0

पारिजात फेरि कहिल्यै ओइलाउँदैन

Share

समय, खै ! किन आजकल यति कठोर बनिरहेछ ? मनहरु किन यति मर्माहत भएर दुखिरहन्छन् ? वर्तमान भोग्नुको नियति के सधैँसधैँ पीडाग्रस्त भएर बाँच्नु हो ? सधैँ के विक्षिप्तता भोगिरहनु हो ? किन वर्तमान एउटा त्रासद् र भयावह बोकेर सधैँ मृत्युमा फेरिइरहन्छ ? सधैँ किन कहालिलाग्दा क्षणहरु हुर्किरहन्छन् छातीभित्र । र, एउटा अत्यासले उठिरहन्छन् आँखाहरु ?

पारिजात, दिदी पारिजातको मृत्युको पीडा छ यतिखेर हामीसँग
हामीसँग दिदी पारिजातको मृत्युको उदास क्षणहरु छन्
शोकमग्न छन् आँखाहरु
ओठहरु शुष्क छन्
वरिपरि, जहाँ भीड छ तर कतै कोलाहल छैन
एउटा रिक्तता छ सबैतिर

र, चुपचाप चुपचाप
सबै नियालिरहेका छन् पारिजातको समाधि ।

विश्वासै लाग्दैन कतै पनि । अहँ, विश्वासै लाग्दैन – पारिजातको मृत्यु । मैले फूलहरुका गुच्छाले छोपिँदै गइरहेको पारिजातको त्यो पार्थिव शरीरलाई हेरिरहेँ । उही बन्द आँखाहरु । उही भाव । उही गाम्भीर्य । उही शालीन मुहार । छ कतै त्यहाँ मृत्युका छायाँहरु ? यो शान्त समाधिबाट अहिल्यै मलाई पारिजात दिदीले भनिरहेझैं लाग्छ – ‘भाइ, मलाई यतै एकान्तमा एकछिन छाडिदिनोस् है । मलाई केही लेख्नु छ ।’

उफ् !

हजारौँ मान्छेहरुको भीड थियो त्यहाँ । हातमा फूलहरु लिइरहेका, फूलहरुले श्रद्धाञ्जलि दिइरहेका । मान्छेहरुले टुँडिखेल भरिएको थियो त्यो बिहानैदेखि । मान्छेहरु लामबद्ध थिए त्यहाँ र पारिजातको त्यो पार्थिव शरीर भीडहरुले घेरिएको थियो । पारिजातलाई अन्तिम श्रद्धान्जलि दिन हातमा फूल लिएर म त्यहाँ पङ्क्तिबद्ध भएर उभिन सकिनँ । केहीबेर नजिकैबाट पारिजात दिदीको त्यो निर्जीव आँखाहरुलाई नियालिरहेँ र अलि वर आएर उभिइरहेँ । मञ्चबाट कवि ललिजन रावल बोलिरहेका थिए – ‘हामीलाई दुःख छ, यो पाण्डुलिपि पुरस्कारको घोषणा हामीले पारिजातलाई सुनाउन सकेनौँ । तर संयोग भनौ, पारिजातलाई दिइएको यो पुरस्कार झनै पो उल्टो पुरस्कृत भयो ।’

भर्खरै उहाँको ‘बैसालु वर्तमान’ कविता सङ्ग्रहको लागि पाण्डुलिपि पुरस्कार दिइएकोे घोषणा गरिदैँ थियो र ललिजन रावलको उद्घोषणसँगै त्यहाँ अर्को कुराको पनि उद्घाटन भएको थियो – पारिजात दिदीको मृत्यु हुनुभन्दा केही घण्टाअघि उहाँलाई उपचारार्थ विदेश लैजानको लागि उहाँको नागरिकताको आवश्यकता परेछ र बेहोस अवस्थामै नागरिकतामा उहाँको औँठाको ल्याप्चे लगाउने काम भएछ ।

कत्रो व्यङ्ग्य थियो यो । जसले आफ्नै मुलुकभित्र जिन्दगीभरि आफ्नो भाषासाहित्यको सेवा गरिन् उनै आजसम्म अनागरिक भएर बाँचिरहिन् र आज मुलुकविहीन भएर मरिन् ।

पारिजातको पार्थिव शरीर राखिएको ठाउँभन्दा केही पर रहेको मान्छेहरुको एउटा अर्को लाइनमा गएर उभिएँ । हाम्रोअघि शोकपुस्तिका राखिएको एउटा टेबुल थियो । त्यहाँ मैले लेखेँ – ‘नेपाली साहित्याकाशका अमर नक्षत्र साहित्यकार दिदी पारिजातमा.. .।’

म भीडबाट बाहिर निस्किएँ । आकाश हेरेँ । घाम छैन । दिन धमिलो छ ।

भीड बढिरहेकै थियो र यस्तो लाग्थ्यो कि पारिजातको मृत्युमा त्यहाँ मान्छेहरुको एउटा लहर उर्लिरहेको छ र मान्छेका मनहरुमा संवेदनाका छालहरु उठिरहेको छ । अहँ, मैले कहिल्यै यतिधेरै मान्छेहरु कसैको मृत्युमा आजसम्म देखेको थिइनँ । मैले पारिजातकै एउटा कविता सम्झेँ–

