0

घान्द्रुकको घाम

Share

बिहानको सात बज्दैछ ।

साउनको महिना । रातभरिको झरीले भिजेको काठमाडौं र एउटा चिसो बिहान । हामी आ–आफ्ना झोलाहरुसँगै उभिएका छौं सुन्धाराको सडकपेटीको एकछेउ र सिमसिम पानीले हामी भिज्दैछौं ।

बसले हर्न हान्यो र छिनभरमै काठमाडौंको सुन्धाराबाट हामी यात्रुहरुलाई बोकेर एउटा मिनिबस पोखरातिर प्रस्थान ग¥यो । हामी लायन्स आँखा अस्पतालका पाँच जना स्वास्थ्यकर्मीहरु पदम क्षेत्री, राम बहादुर कुँवर, गणेश श्रेष्ठ, बलबहादुर राई र म सँगै छौं र घान्द्रुक आँखा शिविरका लागि पोखरा जाँदैछौं । बसभित्र यात्रुहरुको भीड छ । पानी परिरहेकै भए पनि यात्रुहरुको भीड र गर्मीले बसभित्र एउटा अत्यासलाग्दो उकुसमुकुस पैदा गरेको छ ।

बस नागढुङ्गा पुगेपछि एकचोटि काठमाडौंंलाई फर्केर हेर्छु । काठमाडौं बाक्लो कुहिरोले छोपिएको छ । कताकतै हो कि भनेझैं देखिने त्यो अग्लो धरहराको धमिलो छायाँ पनि यतिखेर बिस्तारै कुहिरोभित्र हराइरहेको देखिन्थ्यो । बसभित्रको उकुसमुकुसबाट बच्न अलिकति झ्याल के खोलेको थिएँ, यसैबेला झ्यालबाहिरको एकमुस्लो चिसो कुहिरो मौका छोपेर झ्यालभित्र स्वाट्ट पस्यो । म एकछिन चिसो भएँ । झ्याल बन्द गरें र बाहिर हेरें । सडकमा शीत खसिरहेको थियो ।

नागढुङ्गाको चेकपोष्टमा एकछिन अलमलिएपछि बस नागबेली सडकमा उँधैउँधो ओरालिन थाल्यो । उँधो सधैं छ्याङ्ग देखिने किरिङमिरिङ सडक र वरपरका दृश्यहरु यो बिहानको बाक्लो हुस्सु र कुहिरोले सर्लक्कै छोपिएका थिए । अघिल्तिरबाट नजिकै आइरहेको सवारी गाडीको हेडलाइटको उज्यालोलाई देख्नसम्म पनि गारो हुने गरी कुहिरोको आततायी देखिन्थ्यो र कुहिरोको अँध्यारोभित्र ती छङ्गाछुर पहराहरु झनै कहालिलाग्दो भएर हाम्रोअघि फैलिरहेझैं लाग्थ्यो । बसको गति र बाटोको घुम्तीहरुले मनलाई झस्काइरहन्थ्यो । तर बसले आधाआधी ओरालो छिचोलिसकेपछि दृश्य एक्कासि बदलियोे । वरिपरि र परसम्मका सबै दृश्यहरु छ्याङ्ग देखिए । एकैछिन त हामी एउटा अँध्यारो सुरुङबाट बाहिर निस्किएर पृथ्वीको अर्कै सतहको उज्यालोको लोकमा पो कुदिरहेका हौं कि ! भनेझैं भान भइरह्यो ।

एक झर पानी बर्सिएर भर्खरै थामिएजस्तो कलिलो आकाश । सडकपारि देखिने कलिलो घाम पोखिएका पाटाहरु । झुलिरहेका फाँटहरु । गराहरुमा खेलिरहेको बतास । गाउँलाई हत्केलामा राखेर स्वाभिमानले निर्धक्क उठिरहेका धादिङका अग्ला पहाडहरु र उत्तरतिर फैलिएर मुसुक्क मुस्कुराइरहेको हिमाल । एउटा बैंशालु प्रकृति । लगातार हेरिरहुँ भनझैँ, ती पर देखिने हिउँफूलहरु टिपेर आँखाहरुबाट कतै पोखिइरहूँ भनेझैं अप्रतिम । आँखाहरु झ्यालबाहिर पोखिइरहन्छन् । अघि भर्खरसम्म यात्राले चिसिएको मेरो मन अहिले भने कति मग्न मस्त थियो । कति फुरुङ्ग थियो । र, एउटा उत्साहले यी दृश्यहरुमा रमाइरहेको थियो ।

नौबिसे देखियो । बस पृथ्वी राजमार्गको चिल्लो सडकमाथि कुद्न थाल्यो । अब भने पहिलेको जस्तो बिग्रिएको सडक थिएन । सडक मर्मत कार्य प्रायः पूरा भइसकेको देखिन्थ्यो । त्यो चिल्लो सडकलाई देख्दा मलाई लाग्यो वर्षौदेखि बिफरको बूूढो बिमारीले विक्षिप्त झैं देखिने त्यो बूढो सडक आज पहिलोपल्ट आफ्नो जीर्णोद्धारमा आफै छक्क छ । दङ्ग छ । र, यात्रुहरुका लागि एउटा हार्दिकता र शुभ कामना बोकेर लमतन्न छ ।

थुप्रै पहाड र घुम्तीहरु छिचोल्दै बस नदीको किनारैकिनार कुदिरहेको थियो । बेलाबेलामा किनारहरुबाट उठिरहेको चिसो हावाले झ्याल टेकेर हामीलाई अँगाल्न आइपुग्थ्यो । एउटा आनन्दले मैले यी झ्यालहरुबाट नदीको पानीको त्यो निलो प्रवाहहरुलाई हेरिरहें । मैले त्यहाँ अलिकति कविताका हरफहरु खोजें । एउटा सौन्दर्य खोजें । ऐकान्तिकता खोजें । कहिले आफैभित्र हराएँ । र, कहिले आफैबाट निस्किएर म त्यो नदीको बगरैबगर कुदिरहें । कहिले पानीका छालहरुसँग लहरिएँ । कहिले जङ्गलका झाडीहरुमा हराएँ । लहराहरुमा खेलिरहेँ । मनै न हो । बाँध्न कहाँ सकिन्छ र ! छाडिदिएँ ।

बस आफ्नै गतिमा थियो । र, म आफ्नै लयमा थिएँ । बेलाबेलामा सडक छेउछाउका घरहरु आँखामा ठोक्किदै पछाडि पर्दथे । आँखामा वरिपरिका दृश्यहरुको एक झलक पथ्र्यो र हराउँथ्यो । यात्रा हो । कति चिजहरु आँखामा साँच्न सकिन्थ्यो । कति सकिँदैनथ्यो ।

