उसकी आमा धुँवामा हराइरहेकी थिई ।

‘आमा ।’ लुरीले आमालाई झक्झक्याई

‘के ?’ अनिच्छाले लुरीकी आमा बोली

‘तिमीलाई के बा’को माया लाग्छ हो ?’ लुरीले सोधी । तर उसकी आमा बोलिन । चुरोट तान्दै एकटकले कतै हेरिरहेकी थिइन् ।

‘भन न भन्या आमा ।’ आफ्नो हठलाई लुरीले छाडिन ।

‘के भन्या ?’ झर्किन् लुरीकी आमा ।

‘तिमीलाई के बा’को माया लाग्छ ?’ लुरीले सोधी

लुरीकी आमाले लुरीलाई हेरी । छोरीको ओस्सिएको आँखामा सल्बलाइरहेको दुःखलाई हेरी । आमाले लुरीलाई नजिकै बसाली र कपाल मुसार्दै भनी– ‘लाटी, आफ्नो लोग्नेको माया पनि लाग्दैन त !’

‘अँ, बा’ ले त तिमीलाई पिट्छ ।’ लुरीको संवेदना बोल्यो

लुरीकी आमा केही बोलिन । छोरीको आँखामा हेरिन् । छोरीको आँखाको आँसुले उनलाई नरमाइलो बनायो । आमाछोरीको आँखाको त्यो मौनतालाई टिपेर एकैछिन त्यहाँ उदास बहिरह्यो हावा ।

‘के गर्छेस् त बाबै । तिमीहरु नै त छौ मुख हेर्नु ।’ लुरीको अनुहारलाई नियालेर उनले एकचोटि खुइय काढी । एकछिनपछि ती दुई आमाछोरी घाँसको भारी लिएर त्यहाँबाट उठे ।

यसरी नै लुरीको त्यो घरपरिवार, ती दुई आमाछोरीको आँसु र उनीहरुको आँखाभित्र खेलिरहेको दुःखको कोलाहललाई कहिलेकाहीँ मैले नजिकैबाट हेर्दै आइरहेको छु ।

आज पनि, बिहानै त हो । लुरी हाम्रो घरको आँगनमा साथीसँग खेलिरहेकी थिई । आमाको घाँटी सुक्ने गरी चिच्याइरेको आवाज सुनेर लुरी सँगै खेलिरहेका साथीहरुलाई छाडेर घरतिर कुदी ।

‘हैन, भात खानु पनि नपर्ने कस्तो हँ !’ लुरीलाई देखेर परैबाट कराइरहेकी उसकी आमाको स्वरलाई सुनें– ‘भात खाएर घर कुरेर बस् । म वन गएर आँउछु ।’

लुरीकी आमा नाम्लो हातमा लिएर निस्किई ।

‘भाइलाई राम्ररी हेर नि फेरि । उठेर रोइरहला ।’ आमाले भन्दै थिइन् ।

दिउँसो म बस्तीतिर निस्कँदा हातमा झोलुङ्गाको डोरी समातेर लुरी धुलौटे पिढीँमै निदाइरहेकी थिई ।

०००

तर यतिबेला लुरीको मृत्युको यो अकस्मात खबरले भने मलाई संवेदित बनाइदिएको छ । अब लुरी छैन । लुरीका सपनाहरु छैनन् । मात्रै उसको स्मृति छ त्यहाँ ।

‘लुरी तिम्रो आत्माले शान्ति पाओस्’, मनले कामना गरें

साँझको वातावरणमा छाएको अँध्यारोको गाढापन विस्तारै बढ्दै गइरहेको छ । पर बस्तीबाट हावाले ल्याएको कारुणिक कोलाहल र हावाले लहरिँदै क्रमशः टाढा बन्दै गइरहेको शङ्खको ध्वनिले साँझलाई बिरानो बनाएको छ । यही बिरानो साँझ बोकेर लुरीको सम्झना मेरो आँखाअघिल्तिर खेलिरहेको छ ।

२०४८
साप्ताहिक मातृभूमि

सुभद्राको मन
सूर्यास्तसँगै मस्र्याङ्दी नदीको किनारबाट उठेको चिसो बतासले सुभद्राको एकान्तलाई हिर्काएर गयो । एउटा तन्द्राबाट ब्युँझिइन् सुभद्रा । अरु दिनभन्दा कुन्नि त्यो हावाले किन आज उनको मनलाई नरमाइलो गरी छोएर गएको थियोे । आँसुले गह्रोै बनिरहेका थिए उनका आँखाका परेलाहरु र आँखामा टिलपिल बनेका आँसुले उनको मनलाई पनि गरुङ्गो बनाइरहेको थियो । धेरै दिनदेखि राति राम्ररी निदाउन नसकिरहेको आँखामा कुनै बोझिलो वस्तुले थिचिरहेको महसुस गरिरहिन् उनले । उनले गह्रौ आँखाले परसम्म हेरिन् एकचोटि । बताससँगै खेलिरहेका गौँथलीहरुको चिर्रचिर्र स्वर उनलाई झनै उच्चाट लाग्दै थियो ।

घामले ओझेल हालेपछि सुभद्रा उठिन् गह्रौ मन लिएरै । काटेर राखेको घाँसको मुठा बाँधिन् र भारी कसिन् । र, भारी लिएर गोठतिर हिँडिन् । चैतको त्यो बतासले सुभद्राको बाटोभरि उराठ पोखिइरह्यो ।

सुभद्रा गोठमा पुग्दा उनका ससुरा भैंसी दुहिरहेका थिए । घाँसको भारीलाई नजिकैको टाँडमा बिसाएर उनी घरतिर लागिन् । सासू पिँढीमा मकै खोसेल्ट्याउँदै थिइन् । सुभद्रालाई देखेर आँखा तरिन् । बज्यैसँग बसिरहेकी सानी छोरी आमालाई देखेपछि पछ्याई ।

‘दुई मुठा घाँस काट्न पनि तँलाई दिनभरि लाग्छ ? घरको अरु काम चैं देख्नु पर्दैन ?’ सासुले पिँढीबाटै रिस ओकलिन् ।

सुभद्रा घरभित्र पसिन् नबोलेरै । चुल्हो हेरिन् । चुल्होमा आगो थिएन । गाग्री छामिन्, सबै रित्तै थिए । गाग्री बोकिन् र बाहिर निस्किन् । उनको सधैंको दिनचर्या यही बनिसकेको थियो ।

‘‘मात लागेकी ।’’ पिँढी काट्दा सुभद्राले सासूको स्वर सुनिन् ।

‘यत्रो गाउँमा अरुको त यस्ती छैनइ ।’ सासूको कटुताले परसम्म पछ्याइरह्यो उनलाई ।

सुभद्राको आँखाबाट आँसु जमिनमा खस्यो तुरुक्क । मन अमिल्लियो । अमिल्लिएर आएको पानीले छाती पोलेको अनुभव भइरह्यो उनलाई ।

राति अबेरसम्म पनि सुभद्राको आँखामा निद्रा परेन । अशान्त बनिरह्यो मन । यो अँध्यारोको एक प्रकारको शून्यता, छटपटी र उकुसमुकुसले सुभद्रालाई लखेटिरह्यो । एकछिन आँखा झप्किन्थ्यो र फेरि निद्रा टुट्थ्यो । मनका अनेक तर्कनाहरु उनको आँखामा आएर खेल्थे । निदाउन खोज्थिन्, सासूको ताडना आएर उनको आँखामा बस्थ्यो र दुखाउँथ्यो । ससुराको सधैं उपेक्षाले भरिएको आँखाले उनलाई बिझाइरहन्थ्यो । लोग्नेका सम्झनाहरुले उनलाई उद्विग्न बनाउँथ्यो र आँखामा एउटा रिक्तता छाड्थ्यो ।

‘‘असत्तीहरु ।’’ सुभद्राको मनबाट एउटा तिक्तता पोखियो ।
‘यी सासू भइ टोपल्नेहरु आफू बुहारी भएको दिन चैं कुन्नि ! किन बिर्सदा हुन् र बुहारीमाथि सासूको बुहार्तन गरिरहन्छन् !’ सुभद्राको मनमा एउटा विषाद उठ्यो ।

सुभद्राले घरमा सासूससुराको व्यवहार सम्झिन् ।

‘आखिर के बिगारेकी छन् उनले र यो घरभित्र सासूससुराले सधैं उनलाई अभद्र व्यवहार गरिरहन्छन् ? किन सासूले उनलाई सधैं काँडाजस्ता वचनले हिर्काइरहन्छिन् ? अलिकति सम्मानले बाँच्न पाउने अधिकार पनि उनको लागि यो घरभित्र किन छैन ? अरुको माया त परको कुरा रह्यो, जसलाई अग्नि अगाडि सात फेरो हालेर लोग्ने मान्यो उसैले सौता हालेर आज किन उनलाई एक्याल्यो ? किन उनको लागि लोग्नेको उपस्थिति सासूससुराको अगाडि सधैं मौन रहन्छ ? यो घरभित्र सधैं किन अपमानले बाँच्न बाध्य छिन् उनी ?’ रातभरि सुभद्राको मनले कोलाहल गरिरह्यो । जति बिर्सन्छु भन्दा पनि उनका आँखाअघि विगतका सम्झनाहरु खेलिरहे ।

सुभद्रा सम्झिन्छिन्– एकदिन छिमेकी आफन्तका छोराको विवाहमा आँगनभरि दाइजोका सामानहरु खसालेका थिए । विवाहको नाचगानको रमाइलो हेरेर फर्किरहेका सुभद्राको ससुराले घरभित्र पस्दै स्वास्नीसँग भनेका थिए, ‘दाइजो त निकै ल्याएछ बैकुण्ठेकी बुहारीले ।’

‘खै, आफ्नाले त ल्याउन जानेको हैन क्यारे ।’ तितो मुख गरिहाली सासूले ।

सासूको कटाक्षले एकैछिन मर्माहत बनिन् सुभद्रा । निरीह देखिइन् । टोल्हाइरहिन् पिँढीमा प्रतिक्रियाविहीन । एउटा ऐँठनजस्तो, सारो चिज आएर उनको छातीमा बेस्मारी अँठ्यायो र एउटा वेदनाले उनको आँखाबाट तुरुक्क आँसु खस्यो भुइँमा । कसैले उसको आँखाको आँसु देखेन । मान्छेको मन फाट्न कतिन्जेल लाग्छ र । लोग्ने र सासूससुराको उपेक्षाले उनको मनलाई गह्रौं बनाइरह्यो । साँघुरो बन्दै गए यो घरका सम्बन्धहरु उनलाई । एक्लिदैं गइरह्यो सुभद्राको मन । बढ्दै गयो उनको लागि एकान्त ।

‘यो दुःख भोग्न लेखेर आएकी रै’छु ।’ सुभद्राको मनलाई विरक्तिले छोयो ।

उनले एकचोटि आफ्ना बाआमालाई सम्झिन् । माइत सम्झिन् । साथीसँगी सम्झिन् । स्कुल सम्झिन् ।

विवाहअघि र पछिका दिनहरु उनका आँखामा आएर सल्बलाइरहे ।

‘सुनिस्, केटो पनि राम्रो छ, घरपरिवारको छ, खान्दानी छ । दश कक्षा पढ्दै रै’छ । आमा चैं अलि बिरामी छ रे । मर्नुअघि बुहारी र नातिनातिनाको मुख हेर्न मन लाग्यो रे । त्यसैले आमाकै करबलले छोराको बिहा गरिदिन लागेका रै’छन् । हेर हाम्री पनि हुर्केबढेकी छोरी, बेलैमा कन्यादान गरिदिन पाए मनलाई सुखशान्ति मिल्थ्यो । एकदिन त त्यसको बिहे गरिदिनै पर्छ । राम्रो घरको कुरा आएको बेला हुन्छ भनिदन किन ढिलाइ गर्नु । राम्रो घरपरिवार र केटो मिले आखिर त्यसको पनि त भविष्यको कुरा हो । के भन्छेस् तँ ।’ एउटा रात बाउले आमासँग गरेको साउतीको स्वर अझै सुभद्राको कानमा ठोक्किएझैं लाग्यो ।

भर्खर सात कक्षा पढ्दै थिइन् सुभद्रा । तेह्र वर्षकी थिइन् । त्यसपछि कसरी उनी बेहुली बनिन् । कसरी डोली चढिन् । कसरी परायाको साथमा लागेर सधैं खेल्दै आइरहेको आँगनलाई छाडिन् । एउटा विस्मृति आएर सुभद्राको आँखामा अल्झिन्छ ।

‘बुझिस्, तँ अब यो घरकी बुहारी होस् । यो घरमा बनाउने, पकाउने, खुवाउने सबै काम तैँले गर्नु पर्छ अब । म त रोगी छु । क्यै गर्न सक्दिन । तैँले नै गर्नु पर्छ यो घरलाई सम्हाल्ने काम । यो पुरु छ नि तेरो लोग्ने । हो, तैले त्यसको ख्याल राख्नुपर्छ ।’ विवाह गरेर गएको एकदिन सुभद्रासँग सासूले भनेकी थिई ।

लोग्नेसँग सुभद्राको आँखा कहिल्यै एक भएर जुधेनन् । लोग्नेसँग सिधा हेर्न सुभद्रालाई सरम लाग्थ्यो । सङ्कोचले उनका आँखालाई झुकाइदिन्थ्यो । लोग्ने उतिसाह्रो ऊसँग बोल्दैनथ्यो । ‘भान्सा तयार भो,’ लोग्नेसँग उनले बोल्ने शब्दहरु पनि बस् यत्ति नै थियो । सुभद्रा र उनको लोग्नेको बिचमा कहिल्यै दोहोरो बोली र शब्दहरु मिसिएनन् । लोग्ने स्कुल हिँड्थ्यो । सुभद्रा दिनभरि घरको धन्दा सम्हाल्थिन् । उमेरभन्दा बढी घरधन्दा, चुलोचौका, घाँसदाउरा, कुँडोपानी, गोठगोबरको दिनभरिको कामले सुभद्रालाई थकित बनाउँथ्यो । थकाइले अलिकति पनि उनका आँखा झप्किन पाउँदैनथे, सासूका आँखाले पछ्याउँथे र सासू डाँट्न सुरु गर्थिन्, ‘तँलाईं काम गर्ने जाँगर त कहाँबाट आउँछ र ? माइतमा सधैं पुल्पुलिएरै खाएकी थिइस् क्यारे ।’

कहिलेकाँही त माइतको सम्झनाको नियास्रोले सुभद्रा एक्लै एकान्तमा बसेर रोइदिन्थिन् ।

‘खुबै छोरीलाई सुख दिन्छु, कुलघर खोजेर पठाइदिन्छु भन्थ्यौ नि आमा,’ सुभद्रा एकालाप गर्दै थिइन् ‘तिमीले जन्म दिए पनि दुःख भोग्ने कर्म त आखिर मसँगै थियो । नर्क भोग्न लेखेर आएकी रै’छु । दुःखको काँडाले किन छोड्दो छ’र ।’

समय बित्दै थियो । सुभद्रा दुई जिउकी देखिइन् । यस्तो बेलामा पनि न उनी लोग्नेसँग खुसी साँट्न सक्थिन् न दुःख साँट्न । उनी लोग्नेको सहारा खोज्थिन् । लोग्नेको आँखामा खुसी खोज्थिन् । लोग्नेको प्रेमपूर्ण सान्त्वनाले भरिएका शब्दहरु खोज्थिन् । तर कुनै दिन लोग्नेले उनलाई ‘कस्तो छ तँलाईं ?’ सम्म पनि सोधेन । लोग्नेको वेवास्ताले उनलाई झनै अरु दुखित बनाउँथ्यो । न उनी लोग्नेसँग कुनै गुनासो गर्न सक्थिन् न लोग्नेको आँखामा कहिल्यै उनले आफ्नो लागि प्रेम भेट्टाइन् । एउटा उजाड समयले भरिएको उनको विवाहका यी आठ वर्षहरु निस्सारलाग्दा थिए । निरर्थक थिए ।

‘हेर दुलही, तैले यो घरको लागि छोरा जन्माउनु पर्छ बुझिस् ।’ मानौं सुभद्राको लागि सासूको यो आदेश हो । र, सुभद्राले छोरा पाउनु अनिवार्य छ ।

सासूको बातैपिच्छेको यो कचकचले कहिलेकाहीँ सुभद्रालाई दिक्क बनाउँथ्यो । उसै त दुई जिउकी । भनेको बेला खानुपिउनु छैन । पोषिलो आहार छैन । फुर्सद र आराम छैन । दुई जिउको खान्की चाहिन्छ । तर उनलाई सधैं अबेलासम्म पनि भोकै बस्नु पथ्र्यो । भोकले रनाहामा पाथ्र्यो । रगत नभएर जिउ पहेँलिएको छ । आफू एक्लैलाई त सुभद्राले कहिल्यै चिन्ता लिइनन् । पेटमा बच्चा आएदेखि उनको पीरसुर्ता बढेको छ । आमालाई खान्की मिले न पेटको शिशुले खान्की पाउँछ । जब पेटको बच्चाले चल्मलाएर उछितो लिन्थ्यो पीडाले सुभद्रालाई एकैछिन त असह्य बनाउँथ्यो । निकै कमजोर देखिन्थिन् । जिउ फतक्क गल्थ्यो ।

सुभद्राले आफ्नो पेटलाई विस्तारै मुसार्थिन् र चल्मलाइरहेको शिशुलाई हातले बाहिरबाट स्पर्श दिन्थिन्् । मनमा अलिकति सुखको अनुभव गर्थिन् । फेरि कताकता मनभित्र भय बस्थ्यो । छटपटी उठ्थ्यो ।

एकदिन सुभद्रालाई प्रसवले छोप्यो । लामो व्यथापछि उनले छोरी जन्माइन् । रगत बगेर निकै गाह्रो भो सुभद्रालाई । पहेँलिसकेकी थिइन् । धन्न, कालको मुखबाट फर्किइन् ।

‘छोरी रै’छ ।’ कताकता सुभद्राले सासूको स्वर सुनिन् । बेहोसजस्तै थिइन् उनी । मान्छेका छायाँहरु धमिलोसँग आफ्नो वरिपरि सल्बलाइरहेको देख्दै थिइन् । कसैले तातो झोल ल्याएर उनलाई दियो ।

‘अलच्छिनाले छोरी पाइहाली ।’ सुभद्राको सासूले टिठ्याई, ‘आफ्नो त कर्म उस्तो ।’

‘त्यसो नभन पुरुकी आमा । तिमीहामी पनि त बुहारी भअर आ’का हौं । तिम्रा हाम्रा नि बिहा अरेका छोरीहरु छन् । यसमा बिचरी यो बुहारीको के दोष ?’ कसैले उनको सासूको प्रतिवाद गरेको मसिनो स्वर उनले अर्धनिद्रामा सुनिन् । प्रसवको यस्तो अवस्थामा पनि सासूको निन्दाले सुभद्राको मनलाई खिन्न र उदास बनाइरह्यो । सुभद्रालाई खुसीले मुन्टो उठाएर त्यो नवजात शिशुलाई एकचोटि हेर्ने उत्साहसम्म रहेन । उनको आँखामा आँसु आएर बस्यो ।

‘सुत्केरी कमजोर छ । अलि ख्वाउ है पुरुकी आमा ।’ जाँदै गर्दा कसैले भनेको सुभद्राले सुनिन् । सुभद्राको लागि यो एउटा वाक्य पनि गर्मीले धापिएको जिउमा एक थोपा चिसो शीतले स्पर्श दिए जत्तिकै शीतल भो । सुभद्राको आँखामा ती स्वास्नीमान्छेप्रति विनयभाव थियो ।

सुभद्राले राम्ररी सुत्केरी उत्रन पनि पाएकी थिइन, सासू बिरामी परिन् । दुईचार दिन माइत जाउँला र आराम गरुँला भन्ने सुभद्राको मनको इच्छामा सासूको बिरामीले तुषारापात गरिदियो । सुभद्रामाथि झनै बच्चा र सासूको स्याहार थपियो । सासूको उपचारको लागि सुभद्राले विवाहमा ल्याएको आफ्नो गरगहना बेच्नुप¥यो । सासूलाई अस्पताल भर्ना गर्नु प¥यो । अस्पतालबाट बिसेक भएर एक महिनापछि सासू घर फर्किन् ।

केही समयपछि लोग्नेले एसएलसी पास ग¥यो र पढ्नका लागि सहर हिँड्यो । हिँड्ने बेलामा लोग्नेले सुभद्रासँग एक शब्द बोलेन । छोरीलाई एकपल्ट नियालेर हेरेको पनि होइन । लोग्नेको व्यवहारले सुभद्राको कोमलतामा चोट पु¥यायो ।

‘छोरीको त ख्याल आउनुपर्ने । निर्दयी ।’ सुभद्राका आँखाहरु एकाङ्की बनिरहे ।

‘कस्तो हुँदो हो यो लोग्नेमान्छेको मन ? सोच्थिन् ।

गाउँबाट पढ्न गएकाहरु कहिलेकाहीँ सहरबाट बिदामा घर आउँदा सुभद्रा उनीहरुसँग लोग्नेको सञ्चोविसञ्चो सोधिरहन्थिन् । तर सुभद्राले कहिल्यै उनीहरुबाट लोग्नेले पठाएको सञ्चोविसञ्चोको खबर पाइनन् । सधैं एकलासले उनलाई लखेट्थ्यो । पिँढीको मौनता उनको आँखामा आएर बस्थ्यो ।

एकदिन सुभद्राले सुनिन्, ‘उनको लोग्नेलाई सहरमा जागिर मिल्यो रे ।’

मन पुलकित थियो उनको । आँखामा खुसीको उज्यालो थियो । मनको बोझलाई बिर्सिदिएकी थिइन् । बिहानको पातलो कुहिरोलाई चिरेर त्यो दिनभरि उनको आँगनमा घाम निश्चिन्त खेलिरह्यो । मन छ्याङ्ग थियो उनको ।

सुभद्राको निस्फिक्री मनमाथि एकदिन फेरि एउटा छकाल आएर बसिदियो । र, एउटा दुविधा, अनिश्चय, र आशङ्काले उनलाई घेरिदियो ।

‘पुरुले सहरमा अर्की विहा गरे अरे ।’ सहरबाट आएको एउटा खबरले उनलाई बेस्सरी हल्लायो । अनिर्णित बनिरह्यो उनको मन ।

छाँगाबाट खसेजस्तै भइन् सुभद्रा । उनले आफू उभिएको जमिन एकाएक भासिएर आफूलाई पातालभित्र खस्दै गइरहेको अनुभव गरिन् । शीताङ्ग बनिन् । शरीरका सबै रक्तकणहरु सुकेर उनले आफ्ना अवयव जड बन्दै गइरहेको महसुस गरिन् । सपनाहरु भत्किएर उनलाई आफ्नो अघिल्तिर सबै उज्यालाहरु समाप्त हुँदै गइरहेझैं लाग्यो । उनलाई जीवन नै भ्रमपूर्ण लाग्दै गइरह्यो । लोग्नेले अर्की विहा गरेको यो खबरले सुभद्रालाई विचलित बनाएको थियो ।

‘पुरुले यो हुनी काम गरेन । घरमा स्वास्नी र छोरी छ । त्यसले के मति हाल्या,’ छरछिमेकले भने

‘एउटा लोग्ने रिझाउन नसक्ने चै त्यो के गतिली भई । व्यहोरा नि त चाहियो । मेरो पुरुमा चै के दोष देख्यौ तिमेर्ले ? र, बिनसित्त बोल्छौ हँ तिमेरु ?’ छिमेकीहरुसँग सुभद्राकी सासूको स्वर चर्को हुन्थ्यो ।

