0

म त्यो परको आकाशजस्तै रित्तो थिएँ

Share

यी कमिलाका ताँतीहरु कहाँ हिँडेका होलान् यसरी लस्करै !
कतै यी बेहुला कमिला लिएर जन्ती हिँडेका पो हुन् कि ?
वा बेहुली लिएर फर्किरहेका पो हुन् ?
कति परसम्म पुग्नुपर्ने होला यिनीहरुले ?
सँगै केही ठूला कमिलाहरु पनि छन् ।
कस्तो ठाँटबाँट, खाइलाग्दो ।
कस्तरी ठाँटिएको हेर न !
पक्कै यी बेहुलाका दाइभाइ हुन् !
कि नजिकका खानदानी नातेदार होलान् ?
कहाँ हिँडेका होलान् यसरी लस्करै यी कमिला ?

दिनभरि बारीको कान्लामा बाख्रा गोठालो हुँदै भोकले लखेटिरहेका मेरा आँखाहरु कमिलाको ताँतीसँगै लिउत पाखामा यसरी नै कुदिरहेका हुन्थे । भोक लाग्नु र भोकले उछित्तो खेलाएपछि एकैछिन मन कुँडिएर रूनु सामान्य जस्तै बनिसकेको थियो । आमालाई सम्झँदै टाढा एकान्तलाई चिहाएर एकैछिन आँसु झरेपछि आँखाहरु ओभानो हुन्थे । नजिकैको खोलाबाट पानी पिएपछि केही छिनलाई भोकको जघन्यता हराउँथ्यो । र, फेरि म फर्किएर कमिलाका ताँतीहरु खोजिरहेको हुन्थेँ ।

कुनचाहिँ होला कमिला बेहुला ? कुनचाहिँ होली कमिला बेहुली ?

कमिलाका ताँतीहरुका बीचमा टक्क अडिएर केही कमिलाहरु कतिखेर, कतिखेर त्यसका सुँढहरु उँभो आकाशतिर फर्काउँथे । र, म सोच्थेँ– ‘ऊ त्यसले अब बिहेको नरसिङ्गा फुक्यो ।’

तर त्यहाँ धेरैबेरसम्म मेरा खुसीहरु, मेरो तन्मयता र मेरो त्यो उत्सुकता रहँदैनथ्यो । घाम डुब्थ्यो र साँझ चढ्थ्यो । र, साँझको अँध्यारोसँगै चढ्थ्यो भोकको तीव्रता, आँखामा बेचैनी र ठूली आमाको कहर । अँध्यारो बढ्थ्यो र अँध्यारोसँगै मेरो मनको अधीरता बढ्थ्यो ।

यसरी लिउतका पाखाहरुमा बितेको थियो मेरो एक समय ।
मेरो बाल्यकाल,
मेरो ऐकान्तिकता,
र, मेरा एकाकीपनहरु

र, आज पनि विस्मृतिको एउटा कुनाबाट घरि हराउँदै र घरि उदाउँदै मलाई हतास र निराश बनाउन आइपुग्छन् विगतका तिनै फक्ल्याटाहरु ।
०००

साँझको समय छ । सन्ध्याकालको सूर्यको मधुरो उज्यालोले वातावरणमा एक प्रकारको मादकता छरेको छ । सेता बादलका पारदर्शक भुवाहरुमा सूर्यका किरणहरु पर्दा मानौँ एउटा चित्रकारले आफ्नो सबै रङ एकै ठाउँमा पोखिदिएझैं मनोहर देखिन्छ आकाश । बाहिर चिसो बतास चलिरहेको छ र करेसाबारीमा भँगेराहरु एक अर्कासँग चिर्बिराउँदै खेलिरहेका छन् । मनोरम छ दृश्य ।

हप्तादिनदेखि म बिरामी छु । बिरामीले गालेकोे जिउलाई धान्न झ्यालको एउटा कुनालाई आड लगाएर म एकतमासले माथि आकाशतिर हेरिरहेको छु । अलिकति चिसो हावाले म बसेको झ्याललाई बिस्तारै छोएर गएको छ । र, एउटा काउकुती र उदासी दुवै छाडेर गएको छ मनभित्र ।

म एक्लो छु घरमा । यतिबेला घरमा प्रायः कोही हुँदैनन् । ठुला बा बिहानै काममा गएका छन् । उनको सानो छोरा यसबेला साथीहरुसँग कतै गुच्चा खेलिरहेको होला । ठुली आमा कुनै छिमेकी कहाँ बसेर हाम्रै कुरा काटिरहेकी होलिन् । मेरो भाइ अमृत बिहानै बाख्रा लिएर कुकुरगाडे जङ्गलमा गएको छ– बाख्रा चराउन । अझै फर्किएको छैन । घर एकान्त छ । एकलास । र, मन एकतमास छ ।

र म त्यो परको आकाश हेरिरहेको छु ।
र, आकाशजस्तै रित्तो छु ।
०००

घरको पछाडि करेसाबारीबाट एक्कासि आएको चर्को र कर्कश स्वरले मेरो तन्द्रा टुट्छ– ‘एकपटक होइन, दुईपटक होइन, सधैँ अति गरे है यी साइँदुवाहरुले । अर्काको प्युसाहरु टिपेर के यो दुःख बेसाउन लेख्या हो कुन्नि !’

