0

गाउँः एउटा नियमित क्रम

Share

पीडा छ
आह छ
ताड्ना छ
छटपटी छ
अहँ, कहीँ कुनै अन्तर छैन
फेरि पनि उही/उस्तै गाउँसँग
एउटा चिसो उच्छवास छ

निर्जन छ
निस्तेज छ
मन दुखाउने निर्दयी हावा छ
कहींकतै मन फुलाउने छातीहरू छैनन्
फेरि पनि उही/उस्तै गाउँसँग
एउटा निकृष्ट आकाश छ

गाउँ छ
गाउँसँगै सुनार्नी भाउजू छिन्
भाउजूका उच्चाट आँखाहरू छन्
जो सधैं, भालेको डाँकसँगै
झिसमिसेमा उठ्छिन्
जाँतो पिँध्छिन्
आँगन बढार्छिन्
घर लिप्छिन्
पँधेरो जान्छिन्
पानी भर्छिन्
चुलो जोर्छिन्
जाउलो बसाल्छिन्
र, जाउलोले आधा भरिएको पेटमा
नानीहरूलाई स्कुल पठाउँछिन्

गाउँ छ
गाउँसँगै सुन्तली छे
सुन्तलीको बैंस छ
बैंसमा खेल्ने सपनाहरू छन्
जो सधैं, पटुकीमा मकै बाँध्छे
बस्तुभाउ फुकाउँछे
वन जान्छे
दाउरा–घाँस गर्छे
गीत गाउँछे
पात बजाउँछे
र आफ्नो कल्पनामा
अलिकति आफै रमाउँछे

गाउँ छ
गाउँसँगै हर्के दाइ छ
हर्के दाइको उद्धिग्न मन छ
जो सधैं, बाँझो गरामा
हलो जोत्छ
डल्ला फुटाउँछ
माटो सम्याउँछ
र, नाङ्गो रूखको सियाँलमुनि
अलिकति थकाइ बिसाउँछ

गाउँ छ
आफन्तहरू छन्
मित्र छ
हितैषीहरू छन्
मेलापात छ
हातेमालो गर्दै गाइने दोहोरी
गीतहरूको लय छ
दुःख साट्छन्
पीडा बिर्सन्छन्
र, एक अर्काको सहारा बन्छन्

बेलुकी फेरि हतारहतार
सधैंझैं स्कुलबाट फर्कनेहरूलाई
मेलाबाट फर्कनेहरूलाई
दाउराघाँसबाट फर्कनेहरुलाई
किनकि, सबैलाई थाहा छ
साँझ परेपछि फेरि
मुखियाका काला घोडाका टापहरूले
गाउँका गोरेटाहरूलाई
निर्मम कुल्चने गर्छ ।

चित्र सौजन्यः राजेन्द्र सुवेदी

२०५०