मलेखुका घरहरु देखिए । बस रोकियो ।

’लौ, चिया, नास्ता गरौं है ।’ खलासी कराए ।

हामी बसबाट ओर्लियौं र एउटा होटलभित्र छि¥यौं ।

’ल, कस्ले के खाने हो, मगाऔं हैं ।’ राम दाइले भन्नुभयो ।

’जसले जे खाए पनि मलेखुको आलुचप चाहिं नभुलौ है साथी हो ।’ पदम क्षेत्रीले भन्नुभयोे । आलुचप खाने सबैको साझा सहमति बन्यो ।

एकैछिनपछि प्लेटमा ताङ्खतातै चप आइपुग्यो अघिल्तिर । पदम दाइले चप प्रसङ्ग झिक्नुभयो । हामी सबै एक छिन हाँस्यौं । मैले चप खाँदै भनेँ– ’मलेखुको चप मिठो, पदम दाइको मन ठिटो ।’

’ल, ल, एउटा अर्को फेरि जाओस् ।’ साथीहरु सबै एकसाथ कराए । तर म भने मलेखुको तातो चपले चुपचाप रहें ।

एकछिनपछि बस त्यहाँबाट हिंड्यो । फेरि एकपल्ट सबै यात्रीहरु आफ्नो यात्राको धुनमै फर्किए । बसभित्र गीत बजिरहेकै थियो–

तिम्रै सुन्दर हरियालीमा, तिम्रै सुन्दर वक्षस्थलमा
यो कविको शैशवकाल बित्यो । हाँस्यो, खेल्यो, वनकुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा
मेरो प्यारो ओखलढुङ्गा ।

हाम्रो यात्राको संस्मरणको एउटा सुमधुर क्षण बनेर बसभित्र बजिरह्यो नारायणगोपालको स्वरले भरिएको कवि सिद्धिचरण श्रेष्ठको त्यो मिठो गीत ।
०००

तल त्रिशुली नदी बगिरहेको थियो । र, हामी नदीको किनारैकिनार बसको यात्रामा गतिमान् थियौँ । झण्डै एघार बजे बस मुग्लिङ पुगेर एउटा होटलअघि रोकियो ।

‘लौ, खाना खाउँ है ।’ खलासी ओर्लिएर कराए ।

‘लौ, खाना खाउँ है दाइभाइ हो । धारा त्यहीं छ । हातमुख धुने भए धोइहालौं ।’ वल्लो पल्लो होटलका ढोकाहरुमा अडेसिएर ग्राहकको आगमनलाई पर्खिरहेका थकाल्नी स्वास्नीमानिसका आशातीत आँखाहरु यात्रुका पाइलाहरुलाई हेर्दै कराइरहेका थिए । गाडीबाट ओर्लिएर हामी सडकमा उभिएरै एकछिन अल्मलिरह्यौं । केहीबेर अल्मलिएपछि ‘लौ आओ केटा हो’ भन्दै पदम दाइ अघिअघि लाग्नुभयो । हामी उहाँलाई पच्छ्याउँदै लाग्यौं पछिपछि । र, अलिपर रहेको ‘आमा’ होटलभित्र छि¥यौँ उहाँसँगै ।

‘ए भाइहरु !’ चिनजानले हो कि वा त्यो व्यावसायिक चतुराइ, होटलकी थकाल्नी दिदी पदम दाइलाई देखेर मुस्कुराइन् ।

‘धत्तेरी, दिदीको घर चिन्न पनि गारो भो हौ ।’ आफ्नो त्यो पूर्वेली लवज छाडेर पदम दाइ पनि मुस्कुराउनु भयो ।

‘ल, बस्नोस् भाइहरु ।’ थकाल्नी दिदी अरु औपचारिक बनिन् ।

‘ए केटा हो, ल यहाँ दाइहरुलाई खाना ल्याइदे ।’ तिनी बाहिरैबाट कराइन् ।

‘को के खाने ?’ राम दाइको खानाको मेनुको प्रस्ताव थियो ।

गणेश दाइ चाउमिन खाने हुनुभयो । अरुलाई मासुसहितको खाना ।

‘दाइहरुलाई के राखिदिउँ ?’ छिनछिनमा खानेकुराको भाँडा बोकेर हामीछेउ उभिन आइपुग्ने सानी ठिटीहरुको मुस्कानले हाम्रो ध्यानलाई तान्छ । अनुहारभरि अबोधता झल्कने उमेर नपुगेका ती साना र कलिला ठिटीहरु ग्राहकको मन जित्ने भावमा घरिघरि हामीछेउ आएर मुसुक्क हाँस्छन् । सायद त्यहाँको व्यापारिक परिवेश र वातावरणले उनीहरुलाई सिकाएको त्यो एउटा अपरिपक्व सिको थियो जसलाई उनीहरुले सधै“ यसरी नै पछ्याउँदै आइरहेका थिए । मलाई झट्ट बुधबार बेलुकी हेरेको टेलिफिल्म उजेलीको सम्झना आउँछ ।

‘दाइ, उजेलीहरु’ नजिकै तरकारीको भाँडा बोकेर उभिएकी ती सानी ठिटीलाई हेर्दै मैले राम दाइलाई भनेँ ।

‘अँ, हगि ।’ दाइले मुसुक्क हाँसेर मुन्टो हल्लाए ।

ती सानी ठिटी भने हामीतिर हेरेर केही बुझेझैं भावमा मसक्क मस्किएर त्यहाँबाट भागिन् । ऊ त्यसरी भागेको देखेर नजिकैका पदम दाइ लगायतका अरु साथीहरु अलमल्ल परेर हामीलाई हेरिरहे । तर मैले भने त्यहाँ उसले भाग्दै गरेका पाइलाहरु र उसले बाँचेको यो परिवेशभित्र उसको भविष्यको उज्यालोको एउटा सानो अंश खोज्ने थोरै प्रयासहरु गरिरहें ।

खाना खाइसकेपछि हामी होटलबाट बाहिर निस्कन्छौं ।

मुग्लिङबाट हिँडेपछि झण्डै पट्यारलाग्दो धुलो सडकको त्यो ८ किलोमीटरको दुरी काटेपछि आँबुखैरेनी देखापर्छ ।

न कतै गाउँ, न सहरजस्तो
धेरै बेथितिले खजमजिएको,
क्षीण र नीरस

त्यो आँबुखैरेनी बजार ।

अहँ, एउटा अन्योलपूर्ण स्थितिबाट अझै मुक्त हुन नसकिरहेको त्यो ठाउँ । सधैं अस्वस्थ । एउटा स्वस्थ मानसिकताको विकास यहाँ अझै हुन सकेन । यहाँ केवल ईष्र्या छ । द्वेष छ । घृणा छ । अभिमान छ । यहाँ सधैं स्वार्थको कालो संस्कार हुर्किरह्यो र आपसमा विश्वास र खुसीहरु कहिल्यै हुर्कन सकेन । थुप्रै दुखाइहरु थियो त्यो गाउँसँग । सधैं आफ्नैहरुबाट आक्रान्त । र, त्यो पीडाले यतिबेला मेरो मनलाई फेरि एकतमासको नरमाइलो बनाइरहेको थियो ।

‘तिम्रो घर यतै होइन ?’ राम दाइ सोध्दै हुनुहुन्थ्यो मलाई ।

‘हजुर,’ मैले भनें ।

‘यहीं बजारमै पर्छ ?’