स्वर ठुली आमाको थियो ।

‘के भएछ ?’ भनेर तल हेर्छु । ठुली आमा रिसले भुमरी खेलिरहेकी थिइन् । अमृत दोषीजस्तो निहुरिएर खुट्टाले भुइँ कोतर्दै थियो । ठुली आमाको डरले उसको अनुहार कालो निलो थियो । ठुली आमा उसलाई पिटुँलाझैं गर्दै कराइरहेकी थिइन्– ‘लौ भन, बाख्रा एकातिर छाडेर काँ गाथिस् ? कुनचाहिँ तेरी कुकुर्नी आमा कहाँ गाको थिस् ?’

‘अलिकति करूणा नभएकी आइमाई । कति साह्रो कर्कश होलिन् !’ मनमनै सोचिरहेँ– ‘बाख्रा पनि कम्ती छुच्चा छैनन् । कुकुरगाडेबाटै ल्याउन छुट्यो कि ? वा ल्याउँदा ल्याउँदै बाटैमा कसैको बारीतिर पसेर बित्यास गर्दै छ कि ?’

भाइसँग अभैm केरकार गर्दै थिइन् ठुली आमा – ‘हैन, किन बोल्दैन यो ?’

उतिबेलै भएजति बाख्रा करेसाबारीभित्र पसेर सबै सागपात निमोठ्न थाले ।

‘लौन यी राँडीका किरियाहरुले भुसुक्कै पा¥यो ।’ ठुली आमाका आँखा बाख्रातिर पुगे ।

‘यी मुर्दारहरुले क्यै गरे सुख देनन् ।’ नजिकैको दाउरा टिपेर ठुली आमाले भाइलाई हिर्काइन् र बाख्राको पछि दौडिइन् । भाइ भुइँमा लड्यो । र, ऊ पीडाले करायो– ‘ऐया ।’

ऊ रुन सकेन । चोट सहेर लडिरह्यो । भाइमाथि ठुली आमाको यो दुर्व्यवहारले मलाई नरमाइलो बनायो र नराम्ररी दुखायो । मेरो आँखामा ठुली आमाको कालो छायाँले ऐँठन गरिरह्यो ।

‘हैन, के स्वाङ गरेर मरिराछस् त्यहाँ । यहाँ आएर तेरा जारहरुलाई बाँधी दे ।’ ठुली आमा बाख्रा लिएर फतफतिँदै भाइ नजिक आइपुगिन् र घरभित्र पसिन् ।

भुइँबाट उठ्न खोज्दाखोज्दै अमृतले पुलुक्क माथि हे¥यो । आँसुले उसका आँखा भिजेका थिए । झ्यालमा मलाई देखेपछि उसका आँखाबाट बरर्र आँसु खसे । मेरो छाती बेस्सरी अमिलियो र एउटा गह्रौ हिक्का मेरो घाँटीमा आएर अड्कियो । उसका आँखाबाट आँखा छल्न मैले पर हेरेँ । त्यसैबेला अघि छुटेका बाख्रा पनि टुप्लुक्क आँगनमा देखिए ।

‘गालपारा बाख्राहरु ।’ बाख्रासँग मनमनै रिस पोखियो ।

साँझपख, ठुला बा कामबाट फर्किए । उनका छोराछोरीहरु पनि दिनभरि हराएर बेलुकी भान्सामा जम्मा हुन आइपुगेका थिए । उनीहरु तल बसेर के के कुरा गरिरहेका थिए कुन्नि ! हामी दाजुभाइ भने माथि चोटोकोठामा थियौं । अँध्यारो थियो कोठा । टुकी थिएन । मौन थियौँ दुवै । चुलोभित्रको आगो कतिखेर, कतिखेर भर्भराएर बाहिर उज्यालो फ्याँक्दै गथ्र्याे । ठुली आमा दाउरालाई ठासठुस पार्दै आगो बाल्न खोज्थिन् । ठुली आमा र चुलोको ओसिएको दाउराको धेरैबेरको यो द्वन्द्वले प्रायः यसैगरी यो घरभित्र भात तिहुन पाक्थ्यो ।

तल भान्सामा अझै पनि उनीहरुको गुनगुन चलिरहेको थियो । अमृत अँध्यारोमा चुपचाप थियो र भित्तालाई हेरेर एकतमासले टोल्हाइरहेको थियो । उसको मनले एकोहोरिएर के सोच्दै थियो कुन्नि ! अँध्यारोमा मैले उसलाई नियालिरहेँ । कहिलेसम्म यो नरक सहेर बस्नु पर्ने होला ? कतिन्जेल दुःखका यी डामहरु सहन सकिन्छ ? कहिले रित्तिन्छ यो हाम्रो दुःख ? बाहिर गहिरिँदै गएको अँध्यारोजस्तै गहिरिदैँ गएको हाम्रो दुःखको अँध्यारोको अन्त्य कहाँनिर पुगेर सकिन्छ होला ? म आफैसँग मनमनै सोध्दै थिएँ ।

एक्कासि मनमा आमाका ख्यालहरु उर्लिएर आए । बाका सम्झनाहरु आए । टुहुरा हुनुको कहालिलाग्दो एकाकीपनका यी क्षणहरुले यो अँध्यारोमा मलाई बेस्सरी अँचेट्यो र म रोएँ । त्यहाँ हामीसँग आमाको त्यो वात्सल्य थिएन, जसले हरेक दुःखमा हामीलाई सँगै हिँड्न सिकाओस् । त्यहाँ हामीसँग बाका हातहरु पनि थिएनन्, जसको औँलाहरु समातेर हामी भन्न सकौँ – ‘देख्यौ, यी हातहरु मेरा सहारा हुन् ।’

