0

परिवर्तनकारी चेतनाका कथाकार

Share

डा. बिन्दु शर्मा


अनिल श्रेष्ठ सर्जक र म पाठक । उनको सृजनासँगको मेरो जम्काभेट पनि यस्तैयस्तै ढङ्गले भयो । साठीको दशकमा म प्राध्यापन पेसामा प्रवेश गरेपछि उत्तरवर्ती नेपाली कविताका प्रवृत्तिहरु पढाउनु पर्ने भयो र उत्तरवर्ती चरणका कविहरुलाई पढ्ने मेरो क्रम पनि बढ्दै गयो । यही क्रममा उनको आरु फुलेको साँझ (२०६३) कवितासङ्ग्रह मैले सबैभन्दा पहिले पढेकी हुँ । उनीसँगको मेरो प्रत्यक्ष भेट चाहिँ दसौँ राष्ट्रिय सम्मेलनपछिका प्रलेसका गतिविधिहरुमा भएको हो । त्यसपछि मात्र मलाई उनका निबन्ध र कथाको पाठक बन्ने अवसर जुरेको हो । कथा पढिसकेपछि चाहिँ कवितामा जस्तै अनिल श्रेष्ठलाई मैले समाजप्रति सचेत र जिम्मेवार कथाकारका रुपमा पाएकी हुँ । समकालीन नेपाली कथाका क्षेत्रमा उनी परिवर्तनकारी चेतना प्रवल भएका कथाकारका रुपमा देखा परेका छन् ।

जम्मा पन्ध्र ओटा कथाहरुको सङ्कलन रहेको प्रजातन्त्र र पागल सङ्ग्रहका कथाहरु मूलतः राजनीतिक सामाजिँक विषयको केन्द्रीयतामा रचिएका छन् । ‘बन्दी बुबालाई पत्र,’ ‘प्रजातन्त्र र पागल,’ ‘क्रान्ति मर्दैन,’ ‘ऊ अझै जीवित छ,’ ‘एउटा जीवनको अन्त्य,’ ‘घाइते विपना,’ ‘सहिद दिवसले जन्माएको सहिद’ र ‘आफ्नो मान्छे, कथामा राजनीतिक शक्ति र सत्ताको आडमा हुने शोषण र दमनको आलोचना गरी परिवर्तनका लागि सङ्गठित सङ्घर्षको आवश्यकताबोध गरिएको छ । त्यसैले ती कथाका पात्रहरु पनि पञ्चायत कालीन निरङ्कुश सत्ताका विवेकहीन र अन्यायी चरित्रका विरुद्धको सङ्घर्षप्रति प्रतिबद्ध रहँदा रहँदै सहादत प्राप्त गर्न पुगेका छन् । त्यसै गरी प्रजातन्त्र प्राप्तिपछिको समयावधिमा पनि शासकहरुको चरित्र र शोषणको रुप नफेरिएर जनतामाथिको धोकाको क्रमले निरन्तरता पाएको वास्तविकता ‘प्रजातन्त्र र पागल’ कथामा चित्रित छ । सत्ताले बेलाबेलामा सुकुम्वासी बस्तीमा आतङक फैलाएर डोजर चलाउने गरेको वास्तविकताप्रतिको आक्रोश र आलोचनालाई चाहिँ ‘घाइते विपनाहरु’ शीर्षकको कथामा संवेदनशील ढङ्गले उद्घाटन गरिएको छ ।

सामाजिक विषयवस्तु प्रयोग गरिएका ‘विभाजित आकाश,’ ‘स्मृतिभित्र,’ ‘दोसाँध,’ ‘सुभद्राको मन,’ ‘सयपत्री,’ ‘हाट’ लगायतका कथाले चाहिँ पारिवारिक असहमति, उपेक्षा, महत्त्वाकांक्षा र देखासिकीका कारण परिवारमा आइपर्ने विपत्तितर्फ पाठकलाई सचेत गराउन खोजेका छन् । चेतनाको अभावमा निम्नवर्गीय महिलामाथिहरु माथि हुने गरेका भौतिक उत्पीडनको वास्तविकता, पतिको स्वैच्छाचारी चरित्रका कारण पत्नीले समेत दुःसाध्य रोगको कष्ट भोग्नुपरेको यथार्थ, पारिवारिक उपेक्षाका कारण परिवार छोड्न विवस बालक र किशोरहरु लाहुरे बन्न बाध्य हुनु परेको अवस्था, लाहुरमा उनीहरुमाथि हुने शोषण, दाइजोको निहुमा नारीहरुमाथि हुने मानसिक उत्पीडन लगायतका विषयलाई संवेदनशील बनाएर प्रस्तुत गर्ने सन्दर्भबाट यी कथाहरु सफल रहेका छन् ।