‘त्यो रोड समातेर अलिकति हिँड्नु पर्छ ।’ मैले गोर्खातिर तेर्सिएको सडक देखाउँदै भनें ।

हाम्रो एक झलक हेराइमा आँबुखैरेनीलाई फेरि पछि छोडिदिन्छ बसको गतिले । अब हाम्रो अघिपछि धेरै टारहरु देखिन्छन् । पारि देखिन्छन् देउरालीको याङ्कोटबेसी, मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँध, गोप्लीङफाँट, च्याङ्लीटार । यो भेकतिर अझै पानी पर्न सकेको रैनछ । आकाशमा कतै पनि बादल देखिन्न । टारहरु सुख्खा छन् । कुलामा पानी छैन । गराहरु बाँझै देखिन्छन् । बसको झ्यालबाट पर देखिएका च्याङ्लीङका फाँटहरु हेर्छु । घाम उखरमाउलो छ बाहिर । तातो हावाले घरिघरि झ्याल बाहिरबाट हिर्काइरहन्छ र गर्मीले बसभित्र उकुसमुकुस बनाउँछ । यो खडेरीमा सायद कति किसानहरु आकाश हेर्दै वर्षा पर्खिरहेका छन् र बेचैनीहरु काटिरहेका छन् । र, यो मुलुकभरि अझै कति यस्ता जमिनहरु पानीको अभावमा खडेरीले यस्तै बाँझो पल्टिरहेका होलान् । तर हाम्रा सांसदहरु जो बिहान एकैछिन काठमाडौंमा परिरहेको पानीले छानो चुहिरहेको संसद्घरभित्र पानी हेर्न रमिता लगाइरहेका समाचारहरु आइरहेका थिए । धन्य होस् ।

दिउँसो तीन बजे बसले हामीलाई पोखरा ओराल्यो । आफ्नो छातीभित्र समेटेर पोखराले हामीलाई हार्दिकतापूर्वक मायालु अँगालो हाल्यो । त्यो संयोगले पाएको भेट झैं हामी पोखराको छातीभित्र लुटपुटियौं । हामीसँग शिविरका सामानहरु, औषधि र अप्रेशनका आवश्यक इक्युपमेन्टहरु थिए । बसबाट सामानहरु ओरालेर हामीले एकैछिन सडकछेउ अल्मलिरहनु प¥यो । पदम दाइका आँखाहरु त्यहाँ कसैलाई खोजिरहेका थिए र भन्दै हुनुहुन्थ्यो– “हैन, कोही आएको रै‘नछ क्या‘हो ।’

डायरीबाट फोन नम्बर टिपेर उहाँ फोन गर्न जाँदै हुनुहुन्थ्यो । त्यसैबेला एकजना अचिनारु हाम्रो अघिल्तिर आइपुगे र सोधे– ‘तपाईहरु काठमाडौं लायन्स क्लबबाट आउनु भएको हो ?’

‘हजुर ।’ पदम दाइको जवाफ थियो ।

अघिदेखि नजिकैबाट हामीलाई उत्सुकताले पछ्याइरहेका ती मान्छेको आँखामा झट्ट खुसी देखियो ।

‘मेरो नाम लक्ष्मण कोइराला, रेडक्रसबाट आएको ।’ र, उनले आफ्नो परिचय दिए ।

रेडक्रसको नाम सुनेपछि हामी पनि खुसी भयौं । ढुक्क भयो मन । थाहा भयो लक्ष्मणजी हामी आउने खबरले हामै्र प्रतीक्षामा रहनुभएको रहेछ । चिनापर्ची भो सबैसँग । मोटरसाइकलमा हुनुहुँदो रैछ । फोन गर्नुभयो कतै । एकैछिनपछि रेडक्रसको जीप हाम्रो सामु आइपुग्यो र हामीलाई लिएर जीप रेडक्रसको अतिथि भवनतिर लाग्यो ।

‘ल भाइहरु, थकाइ मार्दै गर्नुहोला । अब आज त काम भएन क्यारे । आराम गर्नुस् र आको बेला पोखरा घुम्नोस् ।’ अतिथिगृहको भवनअघि जीपबाट ओर्लिएपछि उमेरले अलि पाको देखिने एउटी महिला जो अघिदेखि जीपमा हामीसँगै हुनुहुन्थ्यो, कास्की जिल्ला रेडव्रmसका सदस्य हुनुहुँदो रै’छ चन्द्रा गुरुङ, उहाँले भन्नुभयो ।

‘खै, हामीलाई त झनै केही थाहै छैन हौ यहाँको ठाउँ । दिदीहरुले नै घुमाइदिने होला नि ?’ पदम दाइले भन्नुभयोे ।

‘मलाई आज फुर्सद भएन हेर्नोस् न । असाध्यै व्यस्त छु । के गर्नुहोला भाइहरु ?’ चन्द्रा गुरुङ एकछिन सोचमग्न देखिनुभयो र भन्नुभयो– ‘के गर्नुहुन्छ त ? कि हाम्रो अफिसको कोही एकजनालाई तपाईंहरुसँगै पठाइदिउँ त ?’