यो अँध्यारोमा भाइले थाहा नहुने गरी म रोएँ । तलकाहरुले त यसलाई सुन्ने कुरै भएन । उनीहरुलाई हाम्रो आँसुसँग के सरोकार ! त्यसैबेला तलबाट ठुली आमाको स्वर सुनियो– ‘के हुनु नि ! सोध न तिम्रै भतिजहरुलाई । सधैँ यस्तो भएपछि बस्न खान दिन्छन् यिनीहरुले ।’

‘के भो भन् न… ।’ ठुला बा सोध्दै थिए ।

ठुला बाको बोली नखस्दै सानोेचाहिँ छोरो बोल्यो– ‘त्यै नि अब निकाली दे’नि हुन्छ । सधैँ कसले ख्वाएर पाल्न सक्छ यिनरुलाई ।’

कसैले अरेलीका काँडाहरुले मेरो मुटुसम्म छुने गरी मलाई हिर्काइरहेझैं लाग्यो र म त्यो चोटले भुतुक्क भएँ । त्यसपछि उनीहरुले हाम्रो बारेमा त्यहाँ अरु के के बोले, मैले सुनिनँ । मलाई ती शब्दहरुले सन्तप्त बनाइरह्यो ।

‘ए केटा हो ।’ तलबाट ठुला बा कराएको सुनियो ।

म बोलिनँ । अँध्यारोमा भाइको पनि चालचुल थिएन ।

‘ए केटा हो ।’ ठुला बा फेरि कराए ।

ठुला बासँगै ठुली आमा कराइन्– ‘हैन, के को बोलाई रा‘हो, भोक लागे आउँछ घिच्न ।’

‘हैन छैनन् कि क्या हो ?’ यसपटक भने ठुला बाको अलि चर्को स्वर सुनियो ।

‘किन धम्बा ?’ भाइ निद्राबाट झस्केर बोल्यो ।

‘हैन बोलाको पनि नसुन्ने कस्तो हँ । भात खानु पर्दैन ?’ ठुला बा कराए ।

फेरि कोठा निस्तब्ध बन्यो । अँध्यारोमा भाइ छामछाम छुमछुम गर्दै मनिर आइपुुग्यो र मलाई बोलायो– ‘दाइ दाइ…।’

‘हँ ।’

‘भात खान जाऊँ हिँड् ।’

‘तँ जा, म खान्नँ ।’

‘किन ?’

‘टाउको दुखिरा’छ । खान मन छैन ।’

त्यसपछि भाइ तल ओर्लेको आवाज सुनियो ।

राति अबेरसम्म निद्रा परेन । आमाका छायाँहरु यो अँध्यारोमा सल्बलाउँदै मेरो आँखाअघि खेल्न थाले । सधैँ दुःखले लिपिएको आँखा, चुरोटको ठुटालाई हातमा लिएर सधैँ टोलाइरहेकी, दुब्लाएर खाल्टो परेको गाला र निधारमा चिन्ताको गाँठो बोकेर हिँडिरहेकी मेरी आमाको अनुहार मेरो आँखामा फेरि उस्तै गरी खेलिरह्यो ।
०००

आमा एक्कासि हराइन् । आमाको काखमा टाँसिएर राति सुतिरहेको म, बिहान उठ्दा आमा मसँग थिइनन् । सँगै रहेकी बहिनी पनि थिइन । एउटा अपशकुनले एकाबिहानै आएर मेरो निधारमा बेस्सरी हिर्कायो । एउटा कागले आएर बज्यैको घरको छाना टेक्यो र अलच्छिन बोल्यो– ‘काग, काग ।’

र, म त्यो बिहान आमाको नियास्रोले बेस्सरी रोएँ ।

आमा हराएको दुईचार साँझ हाम्रो घरमा छिमेक र नजिकका आफन्तहरुको आइजाइ थियो । उनीहरुका आँखाहरु हामीलाई हेरेर दुःखित हुन्थे । हामीलाई हेरेरै उनीहरुका आँखामा एकप्रकारको सन्ताप खेल्थ्यो । उनीहरु हामीलाई आफ्नो काखमा लिन्थे र बिस्मातले हामीलाई हेर्थे । मान्छेका यस्ता आकस्मिक व्यवहारहरुलाई हामी हेरिरहन्थ्यौँ तर केही बुझ्दैनथ्यौँ । केही दिनपछि मान्छेहरुको आउने क्रम पनि बन्द भए । पछि त ती मान्छेहरु हामीलाई माया देखाउन मात्र आइरहेका हुन् भन्ने मलाई लाग्यो र आमाको अनुपस्थितिले झन् बेस्सरी न्यास्रो बनाउन थाल्यो ।

‘बा .. आमा खै ? आमा काँ गा’को ? कहिले आउँछिन् आमा ?’ म बालाई सोध्थेँ ।

बाका आँखाहरु सधैँ कि त उदास हुन्थे कि आँसुले भरिएका हुन्थे । एकदिन बाले मलाई सोधे– ‘त्यो चिठ्ठी तैँले लेखेको होस् ?’