झ्यालको एउटा खापाको अडेस लिएर सुभद्रा लगभग अचेतजस्तै कोठा बाहिर नियालिरहेकी थिइन् । कोठाभित्रको त्यो यथास्थितिलाई आँखाको कापमा च्यापेर सुभद्राले त्यो परको आकासमा हराउँदै गरेको बादललाई हेरिरहिन् । उनलाई आफ्नो जीवन त्यो हराउँदै गरेको बादल जत्तिकै क्षणभङ्गुर लाग्यो । ‘त्यो बादल आफैमा कति निस्सार छ । अलिकति बतासले पनि कति सजिलै त्यसलाई यताउति बहाइदिन सक्छ । यथार्थमा अलिकति पानीको वाफ नै त हो त्यो । फेरि पनि कहिलेकाहीँ घामका किरणहरुले कति आकर्षक जलप लगाइदिन्छ बादललाई र त्यो भ्रमको आवरण बनिदिन्छ,’ सुभद्रा कल्पन्छे ।
एक मुस्लो हावा सुभद्रालाई छोएर कोठाभित्र पस्छ । यतिबेला घाम छैन । घाम हुँदो हो त साँच्चै कति आकर्षक देखिँदो हो यो बादल । र, मनोरम देखिँदा हुन् दृश्यहरु । घाम छैन र त यी निर्जन छन् । रङ हराएका छन् । फिक्का छन् ।

एक दिन सुभद्रा छोरीलाई साथमा लिएर माइत हिँडिन् । सासू ससुरासँग माइत जान्छु भनेर पनि सोधिनन् । विरक्तिएर हिँडिन् । साथमा केही लिएकी थिइनन् । सासू चै पिँढीमा बसेर एउटा असामञ्जस्यमा सुभद्रालाई हेरिरही । छोरीलाई काखमा च्यापेर सुभद्राका पाइलाहरु छिट्छिटो अघि बढिरहे । सासूले केही भन्नु अघि नै सुभद्रा हुर्रिएर पर पुगिसकेकी थिइन् । सासूले केही बोल्नै भ्याइनन् ।

‘तैले यसरी घर छाडेर नहिँड्नु पर्ने । सासू ससुरा हुन्, एकदुई वचन भन्छन् । बुहारीमान्छेले घर छाडेर यसरी हिँडेपछि दुनियाले भन्ने बाटो पाउँछ ।’ त्यो रातभरि सुभद्राकी आमाछोरी दुःख साटिरहे । सुभद्राको यो अवस्थाले उनका बाआमाको आँखामा खुसीभन्दा पनि विषाद थियो । छोरीले यसरी अचानक घर छोडेर हिँड्दा उनीहरु अरु चिन्तित थिए ।

‘ज्वाइँ त्यस्तो होला जस्तो त लाग्थेन । आमा चैं को कारणले ज्वाइँ बिग्रेका हुन् । सहेर बस् । एक दिन त ईश्वरले नि बाटो बिराएकालाई फर्काएर ल्याउँछन् । छोरीको मायाले नि ज्वाइँ आउँछन्,’ आमाले सुभद्रालाई सान्त्वना दिँदै भनी ।

केही दिनपछि सुभद्रा र नातिनीलाई लिएर सुभद्राका बा छोरीको घर पुग्दा सुभद्राकी लोग्ने घर आएर पनि सहर फर्किसकेका रै’छन् । उनीहरु घर पुग्दा सासू ससुराले कुनै चासो गरेनन् । सम्धीसम्धिनीको त्यो रूष्ट व्यवहारले सुभद्राका बा धेरैबेर त्यहाँ बसेनन् र फर्किहाले ।

‘हन, तँलाई किन फर्केर याँ आउनु प¥यो ए ! उतै मुन्टिएर गा’की हैनस् ? किन तेरा बाउआमाले तँलाईं ख्वाउन सकेनन् ?’ सासू सुभद्रासँग जाइलागी ।

सुभद्रा चुपचाप टोल्हाइरहिन् । तातो तावाजस्तै बन्यो उनका लागि यो घर ।

०००
फेरी हालेको आवाजले सुभद्राको तन्द्रा टुट्यो । ओहो ! रात छर्लक्क बितेछ । बाहिर बिहानको मिरमिरे खसिसकेको थियो । अनिदोले उनका आँखाहरु बोझिला थिए । आँसुले परेलाहरु चिसा थिए । पर नदीको किनारबाट आइरहेको हुटिट्याउँको एकनासको बिरसिलो स्वरले उनको मन एकलास बन्दै थियो ।

सुभद्राले दैलो खोलिन् र गाग्री च्यापेर पँधेरो ओर्लिन् । बाटामा पँधेर्नीहरु आउँदैजाँदै थिए । पँधेरो मस्र्याङ्दी नदीको किनारमा थियो । सुभद्राले बगरको अलिकति बालुवालाई हातमा लिइन् र गाग्रीलाई मस्काउन बसिन् । मस्र्याङ्दी नदीको बिहानको चिसो हावा बोकेर बगिरहेको पानीमा उनका आँखाहरु अनिमिष थिए ।

शाल्मलि

दोसाँध
कहिलेकाहीँ रोगले साह्रै च्यापेपछि निद्रा पर्दैन । नत्र त रोगको सामान्य दुखाइ सहेरै निदाउनु आदत बनिसकेको छ । जीवनमा पाउनु र गुमाउनुसँग कुनै मोह नरहेपछि मन सबै वस्तुसँग बेफिक्री बन्दोरै’छ । कतिपय सपनाले ल्याउने खुसीहरु हुन्छन् । कतिपय सपनाले ल्याउने दुःखहरु हुन्छन् । आँखामा सपना नै नरहे त्यसले न खुसी बोकेर ल्याउँछ न दुःख बोकेर ल्याउँछ । सुख त क्षणभरलाई हो । मनबाट उठेर ओँठको हाँसो बन्न आइनपुग्दै सुख त हराइ जान्छ, कताकता । सुख आफ्नो हुन्न भने बिनसित्तै दुःखलाई समातेर आफू किन दुखी बनिरहनु र ! बहकिनलाई पनि त आँखामा सपना हुनुपर्दो रै’छ । खुसी हुन वा दुखी हुनका लागि पनि सपनाको बहानाबाजी त चाहिँदो रै’छ । सपना नै नरहे जीवनसँगको मोह पो के ?

आँखामा सपना नरहेपछि दुनियाँमा कोही आफ्नो रहन्न ।

हिजो रातिदेखिको चर्को छाती दुखाइ आज बिहान अबेरसम्म रह्यो । रातभरि निदाउन सकेकी होइन । लाग्छ एड्सका असङ्ख्य कीराहरुले मेरो फोक्सोलाई बेस्मारी कोपरिरहेछ र एउटा जिउँदो मान्छेको मासुको आलो स्वादको आह्लाद लिइरहेछन् । मलाई थाहा छ मभित्र एड्सका किटाणुहरुले बोकेर ल्याएको एउटा भयानक ज्यानमारा रोग हुर्किरहेको छ र यो रोगमाथि औषधि पनि दिनदिनै प्रभावहीन बन्दै गइरहेको छ । यस्तो लाग्छ अब त मेरो शरीरमा रगत होइन सयकडौं कीराहरु सल्बलाउँदै बगिरहेछन् र त्यसले वर्षेनि मेरा अङ्गहरुलाई छिद्र बनाउँदै छ । औषधि नै किराहरुका लागि गुड बनिसकेपछि औषधिले जीवन बाँचुला भन्ने भ्रम बोकेर आफैलाई कतिन्जेल छक्याइरहन सकिन्छ र ! जति मोह, उति दुःख टाँसिएरै आउँछ । त्यसैले दुःखलाई पनि स्वाभाविक बनाउन सकेकी छु आजकल । फेरि पनि कहिलेकाहीँ त भुतुक्क हुने गरी दुखाइले अँठ्याउँछ । एकछिन मुर्छा पार्छ । एकनासको खोकी चल्छ र हुलुक्क एकमुठी रगत बान्ता हुन्जेलसम्म मृत्युले फेरि एकबाजि हुँडलेर जान्छ । बरु एकैचोटि हिरिक्क पार्नु नि ! त्यो नि हुन्न ।

अबेरसम्म ओछ्यानमै छु । अनिदोले आँखा राम्ररी खुल्न सकेको छैन । ओछ्यानलाई छाडेर बाहिर जाऊँ, मन लाग्दैन । राति हावाहुरी पनि कस्तरी चलेको ! हावाहुरीसँगै सुरु भएको पानीको मुसलधारा । लोडसेडिङको अँध्यारो । अलिकति कतै क्यै हुनुहुन्न, प्राधिकरणले बत्तीको लाइन काटिहाल्छ । केही न केही निहुँ चाहिन्छ, सुरु हुन्छ प्राधिकरणको लोडसेडिङ र सहरको अँध्यारो । सबैतिर अन्नाधुन्न । अँध्यारोमा गुहार्दै कसकहाँ हिँड्नु । एकरातको कुरा होइन । सधैं साध्य चल्दैन । पानीमा डुब्दै गरेको नाउलाई पनि किनारा लगाउन हिम्मतले बहना चलाउनै पर्छ । जब नाउले आफ्नो ठाउँ सर्दैन र बहनाले पनि काम गर्न छोड्छ, तब नजिकैबाट आफ्नो मृत्युको आफैलाई साक्ष्य बनाएर हेरिरहनु बाहेक अरु केही गर्न सकिँदैन । जसरी गहिरोसँग काटेको घाउले दुख्दैन त्यसगरी नजिकै आएको मृत्युले भय उत्पन्न गर्दैन ।

अझै घरभित्र बत्ती छैन । बिहानै कोठाको गर्मी बढेको छ । झ्यालबाट बाहिर हेर्छु, रापिलो घाम आँखाको डिलको परेलामाथि आएर बस्छ । बिहानैको यो घाम पनि कति उखरमाउलो । रातिको पानीले नि चिसो ल्याउन सकेको होइन । यो सुविधाले पनि मान्छेको आदत बिगारेको छ । अलिकति असुविधा आउनु हुन्न, छटपटी बढ्छ । अत्तालिन्छ मन ।

रातभरिको हावाहुरी र असिनापानीले सडक छेउछाउका रुखका पात र हाँगाहरुलाई लछारेर सडकभरि अलपत्र छरिदिएको छ । यो त बाहिरको प्रकृतिको कुरा भयो । देखिने कुरा । तर नदेखिनेगरी रोगले लछारेर आफ्नै जीवनसँग टुट्दै आइरहेकी म वर्षौदेखि यसरी नै आफैसँग छरपस्ट छरिँदै आइरहेकी छु । मलाई थाहा छ भोलि बिहान पाउलिँदै गरेका ती रुखका हाँगाहरुझै त्यहाँ मेरा खुसीहरु भने पाउलिन्न । मलाई यो पनि थाहा छ कुनै बिहानले अब मेरा लागि कुनै उज्यालो बोकेर ल्याउन्न । न कुनै साँझले त्यहाँ मेरा लागि अँध्यारो बोकेर ल्याउँछ ।

अब कुनै गुनासो बाँकी छैन जिन्दगीसँग । न जित्नका लागि कुनै दौड छ न कुनै पराजयका लागि प्रायश्चित । मृत्यु जीवनको गन्तव्य हो भने यो जीवन पनि दोषरहित त हुँदै होइन । यो दुनियाँ कमजोर मान्छेहरुका लागि होइन । फेरि पनि मान्छे जति कमजोर दुनियाँमा अरु कोही छैन ।

दोषरहित त ऊ पनि थिएन । तर एउटी स्वास्नीमान्छे हुनुको नियति र अझ उसकी स्वास्नी हुनुको भागीदारी मैले पनि हुनु थियो । त्यो मुक्त आकाश कतिखेर मेरो लागि जेल बन्यो र उसको आलिङ्गन मेरा लागि जेलभित्रका फलामका बारहरु, पत्तै भएन । उडिहिँड्न पनि उमेर चाहिँदो रैछ । बैँसालु रहरहरु मभित्र पनि थिए । रहरले घरी पाइतालाहरुलाई उचाल्थ्यो । रहरले घरी छातीभित्र काउकुति ल्याउँथ्यो । रहरले घरी गालामा लाली खेल्थ्यो । यही रहरहरुको मसिना धागाहरुको इन्द्रणी रङहरुसँगै उसले एकदिन मेरो जीवनमा प्रवेश गरेको थियो । तर, के थाहा यही इन्द्रेणी रङहरुले क्षणभरलाई मेरा आँखामा खुसी ल्याउने छ र हराएर जानेछ ।

मलाई सधैं प्रिय लाग्ने उसको आलिङ्गनको त्यो तातोले एकदिन मलाई नै यस्तरी डढाएर जाने छ मैले कल्पनै गरिनँ ।

‘तिमीलाई सधैं यसरी बाँधेर राख्छु ।’ ऊ भन्थ्यो

‘भो धेरै चेपारो नपार्नुस् ।’ म उसँग जिस्किएरै आफूलाई अरु बढी उसको छातीमा टाँसिदिन्थें ।

काउकुति खेल्थ्यो छातीभरि । सपना उम्रन्थे आँखामा । मादकता पोख्थ्यो भित्ताको रातो गुलुब । सर्माएर बहन्थ्यो हावा । तर आज यही कोठा, यही हावा किन यति रिक्त छ । किन लाग्दैन आफ्नो ! र, घरीघरी बिझाइरहन्छ वर्तमानलाई । किन सम्झन्न भन्दाभन्दै पनि उसका यादहरुको एउटा ऐँठन आएर बस्छ सिरानीमा ? बल्झाइरहन्छ अतित !

‘तिमीलाई ईश्वरले बनाएको पनि मेरै लागि ।’ ऊ प्रेमिल बन्थ्यो

‘तिमीलाई सधैं सुखमा राख्छु । दुःख दिन्न, कहिल्यै ।’ भन्थ्यो

‘उस् । हेरौँला ।’ जिस्कन्थें म

‘बाचा भो ।’ ऊ अरु रोमान्टिक देखिन्थ्यो ।

‘कतिन्जेललाई पो हो ।’ म कटाक्ष गर्थें ।

वर्षौदेखि उसको साथमा रहेर पनि खै ! कहाँनिर ग्याप रह्यो मैले उसलाई बुझ्नका लागि । मेरो विश्वाससँग कसरी खेल्न सक्यो ऊ ? उसको प्रत्येक श्वासको गतिसँग परिचित छु । उसको शरीरका अङ्गहरुबाट आउने गन्धबाट परिचित छु । उसको स्वभाव, उसको रुचि, उसको बानीब्यहोरा । उसँग जोडिएका हरेक सम्बन्धहरुसँग एउटी स्वास्नी हुनुको मेरो परायणता कहीँ न कहीँ ऊप्रति जोडिइरह्यो । ऊ मेरो आसक्ति थियो । मेरो अनुराग थियो । मेरो प्रेम थियो । तर, कहाँनिर ऊसँग म झुक्किएँ । कहाँनिर कमजोर रहें म उसलाई परख्न ।

सहरको राम्रै कम्पनीको जागिर थियो उसको । मार्केट हेर्ने काम गथ्र्यो । हप्तापन्ध्र दिन बिराएर घर आउँथ्यो । व्यापारको काम । धेरै समय घर बाहिरै रहन्थ्यो । विवाह गरेको यतिका वर्ष बिते । कहिल्यै उसले मलाई दिने मायामा कुनै कमी रहेन । दुई छोरीहरु हुर्किएर स्कुल हिँड्न थालिसके । घरभित्र लोग्नेका गुनासाहरु कहिल्यै सुनिएन । जोरी पारीहरु भन्ने गर्थे, ‘लोग्ने र स्वास्नी भनेका त अँगेनाका दाउरा हुन् । दाउरालाई ठाकठुक नपारी चुल्हो बल्दैन । लोग्ने, स्वास्नी ठाकठुक नपरी घर चल्दैन ।’ के भनेका हुन् यस्तो भन्ने लाग्थ्यो । एक मन ‘कहिलेकाहीँ त लोग्ने घरभित्र पस्दा नि रिसाएरै पस्नु नि । कस्तो हुन्छ लोग्नेको रिसले भरिएका आँखाहरु भन्नेझैं पनि लाग्थ्यो । अर्को मन सोच्थें, ‘व्यापारको कामबाट थाकेको लोग्नेको अनुहारमा देखिने त्यो उज्यालो खुसीको सट्टामा त्यो आवेगपूर्ण रिसको कल्पना पो मैले व्यर्थमा किन गरेँ हुँला । भो यस्तो अनर्थ कहिल्यै सोच्न नि नपरोस् ।’

अहिले सोच्छु, ‘बरु मै पो किन रिसाइनँ होला आफ्नै लोग्नेसँग ? किन उठ्न सकेन लोग्नेको त्यो शान्त अनुहारसँग मेरो मनमा रिस ? कहिल्यै किन उसँग मेरो आक्रोश उठेन ? किन मैले कहिल्यै लोग्नेमाथि शङ्का गरिनँ ? सधैं मेरो अघिल्तिर शान्तपूर्वक मुस्कुराइरहेको लोग्नेको अनुहारको खुसीको त्यो जलपलाई मैले पहिल्यै किन चिन्न सकिनँ ? किन मैले च्यातचुत पारेर उसको अनुहारभित्र लुकेको पाखण्डलाई उसकै सामु उदाङ्गो बनाइनँ ? उसको त्यो सधैं हाँसिरहने अनुहारले मलाई कसरी शीतलता दिन्थ्यो ? तर, त्यही अनुहारभित्र कति ठूलो अपराध लुकिरहेको छ भन्ने भेउ मैले किन कहिल्यै पाउन सकिनँ ? त्यस्तो भएको भए सायद आज यो दुर्घट्नालाई भोग्नु पर्ने थिएन । छेपारोलेझैं रङ बदलेर उसले मलाई कसरी धोका दिन सक्यो होला ! मैले बढी नै विश्वास गरें उसलाई । सायद चाहिनेभन्दा बढी नै । त्यसैले यी सब दुःख झेल्दैछु । आखिर दुःख झेल्ने त एक्लैले न हो ।

एकदिन ऊ घर आयो र बेस्मारी बिमारीले थलियो । ज्वरो र खोकीले अलिकति पनि छाडेन । यसअघि यस्तरी बिमारीले उसलाई सुताएको कहिल्यै थिएन । सामान्य रुघाखोकीको ज्वरो होला भन्ने सोच्यौं । तर कम भएन । औषधिले छोएन । नजिकैको क्लिनिकमा देखाएर औषधि खाँदै थियो । ज्वरोले झनै च्याप्दै लगेपछि क्लिनिकले पनि अस्पताल पठाइदियो । सबै जाँच भयो– रगतको, पिसाबको, खकारको । सबै जाँचको रिपोर्ट आएपछि ऊ एक्लैलाई कोठाभित्र राखेर के के हो सोधिरह्यो डाक्टरले । म बाहिर थिएँ । एकछिनमै मलाई पनि भित्र बोलाइयो । एउटी नर्स मेरो छेउमै आइन् र निकै सावधानीले मेरो रगत जाँचको लागि हातको नशाबाट सिरिञ्जले रगत लिइन् । कोठाको वातावरण निकै असामञ्जस्य थियो ।

निकैबेरको मौनतालाई तोडेर डाक्टरले भने, ‘तपाईंको श्रीमान्को रगतको परीक्षणबाट एचआईभी पोजिटिभ देखियो । त्यसैले हामीले तपाईंको रगत जाँचको लागि बाध्य भयौं ।’

एक्कासि डाक्टरको यो जवाफले मलाई स्तब्ध बनायो । एकैचोटि हजारौं बिच्छीहरुको विषले मलाई बेस्सरी पोलिरहेको अनुभव मैले गरें । भाउन्न भएँ । आँखाहरु तिर्मिराए । आँखाअघि एउटा शून्यता थियो । सामुन्ने कुर्चीमा डाक्टर र लोग्नेको धमिलो छायाँ मात्र खेलिरह्यो । गाह्रो गरी सम्हालिएँ ।

‘नआत्तिनुस् ।’ मेरो अवस्थालाई ख्याल गरिरहेका डाक्टरले मलाई सान्त्वना दिँदै थिए, ‘उहाँमा यस्तो देखिएकोले एउटा शङ्का निवारणका लागि हामीले तपाईंको रगतलाई पनि जाँच गरेका हौं । कहिलेकाहीँ एउटामा देखिए पनि यो रोग अर्कोमा नदेखिन सक्छ ।’

त्यसपछि धेरै कुराहरु डाक्टरले मसँग सोधे ।

‘उहाँको अवस्था अलि गाह्रो छ । केही दिन अस्पतालमा बस्नु पर्ने हुन्छ । भर्ना लेखिदिएको छु । भोलि तपाईंको रगतको रिपोर्ट पनि आउला । अनि फेरि कुरा गरौंला ।’ डाक्टरले भन्यो ।

त्यसपछि कसरी म बिरामीलाई लिएर डाक्टरको कोठाबाट बाहिर निस्कें ? कतिखेर वार्डमा पुगें ? र, औषधि पसलमा पुगेर औषधि ल्याएँ ? नर्सले के के भने ? म अर्धचेतनमा हिँडिरहेँ ।

वेडमा निस्लोटसँग सुतिरहेको लोग्नेलाई हेरिरहेँ । जस्तै भए पनि लोग्ने हो । माया लाग्यो । यस्तोबेला उसका दोषहरुलाई सम्झेर मैले आफ्नो मनलाई ऊप्रति आवेगपूर्ण बनाइरहन सकिनँ । निकैबेरदेखि एकतमासले सिलिङ नियालिरहेको उसले मलाई पुलुक्क हे¥यो । आँखामा अपराधबोध थियो उसको । निरीह देखिन्थ्यो । ओँठमा कुनै शब्द थिएन । आँखामा याचना थियो । ऊ आँखाले केही बोलिरहेको थियो मसँग । आँखाले भन्दा बढी मनले बोलिरहेको थियो ऊ सायद । यतिखेर उसलाई देखेपछि लाग्यो क्षणिक वासना र त्यसको तुष्टिले मान्छेलाई दिने परिणाम आखिर यो दुःखपूर्ण अन्त्य भन्दा बढी अरु के थियो र !

एकदुईदिनमा उसको अवस्था अरु बिग्रिएर गयो । मेरो रगतको एचआईभी परीक्षणको रिपोर्ट पोजिटिभ थियो । स्वाभाविक थियो, एउटा आततायी रोगले मेरो आफ्नै लोग्नेको शरीरबाट मभित्र प्रवेश गरेको छ । अघिल्तिर जीवन र मृत्युको दोसाँध थियो । अगाडि बढ्नका लागि बाँकी अब एउटै कहालीलाग्दो बाटो थियो । उदास र जीवनहीन सुस्केराहरुले आँखामा ओस्सिदै गइरहेका सपनाहरु थिए । झुठले उभ्याएको जीवनका रङगीन फ्रेमहरु भत्किरहेका थिए ।

लोग्नेलाई हेरें । मान्छेभित्रको एउटा सभ्यता मर्दै गरिरहेको देखिरहें । मेरो नाकभरि वाक्वाकी लाग्ने गरी वासनाको भोकले डढ्दै गरिरहेको लोग्नेमान्छेको एउटा नमिठो कुहिएको गन्ध आइरह्यो ।

एकदिन मेरो लोग्ने म¥यो । जसरी केही दिनदेखि ऊ अस्पतालको आफ्नो वेडमाथिको सिलिङलाई नियालिरहन्थ्यो त्यसरी नै सिलिङ नियालेरै ऊ म¥यो । मलाई थाहा छ जसरी ऊ म¥यो उसले मेरो शरीरमा छोडेको रोगका कीराहरुले उसले जस्तै गरेर म पनि केही दिनपछि मर्नेछु । मलाई यो पनि थाहा छ जसरी ऊ मर्दा मेरा आँखामा आँसु थिएन त्यसरी नै मेरो मृत्युमा रुने आँखाहरु हुने छैनन् ।

००००

‘आमा भात पस्कने होइन ?’ भान्साकोठाबाट आएको ठूलीछोरीको आवाजले मेरो तन्द्रा टुटाइदिन्छ ।

झ्यालबाट बाहिर हेर्छु । सडकमा स्कुल हिँड्ने केटाकेटीहरुको चहलपहल देखिन्छ । अझै उखरमाउलो बनिरहेको छ घाम । वातावरण उष्ण छ । र, गर्मीले उँघिरहेको छ बिहान ।

‘स्कुल जान अबेर भइसक्यो ।’ ठूलीछोरी फेरि चिच्याउँछे ।

ओछ्यानबाट बाहिर निस्कन्छु र सधैंझैं अनुहारमा खुसी ल्याउने प्रयत्न गर्दै म ऐनाछेउ उभिन पुग्छु । कपाललाई स्याहार्छु । अनुहारमा कुनै अस्वाभाविकता नदेखियोस् भनेर दुबै हातले अनुहारलाई बिस्तारै पुछ्छु ।

फेरि पनि यी रिक्त आँखामा आएर बस्छ यो एउटा रिक्त बिहान ।

२०७५ बैशाख ३०

विभाजित आकाश
‘……..बुबा, जीवनमा दुईचार साँवा अक्षर पढाइदिनु भयो । आमाको अभावमा आमाको माया दिनुभयो । दुई हातपाखुरामा काम गरेर खान सक्ने बल हालिदिनु भयो । एउटा बुबाको धर्म यहाँभन्दा बढी अरु सायद के हुन सक्थ्यो होला र ……….. !’