हामी अलमल्लिएर एकअर्कालाई हेरिरह्यौँ । पोखरा हाम्रालागि परिचित ठाउँ थिएन एक्लै घुम्नका लागि । तर यही छोटो बसाइ र अवसर थियो हामीले पोखरालाई हेर्नु र बुझ्नु । हामीलाई यो अप्ठ्यारो स्थितिबाट उम्काए राम दाइले र उहाँले भन्नुभयो– ‘हैन, हामी आफै जाउँला दिदी । बरू तपाईंहरुले हामीलाई महेन्द्रपुलसम्म लगिदिनुभएहुन्थ्यो ।”

‘अनि सक्नुहुन्छ त घुम्न ? अप्ठ्यारो हुँदैन ?’ चन्द्रा गुरुङको प्रश्न थियो ।

‘हुँदैन दिदी । म पहिले पनि आइसकेको छु । म घुमाउँला वहाँहरुलाई ।’ राम दाइले भन्नुभयो ।

‘ए, हो ! ल त्यसो भए त झन् सजिलो भैहाल्यो ।’ चन्द्रा गुरुङका अघिसम्म खुम्चिएका निधारका गाँठाहरु अलिकति खुकुला देखिए । ‘तपाईंहरु एकैछिन आराम गरेर बस्दै गर्नु है त । हामी तपाईंहरुलाई एकैछिनमा लिन आइहाल्छौं ।’ –भन्नुभयो ।

र, गाडी लिएर उहाँ बाहिर निस्कनु भयो ।
०००

हामी अहिले एउटा पुलमाथि उभिएका छौं ।

रेडक्रसको जीपले हामीलाई भर्खरै त्यो पुलमाथि ओरालिदिएको छ । यतिबेला हामीसँग अलिकति दिनभरिको यात्राको थकाइ छ । अलिकति भोक छ । र, धेरै उत्सुकता र आतुरताहरु छन् पोखरालाई घुम्नु र हेर्नुको लागि । हाम्रा आँखाहरुले त्यहाँ महेन्द्रपुल र महेन्द्रगुफाहरु खोज्दै छन् । फेवाताल र माछापुच्छ्रे खोज्दैछन् । हामीले कथाजस्तै सुनेका धेरै ठाउँहरु र कुराहरु आज पोखरामा हामीले हेर्न भ्याएसम्म हेर्नु पर्नेछ ।

‘हैन, पहिले कतै खाजा खाने हैन ?’ पदम दाइले सोध्नुभयो ।

‘पख्नोस्, अलिपर राम्रा होटलहरु छन् ।’ राम दाइ हामीलाई डो¥याउँदै हुनुहुन्थ्यो ।

त्यहाँ मान्छेहरु आउँदैजाँदै थिए । विदेशीहरु फोटाहरु खिचिरहेका देखिन्थे । हिप्पीहरु बरालिँदै थिए । मोटरहरु गुडिरहेका थिए । तर काठमाडौंमा चल्ने गाडीहरुकोझैँ हर्नको ट्याँट्याँटुँटुँ त्यहाँ कतै थिएन । यति सभ्य र शालीन सडक मैले काठमाडौंमा देखेको थिइनँ ।

हेर्दा कल्भर्टजस्तो एउटा सानो पुलमाथि पुगेर हामी उभिएका थियौँ । बीचभागमा उभिएर राम दाइले हामीलाई भन्नुभयो– ‘यही हो महेन्द्रपुल । यहीं तलबाट बगिरहेको छ सेतीनदी ।’

एउटा सरप्राइज्डजस्तो । पुलबाट तल टाउको निहुराएर हामीले सेतीनदीलाई हेर्न पो त थाल्यौं । एकछिन अघिसम्म मेरो आँखाले खोजिरहेको र कल्पनामा खेलिरहेको महेन्द्रपुल र सेतीनदीको यो कायाले मलाई एकैछिन रोमाञ्चित बनाइरह्यो । पुल हे¥यो, पुलजस्तो पनि छैन । नदी हे¥यो, नदीजस्तो पनि देखिँदैन । अघिसम्म कुनै खोल्सो पो होला भन्ठान्दै गरेको मेरो मनले मेरो मानसमा बसेको कल्पनाको यमानको महेन्द्रपुलको आकारलाई अहिले यो कल्भर्टजस्तो पुलले भत्काइदियो । पुलका डण्डीहरुलाई समात्दै मैले बगिरहेको सेतीनदीलाई उँधोतिर निहुरिएर हेर्न प्रयत्न गरिरहें । पानी खसेको छङ्गछङ्ग आवाज सुनिन्छ । तर नदी कतै देखिँदैन । उतिखेरै हावाको चिसो बाफ र त्यसको चिसो झोक्काले तलबाट मलाई हान्यो । त्यो कहालिलाग्दो खोल्सोबाट सेतीनदी बगेको दृश्यहरुलाई हेर्ने मेरा प्रयत्नहरु व्यर्थै रहे । जमिनभित्र लुक्दै बगिरहेको सेती नदीमाथिको त्यो पहरामा उठाएर बनाइएका ती घरहरु झनै कहालिलाग्दा थिए ।

साँच्चै, ती दृश्यहरु अवर्णनीय थिए । अलौकिक देखिन्थे ।

‘पहिले मान्छे हिँड्न सक्ने काठको पुल मात्र थियो यहाँ । यो पुल बनाएको पछि हो ।’ राम दाइ भन्दै हुनुहुन्थ्यो –‘पहिलेपहिले काठ चोरेर हिँड्नेहरु यो भीरैभीर भएर हिँड्थे रे । एक फड्कोमा यो नदीलाई वारिपारि गर्दथे रे ।’

एउटा दन्त्यकथाजस्तै सुनिरहेका थियौं हामी । वाचक थिए राम दाइ । हामी स्रोता थियौँ । राम दाइले अलि उँभो देखिएको सेतीको किनारसँग जोडिएको जङ्गलतिर औँलाहरुले देखाउँदै नमितासुनिताको हत्या भएको ठाउँ देखाउनुभयो । त्यो पाशविकता सम्झेर एकपल्ट मन चसक्क दुख्यो । पंचायतकालीन व्यवस्थाले गरेको त्यो क्रूर हत्याकाण्ड थियो । वास्तविकता बाहिर सार्वजनिक हुन नसके पनि हत्याले पञ्चायती शासकहरुप्रतिको जनताको तीव्र घृणा र आक्रोश भने प्रकट गरिदिएको थियो ।

फेरि एउटा स्मरण बनेर नमितासुनिताको हत्याको चित्र आँखाअघिल्तिर खेलिरह्यो । आज नमितासुनिता मात्रै होइन सायद कयौँ त्यस्ता अरु नारीहरुका आँसुको अस्मिता लुकेको छ सेतीको गर्भभित्र । र, मलाई लागिरह्यो– तिनै अभागी स्वास्नीमानिसहरुको पीडाको सुस्केरा हो सेतीनदीको सुसाहट । ती क्रूर घटनाहरुको सम्झनाले छातीभरि पञ्चायती शासकहरुप्रति अरु घृणा पैदा ग¥यो ।

नजिकैको एउटा होटलभित्र खाजा खाइसकेपछि महेन्द्रपुलबाट ट्याक्सी समातेर हामी फेवातालतिर हिँड्यौैं । फेवातालको किनारभरि डुङ्गाहरु छन् । र, एउटा किनारामा उभिएर मैले पानीको छालहरुमा त्यो परसम्म फैलिरहेको हिमालका छायाँहरुलाई नियालिरहेँ ।