मैले स्वीकारोक्तिले मुन्टो हल्लाएँ ।

‘तेरी आमाले भनेर लेखेको ?’ बाले फेरि सोधे

‘अँ ।’ मैले अचम्म मानेर बालाई हेरें ।

बाले त्यो चिठ्ठीको बारेमा मलाई किन सोधे, मलाई थाहा छैन । तर आमाले त्यस रात मलाई लेख्न लगाएको चिठ्ठी, मेरो हातमा राखिदिएको दश रूपैयाँको नोट, मेरी बज्यैको घरको आँगन र मेरो बाले मलाई डो¥याउँदै ल्याएको साँझको त्यो धमिलो पदचापहरु मेरो आँखाअघि सधैँ खेलिरहे ।

‘तिमेरूको आमा घुम्न गा’छ । एकदुई दिनमा फर्कन्छ ।’ बा भन्ने गर्थे ।

‘काँ गा’छ ?’ म फेरि सोध्थेँ ।

‘शीतल चाइँको आमासँग गा’छ ।’

‘किन हाम्लाई नलग्या त ? बहिनीलाई मात्र लग्या ?’

‘बहिनी सानी भएर ।’ बाले यसो भनिरहँदा बाका आँखा उदास देखिन्थे ।
०००

म चिसापानीमा थिएँ केहीदिन अघिसम्म । अजीको घर । त्यो मेरो आमापट्टिको अजीको घर थियो । मेरी अजीको मेरी आमा ठुली छोरी । मेरी आमाकी बहिनी, मेरो चाइँको घर चिसापानीमै थियो । अजी र चाइँको घर उस्तो फरकमा थिएन । दुई तीन सय मिटरको दूरीको फरक थियो त्यो । घरछेउ भएर भर्खरै चाइनाले खोलेको सडक थियो । काठमाडौँ पोखरा जोड्ने सडक । सडक खन्दै थियो । सडक खन्नका लागि सामान बोक्ने डम्फरगाडीहरु चल्थ्यो ।

त्यही डम्फरगाडी चढेर आमा घुम्न गएकी रे, काठमाडौं ।

एक साँझ, काठमाडौँ जानेहरु फर्किए ।

शीतल चाइँकी आमा पनि फर्किए तर फर्कनेहरुसँग त्यहाँ मेरी आमा थिइनन् । फर्कनेहरु सबै बेलुकी सानी आमाको घरमा देखिएका थिए । मैले घरको आँगन र वरपरका सबै ठाउँहरुमा आमाको उपस्थितिलाई खोजिरहेँ । अजीको घरतिरबाट आउने मूलबाटोलाई नियालिरहेँ । घरका बार्दली र कोठाहरु चहारेँ तर त्यहाँ कतै पनि मेरी आमा देखिइनन् । फर्कनेहरु साउतीको स्वरमा के के गुन्गुनाइरहेका थिए घरभित्र ।

‘गु खाइहाली नि राँडीले । हेर ! यी केटाकेटीहरु ।’ साँझको बत्तीको उज्यालोमा घरको एउटा कोठाभित्र मैले चाइँको मसिनो र दबिएको स्वर सुने । मेरो मनभित्र अनिष्ट खेल्यो । त्यो अँध्यारोमा धेरै कुराहरु अस्पष्ट र जेलिदै गइरहेको छ भन्ने लाग्यो मलाई ।

‘खै आमा ?’ चाइँको छेउमा पुगेर मैले सोधेँ ।

कोही केही बोलेनन् । मेरो उपस्थितिले त्यहाँ सबैका आँखालाई गह्रुङ्गो बनाइरहेका थिए ।

‘पछि फर्किनेहरुसँग आउने रे ।’ सबैलाई उछिनेर चाइँले भनिन् ।

‘अब एकदुई दिन यहीँ बस् अनि घर जालास् ।’ सबैका आँखामा आँखा नचाएर चाइँले कुरा थपिन् । तर मलाई किन किन चाइँले आँखा छलेर मसँग झुटो बोलिरहेकी छिन् र मसँग केही कुराहरु लुकाइरहेकी छिन् भन्ने लागिरह्यो ।

भोलि आयो । आमा आइनन् । दिउँसोभरि आँखाले आमा आउने बाटाहरु पछ्याइरहे । एकदुई दिन त्यसै बिते । बाहिर फागुनको सियाँठ चल्थ्यो र मनभित्र नरमाइलो खेल्थ्यो । अँधेरी खोलाका पाखाहरु न्याउली रोएको स्वरले झनै बिरसिलो लाग्थ्यो । आमा आउने बाटो पर्खिरहेको एक साँझ, अचानक मेरा बा अजीको आँगनमा देखिए र मलाई अँगालो हालेर रोए । बाको साथमा भाइ थिए । मैले अलमलिएर बा र भाइलाई हेरिरहेँ । यो अँध्यारोमा बा किन यसरी रोइरहेका होलान् ? मलाई अचम्म लाग्दै थियो ।