चिठी पढ्दै गरेका सुब्बा दुर्गाप्रसादको आँखाबाट आँसुका मसिना ढिकाहरु बरररर भुइँमा खसे । छोराको चिठीका शब्दहरुले उसलाई निरीह बनायो । हातहरु लगलगाएर काँपे । कमजोर हुँदै गइरहेको आँखाको शक्ति झनै तिरमिर तिरमिर हुन थाल्यो । शरीरलाई शिथिलताले अरु विस्तारै लडायो । छातीभित्र भक्कानो थियो । गानोले पेट हिर्काएझैं एउटा हिक्का आएर दुर्गाप्रसादको घाँटीमा बस्यो । र, बूढालाई एकचोटि हिरिक्क पा¥यो । बूढा धरमराएर पिँढीमा थचक्क बसे ।

अघि दुर्गाप्रसादको औंलाले च्यापिएको चिठी अझै उसैगरी उसको हातमा थियो । दुर्गाप्रसादले चिठीलाई हे¥यो । किन यो पातलो एक टुक्रा कागज पनि गरुङ्गो लाग्दै थियो अहिले उसलाई । गह्रौं बनाइरहेको थियो उसको हात । चिठीलाई नचाहँदा नचाहँदै पनि बूढाले फेरि अगाडि पढ्यो ।

‘ ….. बुबा, मैले तपाईंहरुका लागि धेरै बोझ बन्न चाहिनँ । मलाई थाहा थियो तपाईं र कान्छीआँको दिनहुँको कलहको कारण म नै थिएँ । आमा नरहेसी बिरानो बनेको घर तपाईं र कान्छीआँको झगडाले मेरा लागि झनै अरु बिरानो बनेको थियो । कान्छीआँको गाली र तपाईंको आँखाको शून्यताले मलाई सधैं लखेटिरहन्थ्यो । मैले गाउँलेका आँखाहरुमा तपाईंको आत्मसम्मान खोसिँदै गइरहेको कसरी हेर्न सक्थें र ? तपाईंहरुलाई सुख होला भन्ने निश्चय गरेर मैले घर छाडेर हिँडे । घर छाडेर हिँड्दा भोलि आफू कहाँ पुगुँला ? र के गरुँला ? सोचिनँ । सहर पसें । दुःख गरें । भोक खपें । उसै त पहिल्यै पनि भोकलाई सहने बानी नपरेको कहाँ थियो र ! तर धेरैदिनको भोकले अत्याउँदो रै’छ । घर फर्किन मनले मानेन । भौतारिँदै एकदिन आइपुगेँ यो बिरानो मुलुक । कोलकत्ताको यो ठाउँ । हामै्र पल्लो गाउँको सुबेदार माइलाबासँग आइपुगें यहाँ । सानै देखेर उनले पल्टनमा बर्तन माझ्ने काम लगाइदिए । उनको यै उपकार पनि ठूलो थियो मलाई ।

‘सुर्ता नलिस् केटा । उमेरले टेकेपछि पल्टनमा लाइदिन्छु,’ भन्थे । यै ठूलो थियो, दुःख भने पनि, आशा भने पनि । तर परदेश भनेको परदेश नै । नरकतुल्य ! पराइ मुलुक आफ्नो मुलुकजस्तो नहुँदो रै’छ । दुःख, हेंला, भोक, कष्ट, अपमान यी सबै सहेर बाँच्नु पर्ने । यसरी जीवन बाच्नु केलाई रै’छ र झैं लाग्ने कहिलेकाहीँ । हामी नेपालीसँग उनीहरुले गर्ने व्यवहार अपमानको भन्दा बढी अरु के छ र यहाँ ? सधैं हामी यहाँ कुल्ली, दरबान, ढोके, बहादुर र कान्छा नै त छौं नि ! आफ्नाले त निचोर्छन् । यहाँ त झन् पराइको कुरा । पराधीनको कुरा । सजिलो पो कहाँ र ? मनमा सधैं अँध्यारो !’ ……….

चिठीका शब्दहरुले विस्तारै थिच्दै लगिरहेको थियो दुर्गाप्रसादलाई । भारी लाग्दै थियो उसलाई आफ्नै जिउ । दुख्दै थियो छाती । वेदनाले छटपटिए । उसले चिठ्ठीभित्र छोराको अनुहारलाई खोज्यो । बूढ्यौलीले दिनदिनै कमजोर बन्दै गएको उसको मनलाई छोराको चिठीले झनै आहत बनायो । उसको आँखामा वर्षौअघि हराएको छोराको धमिला सम्झनाहरु बतासिएर खेलिरहे ।

‘आज वर्षौपछि त्यसको चिठी त आइपुग्यो ।’ उसले सोच्यो ।

चिठी खोल्नुअघि उसको मनमा विस्मय खेलेको थियो । उसको आँखामा आधा आश्चर्य थियो र आधा खुशी । नसोचेकै कुरा थियो । उसले माया मारिसकेको, आशा हराइसकेको छोराको चिठी थियो यो । हराएको पन्ध्र वर्षपछि छोराको यो चिठी उसले हातमा पाएको थियो आज । त्यसैले पनि खुशीले आधा आँखा छचल्किएको थियो उसको ।

उसले छोराको बाल्यकाल सम्झ्यो । छोराले टुकुटुकु हिँडेको, दौडेको, काँधमा चढेर घोडचढी खेलेको, हाँसेको, खेलेको क्षणहरुको एउटा सुखानुभूति ग¥यो उसले । तर छोराको चिठीको अन्तिम हरफहरुले उसलाई फेरि एकचोटि निराश बनायो । र, फतक्क गाल्यो । चिठीमा छोराको घर फर्किने कुनै खबर थिएन । बरु चिठीमा उल्टै लेखिएको थियो– ‘….. के गर्नु ! घर फर्किन सकिनँ । परदेश लागेपछि घर फिर्नु गाह्रै हुँदोर’छ । अर्काको नुनको सोझो गर्नैपर्ने ।’

बूढाको मनले फेरि एकचोटि हरेश खायो ।

‘बजिया, बाउआमाको रिसले विदेशको दुःख भोग्न पुगिस् हगि !’ उसले छोराप्रतिको अलिकति रोष र धेरै मायालाई एकैचोटि पोख्यो ।

दुर्गाप्रसादले मनलाई थाम्ने प्रयत्न ग¥यो । आँखाको डिलमा बसेको आँसुलाई हातले मिच्यो । र, चिठीलाई कमिजभित्र घुसा¥यो । पिँढीबाट उठ्ने बल ग¥यो । तर, एउटा नातागतले उसलाई विस्तारै धर्म¥यायो । दलिनको खाँबो नजिकै थियो । सहारा लियो । पिँढी टेकेर उभिँदा दैलोनिर झुण्डिएको जेठी स्वास्नीको फोटोमाथि उसका आँखा ठोक्किए । ध्वाँसोले मैलिएकोे र खुइलिन आँटेको काठको फ्रेमभित्र अलिकति हाँस्तै गरेकी जेठी स्वास्नीको श्यामश्वेत फोटोले उसलाई एकछिन विचलित बनायो । एउटा अपराधबोधले बूढाका आँखाहरु झुके ।

‘पापी, निर्दयी ।’ फोटोको काँचभित्रबाट स्वास्नीको एउटा पातलो आवाज आइरहेको आभास भयो दुर्गाप्रसादलाई । र, स्वास्नी लक्ष्मीले सोधिरहेझैं लाग्यो– ‘छोरा खै ? मेरो चिनो खै ?’

फोटोभित्रको स्वास्नीको त्यो श्यामश्वेत अनुहारको कालो लाम्चो आँखाले दैलो छेकेर आज उसलाई केरिरहेझैं लाग्यो । बर्षौदेखि दैलोको यो फोटो छोएर उसले कयौंपल्ट घरको भित्रबाहिर ग¥यो । यसअघि यो फोटोको ख्याल उसलाई कहिल्यै भएको थिएन । तर यही फोटोलाई सामना गर्न उसलाई किन गाह्रो परिरहेको छ अहिले ? जीवन आज जस्तो दुविधाग्रस्त उसलाई कहिल्यै लागेको थिएन । उसको आँखामा आत्मग्लानी थियो । स्वास्नीको फोटोमा धेरैबेर हेरिरहन सकेन उसले ।

बिजुलीगतिमा झल्याकझुलुक्क सत्ताइस वर्षअघिको एउटा विगत आएर खेल्यो दुर्गाप्रसादको अघिल्तिर । फोटोबाट ओर्लिएर दैलोमा पोखियो उसकी स्वास्नी लक्ष्मीको गालाको लालिमा ।

लक्ष्मीसँगको त्यो पहिलो विवाहलाई दुर्गाप्रसादले सम्झ्यो ।

लक्ष्मीलाई बिहे गरेर ल्याएपछि दुर्गाप्रसादको घरको आँगनमा खेल्यो उनीहरुको खुसी । चुल्हामा बज्यो लक्ष्मीको हातको चुरा । ओछ्यानमा खेल्यो लक्ष्मीको खिल्खिलाएको हाँसो । लक्ष्मीले आँगनमा बनाइन् तुलसीको मठ । सारिन् तुलसी । तुलसीसँगै हुर्काइन् आफ्नो सपना । हुर्काइन आँखामा खुसीहरु । प्रत्येक बिहान लक्ष्मीले तुलसीमा पानी चढाउँथिन् । तुलसीले सिँचाइ पाउँथ्यो । र, अर्को बिहान तुलसीले नयाँ पाउलो हाल्थ्यो ।

अर्को साल लक्ष्मीको कोख गह्रुँगो भयो । बाहिरै देखियो, पुटुक्क । दुवैजनाको खुसी असिमित थियो । खुसीले दुवैजना फुलेल थिए । स्वास्नीलाई जिस्क्याइरहन्थे दुर्गाप्रसाद । स्वास्नी चाहिँ शरमले पग्लन्थी । दुवैजना एकले अर्कालाई हेर्थे । र, हाँस्थे मायालु हाँसो । त्यो प्रेमपूर्ण आलापले यसैगरी उनीहरुका दिन बितिरहेका थिए ।

एउटा रात, आकाशमा जूनको टहटह उज्यालो थियो । जुनेली रातको त्यो एउटा प्रहर लक्ष्मीले छोरा जन्माइन् । प्रसवको निकै सास्ती सहेर लक्ष्मीले छोरालाई जन्म दिइन् । जूनको उज्यालोमा एउटा अर्को खुसीको उज्यालो दुर्गाप्रसादको आँगनमा खस्यो ।

बेलुकी खाना खाएर सँगै ओछ्यान गएकी स्वास्नी अचानक पेट दुख्ने व्यथाले छट्पटाएपछि आत्तिएको थियो दुर्गाप्रसाद । यसअघि कहिल्यै पेट दुखेर यसरी उसकी स्वास्नी छट्पटाएको देखेको थिएन उसले । स्वास्नीले सँगै उसलाई च्यापेर बसी । व्यथाले छोड्लाभन्दा झन्झन् च्याप्दै लगिरहेको थियो लक्ष्मीलाई । सहनै गाह्रो हुनेगरी छट्पटाइरहेकी थिइन् लक्ष्मी । पसीनाले खल्खली रुझ्दै थिइन् । छिनभरमै जब व्यथाले अरु च्याप्थ्यो, उसकी स्वास्नीले उसलाई बेस्सरी समात्थिन् र पीडालाई अरु बल गरेर सहने प्रयत्न गर्थिन् । स्वास्नीको यो अवस्थाले दुर्गाप्रसादलाई झनै अत्यायो । एकैछिन स्वास्नीलाई छाडेर ऊ बाहिर निस्क्यो र छिमेकीलाई ढक्ढक्यायो । छिमेकी आइमाईहरुले उसकी स्वास्नीको व्यथा पत्ता लगाइहाले । र, खासखुस चल्यो ।

‘बाउ हुने लक्षण छ है दुर्गे ।’ अनुभवले पाकी एउटी आइमाईले उसलाई भनिन् ।

उसले बल्ल बुझ्यो । स्वास्नीलाई प्रसवले छोएछ । उसलाई अहिले भने अलिकति लाज, डर र सङ्कोचले एकैचोटि छोप्यो । मनमा कुतकुती खेल्यो । उसलाई पिँढीमा छाडेर केही आइमाईहरु घरभित्र पसे । स्वास्नीको व्यथाले छट्पटिएको चीत्कारलाई उसले पिँढीमा बसेरै सुन्यो । भित्र आइमाईहरु भन्दै थिए ।

‘पहिलोपल्ट यस्तै हो । गाह्रो हुन्छ । नआत्तिऊ नानी ।’

‘विस्तारै बल गर ।’

‘आइमाईको लागि त सास्ती नै हो यो व्यथा ।’

‘के गर्नु । लोग्नेमान्छेलाई पो सजिलो ।’

भित्रबाट आएको यस्तै सान्त्वना र संवेदनाका स्वरहरुलाई दुर्गाप्रसादले बाहिर पिँढीमा बसेर सुन्यो । रात छिप्पिदो थियो । जूनको उज्यालोमा अरु एकदुई लोग्नेमान्छे बाहिर आँगनमा उभिएर उसलाई ढाडस दिइरहेका थिए । दुर्गाप्रसाद चुपचाप थियो । स्वास्नीको व्यथाको पीर बाहिर बसिरहेको उसलाई पनि थियो ।

‘बल गर नानी । नआत्तीकन विस्तारै बल गर्दै जाऊ ।’ भित्रबाट आवाज आउँदै थियो । एकैछिनमा त्यो नीरव रातलाई चिर्दै दुर्गाप्रसादको घरभित्र नवजात शिशुको एउटा कोमल चीत्कार उठ्यो – ‘च्याँहा ….’

‘छोरो र’च ।’ भित्रबाट आएको आवाजलाई दुर्गाप्रसादले सुन्यो ।

आह्लादित थियो दुर्गाप्रसाद । एउटा कौतुहलले उसका आँखाहरु दैलोभित्रबाट बाहिर आइरहेको अलिकति उज्यालोलाई चिहाइरहेका थिए । उत्सुक थिए उसका आँखाहरु । ‘दौडेर भित्र जाऊँ र लक्ष्मी र बच्चालाई एकैचोटि हेरुँ’ झैं एउटा आतुरता थियो उसलाई ।

‘लौ नानी, भाग्यमानी रैचौ तिमी’, उसले फेरि सुन्यो ।

अघिसम्म व्यथाले छट्पटाइरहेकी उसकी स्वास्नी पनि अहिले शान्त थिई । अहिले फेरि दुर्गाप्रसादको छाती छचल्किएर उठ्यो खुशीको आवेगले । भित्र अँगेना जोरेको, आगो फुकेको, भाँडा बसालेको आवाजलाई उसले बाहिरबाटै सुनिरह्योे । स्वास्नी र बच्चाको मुख हेर्ने उसको आतुरता त्यहाँ अरु एकाधघण्टा लम्बियो ।

‘लौ दुर्गे भाग्यमानी रच’स् । छोरै पाइ’छ नानीले ।’ बाहिर निस्केर एउटी पाकी महिलाले भनिन्– ‘बच्चा ठूलो रै’च । अलि गारो भो नानीलाई । तातो पका’र दे’का छौं । ख्याल गर्नू । आराम चाहिन्छ । सुत्न देस् ।’

यति कुरा नि धेरै सञ्चो भो दुर्गाप्रसादलाई ।

‘तपाईंहरुको यो गुन बिर्सन्न ठुलीआँ’ ।’ उसले भन्यो ।

उसको आँखामा ती छिमेकी महिलाहरुप्रतिको कृतज्ञता थियो । सबैलाई हेरेर जूनको उज्यालोमा अलिकति ऊ फिस्स हाँस्यो ।

०००

धेरै वर्षअघि, दुर्गाप्रसादका बाआमा पहिरोमा परेर बेपत्ता भएका थिए । मध्यसाउनको बर्सादको एक दिन त्यो पहिरोले उसलाई कसरी छक्यायो, छक्यायो ! उसका बाआमा गुमे र ऊ बाँच्यो । उसका गाईबस्तु, घरगोठ केही बाँकी रहेनन् । बग्न बाँकी रहेको घरको आधा पाखोबाट गाउँलेहरुले उसलाई निकालेका थिए । उसलाई यो आङ जिरिङग पार्ने घट्नाको अलिअलि सम्झना छ । अहिले पनि झस्काइरहन्छ । बाउआमाको सम्झना आउँछ र नरमाइलो बनाउँछ । आज बाउआमा भाको भए नि उसलाई यति गाह्रो हुने थिएन । आफै टुहुरो । घरमा जेठोबाठो नभएपछि चिन्ता र सुर्ताले त्यसैत्यसै छोपिहाल्छ । धन्न, गतिला छिमेक छन् । गाह्रो साँघुरो पर्दा हेरिदिन्छन् । बाउआमा नभएपछि दुखकष्ट झेलेरै हुर्केको, हिँडेको यो जीवन । अलिकति आडभरोसा दिने काका काकी थिए । धेरथोर पढाइदिए । जागीरतिर लागेपछि बिहा गरिदिए र उसलाई गाउँको यो घर रेखदेख गर्ने जिम्मा छाडेर चितवन झरे ।

गाउँको जागीर । घरपायक थियो । सरकारी सेवासुविस्ता थियो । उबेलाको पढाइ । महत्त्वको हुने भइहाल्यो । स्वास्नी शीलस्वभावकी थिई । यै स्वास्नी ल्याएदेखिन् उसले सम्हालेको थियो जीवन । त्यसैले बेलाबेलामा स्वास्नीलाई जिस्क्याउँथ्यो ऊ – ‘तेरो माया खुब लाग्छ मलाई ।’

स्वास्नी ओँठ लेप्¥याउँथिन्– ‘उस् ! यस्तै होला तपाईंको माया ।’

‘नपत्याएकी ?’ ऊ भन्थ्यो ।

‘हेरौंला नि ।’ स्वास्नी जिस्कन्थी र उसलाई चिमोटिदिन्थी ।

‘आत्था ।’

ऊ अनायासै करायो । उसले दुखेकोे ठाउँनिर हात पु¥यायो । एउटा रातो मसिनो कमिलाले उसको घाँटीनिरको छालालाई चिल्दै रैछ । एउटा विस्मृतिले फेरि उसलाई छक्यायो । दैलोमा झुण्डिएको स्वास्नीको फोटोको अघिल्तिर उभिएर ऊ एकैछिन टोल्हाइरह्यो । र, घरभित्र पसेर थकित मुद्रामा ओछ्यानमाथि डङ्ग्रङ्ग पल्टियो ।

एउटा अतीत आएर बस्यो उसको सिरानीमा ।
र, उसलाई फेरि अँठ्यायो ओछ्यानमै ।
ऐठनजस्तै ।

‘छोरा सानै छ । त्यसलाई हेलाँ हुन नदिनू । सधैं मेरो माया दिनू त्यसलाई । बाबु त भइहाल्नुभयो । अब आमा पनि हुनू । मेरो मायाको कहिल्यै कमी हुन नदिनू । मेरो यो जुनीको साथ यत्तिकै रैछ तपाईंसँग । मैले तपाईंसँग कहिल्यै ठूलो स्वर गरेकी रैछु भने पनि मेरो भूल सम्झेर मलाई माफ गरिदिनू ।’ वाक्य बस्नुअघि उसकी स्वास्नी लक्ष्मीको अन्तिम वाक्य थियो यो । स्वास्नीको पहेंलिदै गइरहेको अनुहारबाट आफ्नो जीवनको घाम डुब्दै गरेको उसले देख्यो । उसलाई लाग्दै थियो उसकी स्वास्नीले जीवनको एउटा किनारामा विस्तारै उसलाई एक्लै छाड्दै छ । र, उनीहरुका हातहरु त्यो किनारामा एकअर्कासँग विस्तारै छुट्दै गइरहेका छन् । सबभन्दा गाह्रो हुँदोरै’छ आफ्नै आँखाबाट आफ्नाको मृत्युलाई हेरिरहनु ।

‘जिन्दगी के रै’छ !’ भरङ्ग थियो उसको मन ।

उसले एकटकले उँभो छानोलाई नियालिरह्यो । कोठामा एउटा विरह खेल्यो । हाँस्दै खेल्दै गरिरहेको उनीहरुको खुशीमा खै कहाँनिर नियतिको यो दोष लाग्यो ! हरि जन्मिएपछिको एउटा अर्को खुशी थपिएको थियो उसको घरभित्र । दुखसुख थियो । छोरा हुर्कदैं थियो । उसको काँध चढेर हिँड्थ्यो । लक्ष्मी स्वस्थ थिई । छोराले पाँच साल पनि नाध्यो ।

एकदिन छिनभरिको पेट दुख्ने व्यथाले लग्यो लक्ष्मीलाई । लामो रोग नि हैन । अचानक पेट दुखेर फत्र्याकफत्र्याक भएकी थिई । दुर्गाप्रसाद दिउँसो अफिसको काममा नै थियो । स्वास्नीले बोलाइपठाएपछि घर पुग्यो । रक्तश्राब देखिन्थ्यो । साह्रो भइसकेछ । रगत धेरै बगेको थियो । गलेर निस्लाम देखिन्थी । स्वास्नीको अवस्थाले दुर्गाप्रसाद आत्तियो । स्वास्नीलाई स्वास्थ्यचौकी लाने तरखर ग¥यो दुर्गाप्रसादले ।

‘उपचार गर्न लानु पर्दैन,’ लक्ष्मीले भनिन् ।

लक्ष्मीले लोग्नेलाई छेवैमा तानेर बसालिन् र भनिन् ‘एकछिन् यहीँ बस्नू, मेरो नजिकै ।’

दुर्गाप्रसाद अल्मलियो ।

लक्ष्मीले लोग्नेलाई केही भन्न खोज्दै थिइन् । सकिनन् । वाक्य बस्यो । आँखाबाट आँसु खस्यो तुरुक्क । उसले छोरातिर पुलुक्क हेरिन् र शिथिल भइन् । दुर्गाप्रसादले स्वास्नीलाई छाम्यो । चिसो भइसकेकी थिइन् । फेरि नियतिले एकपल्ट झुक्यायो दुर्गाप्रसादलाई । लक्ष्मीको मृत्युले दुर्गाप्रसादलाई बेस्सरी टुटायो । उसको जीवनको एउटा बैशाखी टुट्यो । ऊ फेरि जीवनमा एकपल्ट हा¥यो । र, रोयो ।