जहाँ लालुपाते छ
र गुराँसका बोटहरु छन्
पानीमाथि खेलिरहेको माछापुच्छ्रे छ
जहाँबाट नाउडाँडा देखिन्छ
बादलभित्र हराइरहेका धमिला पहाडहरु देखिन्छन्
एकचोटि मलाई आफूभित्र त्यो सौन्दर्य कोर्न मन लाग्छ
लालुपातेका रङ समेट्न मन लाग्छ
ती हिउँफूलहरु टिपेरै
मलाई मेरो देशकोे बैंस उमार्न मन लाग्छ
मलाई ती पातहरुमाथि
एउटा अटोग्राफ कोर्न मन लाग्छ
०००

‘डुङ्गा चढौं ।’ एउटा प्रस्ताव आउँछ ।

प्रस्ताव ल्याउनेचाहिं गणेश श्रेष्ठ हुन् क्यारे । डुङ्गा चढ्ने कुराले भने एक किसिमको डर र उत्सुकता दुवै पैदा गर्छ मभित्र । बेलुकीको समय फेवातालमा डुङ्गा चढ्नु र चलाउनु उति सुरक्षित मानिँदैन भन्ने सुनिएको हो । अझ हावा चलेको बखत त डुङ्गा चलाउनु निषेध नै रहेछ । तै त्यो साँझपखको समय हाम्रालागि उति साह्रो प्रतिकुल भने थिएन । परपरसम्म पनि डुङ्गाहरु चलिरहेका देखिन्थे । हामी बसेको किनारासम्म डुङ्गाहरु आउँदैजाँदै थिए ।

‘आफै लैजानु हुन्छ भने साठी रुपैँया । नत्र एकसय रुपैँया ।’ सोधाइमा एकजना बोटे भाइले जवाफ दिए ।

आफैले चलाउन सक्ने त कुरै रहेन । बोटे भाइलाई लिएरै हामीले डुङ्गा चढ्यौँ । पदम दाइ एउटा बहना समातेर अघिल्तिर बस्नुभयो । बाँकी हामी भने टक्¥याक्टुक्रुक मिलेर बस्यौँ । किनारालाई छाडेर डुङ्गा अब पानीमाथि खेल्न थाल्यो । पछिल्तिर बसेर बोटे भाइले बहाना चाल्यो । डुङ्गा पानीमा हेलिँदै अघि बढ्यो । पदम दाइ अघिल्तिर बसेर बहानालाई पानीमा खेलाउँदै हुनुहुन्थ्यो । पदम दाइको बहानाको चाल नमिलेपछि बोटे भाइले बहाना नचलाउन आग्रह गरे । डुङ्गा जतिजति अघि बढ्दै थियो पानीको गहिराइ र डुङ्गाको असन्तुलनले मनलाई उतिउति नै झस्काउँथ्यो । अलिपर पुगेपछि पदम दाइ झनै जिस्कन थाल्नुभयो । अघिल्तिर बसेर बहना खेलाइरहेको उहाँको त्यो भद्दा जिउ घरि दायाँ र घरि बायाँ ढल्किरहँदा डुङ्गाको सन्तुलन बिग्रन्थ्यो र पछिल्तिर बोटे भाइलाई त्यो सन्तुलन मिलाउन हम्मे पथ्र्यो । उहाँको त्यो ठट्टाले कतै डुङ्गाले पुल्टुङबाजी मार्ने हो कि भन्ने छटपटीले हामी सबैलाई पिरोल्यो ।

हामी उहाँलाई डुङ्गामा बसेर नजिस्कन भन्थ्यौँ । तर उहाँको त्यो हर्कत केटाकेटीकोझैं अरु बढ्थ्यो ।

‘यसरी त दाइहरुलाई लान सकिन्न है ।’ अब भने बोटे भाइको धैर्यले पनि साथ छोडेछ । बोटे भाइ रिसायो । बलबहादुर राईको अनुहारमा अघिदेखि आक्रोश देखिन्थ्यो ।

केहीबेरमा डुङ्गाले तालको मध्यभागमा रहेको बाराही मन्दिरको छेउमा किनारा लियो । हामीले एउटा राहतको सास फे¥यौं । सबैको अनुहारबाट अघिको त्यो सकस बिस्तारै हरायो । अघिसम्मको त्यो त्रासपूर्ण क्षणबाट उन्मुक्त भएर अहिले सबैको ओठबाट निस्केको हाँसोले सबैलाई एकछिन रोमाञ्चित पनि बनायो । सङ्कट र अप्ठ्यारोबाट मुक्त भएपछि मान्छेको जीवनप्रतिको मोह अरु झन् बढ्दो रै’छ क्यारे । त्यसबेला हामी सबैको हाँसो र अनुहारका खुसीहरुबाट यस्तै महसुस गरेँ ।

‘के साह्रो डराको हौ तिमीहरु ।’ हामीसँग पदम दाइ झनै नकच्चरो हाँसो हाँस्नुभयो । बलबहादुर राई पदम दाइतिर आँखा तरेर हिँड्यो । केही बोलेनन् ।

हामीले बाराही मन्दिरको परिसर चहा¥यौँ । चारैतिर पानीेले घेरिएर बीचमा बाँकी रहेको त्यो सानो थुम्कोको सौन्दर्य छुट्टै थियो । कसरी रहन गयो होला यो थुम्को यहाँ ? कसले निर्माण ग¥यो होला यहाँ यो मन्दिर ? कहिलेदेखि यहाँ यो पूजाआजा सुरू भयो होला ? किन पानीले कहिल्यै गल्दै र कमजोर बन्दै नगएको होला यो जमिनको भाग ? थुप्रै जिज्ञासाहरु मनभित्र उठिरहे । त्यहाँ पानीका छालहरुको रमणीयताले आँखाहरु रमिरहेका थिए ।

मन्दिर परिसरमा मानिसहरुको उपस्थिति पातलिँदै गइरहेको देखिन्थ्यो । सबै डुङ्गाहरु पारि किनारातिर फर्किरहेका थिए । साँझ बढ्दै थियो । हामीलाई फेरि डुङ्गा त चढ्नु नै थियो । तर कोही डुङ्गा चढ्न अघि तम्सिरहेका थिएनन् ।