आबुँखैरेनीबाट गोर्खा जाने सडक खण्डको निमार्ण कार्य भर्खरै सुरू भएको थियो । ट्रयाक खुलिसकेको थिएन । मस्र्याङ्दी नदीमाथिको पुल निर्माणाधीन थियो । मस्र्याङ्दी नदीको वारि र पारि किनारमा अवस्थित रहेको दुईवटा बस्ती थिए । बीचमा झोलुङ्गे पुल । वारि मझुवाखैरेनी, पारि मझुवा देउराली । मान्छेहरु आवतजावत गर्न झोलुङ्गे पुल थियो । मझुवाखैरेनीमा रहेको आँपको बगैँचामा एउटा ससानो बजार बसेको थियो र यो बजार गोरखासँँगको व्यापार केन्द्रको रुपमा स्थापित थियो । केही गोरखाली साहुहरु यहाँ आएर बसेका थिए र यिनीहरुसँग गोरखाको व्यापार सम्बन्ध गाँसिएको थियो । काठमाडौँ–पोखरा सडकखण्ड सुरू भएपछि खानीखोले साहुका ट्रकहरुले मझुवाखैरेनीसम्म सामान ढुवानी गरेर ल्याउँथे र ती सामानहरु भरिया र खच्चडहरुले मस्र्याङ्दीको झोलुङ्गे पुल तारेर गोरखाका दुर्गम भेकहरुसम्म पु¥याउँथे । बन्दीपुरका खानी ढुङ्गाहरु त्यसताका निकै चलनमा थियो र ती ढुङ्गाहरुको व्यापार मझुवाखैरेनी हुँदै गोरखा पुग्थ्यो ।

मझुवाखैरेनीको बगैँचाको सुपारी आँपको रूखमुनि हाम्रो सानो खरको झुप्रो घर थियो । मेरा बा तिनताका चाइना कन्स्ट्रक्सन कम्पनीका मजदुरका रुपमा त्यही पुल बनाउने कार्य गर्दथे । आमाले सानो चिया पसल चलाउँदै आइरहेकी थिइन् । बगैँचादेखि चिसापानी चोकको चाइँ(सानीआमा)को घर पुग्न खैरेनी चौताराको गोरेटो बाटो हुँदै हामीलाई झण्डै आधा दिनको बाटो हिँड्नु पथ्र्यो ।
०००

एकैछिनपछि अजीको घरबाट निस्केर साँझको अँध्यारोमा बाले हामीलाई डो¥याउँदै सडकको किनारैकिनार हुँदै चाइँको घरको आँगनमा पुगे । सडक छेउछाउका घरका पिँढीहरुमा साँझको बत्ती बल्न थालिसकेका थिए ।

‘के भा होला केटाकेटीजस्तो यो भिनाजु । केटाकेटीको अघि किन यसरी रोइरा होला ।’ चाइँले बालाई भन्दै थिइन् । बा रोइरहेका थिए र बासँगै हामी रोइरहेका थियौँ । बा किन रोइरहेका थिए ? हामीलाई थाहा थिएन तर बा रोएको नरमाइलोले पनि हामी रोइरहेका थियौँ ।

‘एकदुई दिन यिनीहरुलाई यहीँ छोड्नुस् । न्यास्रो मेटिन्छ अनि लैजानुस् ।’ चाइँले भनेको सम्झन्छु । तर त्यही साँझ बा हामीलाई लिएर त्यहाँबाट बगैँचाको आफ्नो घरतिर हिँडे ।

मेरा आँखाहरु आमालाई पर्खिरहेका थिए । आमाको न्यास्रो लाग्थ्यो । प्रत्येक साँझको अँध्यारोले हाम्रो घरको दैलो टेकेर हामीलाई दुखाउँथ्यो र रूवाउँथ्यो । घरमा बाको उपस्थितिमा रक्सीको बाक्लै गन्ध आउन थाल्यो र रक्सी उनको लत बन्यो ।

‘आमा पोइल गा की रे ।’ यी शब्दहरु अब बिस्तारै मेरो दैनन्दिन बन्दै गयो ।

त्यो घर अब घर रहेन । ढुङ्गामाटोको गारो र छानोले मात्र पनि सायद घर नहुँदो रै’छ । घर हुन त वषौँदेखिको परिवारको एकात्मता र भावनात्मक सम्बन्ध गाढा चाहिँदो रै’छ । जहाँ आमाको मातृत्व र वात्सल्यता होस् र आमाको काखमा केटाकेटीहरुको ओठको हाँसो र उनीहरुको स्वच्छन्दता खेलोस् । जहाँ बाबुको संरक्षण होस् र साँझको बत्तीको उज्यालोमा बाबुको हात समातेर छोराछोरीहरु आँगनमा खुसीले रमोस् । यी धेरै थोकहरु मिलेर घर बन्दो रै’छ । तर हामीसँग त यी सबै खोसिँदै गइरहेका थिए । हाम्रो अघिल्तिर बाँकी अब कहालिलाग्दो भविष्य मात्र थियो । हामीसँग आफ्नै मनोदशाले ठुङ्गिरहेका बाका सन्ताप भरिएका आँखाहरु थिए, जो सधैँ रक्सीको नसाले अल्झिरहेका हुन्थे ।

त्यसैले नि त्यो घर अब घर रहेन ।

हामी विखण्डित हुँदै गइरहेका थियौँ । हामी भत्किरहेका थियौ ।

भत्किरहेका साँझहरु
भत्किरहेका आँखाहरु
भत्किरहेका मनहरु ।

त्योभन्दा ठूलो आँधीमय सङ्कट र त्यसले छाडेर गएको विदारक क्षणहरु हामीसँग अरु थिएनन् । त्यसको केही महिनापछि बगैँचाको घर बेचेर बाले चिसापानीको फुपूको घरमा हामीलाई लिएर बस्न पुगे । घरबारविहीन भएर पहिलोपल्ट हामीले एउटा आश्रयको जीवन बाँच्न सुरू ग¥यौँ । त्यसपछि सुरू भयो कहिले फुपूको घर, कहिले चाइँको घर, कहिले बजारको कुनाको कुनै डेरा । यो क्रम दोहोरिरह्यो र हामी पछिल्लोचोटि आइपुगेका थियौँ ठुला बाको घर । सधैँ बिरालोले जस्तै बासको सुरक्षाको खोजीमा हाम्रा डेराहरु र बस्ने ठाउँहरु त्यो सानो बजारको गल्ली र कुनाहरुमा त्यसरी नै फेरिइरहेका हुन्थे ।