लक्ष्मीको असामयिक मृत्युले धेरैदिनसम्म ऊ विक्षिप्तजस्तै बन्यो । आफ्नो भन्दा नि छोराको कारणले । छोराले आमा खोज्थ्यो र उसलाई पिरल्थ्यो । छोराको आँखामा खेलिरहेको एकान्तपनले उसलाई झनै एक्ल्यायो । रुँदारुँदै थाकेर छोरो निदाउँथ्यो, भोकभोकै । छोराको खेल्ने, खाने रुचिहरु हराउँदै थिए । एउटा अस्तव्यस्तताले हुर्कन सुरु गरेको थियो त्यो घरभित्र ।

दुर्गाप्रसादको एकाङ्कीले छिमेकीहरुलाई पनि सुर्ता बढाएको थियो । छोरा सानै छ । दुर्गाप्रसाद एक्लैको स्याहार पुग्न सक्ने कुरा पनि रहेन । छिमेकीहरु दुर्गाप्रसादलाई अर्को बिहे गर्न जोडबल गरिरहन्थे ।

‘स्वास्नीको सम्झनाले पिरोल्लिएर मात्र पनि अब हुने होइन, सिङ्गो उमेर छ बाँकी । छोरालाई सम्हाल्न पनि बिहे गर्नैप¥यो ।’ छिमेकीहरु भन्थे

एकदिन नजिकका केही आफन्तहरुले दुर्गाप्रसादलाई अर्को बिहे गराइ नै दिए । छिमेकीहरु सबैले नयाँ दुलहीलाई स्नेहले कान्छी सुब्बिनी भन्न थालेका थिए । केही वर्ष त ठिकै चल्यो । कान्छी सुब्बिनीको हरिप्रतिको मायामा फरक थिएन । सौतनी साइनो भए नि छोरालाई जाती नै गरेकी थिई । मीठो मसिनो बनाउँथी, खुवाउँथी । स्याहार पु¥याएकी नै थिई । छिमेकीले हेर्दा नि दोष दिने ठाउँ थिएन । कान्छी स्वास्नीको छोराप्रतिको व्यवहारले दुर्गाप्रसादले पनि अलिकति शीतलको अनुभव ग¥यो ।

केही वर्षपछि भने विस्तारै कान्छी सुब्बिनीका व्यवहारहरु फेरिन थाले । दुर्गाप्रसादको हरेक कुराहरुमा झर्कन्थी । रुखो बोली गर्थी । चोथाले हुँदै गइरहेकी थिई । उसका स्वभावहरु र रुचिहरु फेरिँदै गइरहेका थिए । स्वास्नीको अनावश्यक विवाद र झगडाले दुर्गाप्रसादलाई तनाव सुरु ग¥यो । कान्छी सुब्बिनीको ज्यादती अब हरिमाथि बढ्दै थियो । उसले हरिलाई पिट्न सुरु गरेकी थिई । हप्की र गाली खानु त हरिलाई सामान्यजस्तै बनेको थियो । कान्छी स्वास्नीको यो व्यवहारसँग दुर्गाप्रसाद सधैं मौन बसिदिन्थ्यो । कान्छी सुब्बिनीको ज्यादती अब हरिमाथि बढ्यो । अब घरभित्र हरिको वेवास्ता पनि अरु बढ्दै थियो ।

‘जस्तै नभए नि एकचोटि घर बिग्रिएपछि खोट रहँदो रैछ । दुर्गाप्रसादले छोरालाई टुहुरा बनाइ छाड्यो ।’ गाउँलेहरु भन्थे ।

एकसाँझ, अबेरसम्म पनि हरि घर आएन ।

‘कस्तो हँ ! यतिन्जेलसम्म पनि अत्तोपत्तो नहुने गरी हराउने ?’ दुर्गाप्रसाद सुर्तायो । ‘छिमेकतिर छन् कि ? बिहानतिर त आइहाल्ला’, सोच्यो उसले ।

तर, भोलिपल्ट पनि हरि घर फर्केनन् । दुर्गाप्रसादले ओल्लोपल्लो छरछिमेकतिर सोधीखोजी ग¥यो । अघिल्लो साँझ कतै पनि बास बसेको थाहा लागेन । छरछिमेक कतै न कतै हरि बसेको हुँदो हो भन्ने लागेको हो दुर्गाप्रसादलाई । तर, कतै पनि हरिको उपस्थिति नदेख्दा दुर्गाप्रसादको मनमा चिन्ताले खेल्यो । सोध्ने र जाने ठाउँ काहीँ बाँकी रहेन । अब सोध्न जानु पो कहाँ ?’ चिन्ता र दुविधाले उसलाई लेखेट्यो ।

आज एक दिन र भोलि दुई दिन गर्दै बित्यो समय । बित्यो वर्र्षौ । हरिका सम्झनाहरु दुर्गाप्रसादका आँखाहरुबाट पातलिँदै गए । आँखाअघि थिइन् कान्छी सुब्बिनी । कान्छी सुब्बिनीको नखरमाउलो रुप थियो उसको अघिल्तिर । एकाध दिन हरिको सम्झनाले ल्याउने विस्मात् बाहेक दुर्गाप्रसादलाई अरु दिन हरिको उस्तो ख्याल रहेन ।

हरिले घर छाडेर हिँडेको आठ वर्षपछि एकदिन अचानकै कान्छी सुब्बिनी पोइल हिँडी । यो चोटले फेरि विक्षिप्त बनायो दुर्गाप्रसादलाई । सम्हालिने ठाउँ थिएन । परिस्थितिले उसलाई ठग्ने खाली ठाउँ कतै रहेन ।

यतिबेला चिठीले झनै बूढाको मनमा विषाद् कोरिदियो । उसको अनुहारबाट केही क्षणअघिका सबै खुसी हराए । छातीभित्र केही बस्तुले थिचिरहेको महसुस भयो । चिठी पढ्दापढ्दै उसको आँखाअघिल्तिर तिरमिरतिरमिर जालोजस्ता धर्साहरु उठिरहे । हरि फर्कने आशामा बसेको दुर्गाप्रसादको मनलाई हरिको चिठीले भाँचिदियो ।

‘यो मर्ने बेलामा एकमुठ्ठी पानी पनि खुवाउन नआउने भइस् बाबै !’ दुर्गाप्रसादले खुइई काढ्यो ।

दुर्गाप्रसादको मनमाथि बादल उठ्यो । र, अलिकति पश्चाताप र आत्मग्लानीले भरिएको आँखाले उसले दैलोमाथि झुण्डिएको स्वास्नीको फोटोलाई हेरिरह्यो । र, निष्प्राण टोल्हाइरह्यो ।

२०४९
साप्ताहिक ललकार

घाइते विपना
पुष महिनाको बेलुकीको घामको स्पर्शले धर्तीलाई सुम्सुम्याएर सूर्य भर्खरै स्वयम्भु पारिको डाँडाबाट ओझेल प¥यो । सडकछेउमा आफ्नो ठेलागाडीलाई अड्याएर घामको न्यानो पाहार ताप्दै आफ्नो दुवै हत्केलालाई सिरानी हालेर सुतिरहेको धनेको शरीरले अब भने जाडोको महसुस ग¥यो । बतासिँदै आएको हावाको एउटा चिसो झोंक्काले ऊ ब्युँझियो । उसको ब्युँझाइसँगै नजिकैको सेकुवाघरबाट आएको कोइलाको धुँवा र मासुको गन्धले उसको नाकलाई एकपल्ट बेस्सरी गिजोल्यो । उसको पेटभित्र भोक उछित्तोसँग खेल्यो । भोकले अमिल्लिएर उसको अनुहार सोहोरियो, बेस्वादले ।

उसले एकचोटि वरिपरि नियाल्यो र सडकको परपरसम्म आफ्ना आँखाहरुलाई हुत्यायो । बेलुकीको अफिस छुटेर आउनेजानेहरुको भीडभाड र ओहोरदोहोरले सडकलाई छोपेको छ । उसले नजिकै आउँदैजाँदै गरिरहेका मान्छेहरुलाई चिहाउँथ्यो र एउटा आशापूर्ण दृष्टि उनीहरुतिर दौडाउँथ्यो । तर जब उसले त्यहाँ कोही त्यस्ता मान्छेहरु भेट्दैनथे, जसलाई उसको ठेलागाडाको आवश्यकता परेको होस् । र, जब बाटोे हिँड्नेहरु उसको ठेलागाडाको छेवैबाट बेपरवाहसँग अघि बढ्थे, उसको अनुहारमा निराशा छाउँथ्यो ।

धनेका आँखा दिक्दारीपूर्वक माथि उठ्थे र केही पर रहेको एउटा आलिसान घरको बार्दलीमा पुगेर अड्किन्थे । त्यो आलिसान घर, त्यसको चमकदार रङरोगन, हावालाई चुमिरहेको त्यसका झ्यालहरु, आकाशतिर अग्लिदै गइरहेको त्यसको छत, छतबाट खसिरहेको घामको उज्यालो । लोभलाग्दो दृश्य । साँच्चै नै त्यो घरको एउटा आकर्षणले धेरैबेरसम्म उसका आँखालाई बाँधेरै राख्थ्यो त्यहाँ सधैं । त्यसैले त प्रत्येक दिनजसो वीर अस्पताल र महाबौद्ध छेउछाउको त्यो सडकको एउटा कुनामा आफ्नो ठेलागाडालाई अड्याएर धनेका आँखाहरुले सधैं त्यसरी नै धितलाग्दोसँग महिनौंदेखि हेर्दै आइरहेको छ त्यो घरलाई । एक किसिमको मुहुनी बाँधिएको छ त्यो घरसँग उसको । कहिलेकाहीँ त्यो घरको छतमा खेल्ने बतासजस्तै धनेका आँखामा बेलगाम भएर उसको कल्पना खेल्थ्यो । सधैं तन्द्रामा हुन्थ्यो ऊ ।

‘यो घरको शौकतले जिन्दगी बाँच्न पाए कस्तो पो हुन्थ्यो ए !’– सोच्थ्यो ।

क्षणभरको लागि उसको आँखा धपक्क बल्यो र फेरि निभ्यो । भर्खरै, ऊ ब्यँुझनुअघिको निद्रामा देखेको सपनालाई सम्झ्यो उसले । यो सपनाको आनन्दमा बाँच्न पाउनुको खुसी पनि बेग्लै । सायद मान्छे, आफ्नो जीवनभरि ऊ आधी सपना÷कल्पनामा बाँच्छ र आधी यथार्थ÷वर्तमानमा ।

साँच्चै, कति फरक थियो केही क्षणअघिको उसको सपना र अहिलेको विपनामा । अघि सपनामा ऊ त्यही आलिसान घरको मालिक थियो । उसको कार थियो । नोकरचाकर थिए । खानेकुराका अनेकौं व्यञ्जन र परिकारहरु थिए । खुसीले फुक्काफाल थियो ऊ ।

‘थुक्क ! त्यो चिसो बतास !’ एकछिन ऊ बर्बरायो– ‘निद्रै बिथोल्ने गरी यही बेला त्यसलाई मेरो आङमाथि बतासिनुपर्ने ।’

नमिठोगरी बिग्रियो उसको मुखमुद्रा ।

त्यो बतासले उसको जिउलाई कहर हुने गरी छोएर नगइदिएको भए यसरी उसको निद्रा बिथोलिने त थिएन । ऊ त्यो निद्राबाट ब्युँझने त थिएन । उसको त्यो सपना टुट्ने त थिएन ।

निद्राबाट ब्युँझदा पहिले त ऊ साँच्चै झस्क्यो । आफ्ना वरिपरिका सबै दृश्यहरुलाई उसले नियाल्यो । मनमा एउटा विस्मात् उठ्यो । सबै कुराहरु खल्लो लाग्यो उसलाई । एउटा हेलुसिनेशनले नजिकैका बस्तुहरु पनि उसलाई खुट्याउनु गाह्रो हुँदै थियो ।

‘निधाराँ नि लेख्नु प¥यो ए । रहरले मात्र हुन्न ।’ एउटा विषाद्ले ऊ एक्लै आफ्नै मनसित बोल्यो । उसका आँखाबाट स्खलित भएर उसको वर्तमान खस्यो ।

०००

‘ए दाइ, ए ठेलागाडावाला दाइ ।’

अनायासै झस्क्यो ऊ । उसको सोचाइका श्रृङखलाहरु भत्किए । उसले देख्यो, उसको अघिल्तिर एउटा विद्यार्थीझैं देखिने अनुहार उभिएको छ ।

‘एउटा खाट र अलिकति सामान छ, लाने हो ? विद्यार्थी अनुहारले सोध्यो

‘काँ सम्म लाने हो ?’ धनेको मनमा आशाले अलिकति अङ्कुरायो ।

‘ठमेलसम्म ।’ विद्यार्थी बोल्यो

‘लाने नि हजुर, किन नलाने ।’

‘कति लिन्छौ ?’

‘तीस रुप्याँ ।’ धनेले भन्यो

‘तीस हैन, बीस दिन्छु ।’ विद्यार्थीले बार्गेनिङ ग¥यो ।

‘मर्का पर्छ कि हजुर । टाढै छ ।’ धनेले विद्यार्थीतिर हे¥यो, प्रतिक्रिया बुझ्न ।

‘सक्छ भने लैजाऊ, नत्र अर्को खोजुम्ला ।’ विद्यार्थीले भन्यो ।

विद्यार्थीले धेरै नबोली टुङ्गो लाइदियो । अब के भनेर भाउ द¥याउने, धनेलाई अप्ठ्यारो भो । धेरैबेरसम्म अल्मलिरहे विद्यार्थी हिँडिदेला । बिहानैदेखि आज उसको ठेलागाडा चलेको छैन । आजको आम्दानीको नाउँमा एक रुप्याँ परेको छैन उसको हातमा । ‘त्यै बीस रुप्याँ पनि बेलुकी स्वास्नीको सुत्केरी खर्च उत्रन्थ्यो ।’ उसले सम्झ्यो– ‘भरैलाई कोठामा चामल छैन । तेल, तरकारी त्यसैले किन्नु पर्छ ।’

उसले एउटा विनयभावले विद्यार्थीको अनुहारमा पुलुक्क हे¥यो । सामानलाई ठेलागाडामा राख्यो र गाडालाई अगाडि घचेट्यो । पैतालीस वर्षको हाराहारीमा पुगेको उसको जीवनको लगभग आधी उमेर त उसले यही ठेलागाडी धकेलेरै बितायो । गाउँबाट भागेर हिँड्दा अल्लारे थ्यो मन । सहर खोज्न हिँडेको । सहरको सपनाले फेरि गाउँ फर्कन दिएन । सहरमै कुल्ली ग¥यो । ढुङ्गामाटो बोक्यो । खोलाका किनारहरुमा गिटीबालुवा चाल्यो । विष्णुमतीको किनारमा गिटी, बालुवा चाल्दाचाल्दै जिस्किएर पूर्व सिन्धुपाल्चोकतिरकी एउटी तामाङ्नी केटीसँग माया बस्यो र उसको विहे भो । त्यहीं विवाहले विष्णुमतीको किनारमा उनीहरुको एउटा झुप्रा बस्यो ।

‘सुकुम्बासी बस्तीमा बुल्डोजर लगाइँदै छ ।’

असननिर आइपुग्दा धनेको कानमा एउटा अस्पष्ट हल्ला आइपुग्यो ।

भीडबाट अप्रत्यासित रुपमा आएको यो होहल्लाले ठेलागाडा घचेट्दै गरेको धनेका हातहरु एकैछिन् रोकिए । उसका गोडाहरु शिथिल भए । एउटा सम्भावित आशङ्काले उसको मन बेस्सरी अत्तालियो । एउटा भयले यो जाडोका पनि उसको जीउबाट पसिना चिट्चिट् छुट्यो । उसले एकचोटि पछाडि फर्केर हे¥यो । सम्भवतः ऊ त्यो अघिको भीडबाट आएको हल्लासँग विश्वस्त हुन चाहन्थ्यो । साँच्चै त्यो खबर यो भीडभित्र कसले ल्यायो होला ? यो हल्लाको वास्तविकता के होला ? त्यो बुल्डोजर लगाएको कुन चैं सुकुम्वासीबस्ती होला ? त्यो भीडमा कसलाई पो के सोध्ने ? त्यो हल्लाको सत्यता बुझ्ने पो अब कसरी ? एउटा दुविधा र अन्तद्र्वन्द्वले ऊ अल्झिरह्यो ।

त्यसैबेला ठेलागाडाको अगाडिपछाडिबाट आएको गाडी र मोटरसाइकलको एकोहोरो हर्नले ऊ झस्क्यो । त्यो कोलाहलले उसको तन्मयतालाई भत्काइदियो । उसले देख्यो, त्यो बीचसडकमा रोकिएको उसको ठेलागाडाले त्यो साँघुरो सडकमा कुदिरहेको गाडीको ओहोरदोहोरलाई नै बन्द गरिदिएको थियो । र, त्यहाँ बन्द भएका गाडीका ऐनाबाट चिहाइरहेका एकहुल तीखा आँखाहरुले उसलाई नै घुरिरहेका थिए । त्यो गालबाट बच्न उसले ठेलागाडीलाई अरु बल गरेर घचेट्यो । र, ठेलागाडीलाई किनारा लगायो । तर सधैंजस्तो आफ्नो विराम हुँदा क्षमायाचनाले मुस्काइरहने ओंठको हाँसो यतिबेला उसको अनुहारमा थिएन । उसको आँखाको चञ्चलता थिएन । केहीबेर अघिसम्म ‘बिनाभी’ ‘बिनाभी’ भनेर कराइरहेझैं अहिले ऊ कराइरहेको पनि छैन । त्यो भीडको कोलाहल पनि अहिले उसको लागि एकान्त बनिरहेछ । ऊ चुपचाप छ र उसका गोडाहरु भने आतुरतापूर्वक छिट्छिटो ठेलागाडाको पाङ्ग्रासँगै अघिल्तिर धकेलिइरहेको छ । अझ भनौं भने उसका हातहरुले ठेलागाडालाई धकेल्दै छ र ठेलागाडाको पाङ्ग्राले उसका पाइतालाहरुलाई अघिल्तिर लतार्दै छ । उसका आँखाहरु अघिल्तिर सुकुम्बासी बस्ती छ । बुल्डोजर छ । उसकी सुत्केरी स्वास्नी छ । र, जाडोले लखेट्दै गरिरहेको उसका भन्ट्याङ्भुन्टुङ केटाकेटीहरु छन् ।

आँखा अघिल्तिर खेलिरहेको आफ्नो सुकुम्बासी बस्तीको एउटा सम्भावित र अत्यासलाग्दो कल्पनाले उसलाई घरीघरी लखेट्छ । क्षणभरमै दर्किहाल्ने मुसलधारे पानी बोकेको बादलजस्तो, अनुहारको उज्यालो हराएको छ उसको । बिजुलीजस्तै प्रश्नहरु उसको मस्तिष्कबाट चम्किन्छन् र हराउँछन् । आखिर सुकुम्बासी बस्तीहरु पनि धेरै पो छन् । कहाँको बस्ती परे होलान् ? कतै बुल्डोजरका निर्मम चक्काहरुले उसकै बस्तीहरु त भत्किरहेका छैनन् ? उसकै घर त परिरहेको छैन ?

कठै ! आशङ्कैआशङ्काले जेलिएका उसका जवाफ खोज्ने सबै प्रयत्नहरु यतिखेर असफल बनिदिन्छन् । सम्झँदा मात्रै पनि उसको जिउ जिरिङ्ग भएर फुल्छ । हुँदो हो त ठेलागाडीलाई त्यतै कतै गल्लीको एउटा खाली कुनातिर धेकेलर यतिखेर ऊ आफ्नो बस्ती पुगिसक्दो हो । तर अहिले ऊ त्यसो गर्न पनि सक्दैन । अहिले यही ठेलागाडीमा राखेको त्यो सामान पनि उसलाई भारी भएर थिचिरहेझै भएको छ । छाडेर हिँड्न मिल्दैन ।

धनेलाई थाहा छ– उसको छाप्रोमा स्वास्नी सुत्केरी भएर थलिएकी केही दिन भयो । भोकले छटपटाइरहेका केटाकेटीहरु उसैलाई पर्खिरहेका छन् । लोग्ने हुनुको दायित्व र बाउ हुनुको कर्तव्य छ उसको सामु । आखिर यही ठेलागाडा नै त उसको जहान पाल्ने औजार हो । यही ठेलागाडाको गति छ । र, त उसको परिवारको गति चलेको छ । जीवनको निर्वाह चलेको छ । छाक चलेको छ । त्यही छाक जुराउने भाँडोलाई मिल्काएर कता हिँड्ने ? धनेको मन अनियन्त्रित छ ।

मन किन थामिन्थ्यो र ! मन तुलबुलिन्छ । मन अस्थीर भएर खेल्छ । उसले फेरि बुल्डोजर सम्झ्यो । सुत्केरी स्वास्नी सम्झ्यो । छोराछोरी सम्झ्यो । परिवारप्रतिको जिम्मेवारी सम्झ्यो । र, आफैलाई फेरि सबैभन्दा बढी निरीह सम्झ्यो ।

ठमेलमा पुगेर सामानलाई उसले झटपट भुइँमा बिसायो । ठेलागाडालाई बेतोडले विष्णुमतीको किनारतिर ओराल्यो र एउटा ब्यग्र मनले ऊ सुकुम्बासी बस्तीतिर हानियो । अफसोच ! बस्ती नजिकै पुगेका उसका गोडाहरु एकाएक धर्मराए र लुला भए । उसका पाइलाहरु रोकिए । उसका आँखाहरु तिर्मिराए । उसले देख्यो, एउटा बडेमानको हात्तीसुँडे बुल्डोजर विष्णुमती किनारमा रहेको पूरै सुकुम्बासी बस्तीमाथि कर्कश ध्वनि फ्याँक्दै एउटा उन्मत्त साँढेलेझैं बस्तीलाई उधिनिरहेको थियो । वरिपरि बर्दीधारी प्रहरीको भीडले बस्तीलाई घेरा हालेर बुल्डोजरलाई सुरक्षा दिइरहेका थिए । एउटा आक्रोश र उत्तेजनाले सुकुम्बासी बस्तीको भीडले प्रहरीको घेरालाई धकेल्दै अघि बढ्न खोज्दै थियो । र, प्रहरीहरु उनीहरुमाथि लाठी प्रहार गरिरहेका थिए ।

धनेले एकचोटि ती दृश्यहरुलाई विश्वासै गर्न सकेन । पूरै युद्धरत् थियो सुकुम्बासी बस्ती । पूरै हृदयविदारक र मुटु चुड्ने खालको थियो सुकुम्बासी बस्तीभित्र भत्काइएका ती झुप्राहरुको दृश्य । ओहो, आफ्नै नागरिकमाथि सरकारी मान्छेहरुको त्यो हिँस्रक आक्रमण । कति अमानवीय । यस्ता दृश्यहरु त उसले टिभीका समाचारहरुमा मात्र देखेको थियो विदेशका, लडाईले ध्वस्त । तर, आज आफ्नै देशमा आफ्नै सरकारले आफूहरुमाथि यसरी पिट्दै लखेटिरहेको दृश्यले ऊ भक्कानियो । वर्षौवर्षदेखि आफ्नो रगत र पसिनाले अलिअलि गर्दै साँचेर बनाएका ती सुकुम्बासी झुप्राहरु यसरी कल्पनै नगरीकन भत्कन सक्छ र सपनाहरु क्षणभरमै यसरी टुट्न सक्छ भनेर उसले कहिल्यै सोचेन ।

साँझको धमिलो छायाँ विष्णुमती किनारको सुकुम्बासी बस्तीमाथि पोखियो । बस्तीमा उठेको आर्तनादलाई कुल्चदैं सरकारी बुल्डोजरका घर्रर्ररर ध्वनिले अझै पनि वातावरणमा कोलाहल गरिरहेको थियो । धनेले प्रतिक्रियाविहीन मुद्रामा परै उभिएर त्यो उजाड बन्दै गइरहेको बस्तीलाई हेरिरह्यो ।

