0

कस्तो गाह्रो हुँदोरहेछ आमा नहुनुको टुहुरोपन

Share

राजु क्षेत्री


प्रिय अनिल श्रेष्ठजी, तपाईंले दिनुभएको पुस्तक ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ पढ्दा आफ्नै जीवनलाई थप गहिराइका साथ बोध गरेँ मैले । हुन त तपाईंको यो कुनै दर्शनको व्याख्या हैन तर पुस्तकभित्र समेटिएका बिषयले समातेको दर्शनले मलाई भित्रैदखि प्रभाव पारेको छ ।

पाठकवृन्द, कवि अनिल श्रेष्ठ तनहूँवासी हुन् । उनी गद्य विधा लेख्छन् । मूलतः उनी कविका रुपमा परिचित छन् । चालीसको दशकदेखि उनका सिर्जना फाटफुट देखिन थालेका हुन् । उनको लेखन यात्राको आफ्नै गति छ, न शीघ्र न मन्द । प्रायशः उनी कवितामार्फत् जीवनका गीतहरु लेख्छन् । उनले देखेका मान्छेहरु जो आवश्यकताको दुनियाँबाट स्वतन्त्रताको संसारमा फड्को मार्न चाहन्छन् तिनैका जिजीविषा उन्छन् उनी कवितामा । उनको आफ्नै जीवन साक्षी छ उनका पात्रहरु लिलिपुटको यात्राजस्तै सधैं गरिबीको चक्रबाट मुक्त हुने सपना लिएर लम्बे यात्रामा निस्कन्छन् र लामो सङ्घर्षपछि टाकुरासम्म त पुग्छन् फेरि बोकेको भारी उहीँ पल्टदैं फेदीसम्म आइपुग्छ । यस्तै बन्दैछ अनिलले उभ्याएका मान्छेका सपनाहरु पनि । कवि अनिलले तिनै सङ्घर्षशील मान्छेहरुका जिउँदा सपनाको क्यानभासमा शब्दहरु खोपिरहेका छन् ।

उनी बीसको दशकको अन्तमा तनहूँको विपन्न परिवारमा जन्मे । सानै छँदा आमाले दोस्रो बिवाह गरिन् । यस सन्दर्भमा बडो भावुकतासाथ लेखेका छन्–.

“……घर थियो । तर त्यो घरभित्रको मुर्दापन ब्युुँझेर मेरो मस्तिष्कमा सधैँभरि चर्को कोलाहल गरिरह्यो । झण्डै तेह्र बर्षदेखि यो घर बाहिर मौन तर भित्र मानसिक पीडाले आक्रान्त थियो । त्यो घर एउटा मातृत्वविहीन अवस्थामा थियो र हामी टुहुरा थियौं । एउटी आमाका हातहरुबाट हामी स्पर्शविहीन थियौं । घरका चोटा, कोठा र दलिनमा हाम्रा आँखाहरु त्यही खालिपन बोकेर हुर्किरहेका थिए । त्यहाँ हाम्रा सास फेराइका गतिहरु थिएनन् । सास चल्थ्यो तर कतै त्यसको आभाससम्म सुनिँदैनथ्यो । घरका कुुनाहरुले एकान्त चिहाउँथ्यो र त्यही एकान्तले हामीलाई फुल्याउँथ्यो । हामीसँग हाँस्नका लागि खुशीहरु थिएनन् । आँसु देखाएर मान्छेका सामु हामी रून पनि सक्दैनथ्यौं । कस्तो निरीह हुँदारहेछन् ती क्षणहरु । ती आँसुहरु आफैले आफैसँग पोख्न पनि नसकिने । झ्याउँकिरीको आवाजले साँझ दुख्थ्यो । आँखाहरुमा बतास पोखिन्थ्यो र बतासले आँखाहरु बिझाउँथ्यो । कस्तो गाह्रो भइदिँदो रहेछ आमा नहुनुको टुहुरोपन । भो कसैले त्यो कल्पनामा पनि नसोचोस् जस्तो लाग्छ । …….बा थिए । तर किन हो खै ? मलाई मेरा बा’को उपस्थितिको कहिल्यै बोध भएन । ”