एकदिन बा वन विभागको कारिन्दा भएर गोरखाको घैरूङ पुगे । बासँगको त्यो साथ पनि हामीसँग छुट्यो । अब हामीसँग बाँकी थियो नजिकका आफन्तहरुका निगाह, दया, माया, उपेक्षा, तिरस्कार, बोझ र घृणा । कहिँ न कहिा, कसैका आँखाहरु हामीलाई उपेक्षाले घुरिरहेका हुन्थे । उनीहरुको व्यवहार विभेदले कोरिरहेको हुन्थ्यो । उनीहरुका तिरस्कृत आँखाहरुबाट आफूलाई लुकाउन खोज्दाखोज्दै बिस्तारै म ऐकान्तिक र अन्तर्मुखी बनेँ । म एक्लै धेरैबेरसम्म एकालापमा रहन्थेँ । खेल्ने, कुद्ने, हाँस्ने, रमाउने कुराहरु मेरोलागि कम रूचिको विषय बन्यो ।

मलाई देखेपछि चाइँ कराउँथिन्– ‘हैन, सधैँ तँ निधार गाँठो पारेर किन हिँड्छस् ?’

‘सायद मुजा परेको निधारजस्तै छ मेरो भाग्य ।’– म यस्तै सोच्थेँ । सधैँ रोइरहेको जस्तो, निन्याउरो देखिन्छ रे मेरो अनुहार र आँखा ।

‘यसलाई देख्दा नि दिक्दार लाग्छ ।’– चाइँ भन्थिन् ।

मान्छेहरुको उपेक्षाले कुल्चिएर म आफूलाई सधैँ सानो, होचो र निर्धो हुँदै गइरहेको महसुस गरिरहन्थेँ । आफन्तविहीन अवस्थाको मनोदशा र शून्यतामा म बिस्तारै हुर्किरहेको थिएँ ।
०००

बिस्तारै बगैँचामा रहेको त्यो सानो बजार विस्थापित हुँदै थियो र त्यसले पृथ्वी राजमार्गसँग जोडिएको गोरखा–नारायणगढ राजमार्गको चोकको रुपमा रहेको चिसापानी र यसको वरपर रहेको जग्गालाई बजार विस्तारमा परिणत गर्दै थियो । खानीखोले साहु, तुलनारायण श्रेष्ठ, मीनकुमार, पे्रमकुमार, राजकुमार श्रेष्ठजस्ता गोरखाली व्यापारीहरुले त्यहाँ आएर व्यापार सुरू गरेका थिए । चिसापानी चोकको बजार र व्यापारले मस्र्याङ्दी पारि रहेको मझुवादेउरालीलाई पनि पुरै विस्थापित ग¥यो । त्यहाँ रहेका व्यापारीहरु चिसापानी सरे । पछि चिसापानीको नामै फेरिएर आँबुखैरेनी रह्यो । आमाले छाडेपछि हामीले पनि बगैँचाको घर छाड्यौँ ।
०००

हामी यतिबेला ठुला बाको घरमा छौँ ।

सुरूका केही दिनहरु उनीहरुका लागि हामी प्रिय थियौँ । एउटै परिवार र एउटै सदस्यजस्ता । सायद बाले पठाइरहने पैसाको कारणले पनि हामीप्रति उनीहरुको व्यवहार आत्मीय थियो । माया देखाइरह्यो । तर पछिपछि उनीहरुको व्यवहारमा परिवर्तन देखिन थाल्यो । हामी उनीहरुका लागि बोझ बनिरहेका थियौँ । बिस्तारै हामी उनीहरुका लागि घरेलु नोकरको रुपमा फेरिइरहेका थियौँ । ठुली आमाको कलुषित आँखाले हामीलाई बिझाइरहन्थ्यो । कहिलेकाहीँ ठुला बा तटस्थ हुन खोज्थे र भन्थे– ‘ए नकराओ न । कति कराउँछस् यी बाउ आमा नभएका टुहुराहरुलाई ।’

ठुला बाको हामीमाथि एउटा निरीह सहानुभूति हुन्थ्यो । ठुली आमा र छोराछोरीहरु ठुला बासँग मुख लाग्थे– ‘त्यसो भए तिमी नै सम्हाल तिम्रा भतिजाहरुलाई ।’

ठुला बा सूर्ती बनाएर मुखमा कोच्दै मौन रहन्थे । हामी उनीहरुसँग कुनै प्रतिवाद गरिरहन सक्दैनथ्यौँ । उनीहरुलाई चुपचाप सुन्नु र सहनु हाम्रो नियति थियो ।