हठात् धनेलाई सम्झना आयो आफ्नी सुत्केरी स्वास्नी र केटाकेटीहरुको । एउटा ऐठनबाट मुक्त हुन खोजिरहेझै ऊ जोडले चिच्यायो । र, जोडले उसको एउटा मुठ्ठी हावामा उचालिएर माथि आकाशतिर उठ्यो ।

‘यो जनतामारा सरकार चाहिँदैन ।’ उसको मुखबाट निस्किरहेको थियो ।

साप्ताहिक मातृभूमि

एक कामदारको दैनिकी
१५ मे २००३, शुक्रबार

प्रिय जुनमाया, आजदेखि केही लेख्न सुरु गरुँ भन्दैछु । खास गरी डायरी लेख्न सके विदेश बसाइका केही आफ्ना अनुभूतिहरुलाई पछिसम्म पनि सम्झनामा राख्न सकिन्थ्यो भन्ने लागेको छ । तर लेख्नु भनेको काम पनि सजिलो किन छ र ! जुन बेला तिमीलाई भेटें र हाम्रो प्रेम चल्यो, भावुकतावस् लहडले तिमीलाई लेखिएका तिनै प्रेमपत्रहरु त थिए लेखेको भन्नु । तिनताका खुब पढियो प्रकाश कोविद र युधिर थापाका उपन्यासहरु । ती उपन्यासहरु पढेरै तिम्रा लागि लेख्न सिकियो प्रेमपत्र । तिमीलाई लेखिएका प्रेमपत्रहरुमा सबैभन्दा बढी लेखिए होलान् ‘जून र तारा’ शब्द । तिमीलाई इम्प्रेस गर्न अनेक शायरीका किताबहरु किनेरै ल्याएँ बजारबाट र किताबबाट खोजेरै प्रेमपत्रहरुमा तिम्रा लागि लेखें शायरीका प्रेमले भरिएका हरफहरु । बनाएँ प्रेमपत्रहरुलाई लालित्यपूर्ण । पारें चिटिक्कका अक्षर । तिम्रो प्रेमका लागि म साँच्चै ‘फीदा’ बनें । बनें तिम्रो प्रेममा दिवाना । एकपटक बेला आउँदो रै‘छ यस्तो । कहिलेकाहीँ यसो घोत्लिन्छु एक्लै, तिमीले भागेर मलाई साथ दिन नआएकी भए साँच्चै जुनमाया यतिबेला म के गर्दै हुन्थेँ हुँला ? तिम्रो प्रेममा पागल हुन्थेँ कि ! एउटा प्रेमी पागल ! कि वियोगमा शायरी कोरिरहेको एउटा घघडानको शायर पो बन्थें हो ? हा हा हा जुनमाया, मनको ताना न हो । बह कसलाई पोख्नु, तिमीलाई लेख्ने यही चिठी नै त छ । तर धेरै पो भयो त हो चिठी लेख्नै छाडेको पनि । यहाँ आएपछि यो तीन महिनाको बीचमा मैले तिमीलाई तीन वटा चिठी लेखेछु । बस् यत्ति हो । लेख्नु पनि धेरै गाह्रो कुरा हुँदो रै’छ । छटपटी लाग्छ कहिलेकाहीँ । पीडा हुन्छ छुट्टै । दिनभरिको कामको थकाइ बोकेर बेलुकी कम्पनीको क्याम्प फर्कियो । ओछ्यानमा यसो ढल्कियो निद्राले छोपिहाल्छ । घरको सम्झनाले त किन छोड्छ र । तर लेख्नसजिलै सकिन्न रै’छ । त्यसैले दुख्छ । मनभित्र कताकता दुखिरहँदो रै’छ ।

हिजोअस्तिभन्दा आज निकै गर्मी बढेको छ यहाँ । हावाले उडाएर ल्याएका बालुवाका कणहरुले पूरै वातावरणलाई ढाकिदिएको छ । नजिकैको वस्तुलाई पनि सजिलै देख्न सकिँदैन । वरिपरि आँखाले देखिने जति सबै वस्तु र रुखपातहरु धुलोले छोपिएका छन् । स्याण्डस्टोर्म भन्दा रैछन् है यसलाई । यस्तो मौसम देखियो भने यो रेगिस्तानी गर्मी अरु बढ्छ भन्छन् बर्षौदेखि यो रेगिस्तानमा कहरको जीवन बिताउँदै आएकाहरु । हिजो दिनभरि यस्तै थियो । अझै अरु केही दिन यहाँको मौसम यस्तै रहने उनीहरु बताउँछन् । हाम्रो पहाडमा लाग्ने बाक्लो हुस्सुले झैं यहाँको मौसम सधैं धुलोले ढाक्दो रै’छ । हामी धुलोबाट बच्न कोठाभित्र छौ र पनि कोठाभरि धुलोको गन्ध टाँसिएको छ ।

२१ मे २००३, बिहीबार

प्रिय जुनमाया, आज बिहानै मैले तिम्रो रजिष्ट्री चिठी पाएँ । बिहानको ड्युटी सकेर कोठामा फर्किएपछि तिम्रो यो चिठी पढ्दैछु । तिमीहरुको कुशलताको खबरले मलाई पनि खुसी बनाएको छ । म पनि यहाँ सञ्चै छु । केही दिनदेखि तिमीहरुको सम्झनाले मन नियास्रिरहेको थियो । तिम्रो चिठीले मन रमाएको छ ।

जुनमाया, मैले अस्तिको पाली तिमीलाई पठाएको चिठीसँगै एक सानो टुक्रा छोराको लागि लेखेको थिएँ र पढ्न दिनू भनेको थिएँ । पढ्यो कि पढेन त्यसले । पढेर बाउले के लेख्या हो यो भनेर एकपल्ट हाँस्यो पनि होला त्यो । अँ साँच्चै, तिमीले मलाई पठाएको चिठीसँगै त्यो बिहान मेरा अरु तीन जना साथीहरुले पनि रजिष्ट्री चिठी पाएका थिए । मसँगै काम गर्ने साथी रोहिणीको श्रीमतीले दुखलाग्दो गरी लेखेर पठाएकी रहिछ । तीन महिनाकी काखकी छोरी रहिछ । भैंसीलाई पराल किनेर खुवाएकी छु भनेर लेखेकी थिइन् । दुध बेचेर घरको खर्च चलाइरहेकी रहिछन् । घरमा बाआमा बुढा र असक्त । सधैं अंश छुट्याइ दे भनेर रोहिणीका दाइभाउजु भन्दा रहेछन् । रोहिणी चिठी पढेर हामीलाई सुनाउँदै थियो । एकछिन सबैलाई नरमाइलो बनायो चिठीले ।

‘के गर्नु साथीहरु, घरमा सहारा हुन्छन् कि भनेर श्रीमती र केटाकेटीलाई एक्लै छाडेर विदेश आइयो । आफन्तहरु नै शत्रु भइदिन्छन् ।’ रोहिणी अँध्यारियो ।

१८जनवरी २००५, मंगलबार

प्रिय जुनमाया, हामीले काम गर्ने क्याटरिङ कम्पनीले यो अल–जुबैल क्षेत्रबाट केही कामदार इराकको लागि पठाउँदै छ भन्ने हल्ला सुुन्यौं । यो हल्लाले खास गरी इण्डियन कामदारहरु त्यहाँ जानका लागि इच्छुक देखिन्थे । हामी बसेको लोकेशनबाट केही इण्डियन र श्रीलङ्कन कामदारहरु इराकका लागि अल–खोबार हेड अफिस गएका थिए । केही समयअघि इराकमा काम गर्न गएका बाह्र जना नेपाली कामदारहरुको वीभत्स हत्या र त्यसको त्रासद यहाँ काम गर्ने नेपाली कामदारहरुमा अझै थियो । त्यो हत्याको घटनालाई प्रत्यक्ष गरिएको भिडियो टेप हामीले हेरेका थियौं । त्यो निन्दनीय घटनाको कारण यहाँ काम गर्ने नेपाली कामदारहरुमाझ इराकप्रतिको दृष्टिकोण सकारात्मक थिएन । भिडियो टेप हेरेपछि हामी सबैको मन उदास थियो ।

५ फेब्रुवरी २००५, शनिबार

प्रिय जुनमाया, साँझ स्यालरी बुझें । साउदी ३६० रियाल । त्यो पनि ओभरटाइम जोडिएको थियो । केही तिर्नु पर्ने सापटी छुट्याएँ । बाँकी बचेको १६० रियाल थियो । एकछिन आफैलाई दिक्क लाग्यो । स्यालरी बुझेको दिन मन खुसीले भन्दा बढी विषादले दुख्छ ।

६ फेबु्रवरी २००५, आइतबार

प्रिय जुनमाया, बिहान अबेरसम्मै अल्छी गरेर सुतिरहें । ५ बजे ड्युटी जानु थियो ।गइनँ । हिजोको स्यालरीका कारण काममा जानै मन लागेन । जाँगर म¥यो । ओछ्यानमै गुटुमुटु परिरहें ।

‘श्रम र दुःख जति सबै अर्काकै लागि । हैन विदेशमा आएर यति दुःख गर्नु चैं किन हँ ? एउटा मृगतृष्णाजस्तो सधैं हामीलाई विदेशका सपनाहरु किन आँखामा आएर बस्छ ! विदेशको मोहमा कसरी बत्तीको कीराझैं हामी जल्दै छौं ।’ मनमा तन्द्रा खेल्छ ।

६ः३० बजे मसँगै काम गर्ने मोख्तार नाम गरेको एकजना इण्डियन वेटर मेरो कोठाभित्र पस्यो र मलाई सोध्यो, ‘रामु ड्युटी किन नआएको ? सुपरभाइजरले सोध्दैछ ।’

‘टाउको दुख्दैछ । सुपरभाइजरलाई लञ्चको ड्युटीमा आउँछ भन्देऊ ।’ मैले मोख्तारलाई भनें ।

‘ल, दबाइ लिउ र आराम गर ।’

ऊ यति भनेर हिँड्यो । एकैछिन पछि म ओछ्यानबाट बाहिर निस्कें र नुहाउन हिँडें ।

बेलुकी, रोशन र चन्द्रकान्त दुवैजनाले भोलिदेखि काममा नजाने कुरा ग¥यो । स्यालरी र ओभरटाइमको बारेमा उनीहरुको आज सुपरभाइजरसँग भनाभन भएछ । उनीहरु दुवैजना हामीसँगै एउटै कोठामा छन् । दुवैजना नयाँ हुन् । नेपालबाट यहाँ आएको भर्खरै तीन महिना हुँदैछ । अलमोजिल कम्पनीका हुन् । गार्डेनरको काम गर्छन् । यसपटक पनि उनीहरुलाई कुनै ओभरटाइम दिइएनछ । यो महिनाको तलब २३० रियाल बुझेछन् । सुपरभाइजर धूर्त छन् । बंगाली हुन् । ओभरटाइमको कुरा ग¥यो भने ‘तँ नेपाल जा, कम्पनीले तँलाई ओभरटाइम दिन्छु भनेको छैन भनेर सुपरभाइजरले उनीहरुलाई हप्काउँदा रै’छन् ।

यहाँ काम गर्न आउने सबै कम्पनीका नेपाली कामदारहरुको कथा उस्तै छन् । विभिन्न सुविधाहरुको प्रलोभन देखाएर म्यानपावरका एजेण्टहरु असी नब्बे हजार असुल्छन् । यसरी अझै पनि कति नेपालीहरु विदेशिन र उनीहरुबाट ठगिन बाध्य छन् ।

२२ मार्च २००५, मंगलबार

प्रिय जुनमाया, बिहान हामी बसेको क्याम्पभित्र एकजना नेपाली कामदारको मृत्यु भएको छ भन्ने खबर सुन्यौं । मर्ने कामदार तामिमी कम्पनीमा काम गर्ने तेह्रथुम जिल्लाका लिम्बु थरका रै’छन् । हिजो रातिसम्म ऊ ठिकै थियो । साँझमा पनि भलिबल खेलेर साथीहरुसँगै कोठामा फर्केको हो भन्ने सुनियो । बिहान ५ बजे कोठाकासबै साथीहरु काममा निस्कन तयार भइसक्दा पनि ऊ नउठेपछि साथीहरुले उसलाई झक्झक्याएछन् । तर ऊ मरिसकेको अवस्थामा थियो । बिहानै साउदी प्रहरीहरु आएर उसको शव र कोठामा सँगै बस्ने साथीहरुलाई सोधखोजको लागि लिएर गएछन् । सोचें, अब कति समय उसको त्यो शव यहाँको हस्पिटलमा मिल्किएर रहने हो ? भोलि उसको घरपरिवारले उसको त्यो मृत शरीर पनि पाउने हुन् वा होइनन् । मान्छेले कति बेखबर भएर बाँच्नु पर्छ र बेखबर भएरै मर्नु पर्छ यहाँ !

१४ अप्रिल २००५, बिहीबार

प्रिय जुनमाया, आज १४ अप्रिल अर्थात नेपाली क्यालेण्डर अनुसार वैशाख १ गते । नयाँ वर्ष । २०६१ सालको अन्त र २०६३ सालको सुभारम्भ । अर्थात नयाँ दिनहरुको सुरुवात । तर लाग्छ, फेरि पनि ती आँसु र उदासीले भरिएका आँखाहरुमा बितेका वर्षहरुले झैं नयाँ आउने क्यालेण्डरका अङ्कहरुले पनि उही विषादहरु ल्याउने छ । र, खुसीहरु …. …. ! त्यो आउँदा दिनहरुले नै देखोस् । म सोच्दै छु, कति उत्साहहीन हातहरुले आफ्ना शुभचिन्तकहरुलाई यसपटक पनि नयाँ सालको शुभकामनाका कार्डहरु बाँड्दै होलान् । कति ओंठहरुले यो नयाँ बिहानको सुस्केरापूर्ण गीत गाउँदै होलान् । पक्कै पनि त्यहाँ छुटेका छैनन् सुख, शान्ति र समृद्धिका शब्दहरु । जुनमाया, म यो बिहान भने एउटा हिन्दी गीत सुनेरै बिताइरहेको छु–

कुछ पाकर खोना है, कुछ खोकर पाना है

जीवनका मतलब तो आना और जाना है

दो पल के जीवन से एक उम्र चुरानी है

जिन्दगी और कुछ भी नही तेरी मेरी कहानी है ।

१८ अप्रिल २००५, सोमबार

प्रिय जुनमाया, हामीले काम गर्ने र हामी बसेको ठाउँ साउदी अरबकै सबैभन्दा ठुलो तेल खानी रहेको क्षेत्र पर्छ । यो क्षेत्रमा थुप्रै कम्पनीहरु छन् ।र, यिनै कम्पनीहरु मार्फत यहाँ काम गर्न आएका अधिकांश कामदारहरु इण्डियन, बंगाली, पाकिस्तानी, श्रीलङ्कन, नेपाली र फिलिपिनो रहेका छन् । हामी काम गर्ने क्याटरिङ कम्पनीले यहाँ उनीहरुलाई खाना खुवाउने गर्छ ।

हामीले काम गर्ने लोकेशन अल जुबैल टेक्निकल इन्टिच्युट गर्मी बिदाको कारण हामीलाई दुई महिनाको लागि अर्को नयाँ लोकेशनमा पठाइएको छ । क्याटरिङमा हामी दुईजना नेपाली छौं, नवीन राई र म । अरु सबै बंगाली छन् । यसअघि क्याटरिङमा काम गर्ने यहाँ कुनै नेपाली थिएनन् । प्रायः लोकेशनमा क्याटरिङको काममा इण्डियन वा बंगाली नै देखिन्छन् । त्यसैले नेपाली कामदारहरुप्रतिको उनीहरुको व्यवहार पक्षपाती हुन्छन् । यहाँ पनि काउण्टरमा खानेकुरा बाँड्दा बंगाली वेटरहरुको व्यवहारको कारण उनीहरुसँग जहिल्यै पनि नेपाली कामदारहरुको भनाभन चल्दोरै’छ ।

यहाँ इण्डियन, बंगाली र नेपाली, श्रीलङ्कन र पाकिस्तानी, फिलिपिनी र अरबी गरी तीन अलग अलग काउण्टरहरु छन् । र, उनीहरुका खानेकुराको मेनु पनि अलग बन्छन् ।

एकदिन, बिहानको खाजा खान आउनेहरुको भीड काउण्टरमा कम भइसकेको थियो । सात बजे काउण्टर बन्द भइसक्थ्यो । र, सात बज्न अझै पन्ध्र मिनेट बाँकी थियो । कामदारहरु प्रायः ६ः३० बज्नुअघि नै बिहानको खाजा खाएर काममा निस्किसकेका हुन्थे । मान्छेहरु आउन बन्द भइसकेकाले काउण्टर बन्द गर्नुअघि म पनि मेसहलको एउटा टेबलमा बसेर खाजा खाँदै थिएँ । एकजना बंगाली वेटर काउण्टरका सामानहरु उठाउँदै थिए । दुईजना कामदार मेसहलमा छिरे र काउण्टरमा पुगे ।

‘नास्ताछैन,’ बंगाली वेटरले भन्यो ।

‘तिम्रो डिसमानास्ता छ त । त्यो देऊ न ।’ कामदारहरुले भने ।

‘तिमीहरु यतिबेला आएर नास्ता गर्न बस्छौ । हाम्रो ड्युटी सकियो । हामीलाई रुम जानु छ ।’ बंगाली भन्दै थियो ।

उनीहरु हिन्दीमा बोल्दै थिए । एकछिन् ती दुवै थरीको त्यहाँ चर्काचर्की चल्यो ।

‘सात अझै बजेको छैन । सात बजेसम्म यो मेसहल खुल्ला रहने सूचना तिम्रो त्यो ढोकामा लेखेको छ । हामीलाई कसरी नास्ता दिदैनौं, हेर्छौ । तिम्रो मुदिरलाई बोलाऊ । हामी उसँग कुरा गर्छौ ।’ ती कामदारले भने ।

‘मुदिरलाई मैले किन बोलाउने ? मेरो ड्युटी सकिएको छ । काउण्टर बन्द भइसक्यो । जाऊ तिमीहरुलाई कहाँ गएर कम्प्लेन गर्नु छ गर ।’ बंगालीले भन्यो ।

ती दुई कामदार रिसले रातोपिरो हुँदै काउण्टरबाट बाहिरिए । मेसहलको ढोकाबाट उनीहरु बाहिर निस्केपछि बंगालीले अलि चर्को स्वर ग¥यो, ‘चुतिया नेपाली ।’

उसको गालीको त्यो निकृष्ट शब्द प्रयोग मलाई मन परेन । नास्ता सकेर म काउण्टरको आफ्नो कामतिर लागें । बंगाली सँगै थियो ।

‘तिमीले अघि उनीहरुसँग त्यस्तो व्यवहार नगर्नु पर्ने ।’ मैले उसलाई भनें

‘किन ? तेरो नेपाली भनेर ?’ उसले रुखो स्वरले मसँग भन्यो ।

‘कुरो नेपाली र बंगालीको होइन । फेरि उनीहरु नेपाली हुन् भन्ने कुरा मलाई के थाहा ? उनीहरुसँग यति नै चर्काचर्की गर्नु पर्ने थिएन भन्ने मेरो कुरा हो । हामी क्याटरिङमा काम गर्नेहरुले त अलिकति संयमित बन्नै पर्छ नि ।’ मैले भनें

‘ल, ल तेरो यो सल्लाह मलाई चाहिन्न । तँ आफ्नो काम गर ।’ उसले रुखो स्वरमा बोल्यो ।

मैले उसँग धेरै गलफती गरिरहनु आवश्यक ठानिनँ ।

दिउँसो लञ्चको समयमा मैले बिहानको ती दुई कामदारहरुलाई लाइनमा उभिएको देखें । उनीहरु काउण्टरतिर हेर्दै साथीहरुसँग भनिरहेका थिए, ‘यो बंगालीको आज अनुहारै हेर्न मन लाग्या छैन । कुन दिन जाठाको अनुहारै भत्काइदिन्छु ।’

बंगाली वेटर काउण्टरबाट भात बाँड्दै थियो । मतरकारी बाँड्दै थिएँ । त्यो दिनको मेनु मटन गे्रभी थियो । उनीहरु भातको थाली लिएर मनिर आइपुगेपछि मैले गे्भी सहितको मटन उनीहरुको बटुकोमा हालिदिएँ ।

‘और ग्रभी डालो ।’ पछि हुने एकजनाले अलि कडा स्वरमा मसँग हिन्दीमा बोले । सायद बिहानको बंगालीसँगको झोंक थियो त्यो र मलाई पनि उनीहरुले बंगाली नै ठानेका थिए ।

‘ग्रेभी त छैन । झोल चाहिँ छ ।’ मैले ठट्टापूर्वक उसलाई हेरेर नेपालीमा भनें ।

उसले जिल्ल परेर मलाई हे¥यो । र, सोध्यो– ‘नेपाली हो ?’

केही बोलिनँ । फिस्स हाँसिदिएँ ।

२९ अप्रिल २००५, शुक्रबार

प्रिय जुनमाया, दिउँसो ड्युटी जाँदै गर्दा हामीले काम गर्ने डाइनिङ हलको प्रवेशद्वारमा रहेका फूलका बोटहरु एउटै थिएनन् ।सबै उखेलिएर फ्याँकिसकेका थिए । अलि पर उखेल्न नभ्याइएका तर ओइलाएका केही फूलका झ्याँङहरु भने देखिन्थे । हिजोसम्म त्यही ठाउँहरु फूलहरुले कति रङिन लाग्थ्यो । कति जीवन्त लाग्थ्यो । त्यहाँ रङहरुको जीवन थियो र हावाले त्यसलाई अझै बैसालु बनाउँथ्यो । आउँदा जाँदा हामी ती फूलहरुको रङलाई आफ्ना आँखाहरुमा समेट्थ्यौं । आफ्ना हातहरुले त्यसको कोमलतालाई स्पर्श गथ्यौं । तर आज ती फूलहरुले पनि झर्नु पर्ने, ती बोटहरुले पनि ओइलाउनु पर्ने । समय पुगेपछि सबैले एकदिन नष्ट हुनु नै पर्ने, यो भौतिक अस्तित्वलाई छोड्नु पर्ने । यो विधिको विधान । …. ……

नोटः प्रिय पाठक मित्र, यसपछिका दैनिकीका बाँकी अंश फेला पार्न सकिएको छैन । यो दैनिकी लेखक जसले मेरो हातमा आफ्नो यो बेनाम पार्सल पठायो अहिले ऊ स्वयं अरबको खाडीमा बेपत्ता छ । पत्रिकामा यो बेनाम दैनिकी पढेपछि पक्कै पनि कसैले यो दैनिकी आफ्नो भएको दाबी गर्न आउने छ भन्नेमा म आशावादी छु ।

०००

क्रान्ति मर्दैन
‘तपाईंको नाम ?’