जनताको सत्ता स्थापित गर्ने चाहनाका केन्द्रमा सङ्गठित वर्गीय सङ्घर्षको आवश्यकताबोध सम्प्रेषण गर्नु नै प्रस्तुत सङ्ग्रहका कथाहरुको चेतना हो । त्यसैले तिनले राजनीतिक सत्ता परिवर्तनका केन्द्रीयतामा सामाजिक सांस्कृतिक परिवर्तनको पक्षका अभिव्यक्तिलाई पनि सँगसँगै प्रस्तुत गरेका हुन् । यस दृष्टिले ‘एउटा जीवनको अन्त्य,’ ‘घाइते विपना’ लगायतका कथा शक्तिशाली रहेका छन् । परिवारमा महिलामाथि र समाजमा दलितमाथि हुने उत्पीडनको विरोध गरेर आर्थिक, सामाजिक, सांस्कृतिक रुपले सीमान्तकृत र आफूमाथि भएका विभेद र अन्यायको बोध गरी आफ्ना पक्षमा आफै बोल्न नसक्ने सवाल्टर्न जनताका पक्षका अभिव्यक्तिलाई यी कथाहरुले सघन बनाएका छन् ।

वास्तवमा २०४६ सालको राजनीतिक परिवर्तन पश्चातको बहुदलीय प्रजातन्त्र नेपाली जनताका लागि निल्नु न ओकल्नुको गास भएको थियो । राज्यको स्वैच्छाचारी चरित्र फेरिएको थिएन । लुट र भ्रष्टाचार झनझन मौलाउँदै थियो । यस्तो परिवेशमा प्रजातन्त्र चाहिँ आर्थिक रुपले गरिबमारा र राजनीतिक रुपले छाडा रहेको परिस्थितिलाई ‘प्रजातन्त्र र पागल’ कथाले सङ्केत गरेको छ । यसमा चित्रित पागल युवती पार्टीहरुको दुरुपयोगबाट त्रस्त र चेतनाहीन बन्दै गएको बहुदलीय प्रजातन्त्रको प्रतीक हो । त्यसै गरी प्रहरीको निरङ्कुश चरित्रको उद्घाटन गर्नु प्रस्तुत सङ्ग्रहका कथामा अभिव्यक्त अर्को महत्त्वपूर्ण पक्ष हो । आधुनिक नेपालको निर्माणदेखि वर्तमानसम्मको राजनीतिक इतिहासमा नेपालको प्रहरी र प्रशासन कहिल्यै पनि जनपक्षीय हुन नसकेको वास्तविकता ‘क्रान्ति मर्दैन’, ‘ऊ अझै जीवित छ’, ‘एउटा जीवनको अन्त्य’, ‘सहिद दिवसले जन्माएको सहिद’ लगायतका कथाले प्रस्तुत गरेका छन् । यसबाट पनि अनिल श्रेष्ठका कथाद्वारा सम्प्रेषित चेतना चाहिँ जनपक्षीय र समानतामूलक समाजको स्थापनातर्फ क्रियाशील वर्गीय सङ्घर्षको अपरिहार्यताबोध गराउनु रहेको प्रस्ट हुन्छ ।