अनिलसँग मेरो भेट ०५४/०५५ सालतिर भएको थियो जतिबेला म विद्यार्थी सङ्गठनको काममा थिएँ । २०५६ सालतिरबाट पत्रिकामा आएपछि उनीसँग बढी नै भेटिने हुन थाल्यो । म पत्रिकाको कार्यालयमा हुँदा उनी समाचार र कविताहरु लिएर कार्यालयमा छिर्ने गर्थे । त्यतिबेला उनीसँगै तनहूँका कवि दिलीप श्रेष्ठ, आशा खनाल, जनार्दन वियोगी भर्भराउँदो आशाको ज्वाला बोकेर लेखनमा ओर्लिएका थिए । भनिन्छ साहित्यकारहरुसँग सत्ता हुँदैन । त्यसैले हाम्रो जस्तो उत्पादन सम्बन्ध भएको समाजमा धेरै मान्छेका लागि लेखन रूचीको कुरा हुँदैन ।

म त अनिलको बाल्यकालको कुरा पो गर्दै थिएँ । हो, त्यस्तो थियो उनको बाल्यकाल । कहालीलाग्दो भीरमाथि छाँगामा बसेर बिताएजस्तो पो थियो उनको जीवन । उनले दुखजिलोसँग पढे । पढाइपछि लायन्स क्लबको काममा लागे । पछि कामको सिलसिलामा बिराटनगर हुँदा त्यहीँबाट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर निस्के । सायद सोचे होलान् यसै त दुःखी छ जीवन भने कति दिन अङ्गालो हालेर बसिरहनु यस्तो जीवनचक्रलाई । यसरी जागीर जीवनबाट क्रान्तिको फराकिलो दुनियामा निस्के उनी । आन्दोलनमा आए । दुनिया जगाउने अभियानसँगै सृजनकर्ममा लागे । यसरी बिस्तारै जनसमरमा राम्रो कविका रुपमा परिचय बनाउँदै लगे उनले आफूलाई । २०५८ सालको सङ्कटकालमा सेनाको कब्जामा परे । धेरै कुराहरु भए त्यसपछि उनको जीवनमा । राजनीतिको सरल र बक्र सबै खालका रेखाहरु पार गर्दै अघि बढ्न कति समर्थ भयो उनको कवि मन, थाहा भएन । ब्यारेकबाट निस्केपछि अरबको मरुभूमिमा बालुवा चाल्न गए । आखिर दुखियाको जीवन उस्तै हो चारैतिर । हेपिने हेपिएकै छन् जतापनि । जनआन्दोलनपछि फेरि नेपाल फर्के । नेपाल फर्केर फेरि उनी पार्टी आन्दोलनमै फर्के ।

यसै हप्ता राजधानीमा चलेको जनसाँस्कृतिककर्मीहरुको सम्मेलनमा उनीसँग फेरि भेट भयो । मान्छेहरुका भीडमा परिचित जस्तो मुहार मलाई ताकेर अघि बढ्दै थियो । उसले सोध्यो ‘राजुजी हैन ?’ अनि मैले सोधेँ ‘अनिलजी हैन ?’ हामी दुवैजना सही थियौँ । करिब नौ बर्षअघि छुटेको मान्छेसँग यसरी पुनः भेट भयो । कुराकानीपछि उसले मेरो हातमा एउटा पुस्तक थमायो । आवरणमा आँसुले भिजेको परेला लिएर क्षितिजतिर हेरिरहेकी एउटी केटीको तस्बिर छ र माथितिर उडिरहेका चराहरु देखिन्छन् ।

म अनुमान मात्र लगाउँछु निराश वर्तमानबाट आशाको भविष्यतिर ताकिरहेका छन् कविका अक्षरहरुले । कोठामा आएर एकाग्रताका साथ किताब पढेँ । संस्मरण र कविताको संयुक्त सङ्ग्रह रहेछ । उनका कविता जति बुझेँ ती राम्रा छन् । तर म यहाँ उनको संस्मरण विधातिर केन्द्रित छु सम्पूर्ण रुपमा ।

कवि मातृका पोखरेलको बुझाइमा अनिलका सिर्जनाले दीर्घजीवन बाँच्ने छन् । म पनि त्यस्तै आशा गर्छु । ‘फेरि पनि छिम्कालेकमा गुन्जिरहन्छन् यी गीतहरु’ उनको शीर्ष संस्मरण हो । २०५५ सालको जनादेशको अङ्कमा छापिएको थियो त्यो । यस संस्मरणमा उनको क्रान्तिकारी दिनचर्या अभिव्यक्त छ । अन्तिम बाहेक बीचमा रहेका सात वटा संस्मरणको मैले यहाँ विस्तृत चर्चा गर्न चाहिनँ । उनको लेखनको मिठासको बोध तपाईं आफैले नपढीकन हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसपछि हामी कुनै सन्दर्भमा त्यसबारे चर्चा गरौँला । पुस्तकको अन्तिम संस्मरण ‘त्यो साँझ अब बाँच्छु भन्ने लागेन’ पछि पुस्तक समाप्त हुन्छ । त्यो अन्तिम संस्मरणमा उनी सङ्कटकालमा कसरी सेनाको ब्यारेकमा परे र त्यहाँभित्र कस्ता दानवीय हर्कतहरु गरिए आफू र आफूजस्तै योद्धाहरुमाथि ? भन्ने कुराको बिवरण छ । इतिहासको एउटा क्रुर कालखण्डको कवि अनिल जीवित पात्र हुन् र उनको यो संस्मरण क्रुरताको एक भोक्ता हुनुको हिसाबले एक बकपत्र हो । समयको त्यो कालखण्डलाई बुझ्ने र बुझाउने यो महत्वपूर्ण सामाग्री हो ।