‘क्रान्ति ।’

उसले मलाई जिस्किएरै भन्यो कि साँच्चिकै उसको नाम क्रान्ति थियो, मैले फेरि दोस्रो पटक उसको नाम कहिल्यै सोधिनँ । यो जेलभित्र कहिल्यै पनि कसैलाई दोहो¥याएर उसको नाम सोधिदैन । यहाँ आउने धेरै कैदीहरु व्यवस्था विरोधीहरु हुन्छन् । पञ्चायतका विरोधीहरु । त्यसैले धेरै त उनीहरुका झुट्टा मुद्वाहरु हुन्छन् । राजाका मान्छेहरुलाई आफ्नो विरोधी थान्को लाउने ठाउँ भएको छ यो जेल । सजिलो छ । कसैलाई मन परेन कि चुक्ली लाइदियो । व्यवस्था विरोधी मुद्वा हालिदियो र जेल पठायो । गतिला र पढेलेखाहरु जेलभित्रै छन् । दुर्जनहरु बाहिर छन् र सज्जनहरु जेल लखेटिएका छन् ।

उसलाई केही दिनअघि मात्र यो जेलमा ल्याइएको थियो । उमेरले ऊ भर्खरको देखिन्थ्यो । मलाई काका भन्थे । फरासिला थिए । रमाइलो स्वभाव । बोली मीठो थियो । मेरो आठ वर्षसम्मको यो जेलको बासले पनि यहाँ आउनेहरु को के भनेर उनीहरुको बोली व्यवहारबाट उनीहरुको स्वभावको हेक्का राख्न सक्थें । उनीहरुको सामान्य जीवन व्यवहारको कुराले मलाई पनि उनीहरु जत्तिकै प्रशिक्षित बनाइसकेको थियो । उनीहरु जेलभित्र क्रान्तिका कुराहरु गर्थे । परिवर्तनका कुराहरु गर्थे । व्यवस्था फेर्ने कुरा गर्थे ।

म क्रान्तिकारी थिइनँ । उनीहरुझैं व्यवस्था फेर्ने कुरा गरेर जेल परेको पनि थिइनँ । परिबन्दले जेल पु¥यायो । अहिले लाग्छ परिबन्द आफै बन्दो रै’नछ । व्यवस्थाका टाठाबाठाहरुले बनाउँदा रै’छन् । सायद गाउँका पर्धानसँगको झगडा नहुँदो हो त यसरी म यो जेलभित्र हुन्नथे हुँला । ममाथि यो द्रोहको मुद्वा पनि हुँदैनथ्यो होला । अहिले पो यसो बुझ्छु यो सबै पर्धानको जालसाजी थियो ।

एकदिन मैले सोधें क्रान्तिबाबुलाई – ‘बाबुको  मुद्दा के नि ?’

किताब पढ्दै थिए उनी । मलाई हेरेर फिस्स हाँसे । उनको हाँसोले मलाई अप्ठ्यारो बनायो । मैले नसोध्नु पो पथ्र्यो कि झैं पनि एकमन लाग्यो । मनमा अड्याएर राख्न नसक्ने मेरा प्रश्नहरुले उनको पढाइलाई असहज बनायो कि झैं लाग्यो पछि ।

‘काकालाई म मेरो कथा भन्छु ।’ अलिबेरपछि उसले किताबलाई बन्द ग¥यो र मतिर फर्किएर भन्यो । यतिले नि मेरो मन रमायो । उसले हलुकापूर्वक आफूले बसिरहेको आसनलाई परिवर्तन गरे । र, पलेटी कसेर हातले भुइँमा टेका लाएर बसे । उसको अनुहारको मुद्रामा विगतको एउटा कथा खेल्यो ।

र मैले उत्सुकतापूर्वक उसलाई हेरिरहें ।

०००

‘रमेश ….. ’

परबाट आएको एउटा चर्को आवाज मेरो कानमा ठोक्कियो । र, त्यो आवाज पर पहाडको भित्तामा ठोक्किएर प्रतिध्वनित हुँदै तल मस्र्याङ्दीको किनारतिर हावामा लहराउँदै हरायो । जोत्दै थिएँ म । अडिएँ । र, त्यो आवाजलाई पछ्याएँ । कान्लाहरु फाल हान्दै निकै हतारले मतिर दौडदै आइरहेको त्यो आकृतिलाई अलि वर आइपुगेपछि मैले ठम्याएँ, विष्णु थियो । निकै अतालिएको देखिन्थ्यो । छिटो दौडन खोज्दा उसका खुट्टाहरु अल्झिएर ऊ लड्थ्यो । मैले असामञ्जस्यताले उसलाई हेरिरहेँ । र, अल्मलिएँ । मेरो अघिल्तिर सर्पले झैं फँणा उचालेर थुप्रै आशङ्काहरु उठिरहे  । आँखाअघि एउटा अनिष्ट खेल्यो ।

ऊ हस्याङ्ग फस्याङ्ग गर्दै मेरो अघिल्तिर आइपुग्यो र मेरो हातलाई च्याप्प अँठ्यायो । ऊ बेस्सरी अताल्लिएको थियो । उसको सास फुलिरहेको थियो । केही बोल्न सकिरहेको थिएन । उसको त्यो असामान्य अवस्थाले एउटा अज्ञात परिस्थितिको अप्रिय घट्नाको सङ्केततिर धकेल्योे मलाई । मैले उसलाई नियालें ।

र, हठात् सोधें– ‘के भो ?’

‘चन्द्रमाथि ……….. गुण्डाहरुको आक्रमण ……. ।’ उसको सास अड्कियो । उसले एकसासले बोल्न पनि सकेन । बोल्नलाई जोड गर्दै थियो, खोकी निस्क्यो ।  उसको अनुहारमा भय स्पष्ट देखिन्थ्यो । शरीरभरि दर्फरिएका चोटहरु थिए । शरीरका केही ठाउँहरुमा गहिरा घाउहरु देखिन्थे । रगताम्मे । हेर्दा ती सामान्य चोटहरु लाग्दैनथे । कसैेले हतियारले हिर्काएजस्तो लाग्थ्यो । उभिनै पनि गाह्रो हुने गरी ऊ धर्मराइरहेको थियो । उसका ओंठहरु थर्थराइरहेका थिए । आँखामा भयभन्दा पनि बढी आक्रोश र उत्तेजना देखिन्थ्यो उसको ।

‘तल बजारमा … गुण्डाहरुले …. चन्द्रको हत्या ।’ उसले अरु बोल्न खोज्यो ।

चन्द्रको हत्याको यो अप्रत्यासित खबरले म झस्किएँ । मैले विष्णुलाई हेरिरहें । निकै हतास देखिन्थ्यो ऊ । एउटा गहिरो शुन्यताले एकैछिन हामी दुवैलाई छोप्यो । सयौं बिच्छीहरुले एकैचोटि खील गाडेझैं एउटा विक्षिप्ततामा मैले विष्णुलाई बेस्सरी समातेँ । र, हलोलाई ढुङ्गाको एउटा कापमा अड्काएर विष्णु र म एउटा आवेगले हान्निर्यौ बजारतिर । बजार पूरै बन्द थियो । सबै पसल र घरका ढोकाहरु बन्द थिए । घरका झ्याल समेत कतै खुलेको देखिँदैनथ्यो । सडक सुनसान देखिन्थ्यो । मान्छेहरुको उपस्थिति कतै पनि थिएन । पूरै  बजार आतङ्कमा डुबेको थियो । भयङ्कर आँधिले भर्खरै मडारेर गएपछिको एउटा श्मशानझैं देखिन्थ्यो बजार । संत्रस्त । केही क्षण अघि गुण्डाहरुको जत्थाले यो बजारमाथि गरेको ताण्डव बुझ्न अब मलाई बेर लागेन ।

हामी चन्द्रको पुस्तक दोकानतिर दौडियौं । चन्द्रलाई खोज्नु थियो । र, उसको अज्ञात अवस्थाको बारेमा खोजी गर्नु थियो । बजारमा हामीलाई हिँड्न सहज छैन भन्ने मैले बुझें । बजारको यो परिस्थिति हाम्रा लागि सुरक्षित छैन भन्ने पनि मलाई लाग्दै थियो । नभन्दै एउटा घुम्तीनिर आइपुग्दा पछाडिबाट हान्निँदै आएको एउटा जीपले घच्याक्क हामीलाई बाटो छेक्यो । एउटा अनपेक्षित दुर्घटनाले गाडीमा ठोक्किनबाट जोगिएर हामी पर उछिट्टियौं । र, भुइँमा बजारियौं । भुइँमा बजारिएको चोटले म रनाहामा परें । आँखाहरु तिरमिराए । जिउ शिताङ्ग बन्यो । एउटा कालो अँध्यारोले मेरो आँखालाई विस्तारै छोप्दै लग्यो । र, मलाई लाग्यो ऐँठनजस्तो एउटा कालो अज्ञात भारले म विस्तारै थिचिँदै छु । र, त्यो भारले थिचिनबाट जोगिन मैले बेस्सरी बल गरेर आफूलाई जमिनबाट जुरुक्क माथि उठाएँ र सबै शक्तिलाई केन्द्रित गरेर पाइतालालाई दरो गरी जमिनमा उभिएँ । जीपबाट उठेको एउटा अट्टहासले मलाई वरिपरिबाट घेरिरह्यो ।

‘एई हो ।’ गुण्डाहरुको त्यो अज्ञात समूहबाट एउटाले मतिर इङ्गित ग¥यो । मानौं ऊ मलाई राम्ररी चिन्छ । ऊ सुराकी हो र ती गुण्डाहरुलाई उसले मेरो सुराकी दिइरहेछ ।

मैले विस्तारै गुण्डाहरुको त्यो जत्थालाई नियालेँ । कोही हातमा छुरा खेलाइरहेका थिए । कसैले साइकलको चेन समाइरहेका थिए । कसैसँग लाठी थिए । कोही फलामका रडहरु बोकिरहेका थिए । मानौं त्यहाँ मेरो हत्याका लागि तिनीहरु उद्यत छन् । र, उन्मादले तिनीहरु मलाई घुरिरहेका छन् । तिनीहरु रक्तपिपासु हुन् जसले पूरै बजारलाई आतङ्कको छायाँमा पारेर मेरो हत्याको एउटा अर्को उत्सव खेल्न खोज्दै छन् । तिनीहरु मलाई घेरा हालेर अझै चर्को अट्टहास गर्दै थिए । तिनीहरुका मुखबाट आएको रक्सीको चर्को दुर्गन्धले मेरो वरिपरिको पूरै वातावरणलाई छोपेको थियो ।

‘अइ, बजाइहाल न ।’ जीपबाट आएको एउटा चर्को स्वर थियो ।

जिरिङ्ग भएर आङ फुल्यो । एउटा भयावह बनेर मृत्यु मेरो सामुन्ने थियो । र, मलाई त्योसँग सामना गर्नु थियो । मैले बलियो गरी आफ्नो मुठ्ठीलाई कसें । मैले कायरता बोकेर तिनीहरुबाट भाग्न चाहिनँ । मलाई थाहा थियो मैले भागेँ भने पनि तिनीहरुबाट लखेटिएर म मारिनेछु । र, नभाग्दा तिनीहरुसँग प्रतिरोध गरेरै मर्नेछु । ‘कम्तिमा पनि यो मेरो एउटा साहसको मृत्यु त हुनेछ । तिनीहरुका एक दुईजनालाई पनि त जिउँदो छाड्दिनँ’, मनले निश्चय ग¥यो ।

‘यल्लाई नि आजै मर्न लेखेछ ।’ एउटाले भन्दै थिए ।

‘विचरा ।’ अर्कोले व्यङ्ग्यपूर्वक मतिर हेरेर मुस्कुरायो ।

‘त्यो काँडेलौरोले यसको शरीर छिल्न ओइ ।’ अर्को भन्दै थिए ।

‘एकैचोटि चाँहि नहान् है ।’

‘थिल्ल्या, थिल्ल्या ।’

तिनीहरु चारैतिरबाट चर्को कोलाहल गरेर मलाई आतङ्कित बनाउँदै थिए । र, शारीरिक र मानसिक रुपमा मलाई थकाउँदै र कमजोर बनाउँदै थिए । त्यसैबेला पछाडिबाट एकजनाले मलाई बेस्मारी लात्तो हान्यो ।

‘कायर कुकुरहरु, सक्छौ भने अगाडि छातीमा आएर मलाई लात्तो हान ।’ म चिच्याएँ ।

क्रोधले मेरा दुवै मुठ्ठीहरु उचालिएर तिनीहरुतिर उठे । तिनीहरुले एकैचोटि ममाथि खनिएर चेन र लाठीहरुले मलाई पिट्न सुरु गरे । मैले तिनीहरुसँग प्रतिरोध गरिरहें । तिनीहरुलाई छेक्ने र प्रतिरोध गर्ने मेरा सबै उपायहरु कमजोर हुँदै थिए । र, म शिथिल बन्दै थिएँ । ठिक यसै समय माथि डाँडाबाट मान्छेको कोलाहल सुनियो । त्यो जुलुुुस थियो । मान्छेहरु नारा लगाउँदै थिए । र, उनीहरु तल बजारतिर ओर्लिरहेका थिए ।

‘सालेहरु आइपुगे !’ एउटाले भन्यो ।

‘गाडी छिटो स्टार्ट गर । तेरा बाजेहरु आइपुगे ।’ हतासले तिनीहरु गाडीतिर कुदे ।

एकैछिनमा जीप सडकको धुलो उडाउँदै त्यहाँबाट कुद्यो । म झटपट उठें । विष्णुको ख्याल आयो । ऊ केहीपर अझै निश्चल भएर लडिरहेको थियो । बोलाएँ । झक्झक्याएँ । ऊ बेहोस थियो । त्यतिन्जेलसम्म जुलुस हामी नजिकै आइसकेको थियो । जुलुसको अगाडि दिनेश र दिलीप थिए ।

‘के भो ?’ दिनेश अतालिएर मेरो नजिकै आइपुग्यो ।

‘बेहोस छ ।’ मैले छोटो जवाफ दिएँ ।

उसले एकपल्ट सबैतिर दृष्टि दौडायो र सोध्यो– ‘चन्द्र खोइ ?’

‘थाहा छैन । हामी पनि उसलाई खोज्दै यहाँ आइपुगेका थियौ । एक्कासि गुण्डाहरुले हामीलाई घेरा हाले ।’ मैले उसलाई घटनाको वास्तविकता बताएँ र भनें, ‘यी सबै घटना पछि बताउँला । पहिले त चन्द्रलाई खोज्नु प¥यो ।’

विष्णुलाई लिएर केही साथीहरु नजिकैको मेडिकलतिर दगुरे । हामी चन्द्रलाई खोज्दै पुस्तक पसलतिर लाग्यौं । दोकानका सबै सामानहरु तोडफोड गरिएका थिए । सोकेस र दराजका सिसाहरु फुटालिएका थिए र सामानहरु निकालेर फ्याँकिएका थिए ।

‘कहाँ लगे होलान् ती पिपासुहरुले चन्द्रलाई ? कतै हत्या गरेर फ्याँकिदिए कि ?’ दिलीपले शङ्का व्यक्त ग¥यो । सबैको आँखामा चिन्ता र आक्रोश र थियो । त्यतिन्जेल बजारका पसलहरु छिटफुट खुले । बजार अब विस्तारै आक्रोशमा बदलिँदै थियो र त्यहाँ मान्छेका भीडहरु जम्मा हँुदै थिए । चन्द्रलाई खोज्ने क्रम चलिरह्यो । भीड विस्तारै जुलुसमा परिणत भयो र नाराबाजीहरु शुरु भए –

‘गुण्डागर्दी – बन्द गर ।’

‘नालायक सरकार– मुर्दावाद ।’

‘हत्यारालाई – कारवाही गर ।’

‘हाम्रो साथी – फिर्ता दे ।’

नाराबाजी गर्दै जुलुुस अगाडि बढ्यो । जुलुस चोकनिर पुगेपछि अचानक प्रहरीको भ्यान आएर हाम्रो अघिल्तिर घच्च्याक्क रोकियो । बीस पच्चिस जना हतियार बोकेका प्रहरी भ्यानबाट ओर्लिएर जुलुसलाई छेक्न अगाडि बढे । नारा झन् चर्कियो । प्रहरीले जुलुसको भीडलाई रोक्न सकिरहेको थिएन । र, भीड प्रहरीको अवरोधलाई धकेल्दै अगाडि बढ्दै थियो । भीड शान्त नहुने देखेपछि प्रहरीका नाइके आत्तियो र उसले थप प्रहरी फोर्सको माग ग¥यो । एकैछिनपछि प्रहरीको थप फोर्स बोकेको एउटा ट्रक आइपुग्यो र असी सय जनाको सशस्त्र प्रहरीहरु ट्रकबाट ओर्लिए ।

‘ठोक ……।’

प्रहरी अधिकारीको एउटा आदेशसँगै प्रहरीका असङ्ख्य लाठीहरु भीडमाथि बज्रन थाले । छिनभरमै बजार एउटा अर्को युद्धग्रस्त क्षेत्र बन्यो । भीडले प्रहरीका लाठीहरुसँग सामना र प्रतिरोध गरिरहे । प्रहरीका अश्रुग्याँसहरु चले । अश्रुग्याँसको धुवाँले पूरै बजारलाई छोप्यो । आक्रान्त बन्यो भीड र अश्रुग्याँसलाई छल्न भीड यता र उता छरियो । मैले भीडलाई सम्हाल्न एउटा सानो ढिस्कोमाथि उभिएर आफ्नो हातलाई हल्लाएँ । पछाडिबाट मेरो पिठ्युँमा एउटा बलियो लाठी बज्रियो र हलचल गर्न नसक्ने गरी म बेस्सरी भुइँमा बजारिएँ । दुईतीन जना प्रहरीहरुले मलाई बेस्मारी अँठ्याए र मलाई घिसार्दै ट्रकमा कोचे । अरु धेरै साथीहरु पनि समातिए ।

हाम्रो गिरफ्तारी र जुलुसको भीडको उत्तेजनाले हामीलाई धेरैबेर त्यहाँ राखेनन् र हामीलाई बोकेर ट्रकलाई त्यहाँबाट हिँडाइयो । साँझ पर्दा सदरमुकामको जिल्ला प्रहरी कार्यालयको अघिल्तिर चौरमा हामीलाई ओरालियो । गोदामजस्तो एउटा चिसो साँघुरो कोठाभित्र लगेर हामीलाई  थुनियो । हाम्रो लागि त्यो साँघुरो कोठा सजिलो गरी बस्न सक्ने अवस्थाको समेत थिएन । पालैपालो गरी हामी रातभरि कोही बस्ने र कोही उभिने गरिरह्यौं । भोकै रह्यौं । पानी समेत दिइएन । तिर्खाले हामीलाई रातभरि अँठ्याइरह्यो । थकाइ र निद्रा उस्तै थियो । कोठामा बत्ती थिएन र बाहिर कतैबाट पनि त्यो कोठासम्म आउने उज्यालो थिएन । अँध्यारोमा बाहिर मान्छे खोकेको र खस्र्याकखुसुक आएको आवाजले बाहिरबाट प्रहरीहरु हामीलाई कडा निगरानी गरिहेका छन् भन्ने हामीलाई लाग्यो ।

भोलिपल्ट डिएसपी कार्यालय अघिको चौरमा हामीलाई उभ्याइएको थियो । बाहिर जेठको मध्यान्हको चर्को घाम थियो । र, भित्र सोधपुछ कोठामा सोधपुछ चल्दै थियो । डिएसपी एकएक गरेर बोलाउँदै सोधपुछ गर्दै थियो । उसको अभद्र गाली बाहिरसम्म सुनिन्थ्यो । उसका लाठीहरु यातनापूर्वक साथीहरुको जिउमाथि बर्षन्थ्यो । र, साथीहरुको मुर्छामा डुबेको स्वर बाहिरसम्म आउँथ्यो । त्यो चर्को घाम हाम्रो निम्ति यसै पनि एउटा कठोर यातना थियो । भित्रबाट आएको साथीहरुका यातनाका चीत्कारहरुले बाहिरका साथीहरु आक्रोशित देखिन्थे ।

‘ओ पुलिस दाइ, पानी चाहियो ।’ एकजना साथी बोल्यो ।

अलिपर सियाँलमा उभिएर हामीलाई निगरानी गरिरहेको एकजना पुलिस करायो, ‘अइ, त्यसले पानी मागेको होइन ? त्यसको मुखमा एकपल्ट मुतिदे त ।’

‘पातकीहरु ।’ त्यसका शब्दहरुले असह्य भएपछि अर्को साथी मुर्मुरियो ।

‘यो चर्को घाममा हामीलाई मार्न उभ्याएको ?’

‘अइ, त्यसको ढाँडमा खुस्किने गरी हान न । त्यो किन करा’को ?’

अलि पर उभिएको प्रहरीको त्यो आदेशको स्वरलाई पछ्याउँदै सामुन्ने रहेको प्रहरीको कटबाँस अनायासै साथीको तिघ्रामा बेस्मारी बज्रियो । साथी इन्तु न चिन्तु भएर थचक्क बस्यो । नजिकैको साथीले प्रहरीको लाठी खोसेर पर हुत्याइदियो ।

‘तिमीहरुसँग मान्छेको दया छैन ?’ ऊ करायो

निकैबेरसम्म त्यहाँ प्रहरीसँगको हाम्रो छिनाझपटी चलिरह्यो । हामीमाथि लाठीहरु प्रहार भए । एकैछिनपछि एकजना साथी उभिँदाउभिँदै डङ्ग्रङ्ग भुइँमा लड्यो । सायद चर्को घामको यातनालाई उसले सहन सकेन र ऊ बेहोस भएर लड्यो । दुईजना साथीहरुले उसलाई बोकेर सियाँलतिर लगे ।

‘पानी ल्याऊ, पानी ल्याऊ ।’ साथीहरु भन्दै थिए ।

केही प्रहरीहरु उनीहरुनिर आए ।

‘अइ जा, पानी ल्याइज ।’ एउटा प्रहरीले अर्कोलाई आदेश ग¥यो ।

‘तिमीहरु लाइनमा जा ।’ उसले साथीहरुलाई फेरि कडा स्वरमा भन्यो । साथीहरुलाई पूर्ववत् उभिइरहेको देखेर ऊ फेरि चिच्यायो– ‘सुन्दैनस् ?’