ठुला बा राँगाहरुको खेला गर्थे । मधेस झर्थे र राँगाहरु ओसार्थे । राँगाहरु काटेर मासु बेच्थे । लिउत पाखा र कुकुरगाडेमा गोठ थियो र केही पाखो जग्गाहरु थिए । हामीलाई बिहानै उठेर गोठ पुग्नु पथ्र्यो । झण्डै एकाध घण्टाको उकालो हिँड्नुपथ्र्याे गोठ पुग्न । गोठमा बाख्रा र भैँसीहरु थिए । घाँसपराल गरिसकेपछि स्कुल भ्याउने गरी फेरि ओरालो कुद्नुपथ्र्यो । प्रायः जाडोको याम हामीलाई निकै कष्टकर बन्थ्यो । हाम्रो जिउको पातलो कपडाले जाडोलाई छेक्न सक्दैनथ्यो । शीतले कपडा भिजिरहेको हुन्थ्यो । जाडोले बेस्सरी जिउ लगलगी काँप्थ्यो र हामी दाँत किटेर जाडोलाई सहन्थ्यौँ । शनिबार र अन्य बिदाका दिनहरु लिउत पाखामै बाख्रा धपाएर बित्थ्यो ।

ठुला बाका दुई छोरा र एक छोरी थिए । जेठो छोरा गोठे । गोठे सबैले उसलाई बोलाउने नाम थियो । रिसको दुर्योधन थियो ऊ । आठ कक्षा पढ्दै थियो । घरको कुनै कामसँग उसलाई सरोकार थिएन । पढाइमा उति साह्रो लगाव पनि थिएन । वार्षिक परीक्षामै दुई वर्ष फेल भएपछि पढ्नै छाडिदिए । कान्छोको नाम बाटे । मलाई उसको अर्को नाम थाहा छैन । कहिल्यै स्कुल गएन । छोरी कैली दुई कक्षा पढेर स्कुल छाडिसकेकी थिइन् । ठूलो छोरा र छोरी उमेरले मभन्दा जेठा थिए । सानोचाहि“ बाटे र मेरो भाइ अमृतको उमेर उस्तै थियो, दुईचार महिनाले जेठा कान्छा थिए ।

घरमा केही बाख्राहरु थिए । बिहानै लिउत पाखाको गोठमा लगेर छोड्नु पर्दथ्यो । स्कुल छुट्टीको दिन कहिले कुकुरगाडे र कहिले लिउत पाखा पुग्नुपथ्र्यो । कैली दिदी चोथाले थिइन् । गोठे दाइको बिहान र बेलुकीको खाना खाने बेला बाहेक घरमा उसको अतोपत्तो रहँदैनथ्यो ।

बिहान कैली दिदी घरमा खाना पकाएर बाहिर काममा निस्कन्थिन् । फर्कदा कसौडीको आधा भाँडो भात सकिएको हुन्थ्यो । कहिले त आधा पनि बाँकी रहन्नथ्यो । कुनबेला गोठे दाइ घरभित्र पस्थ्यो र पकाएको भात खाएर निस्कन्थ्यो । दिदीले मेसो पाउँथिनन् । बिहानको कामबाट फर्केर सबै जना भात खान बस्दा भाँडाको भात पुग्दैनथ्यो र अर्को पटक बसाल्नु पथ्र्याे । भोकले कैली दिदीको रिसको तापमान बढ्थ्यो ।

“मुर्दार । कात्रोले बाँधेर लानुपर्ने ।” कैली दिदी सराप्थिन् ।

दिउँसो गोठे दाइ घरमा नहुने हुँदा यो सबै उसले सुन्नुपर्दैनथ्यो । तर साँझमा भने त्यो घरको झगडा छताछुल्ल भएर छरछिमेकको आँगनसम्म पोखिन्थ्यो । मलाई असजिलो लाग्थ्यो । कस्तो पारिवारिक संस्कार हुर्किरहेको छ यो घरभित्र ? न ठूलाहरुप्रति आदर, सम्मान छ । न सानाहरुप्रति प्रेम र हार्दिकता छ । न आफन्तहरुसँग आत्मीयता र अपनत्व छ ।

‘यी घर, कुल, इज्जत, मर्यादा नभएकाहरु ।’ छिमेकका आँखाहरुले हामीलाई यसरी नै सधैँ खिल्ली उडाइरहेका हुँदा हुन् । छरछिमेक र समाजमा हाम्रो परिचय कसरी बनेको होला ? भन्ने प्रश्नहरुले मलाई निहुराइरहन्छ ।

‘ए ! चण्डाल्नी हो, धेरै कराउँछौ ।’ कहिलेकाहीँ आफूलाई गाली गरिरहेको चुपचाप सुनिरहेको गोठे दाइ हान्ने राँगालेझैं आँखा तानेर कैली दिदी र ठुली आमातिर फर्कन्थ्यो । दिदी र ठुली आमा तर्किएर चुपचाप अगेनाको दाउरालाई ठोसिरहन्थे ।

एउटा साँझ, म र अमृत कुकुरगाडेबाट बाख्रा लिएर घर आइपुगेका थियौँ । के कुरामा हो ठुली आमा र गोठे दाइ आँगनमा भनाभन गर्दै थिए । ‘तँलाई राँडी, तँलाईं नकाटी छोड्दिन । यस्ता पापीनी के को आमा’– गोठे दाइ भनभनिएर घरभित्र पस्यो र हातमा खुँडा लिएर बाहिर निस्क्यो । पहिले त ठुली आमाले दाइतिर उति वास्ता गरिन । ठुली आमा अलि परै थिइन् । जब रिसले हुर्रिएर आफूतिर खुँडा बोकेर आइरहेको दाइलाई नजिकै देखिन्, ठुली आमा गुहार गर्दै त्यहाँबाट भागिन् । दाइलाई मामाहरु आएर आँगनमा समाते । दाइको यो अनपेक्षित व्यवहारले सबैलाई एकछिन त्रस्त बनायो । कैली दिदीे सासन वास घरपछाडि करेसामा लुकेर बसिन् । घरमा ठुला बा थिएनन् । आँगनमा रमितेहरुको होहल्ला बढ्यो । गोठे दाइलाई देखेर छरछिमेकी पनि कराउँदै थिए – ‘आमालाई पनि के भनेर त्यसो गरेको त ! कस्तो मूर्ख छोरा हो ?’