‘अहँ, म चाहिँ यसमा जाँदिन है ।’ गणेश श्रेष्ठ भन्दै थिए ।

‘म नि जान्नँ ।’ बलबहादुर झन् पछि हटे ।

सबै अलमल्ल परेर एकअर्कालाई हेरिरहेका थिए । सबैका आँखाहरु पदम दाइतिर थिए ।

‘ल बा म चल्दिनँ, भो अब त ।’ लाचार देखिनुभयो पदम दाइ ।

अलिपर पुगेपछि बोटे भाइले केही वर्षअघि एउटा डुङ्गा पल्टेको ठाउँ देखाए । त्यो दुर्घटनामा १४ जनाको मृत्यु भएको रै’छ । त्यो सुन्दा भने एकपल्ट आङ जिरिङ्ग भयो । मैले अलिकति निहुरेर पानीको त्यो निलो गहिराइलाई नाप्न खोजेँ । सकिनँ । जिउ ढक्क फुल्यो । बोटे भाइले तालबाराहीको मन्दिरलाई एक फन्को मारेर डुङ्गालाई किनारा लगाएपछि डुङ्गाबाट ओर्लिएर पाखा टेक्नासाथ बलबहादुर राईले आक्रोश पोखे– ‘यी केटाहरुसँग हिँड्न नहुने रै’छ ।’

हामी फेरि एकपल्ट सबै हाँस्यौँ ।

दिन त्यहीँ बित्यो । हामीले डेविड फल्स् र महेन्द्रगुफा हेर्ने इच्छालाई त्यहीँ थाँती राख्यौँ र फेवातालबाट फर्किएर आफ्ना थकित पाइतालाहरुलाई रेडक्रसको अतिथिगृहको कक्षभित्र पुगेर बिसायौँ । ओछ्यानमा ढल्किएर गफगाफमै राति को कतिबेला निदायौँ, थाहा भएन ।

भोलिपल्ट बिहानको चिसोले हामीलाई ब्यँझायो । तर अल्छीलाग्दो निद्रा बोकेरै हामी ओछ्यानमा गुटमुटिरह्यौँ । कास्की जिल्ला रेडक्रसका मन्त्री महेश गुरुङले कोठाभित्र पसेर हाम्रो चियानास्ताको तयारी भएको जानकारी दिनुभएपछि भने हामीलाई हतारो प¥यो । चिया पिइसकेपछि हामीले त्यहाँबाट हिँड्नुपर्ने थियो । ढिलो भइसकेछ । रेडक्रसको जीप बाहिर हामीलाई पर्खिरहेको थियो । काठमाडौँबाट गएका हामी पाँचजना, एकजना प्रहरी र जु.रे.स.का तीनजना भोलेन्टियर्स बहिनीहरुलाई लिएर जीप अतिथिगृहबाट हिँड्यो । एकैछिनपछि जीप बाग्लुङ जाने सडकतिर हुइँकिदै थियो । हेम्जा र सुईखेतको त्यो फराकिलो फाँटको तेर्साे बाटो हुँदै जीप कुदिरह्यो ।

‘ए, तपाईहरु त के हो यो ? किन यति ढिला ? हामीलाई भने तपाईंहरुलाई यहाँ पर्खदैमा हैरान ।’ एउटा प्रहरी चेकपोष्टनिर मोटरसाइकल अड्याएर बसिरहनुभएका लोक भण्डारी र लक्ष्मण कोइरालालाई देखेपछि चन्द्रा गुरुङ कराउनुभयो । बाग्लुङ जाने त्यो सडकको निर्माण कार्य पुरा गरिनसकिएको हुनाले पर्मिट लिनुपर्दो रै’छ र सजिलोको लागि त्यहाँसम्म डिएसपी कार्यालयबाट ती प्रहरीलाई पनि साथै ल्याइएको रै’छ । प्रहरीहरु त्यहीँ ओर्लिए । चेकपोष्ट कटेपछि जीप उकालैउकालो कुद्न थाल्यो । झण्डै एकाघण्टाको त्यो उकालोले मलाई नौविसे नागढुङाको सडकखण्डको उकालोको सम्झना गरायो ।

‘छ्या, कस्तो मौसम प¥यो है यो ।’ पहाड छोप्दै उठिरहेको बाक्लो कुहिरो हेर्दै चन्द्रादिदी बोल्नुभयो– ‘तपाईंहरुले खै आज पोखरा हेर्न नपाउने हुनुभयो त हौ ।’

‘माथि नाउडाँडाबाट हेर्दा पोखरा कति रमाइलोे देखिन्थ्यो ।’ राम दाइ पनि अलिकति गुनासिदै थियो यी कुहिरोसँग ।

‘हो नि भाइ । के हेर्नुहुन्छ र अब । फर्कदा दिन राम्रो प¥यो भने हेर्नुहोला ।’ चन्द्रा गुरुङ दिदीको सल्लाह थियो ।

देखियो नाउडाँडा । कुहिरो अझै पनि उस्तै थियो । हुस्स उठिरहेको भुइँकुहिरो र तुसारो उस्तै । पोखराका ती सुन्दर पहाडहरु र हिमालहरु हेर्ने हाम्रा रहरहरुमाथि त्यो बाक्लो कुहिरोले बाक्लै विषाद दियो । काँडेबाट बाटो ओरालियो र लुम्ले हुँदै बिहानको दश बजेतिर जीप मोदी नदीको किनारमा पुगेर रोकियो । घान्द्रुकसम्म पुग्ने हाम्रो पैदल यात्राको सुरू अब त्यहीँदेखि हुँदो रै’छ ।
०००

सातजना भरियाहरुलाई लिएर हामी हाम्रो पैदलयात्रा सुरू गर्छौं । हाम्रो सडकयात्रा अब सकिएको छ । सडकबाट ओर्लेर केही ओरालो र तेर्सो हिँडेपछि एउटा झोलुङ्गे पुल देखा पर्छ । झोलुङ्गे पुल तरेपछि हामी एउटा बस्तीभित्र प्रवेश गर्छौ । नदी किनारमै अग्ला काठहरु ठड्याएर बनाइएका ती घरहरु हेर्दा निकै आकर्षक देखिन्थे । ‘वीरेठाँटी’ लेखिएको एउटा सानो साइनबोर्डले हाम्रो आगमनलाई हार्दिकतापूर्वक स्वागत गर्छ । त्यो हार्दिकताप्रति हामी पनि नतमस्तक अघि बढ्छौँ ।

अलि अघि लहरै होटलहरु देखिन्छन् । अघि हिँड्ने साथीहरुलाई पछ्याउँदै हामी अन्नपूर्ण होटलभित्र पस्छौँ । हाम्रो बिहानको खाना त्यहीँ हुन्छ । त्यहीँ हाम्रो परिचय कास्की जिल्ला रेडक्रसका रमेश पौडेलसँग हुन्छ । उहाँ पञ्चायतकालमा पोखरा नगरपञ्चायतको सभापति समेत भइसक्नुभएको रहेछ । खाना खाइसकेपछि हाम्रो यात्रा अघिल्तिर बढ्छ ।