त्यो पूरै दिन असह्य यातनाले बित्यो । बेलुकी हामीलाई दुई छुट्टाछुट्टै समूहमा बाँडियो । एउटा समुहमा कृष्ण, दिलीप र म लगायत बाह्र जना थियौं । अँध्यारो खसेपछि हामीलाई हिजोकै त्यो साँघुरो कोठाभित्र पठाइयो । बाँकी साथीहरुलाई कहाँ पठाइए थाहा भएन । एक महिनासम्म त्यो कोठा हाम्रो निम्ति यातनाको कालो कोठा बनिरह्यो । कतैबाट अलिकति बाहिर चियाएर हेर्ने छिद्रसम्म पनि त्यहाँ हामीले पाएनौं । हाम्रो लागि प्रायः अँध्यारोमा खाना ल्याइन्थ्यो । खाना खाइन्जेल सानो टुकी बल्थ्यो । खाना खाइसकेपछि टुकी निभ्थ्यो ।

एकदिन दिउँसो हाम्रो निम्ति त्यो कोठाको ढोका खुल्यो । हामीलाई त्यहाँ त्यसरी एक महिना राखिएपछि हामीलाई अदालत लगिएको थियो । तर आँखामा कालो पट्टी बाँधेर समानताको तराजु बोक्ने न्यायालयको त्यो मूर्तिले हाम्रो शरीरका नीलडामहरुलाई देख्न सक्ने कुरा पनि थिएन । कानुन राजाको, न्याय राजाको र शासनप्रणाली राजाको । हामी यो राज्यमा राजाको विरोधी थियौं । अनि किन सुनुवाइ हुन्थ्यो हाम्रो चीत्कारको ? हामीलाई दुई वर्षको कैद सजाय सुनायो अदालतले । हामीमाथि विप्लवको मुद्वा थियो । शान्ति सुरक्षाको मुद्वा थियो ।

हामीलाई जेल चलान गर्ने अदालतको आदेश थियो र हामीलाई प्रहरीको भ्यानमा राखिएको थियो । तर, अदालत बाहिर एकत्र मान्छेको भीडबाट भने चर्का नाराहरु उठिरहेका थिए । हामी बसेको प्रहरी भ्यान भीडलाई छिचोलेर अघि बढ्यो । भ्यान भीडबाट निकै पर पुगिसक्दा पनि  नारा गुञ्जिरहेका थिए ।

‘झुट्टा मुद्दा – खारेज गर ।’

‘हत्यारा सरकार – मुर्दावाद ।’

‘निर्दोष बन्दी – रिहा गर ।’

पछाडि फर्किएर कृष्ण भन्दै थियो – ‘साथीहरु, हेर्नोस् त क्रान्ति कहिल्यै मर्दैन ।’

हामी सबै एकपल्ट मुस्कुरायौं । र, न्याय र अन्यायको यो कुरुमैदानमा फेरि पनि भेट हुने सङ्कल्प गर्दै हामीले भीडतिर बिदाइका हातहरु हल्लायौं ।

००००

ऊ बोल्दाबोल्दै एकैछिन अडियो । र, उच्छवास लियो ।

क्रान्तिबाबुको अनुहारमा दृढतापूर्ण हाँसो थियो यतिखेर । उसको आँखामा कतै पनि अलिकति विचलन थिएन । क्रान्तिप्रतिको एउटा दृढ विश्वास थियो उसको । र, एउटा बलियो आस्था पनि । जेलभित्रका एकांकीहरुले कहिल्यै पनि उसलाई हतास बनाएन ।

‘ …. र, त्यसपछि काका थुप्रै जेलहरु सरुवा भएँ । र, आज म यहाँ छु तपाईहरुसँग ।,’ उसले भन्यो । एकैछिन ऊ मौन रह्यो । र, फेरि भन्यो, ‘हामीलाई अट्ने जेल पनि भएनन् । प्रशासनले हामीलाई कहिल्यै एउटा जेलमा राख्न चाहेनन् । हामी एउटै जेलमा बस्नु उनीहरुलाई डर हुन्थो ।’

र, ऊ हाँस्यो ।

एकदिन बिहानैदेखि क्रान्तिबाबु देखिएन । बिरामी पनि होइन । ऊ यहाँ खासै बिरामी भएर सुतेको थाहा छैन मलाई । ऊ अबेलासम्म सुत्ने मान्छे होइन । ऊ सुत्ने कोठामा पनि ऊ थिएन । दिउँसोसम्म पनि जेलभित्र उसको उपस्थिति कतै देखिएन । बोली पनि कतै सुनिएन । मेरो मनले उसको अनुपस्थितिमा एकप्रकारको रिक्त अनुभव गरिरह्यो । पछि मात्र थाहा लाग्यो, अघिल्लो रात नै उसलाई जेल सरुवाको लागि यहाँबाट लगिएछ ।

उसको जेल सरुवाको खबरले मेरो मन बोझिलो बन्यो । मध्यरातको उसको जेल सरुवाले मलाई छटपटी खेलाइरह्यो । खै ! किन मेरो मन खुलदुल खुलदुल बनिरह्यो । एउटा अपशकुनजस्तो आज रातिको सपनामा देखेको कालो आकाश मडारिएर मेरो आँखा अघिल्तिर खेलिरह्यो । आजको दिन जस्तो नरमाइलो मलाई कहिले लागेको होइन । साँझ छिट्टै ओछ्यानमा पसेर ढल्किरहें । रेडियोले साँझको समाचार फुक्यो– ‘क्रान्ति नाम गरेको बन्दी हिजो साँझ जेल सरुवा गर्ने क्रममा हिरासत तोडेर भाग्दा प्रहरीको गोली लागि मृत्यु ….. ।’

समाचारले खङ्ग्रयाङग खुङ्गु्रङ्ग पा¥यो मलाई । एउटा बलियो भूकम्पले जेलको म बसेको छत भत्किएर ममाथिबाट मलाई सयौं भारहरुले एकैचोटि तल थिचिइरहेंझै भान भइरह्यो । सास लिन पनि अप्ठ्यारो बनाइरह्यो मलाई । एउटा ऐँठन आएर बस्यो छातीमाथि । औडाहा उठ्यो छातीभित्र । छटपटीहरुले मनलाई अशान्त बनाइरह्यो । मन थिर हुन सकेन । एउटा भक्कानो छातीभित्र उठिरह्यो । कतिखेर आँखाबाट आँसु छुट्यो थाहा भएन । र, अँध्यारोमा एक्लै बर्बराइरहें –

‘क्रान्ति मर्दैन ।’

‘अहँ, क्रान्ति मर्दैन ।’

२०४९

साप्ताहिक मातृभूमि

बन्दी बुबालाई पत्र
बिहानैदेखि आकाश धमिलो छ । बाथको रोगीको राम्ररी खुल्न नसकिरहेको ओँठको हाँसोजस्तो यो बिहान । रातभरिको अनिदोले मुर्झाएको अनुहारमा खेलिरहेको कालोपोतोजस्तो घुर्मैलो छायाँ । जेलका सेन्ट्री बसेका पर्खालहरुलाई छोएर भागिरहेको कुहिरो । क्षणभरमै दर्रर्र दर्कन्छ पानी । र, फेरि क्षणभरमै थामिन्छ आकाश । जेलका पर्खालहरुले मात्र होइन, कुहिरोका पातला पर्दाहरुले पनि मन कैद छ यतिबेला ।

साँघुरो छ जेल । जेलका चिसा छिँडीहरुजस्ता साँघुरा छन् बन्दीहरुलाई राखिने यी कोठाहरु । मुस्किलले पाँच सात जना अट्ने यो एउटा कोठा हामी तेह्र जना बन्दीहरुका लागि अहिले अर्को यातनागृह बनेको छ । चिसो बतासले मडार्दै ल्याएको नजिकैको पाइखाना र ढलको दुर्गन्धले नाकलाई झनै अरु असह्य बनाउँछ ।

म हातमा एउटा साप्ताहिक पत्रिका लिएर पढ्न बसेको छु । घरि घरि नाकमा बेस्मारी ठोस्सिन आइपुग्ने चर्को दुर्गन्धले मेरो पढ्ने क्रमलाई बिथोलिदिन्छ । र, म नाक छोपेर बस्छु । सासलाई थुन्छु । कम्बलले गुटुमुटिएर फेरि म त्यो परको फलामका बारहरुले छेलिएर बसेको आगन्तुक कक्ष बाहिर हेर्छु, जहाँबाट भर्खरै ड्युटीका प्रहरीले ट्वाङ्, ट्वाङ् घण्टी हिर्काउँछ ।

सधैं दोहोरिरहने यही एउटै क्रम ।

र, यो दुर्गन्धलाई वर्षौदेखि यातनापूर्वक झेल्दै आइरहेको मेरो जेलजीवन !

कोठाभित्र कोलाहल छ । र, फेरि पनि एकतमास छ वातावरण । सबैका आँखाहरुले शुन्यता र उदासी पोखिरहेछ । सबैको मन बिरानो छ । एक्लो र उद्धिग्न । एक किसिमको खालीपन । कहिलेकाहीँ मनका कतिपय उस्तैउस्तै मिल्दाजुल्दा गाँठाहरुलाई एकै ठाउँ फुकाएर हामी सामुहिक रुपमा हाँस्ने गर्छौ । हाम्रो हाँसो पनि यो मुलुकको प्रशासनलाई मन पर्दैन । जासुस लाग्छ ।

यहाँ धेरै किसिमका थुनुवाहरु छन् । बन्दीहरु छन् । कसैका चोरी मुद्दाहरु छन् । कोही हत्या अपराधमा सजाय काटिरहेका छन् । धेरैजसोका राजनैतिक मुद्दा छन् । राजद्रोही । सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा लगाएर यहाँ राखिएका छन् । राजनीतिमा समातिएर यहाँ ल्याइएकाहरु भने अलि बढी बहिर्मुखी छन् । विद्रोही स्वभावका । उनीहरुका जीवनमुखी कुराहरु हुन्छन् ।

जेल भनेको त राज्यको अन्याय र विभेदपूर्ण शासनको प्रतिच्छाया झैं लाग्छ । एउटा न्यायपूर्ण राज्यभित्र त जेलको अस्तित्व नै रहँदैन सायद । राज्यले सुशासन दिने हो भने किन चाहियो जेल ? राज्यको असमान र विभेदपूर्ण व्यवहारले नै समाजमा विखण्डन पैदा गरिदिएको छ । अनि त्यही विखण्डनले समाजलाई बाँडिदिएको छ– दुई चिरा पारेर । ऊँचनीच, ठूलोसानो, छुतअछुत, बलिया र निर्धा राज्यको शासनप्रणाली बनेको छ । अनि त्यहीँबाट सुरू भएको छ राज्यको विभेदकारी व्यवहार । बेरोजगारी, लुट, चोरी, डकैती, हत्या र नागरिकको असुरक्षा राज्यको दैनिक सूची बनेको छ । कानुनले राज्यको पहँुचवालाहरुलाई छेकबार गर्दैन । जेल त निर्धाहरुलाई हो । निमुखालाई हो ।

एउटा एकाग्रताबाट हटेर फेरि पत्रिका पढ्छु । आँखाहरु सर्सर्ती कुद्छन् पत्रिकाका समाचार पृष्ठ र कोलमहरुमा । एउटा उत्सुकताले एउटा कोलमको शीर्षकमा आँखाहरु फेरि टक्क अडिन्छन् एकैछिन । त्यहाँ लेखिएको थियो – ‘बन्दी बुबालाई पत्र ।’

शीर्षक आँखामा आएर बस्छ । चिठीको शैलीमा लेखिएको थियो त्यो ।

पढ्छु, …….

प्यारो बुबा,

आज फेरि तपाईंका सम्झनाहरु मेरा आँखाअघिल्तिर खेलिरहेका छन् । र, म यो एकान्तमा तपाईंका सम्झनाहरुसँग एकालाप गर्दै छु । धेरै दिनदेखि तपाईंको सुर्ताले छोइरहेछ । नजिकै हुनुभएको भए भन्नुहुन्थ्यो– ‘सुर्ता नगर ।’ मेरो गालामा स्नेहले चिमोट्दै तपाईं सधैंझैं भन्नुहुन्थ्यो होला, ‘यी पर्खालहरु पनि हाम्रा लागि एकदिन खुल्ला हुनेछन् ।’ तर, सुर्ताले किन छाड्थ्यो ! जस्तै लाग्दैन भने पनि सुर्ताले आँखाहरुबाट चिहाउँथ्यो । कहिले आमाका आँखाहरुबाट । कहिले हजुरबाका आँखाहरुबाट । भाइबैनीका आँखाहरुले सधैं एउटा रिक्तता पोख्छ । घरभित्र जब अभावको बल मिच्याइँ चल्थ्यो अनि सुर्ता त बढ््थ्यो नै । तपाईंलाई जेल सरुवा गरेपछि झन् त्यो सुर्ता अरु बढेको छ । साल बितेछ, तपाईंसँग भेट टाढा भएको । निद्रामा सधैं बर्बराइ मात्र रहनुहुन्छ हजुरबा, ‘नानी तेरा बा आएजस्तो छ, ढोका खोली दे त ।’ आजकल आँखा उतिसाह्रो देख्नुहुन्न । टाढाको देख्न छाड्नु भएको छ । बेलुकी कोही घरको छेउबाट हिँड्यो भने सोध्नुहुन्छ, ‘को ? कान्छा हो ?’

कसैले स्वर दिए चिन्नुहुन्छ ।

‘ए….. !’ हजुरबाको एउटा उदास स्वर पोखिन्छ पिँढीमा ।

म सोध्दिनँ बुबा, तपाईं त्यो जेलभित्र आराम हुनुहुन्छ ? कि हुनुहुन्न ? यो देशको कुशासनको जञ्जीरले बाँधिएर एउटा सुदुर भूगोलको जेलभित्र तपाईंका यी दिनहरु कसरी सुखपूर्वक बित्न सक्छन् ! तपाईंले यातनापूर्वक बिताइरहनु भएका यी दिनहरुलाई म कल्पनासम्म पनि कसरी गर्न सक्छु । कहालिन्छ मन । शासकहरु साँच्चै क्रूर हुन्छन् बुबा । तर जुनसुकै एकान्तवासको सजायले पनि तपाईंको आस्थालाई गाल्न सक्दैन त्यो मलाई थाहा छ । …….

चिठीले भावुक बनायो मलाई । छोरीले बुुबालाई लेखेको चिठी थियो । अनायासै छोरीलाई सम्झिरहेँ । छोरीको एउटा सग्लो आकृति चिठीका हरफहरुसँगै लुटुपुटिएर आँखामा खेलिरहे ।

चिठीलाई फेरि पढ्छु– एउटा तन्मयतामा ।

‘ ……..यो बीसौं शदीको अन्त्यतिर आइपुग्दा पनि हामी उही मध्ययुगीन समयको बर्बर छायाँमुनि बाँच्न विवश छौं । देश लुट्नेहरुकै रजाइँ छ यहाँ । लुट्नेहरुकै शासन चल्छ । सामन्तहरु देश चलाइरहेका छन् । लुटाहाहरु शासक बनेका छन् । बन्दुकले देश चल्छ । र, नागरिकको छातीमाथि शासकहरु सङ्गीन धस्छ । दिनदहाडै महिलाहरु लुटिन्छन् र नदीका किनारहरुमा फ्याँकिन्छन् । शासकहरु पहिले लाहुर भर्तीकेन्द्रहरु खोल्थे र नेपाली छोराहरुलाई विदेशी भूमिको युद्धमा होम्थे । अहिले उनीहरुलाई अरब मुलुकहरु लखेटिरहेका छन् र राज्यमा बस्नेहरु उनीहरुका रेमिटेन्स खाइरहेका छन् । जसले यो मुलुकको परिवर्तनको लागि लडे तपाईं लगायतका ती योद्धाहरु अझै पनि जेलका कैदी बनिरहेका छन् ।

बुबा, भर्खरै देशमा एउटा आन्दोलन चल्यो । धेरैले बलिदान दिए परिवर्तनका निम्ति । सहिदको रगतले आहाल बन्यो देश । देशले प्रजातन्त्र पायो रे भन्छन् । उही सामन्तहरुलाई सिरानमा हालेर प्रजातन्त्रको यो कस्तो परिभाषा आयो कुन्नि ! यो कस्तो उल्लासहीन प्रजातन्त्र हो ? सत्ता उही छ । तानाशाहहरु उही छन् । अन्याय र अत्याचार उस्तै छ । विवेकहीनहरु सरकार चलाउँछन् । हामी नारीहरुले त झोलामा खुर्सानीको धुलो र खल्तीमा ब्लेडका टुक्राहरु बोकेर आत्मरक्षाका लागि हिँड्नु पर्ने रे । यो देशको प्रधानमन्त्रीले हामीलाई यसै भन्छ । कति निर्लज्ज छ यो देशको सरकार ! जब यो देशको कार्यकारी प्रधानमन्त्री यो देशको नागरिक महिलामाथि नै यति मजाकले बोल्छन् भने हामीले कहाँनिर खोज्ने मुलुकको न्याय र कानुन प्रणाली ? के हामी ठट्टाका पात्रहरु मात्र हौं ? हाम्रा विषयहरु सधैं ठट्टाका विषयहरु मात्र बन्छन् ? हाम्रा आवाजहरुप्रति कसैले संवेदनशील बन्नुपर्दैन ? के हामीमाथि सधैं यसरी नै हँसीमजाक चल्छ । के प्रधानमन्त्रीले यस्ता गैरजिम्मेवार अभिव्यक्तिप्रति जवाफदेही बन्नु पर्दैन ? हामी महिलाले यो देशको प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ भनेर भन्यौं ।

हामी महिलाको अवस्था झनै कमजोर र दयनीय बन्दै छ । देशको आधा धर्ती ओगटेका हामी महिला भन्छौं । राज्यले महिलाको समान अधिकारको कुराहरु गर्छ । फेरि पनि हामी दोहोरो शोषणमा छौं । पहिलो शोषण राज्यले गर्छ । दोस्रो शोषण धर्म र संस्कृतिको नाउँमा परिवारले गर्छ । अझै पनि म सम्झन्छु तपाईंको एउटा किताबबाट पढेको शास्त्रको वाक्यांश –

“पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने,

पुत्रो रक्षति वाद्धक्ये, न स्त्री स्वातन्त्रय म¥हती ।”

अर्थात, नारीले सानो छँदा बुवाको, विवाहअघि दाजुभाइको, विवाहपछि लोग्नेको र वृद्ध अवस्थामा पुत्रको अधीनमा रहनुपर्छ । अर्थात स्त्री जातिले कहिल्यै स्वतन्त्र हुनु हुँदैन । स्त्रीले सधैं दासी भएर रहनू । ओहो ! धर्मको यो विषसमान अहङ्कारले घरभित्रै हामी महिलालाई कस्तरी डसिरहेछ । किन दिनदहाडै जलिरहेका छन् महिला ? किन महिलालाई दिसा खुवाएर सामाजिक बहिष्कार गर्छ समाज ? र, कसले चलाउँछ महिलाविरुद्धको यो विभेदकारी कानुन ? समाजको आवरणमा लुकिरहेका विषधारीहरु फँणा उचालेर किन ‘स्याँक्क’ ‘स्याँक्क’ डस्छ हामीलाई ?

प्यारो बुबा,

धेरै समयपछि तपाईंलाई यो चिठी लेख्दै छु । सधैं तपाईंको अगाडि सरेर बोल्नै पनि धक मानेर लजाउँदै आमाको पछाडि लुकी हिँड्थें म । प्रायः घरबाट टाढा रहेर कमै घरमा उपस्थिति हुने तपाईंका पदचापहरु मलाई नौलो लाग्थ्यो । प्रायः घरभित्र तपाईंको उपस्थिति राति हुन्थ्यो । रातिको धमिलो उज्यालोमा मेरो अर्धनिद्रामा तपाईंको अनुहार खेल्थ्यो । बिहान ब्युँझदा तपाईं हुनुहुन्नथ्यो । सपनाजस्तै लाग्थ्यो मलाई । कहिलेकाहीँ आमाको सुक्सुकाइरहेको आवाज र तपाईंको गुन्गुनाइरहेको मसिनो स्वर मेरो निद्रामै कानमा खेल्थ्यो । बिहान धेरैबेरसम्म पनि त्यो स्वर मेरो कानमा गुञ्जिरहेको आभास हुन्थ्यो । मैले जहिल्यै पनि अँध्यारोमा तपाईंको मुहार खोज्ने प्रयास गरें । तर आज लाग्दैछ तपाईं मेरो आदर्श बुबा मात्र हुनुहुन्न, मेरा महान गुरु पनि हुनुहुन्छ । तपाईंका पदचापहरुलाई पछ्याउँदै एउटा परिवर्तनकामी समाजको पक्षमा मैले पनि लड्न सिकेँ । तपाईंकी छोरी पनि ठूली भई अब । तपाईंहरुको यो लडाइँ अब मेरो पनि लडाइँ भएको छ । तपाईंहरुको अन्याय र अत्याचार विरुद्धको यो आन्दोलनको मोर्चालाई अब मैले पनि मेरो मोर्चा बनाएको छु । हिजो पञ्चायती शासकहरुले झुठ्ठा मुद्दामा फँसाएका तपाईं र तपाईंका साथीहरु अहिले पनि जेलभित्र बन्दी जीवन बिताइरहनु भएको छ । हिजोका राजकाज ऐन आज पनि ज्युँका त्युँ छन् । हिजोका शासकले तपाईंमाथि लगाएका झुटा हत्याका मुद्वाहरु अझै खारेज गरिएका छैनन् । जसले यै प्रजातन्त्रको प्राप्तिका लागि जीवनभरि लड्यो, उनीहरु अहिले पनि जेलमा छन् । खै कहाँनिर छ उनीहरुका लागि यो राज्यको सम्मान ? किन गर्न सक्दैन यो सरकार उनीहरुको सम्मानपूर्वक रिहाइ ? के प्रजातान्त्रिक सरकारका मूल्यहरु यस्तै हुन्छन् बुबा ! प्रजातन्त्रको रङ यस्तै हुन्छ ?

महिला आन्दोलनका थुप्रै दिदीबहिनीहरुको साथमा छु । कतैबाट पनि टुङ्गो लाग्न नसकेको यो अपूरो क्रान्ति र यो अधुरो सपना बोकेर हामी फेरि हिेँडिरहेका छौँ सङघर्षको बाटोतिर । साँच्चै अब मृत्युसँग पनि डर लाग्दैन । हामी जित्नेछौं, जितेरै फर्कने छौं ।

तपाईंकी छोरी

रोहिणी

चिठी पढिसकेपछि त्यसै–त्यसै फैलिरह्यो मेरो छाती । त्यसै–त्यसै आँखा खुसीले छचल्किरहे । उज्यालियो मन । मन उडेर पुग्यो छोरीनिर । उसका साना खोबिल्टा परेका चिम्सा आँखाहरु पनि किन तेजस्वी लाग्दै थिए अहिले मलाई । उसका आँखाको आभालाई देखिरहेँ मैले । र, मलाई किन यस्तो लाग्दै थियो– मेरी छोरी न्याय र समानताको यो आन्दोलनको अग्रमोर्चामा बहादुरीका साथ लडिरहेकी छिन् ।

बाहिर झरीले दिन बादलिएको थियो । तर पनि मेरो मन छ्याङ्ग थियो यतिबेला । एउटा आनन्दको अनुभूतिले काउकुती खेलिरहेको मेरो मनभित्र । मैले खुसीले आफ्नो छातीलाई चौडा पारेँ । मेरो आँखाको डिलमा आएर खुसीको आँसु बस्यो ।

‘मेरी छोरी साँच्चै ठूली भइछे,’ मनले सोच्यो, ‘अब उसले यो आन्दोलनको नेतृत्व गर्छे ।’ मेरो मनले आँक्यो, ‘मेरी छोरी पक्कै साहसी छे । यो मुलुकको परिवर्तनको बाँकी कार्यभारको जिम्मा अब उसले आफ्नो काँधमा लिन्छे ।’

मैले उसको आँखामा झाँसीकी वीरङ्गना लक्ष्मीबाई देखिरहेँ ।

२०४८

जनसाहित्य

सयपत्री
बारीका डिल र कान्लाभरि सयपत्री फुले ।

घरका छत, दलिन, चोक, मटान, आँगन, करेसाबारी, सबैतिर सयपत्री फुलिरहेका थिए । बाटाघाटा सयपत्री फूलहरुले निकै आकर्षक र मनोहर देखिन्थे । वातावरणभरि सयपत्री फूलहरुको सुवासयुक्त मोहकता थियो ।

शरदको घाम बिहानको पातलो कुहिरो हटाउँदै सर्वदाको घरको छानामाथि खस्यो । र, घाम बार्दलीका गमलाहरुमा फुलिरहेका सयपत्रीका फूलहरुलाई काउकुती लाउँदै खेल्यो । काउकुतीले जिस्किएर घामसँग फूलहरु मसक्क फुले । फूलहरुको रौनक थियो चारैतिर । हावामा फूलहरुको स्पर्शको नयाँ अनुभूति भइरहेको थियो ।

सर्वदा बार्दलीमा उभिएर हावामा छिरल्लिरहेका फूलहरुलाई हेरिरहिन् । तर किन हो कुन्नि, उनको आँखामा कतै पनि आज यी फूलहरुको रौनकता थिएन । सधैं झैं यो हावा र यी फूलहरुको स्पर्शले उनलाई छुन सकेन ।

उनको आँखामा हिजो रातिको सपनाको विषाद् थियो ।

‘साँच्चै सरु, यी फूलहरु तिमीलाई कस्तो सुहाउँछन् !’

एक्कासि उनको मन खस्क्यो ।

उनका औंलाहरु अनायासै आफ्नो कपाललाई मुसार्न पुगे । लोग्ने सम्झिन् । लोग्नेका प्रेमपूर्ण हातहरुले उनको कपालमा सिउरिदिएका सयपत्रीका फूलका गुच्छाहरु सम्झिन् । सयपत्री फूलको गुच्छालाई कपालमा सिउरी दिँदै उनको लोग्नेले भनेको थियो, ‘हेर त सरु, यी फूलहरु तिम्रो यो कपालमा कस्तरी सुहाउँछन् !’