वर्तमानमा कवि अनिल तनहुँको आँबुखैरेनीमा क्लिनिक चलाउँछन् । मैले हिजो मात्र फोन गर्दा हतारमा भन्दै थिए ‘पार्टीको काममा बाहिर निस्कन लागेको ।’ अवश्य उनी जीवनमा क्रान्ति गर्दैछन् । सङ्घर्षै सङ्घर्षले भरिएको छ उनको जीवन र सङ्घर्षमै भविष्य देखेर लम्किरहेका छन् सङ्घर्षको बाटोमा । कवि अनिल आफैमा एक व्यक्ति हुन् । त्यहाँ भन्दा बढी केही पनि होइनन् । मैले यहाँ चर्चा गर्न खोजेको कवि अनिल श्रेष्ठको एक बिम्बको हो जहाँ नेपालको क्रान्तिको थुप्रै अनिलहरु बेवारिसे छन् । जुनबेला अनिल गोरखाका नेता खोप बहादुर कँडेलसँगै काम गर्दै थिए, ठीक त्यही बेला मेरो दाइ रमेश पनि उनीसँगै बसेर काम गरिरहेको थियो । एउटा कालखण्डमा अनिल पार्टी छाडेर बिदेसिए अर्को कालखण्डमा मेरो दाइ ८१ को सेल बनाउने सिप छाडेर बिदेशतिर लागेको छ । जानेबेला भन्दै थिए ऊ –‘अब यो पार्टीले क्रान्ति गर्दैन । जे ग¥यो यत्ति हो ।’

मैले यहाँ उठाएका अनिलका बिम्बहरु नेपाली क्रान्तिका अगुवासामु उभिएका प्रश्नहरु हुन् । कवि अनिल सहभागी हुन् कीर्तिपरको साँस्कृतिक सम्मेलनको । जनवादी कला साहित्यको, जनवादी संस्कृतिको भन्दा पनि क्रान्तिको नै चर्चा भयो त्यहाँ पनि । १० बर्षे युद्ध अभियानमा मादल बोकेर गाउँमा डुल्नेहरु यसपटक पनि मादलकै प्रतिनिधित्व गरेर त्यहाँ उपस्थित थिए । यस्तो लाग्छ कलाकार भन्ने बित्तिकै माओवादी जनयुद्ध लडेर आउनै पर्ने र लेखक भनेपछि विश्वविद्यालयका कक्षाहरु पढाएर आएको हुनैपर्ने । जुनबेला चुनुहरु गीत गाउँदा मारिनु परेको थियो त्यतिबेला क्रान्तिका लागि लेखेकै कारण मर्नु पर्ने नियति बोक्न नपरेकाहरु सबै सबै उपस्थित थिए । भनिन्छ त्यहाँ आहुतिहरु, ऋषिराजहरु, पूर्णविरामहरु, गंगा श्रेष्ठहरु, अनिल विरहीहरु कतै देखिएनन् । कला साहित्यको ज्ञान नहुनेले क्रान्तिको नेतृत्व पनि गर्नै सक्दैनन् भनेर प्रचण्डले किन भन्न परेको थियो होला । साहित्यकारहरु क्रान्तिका लागि ठूला मान्छे हुन् भनेर फुक्र्याइदिन मात्र ? पक्कै त्यसो होइन होला ।

एउटा सर्जकलाई उचित परिवेश सृजना नगरिदिने हो भने यसको सर्जकीय चेतना मर्छ नै । थुप्रै साथीहरुको सर्जकीय चेतना मरे, मारिए । लाग्छ त्यसपछि मात्रै पार्टी नेतृत्वले उनीहरुलाई लाल देख्छ । भाषा, ज्ञान, साहित्य आदिबाट कटाएर दैनिक रुटिङ्गका आज्ञाकारी बिद्यार्थी जस्तो बनिरहनु मात्रै सर्वहाराकृत हुनु हो भन्ने जड बुझाईले मारिएका छन् उनीहरुभित्रका प्रतिभाहरु । जनसाहित्य प्रोफेसरीय खेती हो भन्ने कोरा बुझाइ छ नेतागणहरुमा । जनयोद्धाहरु कच्चा पदार्थ र प्रोफेसरहरु कुमाले हुन् जनसाहित्यको भन्ने सङ्किर्णताबाट नेतृत्व माथि उठ्न सकेका छैनन् ।