हामी मोदी नदीको बगरैबगर हिँडिरहेका छौँ । कोही अघिल्तिर हिँडिरहेका छन्, कोही पछिल्तिर । नजिकै मोदी नदी बगिरहेको छ । र, हामी कहिले मोदीको किनारलाई छोएर अञ्जुलीभरि पानी उठाउँछौँ र पिउँछौँ । कहिले बगरका ढुङ्गाहरु बटुल्छौँ र पानीमा हिर्काउँदै खेल्छौं । बाटो कतै उकालो छ, कतै ओरालो । कतै सजिलो छ, कतै असजिलो । कतै भीर, पहराको साँघ्ुरो बाटो छ । बाटोमा मान्छेहरुको उस्तो आवत–जावत देखिन्न । नदीको अप्ठ्यारो किनारलाई छाडेर एक ठाउँ पुगेपछि नदीले बनाएको बगरमा केही स्याउलेघरहरु देखिन्छ– स्याउलीबजार । जङ्घार परेको ठाउँ । हिउँदमा प्रायः मान्छेहरु स्याउलीमा बास बस्दा रै’छन् । एकैछिन हामी त्यहीँ सुस्ताउँछौँ र पछि आउनेहरुलाई पर्खन्छौँ । त्यहीँ पोखराका कवि एवं चित्रकार रमेश श्रेष्ठसँग भेट र परिचय हुन्छ । उनीसँगको त्यो भेट आत्मीयपूर्ण बन्छ ।

स्याउलीबजारबाट सुरू हुँदो रै’छ घान्द्रुकसम्म पुग्ने एउटा विकट उकालो । ओहो ! काँधमाथि जुरो हालेर आकाशतिर उठिरहेको अजङको त्यो उकालो । मानौं यामानको एउटा कुस्तीबाज हाम्रो सामुन्ने उभिएर हामीसँग मल्ल युद्धको लागि पर्खिरहेको छ । र, हामी सबैका आँखाहरु भने अघिदेखि नै त्यो उकालोले उच्चाटलाग्दो देखिन्थे । प्रत्येक चार पाइलामा विश्राम लिँदै हिँड्नु पर्ने । केहीले त तल फेदीबाटै साथमा टेक्ने लौरोको बन्दोबस्त गरिसकेका थिए ।

त्यो घुम्साखान उकालोको फेदी रैछ स्याउली बजार । हामीले बिस्तारै त्यो उकालोलाई चढ्न सुरू ग¥यौँ र पाइलाहरुलाई अघि बढायौँ । उकालोसँगै थकाइ सुरू भयो ।

झण्डै आधाआधी उकालो छिचोलेपछि एक्कासि पानीले झरी हाल्यो । अघिसम्म सफा देखिँदै थियो आकाश । बादल कतै थिएन । बाटोमा हिँडिरहेकाहरुलाई कतै आतुरी पनि थिएन । हामी कोही अघि कोही पछि हुँदै त्यो उकालोमा बिस्तारै उकालिँदै थियौँ । झरीले हामीलाई रुझाइ हाल्यो । हामी कसैसँग ओढाउ थिएन । त्यो अनकण्टार उकालोमा यताउता कतै पानी ओत्ने ठाउँ थिएन । हामी निरुपाय रुभ्mदै अघि बढिरह्यौँ । निथु्रक्क रुझ्दै अलिबेर हिँडेपछि बाटोछेउ एउटा झुप्रो भेटियो । राम दाइ र गणेश श्रेष्ठ त्यही झुप्रोभित्र छिरे । रक्सी पाइँदो रै’छ । दुवैजनाले एकएक ट्वाक रक्सी तानेर बाहिर निस्किए । एकैछिन अघि हामीलाई निथ्रुक्कै रुझाएर दर्किरहेको पानी रोकिएको थियो र पारि पाखामा रमाइलो घाम लागेको थियो ।

रक्सीको रन्कोले भेटेछ क्यार, राम दाइ र गणेश श्रेष्ठ त्यो उकालोमा पनि लमकलमक लम्किएर अघि पुगे । हामी उनीहरुको त्यो लम्काइलाई हेरेर बिस्तारै उकालिरह्यौँ ।

तीन घण्टाको नाक ठोस्सिने त्यो उकालो हिँडेपछि बाटोले पनि अब त तर्पाया तर्पाया लियो । अलि पर पुगेपछि पहाडको एउटा मोड परेको ठाउँ देखियो । त्यही मोडमा पुगेपछि त्यो उकालोको अन्त्य हुँदोदोरहेछ ।

‘ऊ त्यो बत्ती बलेका घरहरु देख्नुभयो ? त्यही हो घान्द्रुक ।’ कुहिरोभित्र घरि हराउँदै र घरि देखिँदै गरेको बत्तीको उज्यालोलाई देखाउँदै रमेश पौडेलले भन्नुभयो । हामीले त्यो पातलो कुहिरोभित्र छोपिएको घान्द्रुकको धमिलो चित्रलाई वरबाट नियाल्यौँ । साँझको चिसोमा हाम्रा पाइतालाहरु आतुरले घान्दु्रकको बस्ती टेक्न अघि बढिरहे । हामी बस्ने, खाने ठाउँको बन्दोबस्त अघि नै मिलाइसकिएको रहेछ । हामीलाई त्यसको कुनै समस्या रहेन । घान्दु्रक पुग्दा सबै घरहरुमा साँझको बत्ती बलिसकेको थियो । राति आठ बजेतिर डा. यन्तमणि प्रधान र महेश गुरुङसहित अर्को एक टोली घान्दु्रक आइपुग्यो । एउटा रमाइलो जमघट बन्यो घान्दु्र्रक र त्यो साँझ । पछिल्लोचोटि आउनेहरुमा कविता लामा र मुना श्रेष्ठ काठमाडौंबाट आएका थिए । र, बबिता, सजना ढकाल र उत्तरा श्रेष्ठ भने क्षेत्रीय अस्पताल पोखराबाट । अब भोलिदेखि एकसातासम्म घान्द्रुकमा आँखाको निःशुल्क स्वास्थ्य शिविर सुरू हुँदै थियो ।
०००

घान्द्रुक,
जहाँ अन्नपूर्ण छ
माछापुच्छ्रे छ
र एउटा सिङ्गो राष्ट्र छ
घान्द्रुक, जहाँ राष्ट्रको अस्मिता छ
र ढुकढुकी छ
घान्दु्रक, जहाँ अटुट माया छ
विश्वास छ
प्रेम र स्नेह छ
र हार्दिकता छ
घान्द्रुक, जहाँ विश्व शान्तिका
गीतहरु गाइन्छन्
र एकताका हातहरु बाँधिन्छन्
जहाँ हजारौं पर्यटकहरु ओइरिन्छन्
र मानव सभ्यताको
एउटा अर्को बिउ रोपिन्छ ।

