विमला तुम्खेवा साहित्यमा एक सशक्त नारी हस्ताक्षर हुन् । पचासको दशकदेखि साहित्यमा देखा परेकी उनको लेखन सक्रियता र उपस्थिति कविता लेखनमार्फत अहिले पनि उत्तिकै बलियो छ । उनी सशक्त कविता लेख्छिन् । आफ्ना कविताहरुमार्फत पाठकहरु बीच आफ्नो स्टण्ट राख्न उनी सफल छिन् । ‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ उनका कविताहरु सङ्ग्रहीत चौथो काव्य कृति हो । यसअघि उनका विमला तुम्खेवाका कविताहरू २०५५, नदी, छाल र तरङ २०६० र संस्मरण एउटा बूढो रूखको २०६५ प्रकाशित भइसकेका छन् । हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता सङ्ग्रहमा उनका ४७ कविताहरु समावेश छन् र सबै कविता उत्तिकै पठनीय छन् ।
कृतिबारे कवि बैरागी काइँला लेख्छन्– ‘तरुनी लिम्बुनी जस्तै रैथाने सांस्कृतिक बिम्ब बोकेको भाषा र शैलीमा रचित मनै छोइराखेर जाने कवि विमला तुम्खेवाको काव्यात्मक अभिव्यक्तिले नेपाली साहित्यमा सम्भावनाका नयाँ दिशा औंल्याएका छन् । जीवनको यति नजिक भएर लेखिएको समय र समाजको पीडाका कविताहरु पढेर नरुने कसको होला निर्दयी मन ?’
‘हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे’ सङ्ग्रहभित्र रहेका कवि तुम्खेवाका दुई वटा कवितालाई मैले यहाँ प्रस्तुत गरेको छु ।
संसारभरिका तानाशाहलाई खुल्लापत्र
यो सहरको जुनसुकै गल्ली, चोक
चौरास्ता र होटलहरुमा भेट्न सक्नेछौ मलाई
म यौनकर्मी आइमाई
मरेको आमाको दूध चुसिरहेका कलिला बच्चाहरु
बमले ध्वस्त बनाएको सहरको सुनसान बाटोमा
नानीहरुको लास बोकेर
पागलझैं बेहोसीमा दोडिरहेका बाउहरु
तिम्रो डरको पराकाष्ठा हो ।
म
शरीर बेचेर भए पनि इमानको भात खान्छु
इमानको कपडा लगाउँछु
इमानको जिन्दगी बाँच्छु
र, दिल खोलेर हाँस्न सक्छु
तिमीहरु बम बेचेर मान्छेको मासु खान्छौ
मानव अधिकारको खोल ओढेर
खुनको खेल खेल्छौ
निमुखाहरुको आँसुको मदिरा पिउँछौ
फरक यही छ हामीबीचमा ।
यो ओठलाई
जतिपटक नेता, ठेकेदार, सन्यासी
र समाजसेवीहरुले चुमेर गए
त्यतिपटक घृणा गरें मैले तिमीहरुलाई
म,
तिमीहरु जस्तो निर्लज्ज छैन
तिमीहरु जस्तो बेइमान पनि छैन
आफ्नै शरीर बेचेर भए पनि इमानको भात खान्छु
र, एकबारको जीवन मुस्कुराएर बाँच्छु
मलाई लाग्छ
मुस्कुराएर बाँच्न सक्नु संसार जित्नु हो ।
०००
गेटपास
कुकुरलाई चाहिँदैन गेटपास
सिंहदरबार बाहिर–भित्र
चाहेको बेला जान आउन सक्छ
वा,
जुनसुकै मन्त्रालय वा किचेन क्याबिनेटका जुठेल्नाहरुमा
पुच्छर हल्लाउँदै पुग्न सक्छ
यस्तो दृश्य तपाईं जुनसुकै समयमा देख्न सक्नुहुनेछ
तर
जनतालाई चाहिन्छ गेटपास
यो कुरा बुझेको छ कि छैन सिंहदरबारले
जसको पसिना र रगतले उभिएको छ
तर शासकको नजरमा
कुकुरभन्दा नि तल रहेछ जनता