अनिल श्रेष्ठका कथामा प्रयुक्त विषयवस्तु र चेतना प्रस्तुतिको तरिका चाहिँ आम नेपाली जनताको पठनबोधतर्फ बढी केन्द्रित रहेको छ । सामान्यतया ग्रामीण क्षेत्र लगायतका आम पाठक आफूले बाल्यकालदेखि सुन्दै आएका लोकजीवनमा प्रचलित गाथा र लोककथाको वर्णनात्मक शिल्पबाट बढी प्रभावित छन् । यही तथ्यबोध गरेका कथाकारले पनि प्रस्तुत सङ्ग्रहका कथामा क्रमैसँग एकपछि अर्को घटनाको शृङ्खला प्रस्तुत गरिएको रैखिक ढाँचाको कथानक प्रयुक्त सरल र रोचक शिल्प प्रयोग गरेका छन् । कथामा कथानक, पात्र, परिवेश सबैका बारेमा जानकार सर्वज्ञ कथयिताको बढी प्रयोग गर्नु, संवादभन्दा बढी पात्र र परिवेश बारेका कथयिताका टिप्पणी र वणर्नलाई महत्त्व दिनु यसैको उदाहरण हो । यसका साथै घटना र परिवेशमा विश्वसनीयता सँगै रोचकता पनि सृजना गर्नका लागि यी कथामा कथयिताले आफ्नो कथा आफै वर्णन गर्ने आत्मालापको शिल्प र पत्र लेखनमा जसरी कसैलाई संबोधन गरेर आफ्ना कुराहरु एकोहोरो ढङगले बताउने पत्रात्मक शिल्पको पनि प्रयोग गरिएको छ । यसको सुन्दर उदाहरणका रुपमा ‘बन्दी बुबालाई पत्र’ कथालाई लिन सकिन्छ । केही कथामा चाहिँ वर्तमानका घटनाको शृङ्खलासँगै ती घटनासँग सम्बन्धित विगतका स्मृतिहरुलाई पूर्वदीप्तिका माध्यमबाट प्रस्तुत गर्ने अरैखिक ढाँचाको कथानक प्रयोग गरिएको छ । यस्तो प्रयोगबाट तिनमा पात्रका चरित्रसँगै उनीहरुको विगतको जीवनका वास्तविकता, पूरा नभएका इच्छा, आकांक्षा लगायतका समग्र पक्षहरु उद्घाटित भई चरित्र र घटनालाई विश्वसनीय बनाउन सहयोग पुगेको छ । कथाभित्रै कथा भन्ने र पाठकलाई कथाको रचना प्रव्रिmयाका बारेमा जानकारी गराउने अधिआख्यानको शिल्प प्रयोगका दृष्टिले पनि प्रजातन्त्र र पागल सङ्ग्रहका कथा प्रभावशाली रहेका छन् । ‘क्रान्ति मर्दैन’ शीर्षकको कथामा क्रान्ति नामको पात्रले कथयिता म पात्रलाई बन्दी गृहमा बसेका बेला आफ्नो विगतको कथा बताउँदा यो शिल्प प्रभावकारी बनेको छ र यसले पाठकलाई घटनाप्रति केन्द्रित गर्दै कथामा कौतुहलता सृजना गर्न सहयोग पु¥याएको छ । यस्तो विविध प्रकारको शिल्प प्रयोग गरेर कथाकार आफ्ना कथाप्रति पाठकको रुचि विस्तार गर्न र कथामा यथार्थको भ्रम सिर्जना गर्न सफल भएका छन् ।

यसरी समाजका अँध्यारा पक्षहरु उद्घाटन गर्ने र तिनको सूक्ष्मता चित्रणमा फरकफरक शिल्प प्रयोग गर्नतर्फ रुचि देखाएकाले विषय प्रयोग र चेतना प्रस्तुतिका दृष्टिले कथाकार अनिल श्रेष्ठको लेखनी समाजप्रति सचेत र जिम्मेवार रहेको पाइन्छ । उनका कथामा प्रयुक्त विषय र अभिव्यक्त चेतनाले समाजमा विद्यमान विभेदकारी सामाजिक सांस्कृतिक प्रवृत्ति र स्वैच्छाचारी राजनीतिक चरित्रको जनपक्षीय परिवर्तनका पक्षका अभिव्यक्तिलाई केन्द्रमा राख्नु यसैको उदाहरण हो । सामाजिक र राजनीतिक विषयअनुकूलका उत्पीडित र सीमान्तकृत वर्गका पात्र प्रयोग र उनीहरुले कार्य गरेको निम्नवर्गीय आर्थिक सामाजिक परिवेश चयनले यी कथामा प्राण भर्ने कार्य गरेको छ । पात्रअनुकूलको ग्रामीण कथ्य भाषा र तृतीयपुरुष सर्वज्ञ कथयिताको चयनबाट प्रस्तुत सङ्ग्रहका कथाहरु एकातिर आम पाठकहरुको सम्प्रेषणीय पक्षतर्फ सचेतता अपनाउँदै समाजका अँध्यारा र विकृत पाटाहरुतर्फ सूक्ष्म दृष्टि दिन सक्षम भएका छन् भने अर्कातिर लेखकको देश र जनताप्रतिको चिन्ता र चासोलाई कलात्मक ढङ्गले उद्घाटन गर्न पनि सफल भएका छन् । यसरी प्रस्तुत सङ्ग्रहका कथामा अभिव्यक्त चिन्तनले लेखकको आफ्नो जीवनको मार्गदर्शक सिद्धान्त बनेको माक्र्सवादको साहित्यमा गरिएको व्यावहारिक प्रयोगतर्फको सचेततालाई पनि प्रस्ट पारेको छ । यस्तो कृति प्रकाशनका पूर्वसन्ध्यामा म कथाकार अनिल श्रेष्ठलाई हार्दिक बधाइ भन्दै उनको लेखनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

‘प्रजातन्त्र र पागल’ कथासङ्ग्रहको भूमिकाबाट