0

आदिम ओढार

Share

भर्खरै
एउटा उज्यालो प्रवाहित भयो
अँध्यारो गुफाभित्र

शताब्दीऔं पुरानो हो गुफा
प्राचीन ओढार

हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरु
उज्यालोलाई झम्टिरहेछन् स्तनधारी चमेरो
र विचित्र भावले
एकोहोरो हेरिरहेका छन्
वीभत्स काला माकुरा

भूगोल
र इतिहासका अनुसन्धाताहरु
तल्लीन छन्
कुनै नयाँ खोजको

नजिकै
कतै कुलकुलाउँदै गरेको आवाज
यो कुनै दलदल हो आदिम पोखरीको
जहाँबाट आलो तातो बाफ
उडिरहेछ रगतको

केहीपर देखिन्छ भग्नावशेष
दुईसय पचास वर्षअघिको यो कुनै
भव्य शाहकालीन दरबार हो
र यी असङ्ख्य
छरिएर रहेका कङ्काल
भर्खरै हत्या गरिएका एक्काइसौं शताब्दीका
मानव जिवाशेषहरु हुन्

भूगर्भविद्
र इतिहासका अन्वेषकहरु
क्रमशः नोट गरिरहेका छन्
निजी डायरीमा
‘एउटा आदिम क्रूर ओढार हो
यो मुलुक ।’

मधुपर्क, भदौ २०७६