खरिपाटी भेलाले भन्छ, ५०० राज्यस्तरीय नेताहरु जन्मिसके आन्दोलनमा । कीर्तिपुरको स्मृति सभाको सांस्कृतिक सम्मेलनले दिएको सन्देश के हो ? नेपाली क्रान्तिको संस्कृति निर्माणको यो महान उपलब्धि हो या जनक्रान्तिमा वामे सर्न नसकिरहेको जनसाहित्यको यथार्थता हो । नेपालको जनवादी साहित्यको मात्रा र गणको विकासको बारेमा, साहित्यको रुप र अन्तर्वस्तुको बारेमा, यसका सूक्ष्म पहलुहरुका बारेमा, हामीले विकास गरेको जनवादी साहित्यले विश्वमा पारेको प्रभावको विषयमा, बुर्जुवा आलोचनात्मक र समाजवादी साहित्यको तुलनात्मक दाँजोमा हाम्रो स्थान कहाँ ? खै हाम्रो ध्यान त्यतातिर ? स्तरीय लेखनका लागि खै अभियान ? साहित्य जन्मिने र जन्माउने प्रकृया नेतृत्वको आवेग र सनकको भरमा हैन सर्जकहरुको निरन्तर अभ्यास, विकास र पार्टीको योजनाबद्ध पहलद्वारा नै निर्देशित भएन भने कालान्तरमा नेताले बेच्ने भाषण र लेख्ने राजनैतिक टिप्पणीमै सीमित हुने छ जनवादी साहित्य ।

अनिलजी, हामीसँग विशाल क्यानभास छ जहाँ बसेर हामी शब्दचित्र कोर्न सकौं । त्यो क्यानभास हामी आफैले निर्माण गरेको हो । हाम्रा शहीदहरुले बनाएको क्यानभास । हाम्रो नेतृत्वले विचारको बल दिएर भित्तामा अडाइराखेको क्यानभास । हामीलाई थाहा छ आफैमा चित्र हैनन् क्यानभासहरु । रङ्ग भर्नैपर्छ कसै न कसैले । रङ्ग हो जीवन । रङ्ग भएन भने रङ्गीन हुँदैनन् जीवनहरु ।

अनिलजी, मानिसभित्र रङ्ग हेर्ने जीजीविषाहरु हुन्छन् । यदि क्रान्तिभित्र जीवनको रङ्गीचङ्गी सपना मान्छेले देखेन भने त्यहाँ कसरी रमाउन सकिन्छ र ? अत्यासलाग्दो गुफा हैन कम्युनिष्ट आन्दोलन । यो एउटा पवित्र तीर्थस्थल हो जहाँ मानिसले जीवनका सपना भेट्छन् । मान्छेका सपना प्राप्तिको अभियान पनि हो कम्युनिष्ट आन्दोलन ।

जनयुद्धको खालि क्यानभास हेरेर एउटा दर्शनशास्त्री रमाउन सक्ला । चित्रले जीवनको इतिहासको जीवन्तता पस्कन्छ । त्यसैले जनयुद्धको साहित्यको लेखनको थप विकास गरौं ।

समृद्ध संस्कृतिको निमाणबिना आन्दोलनले प्राप्त गरेका उपलब्धि पनि रक्षित नभएको इतिहास हाम्रै सामु छ । जनताले लडेर ल्याएको परिवर्तनलाई आत्मसात गर्न समर्थ संस्कृतिको बिकास गरौं । कला, साहित्य र संस्कृतिले परिष्कृत त्यस्ता नयाँ मान्छेले मात्रै त्यस्तो आधार तयार पार्ने छ । विद्यालयमा सूत्र घोकाएजस्तो जड कुरा हैन संस्कृति निर्माण र साहित्यको रचना र विकासको प्रश्न । शिक्षक महोदयहरु, आफ्ना बिद्यार्थीहरुलाई कक्षा छाड्न दिनोस् ती अराजक भएर हैन सर्जक भएर तपाईंलाई गुरु दक्षिणा दिन आउनेछन् एकदिन ।

जनादेश, २०६६