हामी त्यही घान्दु्रकमा छौँ केही दिनका लागि । दुर्गम गाउँका आँखाका रोगीहरुका लागि यहाँ हाम्रो आँखा शिविरको कार्यव्रmम सञ्चालन भइरहेको छ । लायन्स आँखा अस्पताल काठमाडौँ र पोखरा रेडक्रसको संयुक्त आयोजनामा त्यो निःशुल्क शिविर अन्नपूर्ण संरक्षण क्षेत्रको भवनभित्र हुँदै छ । बिरामीको भीड र ओहोरदोहोर उत्तिकै छ । हामी बिहानदेखि बेलुकीसम्म व्यस्त रहन्छौँ । र, साँझ शिविरका चिकित्सक, स्वास्थ्यकर्मी र स्थानीय स्वयं सेवकहरुको एउटा रमाइलो जमघट बन्छ । राम दाइको गीत, पदम दाइको मुक्तक, कविता लामाको नाचले एउटा छुट्टै रौनक र उत्साह भरिदिन्छ साँझको कार्यक्रममा ।

घान्दु्रक आफैमा एउटा अनुकरणीय गाउँ रहेछ । झण्डै पाँचसय घरहरुको त्यो बाक्लो बस्तीमा अधिकांश घरहरु लाहुरेका रहेछन् । तर लाहुरे भएर पनि सहर पस्ने मोहले भने कहिल्यै छोएको रहेनछ यहाँका मानिसहरुलाई । यहाँका गाउँलेहरुको एउटा समिति रहेछ र त्यही समितिबाट नै यहाँका सम्पूर्ण निर्णयहरु हुँदा रै’छन् ।

सायद अलिकति पश्चिमी सभ्यता पाएरै पनि होला यहाँका मानिसहरुमा धेरै सक्रियता थियो । दृढता र आत्मविश्वास थियो । एउटा छहराबाट निकालेको झण्डै ८० किलोवाटको विद्युत् उत्पादनले यस गाउँका चारवटा वडाहरु विद्युत् सुविधाले सम्पन्न रहेछन् । गाउँभित्र रहेका सबै बाटो उत्तिकै सफा देखिन्छन् । आगन्तुकहरुप्रतिको गाउँलेहरुको हार्दिकता र मित्रवत् व्यवहारले सबैलाई लोभ्याउँछ ।

हरेक बिहान नयाँ लाग्थ्यो मलाई । गतिशील लाग्थ्यो । ब्युँझदा माछापुच्छ्रे हाम्रो सिरानमा हुन्थ्यो र त्यसको चिसो हावाले हाम्रो छातीभित्र एउटा नयाँ रक्त सञ्चार गथ्र्यो । हामीसँग आँखाका वरिष्ठ चिकित्सक डा. यन्तमणि प्रधान हुनुहुन्थ्यो । लायन्स आँखा अस्पतालमा उहाँसँगै काम गर्दै आइरहेका थियौँ हामी । हामी सबैका लागि अभिभावकजस्तो हुनुहुन्थ्यो उहाँ । नेपालमा मोतिबिन्दु रोगका कारण हुने अन्धोपन निवारणको लागि लायन्स आँखा अस्पतालको पनि धेरै महङ्खवपूर्ण भूमिका छ भन्ने लाग्छ मलाई । नेपालका धेरै पहाडी र तराईका ग्रामीण क्षेत्रहरुमा यस अस्पतालले धेरै यस्ता निःशुल्क आँखा शिविरहरु सञ्चालन गर्दै आइरहेको छ जसले मोतिबिन्दु रोगबाट हुने आँखाका रोगीहरुको उपचारलाई सहज बनाएको छ ।

डा. यन्तमणि प्रधानलाई क्रोधको एउटा पर्याय ठान्ने गर्थें । अलि बढी रिसाहा हुनुहुन्थ्यो भन्ने पनि लाग्थ्यो मलाई कहिलेकाहीँ । मुडी स्वभावको । सायद उहाँको यो थोरै स्वभावजन्य कमजोरी पनि थियो होला । केही समयदेखि उहाँको अघिपछि सँगै रहेर काम गर्दा मलाई लागेको मेरोे अनुभव हो यो । अस्पतालमा हम्मेसी उहाँसँग खुलेर हामी कोही पनि उहाँको अघि कुरा गर्न सक्दैनथ्यौा । तर मेरो सोचाइलाई शिविरका यी दिनहरुमा उहाँबाट पाएको त्यो आत्मीय व्यवहारले भत्काइदियो । उहाँ बाहिर जति कठोर देखिनुहुन्थ्यो त्यति नै उहाँभित्र मैले कोमलता र हार्दिकता देखेँ ।

‘के गर्नु भाइ, बाहिर जस्तो देखिए पनि मनभित्र पाप छैन ।’ लामो समय सँगै काम गरेकी उत्तरा दिदीको डा. प्रधानप्रतिको श्रद्धाभाव थियो यो ।
०००

एक हप्ताको शिविरका दिनहरु सकेर हामी पोखरा फर्कदै थियौँ । हाम्रो घान्द्रुक बसाइको त्यो अन्तिम दिन थियो । फर्कने दिन बिहान हामीले घान्दु्रकसँग बिदा माग्नु थियो । सँगै बस्दाको त्यो साथ छुट्नु पर्दाको क्षणहरुले हाम्रा पाइलाहरुलाई अघि बढ्नका लागि झनै गारो बनाइरहेको थियो । त्यो नरमाइलो बिहान अन्नपूर्ण र माछापुच्छ्रेले बादलको घुम्टो हालेर मुख लुकाइरहे । फूलका डालीहरुमा लुकेर चराहरुले हामीलाई हेरिरहे । हावा मन्द थियो । फूलहरु मौन थिए । न्याउलीका स्वरहरुले हामीलाई दुखाइरहेको थियो ।

बिहानको दश बजे हामी घान्दु्रकसँग बिदा मागेर ओरालो लाग्यौँ । हाम्रो बिदाइमा मोदीनदी तल वीरेठाँटीसम्म साथ दिन आइपुग्यो । रेडक्रसका जीपहरु त्यहाँ हामीलाई पर्खिरहेका थिए । हामीले फेरि एकपल्ट धेरै टाढा देखिने घान्दु्रकका ती अग्ला पहाडहरुलाई हेरिरह्यौँ । त्यहाँ घाम थिएन । बादलहरु उठिरहेका थिए ।

र, हाम्रा आँखाहरु धेरैबेरसम्म घान्दु्रकका ती पहाडहरुसँगै बाँधिइरहे ।

गतिविधि–२०४८