0

आज पनि सहरमा लकडाउन छ

Share

बाहिर लकडाउनको निषेधाज्ञा छ

(लकडाउनका
प्रिय मित्रहरु,
निषेधाज्ञा भन्ने बित्तिकै
सायद तपाईंले बुझिहाल्नु भयो
बाहिर सडकमा
मान्छेको आवतजावत बन्द छ
दोकानहरु बन्द छन्
चोकमा पुलिसको गस्ती छ
वातावरण
विल्कुलै एकान्त
र सुनसान छ ।)

त्यसैले,
यो लकडाउनमा
मानिसहरुलाई बाहिर निस्कन
बन्देज छ

(यो लकडाउनमा
तपाईंको जस्तै मेरो पनि
दैनिकी फेरिएको छ)

हो, बिहानको भात खाएर
भर्खरैजस्तो हो खाटमा अडेस लागेको
भुसुक्क निदाएछु

ब्युँझदा
मस्तको घाम थियो बाहिर
साह्रै निदाएजस्तो त लागेन
‘एक बज्यो कि !’
भन्ठानें

उठें
र घडी हेरें
दिउँसोको तीन बजिसकेछ

ओहो !
कस्तरी निदाएछु हँ ?

घाम
सधैंझैं
बार्दलीमा चर्को राप फ्याँकिरहेको थियो

भान्छामा
श्रीमती दिउँसोको
खाजा बनाउन व्यस्त थिई

बाहिर सडकमा
कोविड–१९ को सूचना फ्याँक्दै
नगरपालिकाको गाडी
कुदिरहेको थियो

आज पनि
सहरमा लकडाउन छ ।

२०७७ भाद्र १४