एकछिनपछि ऊ शान्त देखियो र घरभित्र छि¥यो । ढोकामा मलाई देखेपछि ऊ करायो– ’तिमीहरुले पनि भोलिदेखि यो घरमा काम नगरो । तिमीहरु नोकर हो यो घरको ? तेरो बाउले पठाएको पैसा धेरै भाको यिनीहरुलाई । त्यै पैसाले तिमीहरुलाई किनेर खुवाउँछन् । किन काम गर्छौ ?’

दाइ घरभित्र पसेपछि कैली दिदी बाहिर निस्किन् ।

त्यो साँझ दाइको डरले ठुली आमा घर आइनन् । मामाको घर नजिकै थियो, त्यहीँ बसिन् । राति अबेरसम्म पनि दाइ अगेनाछेउमा बसेर रिसले भनभनिरहेको थियो । एक मन त दाइले अघि रिसमै भनेका कुराहरु पनि ठीक हुन् जस्ता लागे । हो त, आखिर यो घरले हामीलाई दुःख सिवाय दिएको केही छैन । चिसापानी चोकमा रहेको घरको भाडा आउँछ, त्यो हाम्रो हातमा कहिल्यै पर्दैन । भाडा ठुली आमाले उठाउँछिन् । बाले धेरथोर पैसा पनि पठाइदिएकै हुन्छ । खानकै लागि यति दुःख त हामीले गर्नुपर्दैन !

‘यी मुर्दारहरुलाई पालेको के काम । काम गर्न मरे जतिकै हुन्छ । अब सक्दिन पाल्नु । जाऊन् जता जान्छन् ।’ ठुली आमाका यस्ता टर्रा गालीहरुले हामीलाई सधैँ आहत नबनाएको हैन ।

कहिलेकाहीँ त यस घरबाट हामीलाई निकालिदिए हुन्थ्यो जस्तो लाग्छ । भन्न मन लाग्थ्यो– ‘निकालिदिनु नि हाम्रा सबै सामान । हामी अन्तै सर्छौं । राख्न मन छैन भने सधैँ यत्रो वचन किन लाउनु पथ्र्यो ? हाम्रो मुटुमाथि हिर्काएर सधैँ किन गाली गर्नु ?’ तर यति कुरा भन्ने त्यो साहस हामीसँग कहाँ थियो र ? मेरो आँखामा ठुली आमाको दुष्ट अनुहार खेल्न आइपुग्थ्यो ।

जेठको स्कुल छुट्टीको एउटा दिन थियो । हामी बिहानैदेखि लिउतको मकैबारीमा थियौँ । लिउतको पाखामा बिहानैदेखि घाम थियो । बारीमा मकै गोडमेल थियो । भोकले लखतरान थिएँ । ठुली आमा सँगै थिइन् । दिदीले खाना अबेर ल्याइन् । फुको ढिँडो र अलिकति तरकारी थियो । ठुली आमाले दिदीलाई गाली गरिन् ।

‘तिम्रै छोरोले घिचेर सकेपछि मैले काँबाट ल्याउने हो र ।’ दिदी उल्टै झर्किइन् ।

फुको ढिडोमा नुन र पानी हालेँ । ढिँडो टीठलाग्दो देखियो । चारपाँच गाँस खाएपछि अरु खान सकिनँ । घाँटी पास्यो । किलकिलेमा गाँस अड्कियो ।

‘मिठो खान त हाकिम हुनुपर्छ बाबै ।’ ठुली आमाले ओठ लेप्य्राइन् । छातीमा अलिकति पीडा उठ्यो र मन पोल्यो । आँखाको डिलमा आएर आँसु बस्यो र टिलपिलायो । आँसु खस्न पाएन ।
०००

तल ठुला बाको ख्वाइय… ख्वाइय … खोकिरहेको आवाजले मेरो तन्द्रा टुट्यो ।

बाहिर गाढा अँध्यारो फैलिरहेको थियो । सबै निदाइसकेका थिए । कसैको चालचुल थिएन । कतै केही आवाज सुनिँदैनथ्यो ।

निस्तब्ध रात, निःशब्द कोठा

नजिकै अमृत सुतेको छ । ऊ कतिबेला आएर निदायो कुन्नि ! यो अँध्यारोमा उसले फेरेको सासको हलुका गति सुनिन्छ । तर म भने अझै निदाउँन सक्दिनँ ।

सोच्छु –
हाम्रो निधारमाथि कहिलेसम्म खेलिरहन्छ यो अँध्यारो ?
कहिले उदाउँछ हाम्रो आँखालाई न्यानो दिने घाम ?
कहिले हाम्रो खुसी फुल्छ ?
र, कहिले हाम्रो ओठको हाँसो खुल्छ ?

२०६७