खुसीले फुलेल बनेकी थिइन् उनी ।

अचानक उनी झस्याङ्ग बनिन् । जब उनी निद्राबाट ब्युँझिन् उनलाई सबै कुराहरु बेस्वाद थिए ।

एक समय थियो, लोग्नेको स्नेहले भरिएका हातको स्पर्शले उनलाई रोमाञ्चित बनाउँथ्यो । उनका आँखालाई प्रेमिल बनाउँथ्यो । उनका गोडाहरुलाई अस्थिर बनाउँथ्यो । उनको मन निर्बन्धसँग कल्पनामा कावा मारिरहेको हुन्थ्यो । तर, यी फूलहरुझैं आज उनको आँखामा कुनै चञ्चलता थिएन । सयपत्री, उनको सबैभन्दा प्रिय र आत्मिय फूल, जसको बैँसमत्त थुँगाहरुले उनको मनलाई सधैं उन्मुक्त बनाउँथ्यो । सयपत्री, जसको सौन्दर्य सधैं बिहानको घामझैं उनको कपालमा जीवन्त भएर अट्कन्थ्यो । त्यही सयपत्रीका फूलहरु आज उनलाई सबैभन्दा फिका र नीरस लाग्दै थिए । जसको फूल्नुमा कुनै जीवन छैन । कुनै सार छैन । कुनै अर्थ छैन ।

यतिबेला उनको कपालमा सयपत्रीका फूलहरु छैनन् ।

अलिनु छ उनको सिउँदो ।

बाहिर तिहारको चहलपहल छ । आज गाई तिहार हो । लक्ष्मीपूजा । बाटोमा थालीभरि पूजाका सर्दामहरु बोकेर नयाँ परिधानमा सजिएर हिँड्नेहरुको आवतजावत छ । आइमाई र केटाकेटीहरुको उन्मुक्त हाँसो छ । कोलाहलमय वातावरण छ । सर्वदालाई यी हाँसोले झनै विचलित बनाउँछ । असह्य लाग्छन्, उनलाई यी हाँसो । यस्तो लाग्छ, यी हाँसोले उनैलाई

‘आह ! कति राम्रा सयपत्री फुलेका छन् है यहाँ !’

‘टिप्न नि माया लाग्दो, कति स्याहारले हुर्काएर राखेका होलान् !’

उनको घरछेउको बाटो भएर हिँड्नेहरुले यसरी नै आपसमा कुरा गरेको सुनेकी छिन् उनले । एउटा अव्यक्त छटपटी उठ्छ उनको मनभित्र । मनभित्र उठ्ने तरङ्गहरुले उनलाई झनै अशान्त बनाउँछ । उनका कल्पनाका प्रत्येक चित्रहरु विस्तारै भत्किन्छ । र, उनी आफैभित्र एउटा भग्नावशेष बन्छिन् ।

‘कुनै दिन म पनि त साथीहरुसँग यसरी नै हाँसेर हिँड्थें ।’ सोच्छिन् उनी

उनले माइतका साथीसङ्गीलाई सम्झिन् ।

‘हैन, तिमीहरु कति छिरल्लिइ हिँड्न सकेको नक्कलीहरु !’ सर्वदा र उनका साथीहरुलाई सर्वदाकी आमा कहिलेकाहीं गाली गरिरहेकी हुन्थिन्, ‘गामभरि तिमीहरु नै छौ हगि बराल्लिई हिँड्नलाई ! घरको काम समात्ने हैन कहिल्यै ।’ आमाको आँखामा उनीहरुको माया लुकेको हुन्थ्यो ।

उनीहरु झनै आमासँग छिल्लिएर हिँड्थे ।

सर्वदाको सम्झनामा अहिले आमाको मायालु अनुहार खेलिरहन्छ ।

०००

‘दाइ, म के तिहारमा तिम्लाई टीका लाइदिन्छु अनि मलाई धेरै पैसा देऊ है ।’

‘अँ, म तँ कालीलाई दिन्न पैसा । म त लङ्गुरबुर्जा खेल्ने हो ।’

‘म तिम्लाई लाउन्न टीका ।’

‘न ला काली ।’

छोराछोरीको मसिनु झगडा चलिरहेको थियो तल आँगनमा । दाजुबहिनीको यो झगडाले सर्वदाको एकान्त स्थितिलाई बिथोलिदियो । उनले बार्दलीबाट छोराछोरीका ती अबोध आँखामा खेलिरहेको बालशुलभतालाई नियालिरहिन् । दाजुको उपेक्षाले बहिनीको अनुहारमा अँध्यारो छायो । दाजुको जवाफले ऊ निरीह देखिन्थी । र, एकटकले दाजुलाई हेरिरहेकी थिई । दाजु चाहिँ ऊबाट बेपर्वाह भएर चौका, पान, इट्टा, चिडी, भन्दै कागजको लङ्गुरबुर्जाको बोर्डमा गोटी खेलिरहेको थियो ।

छोरीले उभोँ बार्दलीतिर हेरिन् र आमालाई देखिन् । आमालाई देखेर झनै ऊ अँध्यारिइन् । छोरीको खुसी हराएको त्यो भावहीन अनुहारको मुद्राले सर्वदाको मन एकछिन् नियास्रियो । र छोरीप्रतिको उनको मातृत्व भरिएर आयो । एकैछिनपछि छोरी बार्दलीमा आमाछेउ उभिन आइपुगिन् । छोरीको मौनताभित्र लुकिरहेको दाजुसँगको दुखेसाहरुलाई सर्वदाले नजिकैबाट स्पष्ट अनुभव गरिन् ।

‘पर्खेस् त्यो कालेलाई । म मेरी छोरीलाई मात्र दिन्छु तिहारमा धेरै पैसा । दिन्न म त्यो कालेलाई ।’ आफ्नो अंगालोमा बाँध्दै सर्वदाले छोरीलाई ढाडस दिइन् । आमाको सामीप्यले छोरीको आँखामा उज्यालो छायो ।

‘आमा बाले के तिहालमा धेलै पैछा ल्याउँच है ?’ छोरीले सोध्छे

एक्कासि सर्वदाको मन खस्कन्छ । वर्षौदेखि उनले आफूभित्र बाँधेर राखेको संयमतालाई छोरीको यो प्रश्नले फेरि भत्काइदिन्छ । उनी भित्रको एउटा विगत फेरि बल्झिन्छ । आँसु बन्छ र पोखिन्छ ।

त्यो विभत्स प्लेन दुर्घट्ना ! दुर्घट्नामा आगोले जलेका यात्रुहरुका विभत्स शव ।

सर्वदाको मन आगोले विभत्स जलिरहेको लोग्नेको मृत्युको सम्झनाले फेरि कहालिन्छ । एउटा अभिशाप र अपराधबोधले उनलाई अझै छाडेको छैन । आखिर लोग्नेको मृत्युको दोषी त उनी आफै हुन्; यही कुराले उनलाई भित्रभित्रै वर्षौदेखि लखेट्दै आइरहेको छ । लोग्नेलाई विदेश पठाउने कुरामा अग्रसर त उनी आफै थिइन् । लोग्नेले सानोतिनो प्राइभेट कम्पनीको जागिर खाएको थियो । उनी आफै पनि सरकारी स्कुलको स्थायी शिक्षिका थिइन् । बाउआमा गाउँमा थिए । जागिरलाई पायक पर्ने गरी उनीहरु बजारमा घरभाडामा बसेका थिए । दुईजनाको आम्दानी थियो । नपुग्दो थिएन । फेरि पनि उनी सधैं लोग्नेलाई टोकेसो गरिरहन्थिन् ।

‘सबै गएकै छन् त !’ सर्वदा लोग्नेलाई अत्तो हाल्थिन्, ‘सँगै यहीँ भाडामा बस्नेहरुका लोग्नेहरुले विदेश गएर घडेरी किनेर घर पनि उठाइसके । उनीहरुका चालढाल अर्कै छ । आफ्नो लोग्नेको यस्तो पारा छ । भगवानले पनि अलिकति ईख त हाल्दिनु नि !’

सधैंको स्वास्नीको कचकचले सर्वदाको लोग्ने पनि दिक्क थिए । र, स्वास्नीसँग झर्किन्थे– ‘हैन, नकरा न है । कति कचकच गर्छेस् । मलाई त अगाडि देख्नै हुन्न । मुख चिलाइहाल्छ तेरो !’

‘भो, भो मै नजाति अब । मैले त केही बोल्नै हुन्न । टाउको दुख्छ उसको ।’ सर्वदाको गनगन सुरु हुन्थ्यो लोग्नेसँग, ‘छोरालाई हुर्काउनु पढाउनु छैन क्यारे । सबैका छोराछोरी बोर्डिङ स्कुल हिँड्न थालेका छन् । यै सर्कारी स्कुल छ आफ्नो लागि त । पेटमा अर्को आइसक्यो । उसलाई ख्वाउने केले हो, था’ छैन । आफूजस्तै अर्काको नोकर बनाएर राखे हुन्छ केटाकेटीलाई । सधैं भाडामा बस्नु छ । सबैका आँखाले हेप्ने भइसके । उसलाई पीर सुर्ता पो कसका लागि छ र !’

सर्वदाको अघिल्तिर उनको लोग्ने निरीह थिए । एकदिन सर्वदाले आफ्नो सबै सञ्चयकोष निकालिन् । यताउति सरसापटी गरिन् । लोग्नेलाई पासपोर्ट तयार गर्न लगाइन् । यति गर्दासम्म सर्वदाको लोग्नेको मनस्थिति पनि विदेश जाने मोहले बदलियो । विदेश जाने कुराले उसलाई उत्सुक बनायो । बिदेशको मोहले उसको मन पनि एककिसिमले रोमाञ्चकारी बन्यो । विदेशी भूमि, विदेशी जागिर, विदेशी जीवनशैली, विदेशको रंगिन दुनियाँ उसको कल्पनामा कौतुहल बनेर खेल्न थाल्यो ।

छुट्नु अघिको रात लोग्ने–स्वास्नी दुवैले आ–आफ्नो मनका पुन्तुरो खोले । राती अबेरसम्म पनि दुवै जना निदाएनन् । रातभरि प्रेमालापपूर्ण कुरा गरिरहे ।

‘आफ्नो जिउको राम्रोसँग ख्याल राख्नू । गह्रौ जिउकी छेस् । यताउति बल गरेर धेरै हिँड्ने काम नगर्नू । केही परे बाआमालाई बोलाएर राख्नू  ।’ लोग्नेले सर्वदासँग भन्यो ।

‘पुगेपछि चिठी पठाउनुस् नि । उताको ठेगाना पाएपछि यताबाट चिठी पठाउन सजिलो हुन्छ । विदेश हो, सञ्चो–विसञ्चोको खबर पठाइरहनुस् । सँगै काम गर्ने साथीहरु कस्ता पर्छन् ! दुःख विमारमा यसो हेर्नेहरु भए सजिलो हुन्छ । त्यहाँ हाम्रो सुर्ता गरेर बसिरहने हैन ।’ लोग्नेको छातीसँगै टाँसिएर सर्वदाले विस्तारै साउती गरिन् ।

भोलिपल्ट बिहान दुवैको मनलाई छुट्टिने बेलाको नरमाइलोले छोप्यो । बिहानको त्यो घाम पनि दुवैका लागि बिरानो बन्यो । दुवैका आँखामा एकान्तपन थियो ।

दिन बिते । महिनाहरु बिते । सर्वदाले छोरी जन्माइन् । छोरी जन्मेको खुशी लेखेर सर्वदाले लोग्नेलाई चिठी पठाइन् । लोग्नेको कमाइ राम्रै थियो । लोग्नेले पठाएको पैसालाई सर्वदाले राम्रै जोहो गरिन् र एकाध वर्षमै बजारको भनेको ठाउँमा घडेरी जोडिन् । ऋण जोरजाम गरेर घर पनि बनाइन् ।

‘कहाँ जान मानेको थ्यो र ! बलैले पठाएँ । बेलैमा पठाउँन सकेँ र यति भो ।’ छिमेकीहरुसँग सर्वदा लोग्नेको टिप्पणी गर्थिन् ।

०००

पाँच वर्ष बित्यो ।

एकदिन लोग्ने फर्कने खबर सर्वदाले पाइन् । लोग्ने फर्कने खबरले उनी औधि खुसी भइन् । कहिलेकाहीँ लोग्नेको सम्झनाले उनको मनमा एकांकीपनहरु नआएका होइनन् । कतिपटक निद्राबाट ब्युँझेर ओछ्यानमा लोग्नेलाई नखोजेकी पनि होइनन् । कतिपटक गमलाबाट सयपत्री टिपेर ऐनाअघि आफ्नो कपालमा आफैले सयपत्री सिउरिँदै उनले आफ्नो अघिल्तिर लोग्नेको छायाँलाई नखोजेकी पनि होइनन् । कति सपनामा आफ्नै लोग्ने बिरानो भएर आउँथ्यो र हराउँथ्यो । यस्ता धेरै क्षणहरुले उनको मनमा विस्मात् ल्याउँथे र उनको मनलाई एकोहो¥याएर जान्थे ।

अहिले लोग्ने फर्कने खबरले भने उनको मनलाई आतुर बनाइदिएको थियो । आँखामा व्यग्रता थियो । लोग्ने फर्कने दिन उनी काठमाण्डौं पुगिन् । त्रिभुवन विमानस्थलको प्रतीक्षालयमा उनी अधैर्यतापूर्वक लोग्ने आउने विमान पर्खिरहेकी थिइन् । उनका आँखा जमिनलाई छाडेर आकाशमा खेलिरहेका थिए ।

ठीक समय, उनले विमानस्थलको यात्रु प्रतीक्षालयको कक्षमा पाएको सूचनाअनुसार उनको लोग्ने सहितको यात्रुवाहक हवाइजहाज अवतरणको लागि माथि आकाश हुँदै धावनमार्गमा देखियो । अधैर्यता र उत्सुकताले सर्वदाको मन हवाइजहाजसँगै धावनमार्गमा कुदिरह्यो । तर एक्कासि ‘धड्याम्म’ को एउटा ठूलो विस्फोटको आवाज आयो । अचानक आएको यो आवाजले प्रतीक्षालयमा रहेका सबैका आँखामा धावनमार्गमा ठूलो आगोको मुस्लोसहितको हवाइजहाज जलिरहेको आश्चर्यचकित दृश्य थियो । सबै स्तब्ध थिए । सबैका आँखाहरु बिस्फारित थिए । सबै चिच्याइरहेका थिए ।

सर्वदा त्यो दृश्यले जोडले कहाल्लिइन् ।

उनका आँखालाई चारैतिरबाट अँध्यारोले छोप्यो । उनका हातगोडाहरु लल्याकलुलक भए र उनी जमिनमा ढलिन् । जब एकछिनपछि उनका आँखा खुले, देखिन्– उनको लोग्ने चढेको जहाज धावनमार्गमा पुरै खरानी बनिसकेको थियो । सबैका आँखामा त्यो अकल्पनीय दुर्घट्नाको आतङ्क छाएको थियो । सबै भयभित र त्रसित थिए ।

चारैतिर कोलाहल थियो । रोदन थियो । चीत्कार थियो । वातावरण कारुणिक थियो । छिनभरमै सर्वदाका सबै आकाङ्क्षा र सपनाहरु जलेको जहाजसँगै खरानी बनिसकेका थिए ।

०००

‘आमा, आमा !’

छोरीले झक्झक्याउँदा पो सर्वदा झसङ्ग भइन् ।

‘आमा, बा’ले के दछैमा धेलै पैसा ल्याउँच हगि । मलाई नि तिहालमा धेलै पैसा देऊ है आमा ।’ छोरीले सर्वदालाई भनिरहेकी थिई ।

सर्वदाले एकचोटि सबैतिर नियालिन् । घाम अझै छानामाथि थियो । उनले एकपल्ट लामो उच्छवास लिइन् । बिहानको मन्द बहिरहेको हावामा झुलिरहेका सयपत्रीका फूलहरुलाई हेरेर उनको मन फेरि एक तमास बनिरह्यो ।

नेपालखबर डट कम

प्रजातन्त्र र पागल
‘खबरदार,….. ।’

ऊ चिच्याउँदै त्यो व्यस्त सडकको भीडको एक छेउमा आएर टक्क उभिई । उसले एकपल्ट माथि आकाशतिर आफ्नो नजरलाई दौडाई र अलि पर ठडिएको एउटा अग्लो महलतिर घृणाले हेरी । एकछिन शान्त देखिई । टोल्हाइरही, एकतमास । र, भुइँमा थुक्क थुकी ।

ऊ एकटकले त्यो सडकमा उभिइरही, धेरैबेर । छिनमै उज्यालिन्थ्यो उसको अनुहार । र, फेरि अँध्यारिन्थ्यो । घरि ऊ रोइदिन्थी र फेरि हाँस्थी । आफैसँग एक्लै बर्बराउँथी । मसिनो स्वरमा लय हाल्थी । उसको छेउछाउबाट हिँड्नेहरु उसलाई हेरेर त्यहाँ एकैछिन अल्मलिन्थे । उसको हाउभाउ र कटाक्ष हेर्थे । र, अघि बढ्थे ।

ऊ मुस्कुराउँथी एक्लै, आफैसँग । के के सोचे झैं गर्थी र भुइँमा हेरेर टोल्हाउँथी । छिन छिनमै उसका आँखामा गम्भीरता खेलिरहन्थ्यो ।

हेर्दा सामान्य राम्री । छरिएको लामो कपाल । जिउमा अस्तव्यस्त कपडा । सामान्य श्रृङ्गार गर्ने हो भने पनि लावण्य देखिने उसको जिउ डाल । यो अवस्थामा पनि उसको रुप र उसको शरीरको आकर्षणलाई छर्लक्क अन्दाज गर्न सकिन्थ्यो । र भन्न सकिन्थ्यो, ऊ पक्कै एउटी शिक्षिता थिई । र, रुपवती पनि ।

‘ऊ ! ऊ !!’ उसको ओँठ विस्तारै चल्यो ।

उसका आँखाहरु उचालिए । हतास देखिई ऊ । र, त्यो परको महलतिर फर्किएर ऊ बेस्सरी चिच्याई, ‘खबरदार ! ऊ …….त्यो आउँदैछ । त्यसलाई रोक । त्यसलाई रोक ।’

उसले भुइँबाट केही टिपेझैं गरी र एउटा आक्रोशले महलतिर हिर्काई । हावामा उसको हात मात्र हल्लियो । मान्छेहरु अचम्भित मानेर उसलाई हेरिरहे ।

‘खाइस् !’ उसको मुखबाट क्रोध र प्रतिरोधको एउटा स्वर निस्क्यो ।

अनि ऊ खित्का छाडेर हाँसी । उसको त्यो हाँसो त्यो व्यस्त सडकको भीडको त्यो कोलाहललाई चिरेर परपरसम्म छरियो । उसको हाँसोले अल्मलिएर मान्छेहरुको एउटा बाक्लो भीड जम्यो सडकको किनारामा ।

‘बिचरी !’ उसलाई पहिलोचोटि देख्नेहरु भन्दै थिए ।

‘मान्छे त राम्री रै’छ, कसरी बिग्रिछे ?’ कसैको सहानुभूति सुनिन्थ्यो ।

‘ह्या ! बौलाही ।’ कसैले तिरस्कारपूर्ण शब्दहरु फ्याँकेर अघि बढ्थे ।

प्रायः ऊ यो सडकमा देखिइरहन्थी । र, यो भीड बीच ऊ एउटा कथाजस्तै बनिसकेकी थिई । कहिले उसको त्यो आकर्षणपूर्ण शरीरसँग जोडिएका किस्साहरु सुनिन्थ्यो भीडमा । कहिले त्यहाँ उसका असफल प्रेमका कथाहरु सुनिन्थे । कहिले ऊसँग त्यो परको महल जोडिएर आउँथ्यो । कहिलेकाहीँ यस्तो पनि सुनिन्थ्यो– ऊ जनआन्दोलनकी नेतृ थिई । पुलिसको गिरफ्तारी र बेपत्तापछि एकदिन ऊ सार्वजनिक गरिई । उसलाई चर्को शारीरिक यातना दिइएको थियो । ऊ पटकपटक हिरासतभित्र बलात्कार भई । विक्षिप्तताले उसले आफ्नो मानसिक सन्तुलन गुमाई । प्रजातन्त्रको बहालीपछि उसको पार्टीले उसलाई अघि सारेर सहानुभूतिको चुनावी राजनीति ग¥यो । उसलाई पार्टीको भोट ब्याङ्क बनायो । सरकारमा नजाउन्जेल पार्टीले उसको मुद्दालाई उठायो । सरकारमा पुगेपछि उसका नेताहरुले उसलाई छाड्यो । मानौं अब ऊ कुनै रद्दीमा फ्याँकिने अनुपयोगी बस्तु थियो । जसको उपयोगिता अब सकिएको थियो । उसको पार्टीलाई उसको संरक्षण गर्नुपर्ने कुनै आवश्यकता रहेन । पार्टीले उसको संवेदनामाथि खेल्यो । यो अपमानलाई उसले सहन सकिन । र, ऊ झनै विक्षिप्त भई ।

यस्ता अनेक अड्कलबाजीहरुले भीडभित्र उसको चर्चा हुन्थ्यो । तर यी सबै हल्ला र चर्चाहरुबाट ऊ बेसरोकार थिई । र, ऊ सधैं त्यो भीडभित्र चिच्याइरहेकी हुन्थी– ‘खबरदार ! खबरदार मान्छेहरु !’

‘सावधान ! सावधान !’ अहिले पनि ऊ यसै गरी चिच्याइरहेकी थिई ।

‘होसियार ! यहाँ धोका हुँदै छ । षड्यन्त्र हुँदै छ । ऊ ….. षड्यन्त्रकारी यतै आइसके । रोक त्यसलाई । रोक त्यसलाई ।’

उसका आँखाहरु संत्रस्त देखिए ।

फेरि छिनमै क्रोधले उसका आँखाहरु राता देखिए । उसको कपाल उसका आँखाअघिल्तिर सोहोरिएर अस्तव्यस्त थियो र अनुहारलाई छोपिरहेको थियो । मानौं एउटा दैंत्यको बध गर्न तम्सिएकी देवीको रौद्र रुप थियो उसको मुखमुद्रा ।

उसको यो असामान्य व्यवहारले भीडलाई एकैछिन स्तब्ध पा¥यो ।

‘तँ कालो सर्प …… । तँ फेरि यो सहरलाई डस्दै छस् ?’ ऊ फेरि एक्कासि चिच्याउँदै थिई – ‘अब सक्दैनस् । तँ यो सहरलाई डस्न सक्दैनस् । तँ यी मान्छेहरुलाई डस्न सक्दैनस् ।’

‘ती बेइमानहरुको अनुहारलाई च्यात ।’

‘तिनीहरुलाई अब त्यहाँबाट बाहिर निकाल ।’

ऊ चिच्याउँदै थिई, चारजना लाठीधारी पुलिसहरु भीडलाई धकेलेर उसको नजिकै आइपुगे र उसलाई च्याप्प अँठ्याए । तर ऊ पुलिसको हातबाट फुत्केर बाहिर भागी । मान्छेहरु सशङ्कित भएर त्यो घट्नालाई हेरिरहे ।

त्यसको एकैछिनपछि ऊ सडकमा दगुरिरहेकी थिई । पुलिसहरु उसको पछिपछि सडकमा उसलाई लखेटिरहेका थिए । ऊ पुलिसतिर हेरेर घरि एक्लै खित्का छाडेर हाँस्दै थिई । घरि एक्लै चिच्याउँदै थिई– ‘खबरदार ! खबरदार मान्छेहरु !’

एउटा नाटकीय मञ्चनजस्तो लाग्दै थियो सडक । एकछिनपछि पश्चिमबाट उठेको साँझको निशाले सडकको त्यो दृश्यलाई छोप्दै लगिरह्यो ।

२०४९