अब मसँग मृत्युको त्यो पुरानो परिभाषा छैन,
आज मलाई फेरि एउटा कविता लेख्न मन लागेको छ
मृत्यु विसङ्गति होइन
मृत्यु जीवनको अन्त होइन भनेर ।
०००

तिनताक म कवि भइसकेको थिइनँ । (त्यसो त म अझै कवि होइन) कविता लेख्नु र कवि हुनु दुई अलग कुराहरु थिए । कवि हुनु धेरै गाह्रो थियो । कवि हुनका लागि कविताहरुले केही समालोचकहरुको आँखाबाट समालोचकीय मान्यताहरु प्राप्त गर्नुपर्दथ्यो । पत्रिकाको कोलमहरुमा कविताको टिप्पणी हुनु जरूरी थियो । ४० को दशक र कविताको त्यो भीडमा भर्खरै लेख्न सुरू गर्नेहरुले आफ्नो कविताको पहिचान खोज्नु धेरै गाह्रो काम थियो । धेरै कविताहरु कविता थिएनन्, कविता जस्ता लाग्थे । कविताहरु लेखिन्थे । कविताहरु छापिन्थे । कविताहरु पढिन्थे । तर कविता नै कन्फ्युज्ड थियो ।

म अलिअलि कथा कोर्थें – छोटा कथाहरु । मेरा धेरै समकालीनहरु कविता लेख्दथे । २०४६ सालको जनआन्दोलन र त्यसपछिको समयले धेरैलाई कवि बनाएको थियो । हरेक दिन कहीँ न कहीँ कविता गोष्ठीहरु हुन्थे । कविताहरुको ओइरो लाग्थ्यो । मलाई कविताहरु असाध्यै मन पथ्र्यो । त्यसैले कविहरुको त्यो भीड खोजेर कविता सुन्न प्रायः म ती गोष्ठीहरुमा सामेल भएकै हुन्थेँ । त्यो समय प्रतिभा प्रवाह, साहित्य सन्ध्या जस्ता साहित्यिक कार्यक्रमहरु निकै चर्चामा थियो । पारिजात, निनु चापागाईं, रूद्र खरेल, आनन्ददेव भट्ट, हरिगोविन्द लुइँटेलजस्ता स्थापित लेखकहरु यी संस्थाहरुसँग आबद्द र क्रियाशील थिए ।

म काठमाडौँमा पढ्दै थिएँ । साहित्यिक रूचि थियो । काठमाडौँको त्यो साहित्यिक जमघट र भेटघाटहरुले मलाई कसरी हो कसरी तान्यो । पकनाजोलको पिपल्स क्याम्पसमा भिक्टर प्रधान र घटराज भट्टराई हामीलाई नेपाली पढाउनु हुन्थ्यो । गरिमा र मधुपर्कमा प्रायः उहाँहरुका निबन्धहरु छापिन्थे र त्यसले मलाई लेखनसँग बिस्तारैै अरु आकर्षित गरायो । मैले त्यस्ता साहित्यिक जमघट र भेटघाटहरुमा आफ्नो उपस्थितिलाई बढाएँ । स्रोताहरुको एउटा कुनाबाट म कविताहरु सुन्थेँ । कविताहरुबाट प्रभावित हुन्थेँ र अझै राम्रा कविताका पङ्क्तिहरुले हुरूक्कै हुन्थेँ ।

पहिलोपल्ट पारिजातलाई देख्दा म छक्क परेको थिएँ । महिनाको तेस्रो शनिवार थियो – त्रिचन्द्र क्याम्पसको प्रतिभा प्रवाहको त्यो एउटा मासिक कविता गोष्ठी । मध्यान्ह थियो । कार्यक्रम सुरू भइसकेको थिएन । घण्टाघर मुनिको त्यो सानो चौर । मान्छेहरुको जमघट बढ्दै थियो र लाग्थ्यो, त्यहाँ ती सबैका आँखाहरु कसैलाई पर्खिरहेका छन् । क्याम्पसको मूलगेट बन्द थियो । क्याम्पसको बन्द गेट अघिल्तिर आएर एउटा ट्याक्सी बिस्तारै अड्यो । भीडबाट तानिएर सबैका आँखाहरु उतै ट्याक्सीमा अडिए । ट्याक्सीबाट उतार्दै दुब्ली, पातली र शारीरिक रुपले असक्त एउटी भद्र महिलालाई कसले हो आफ्नो पछाडि ढाडमा बोकेर गेटभित्र ल्याउँदै थिए र भीडबाट सबैले अत्यन्तै आदरले ‘नमस्कार दिदी’ भन्दै ती महिलातिर हातहरु उठारहेका थिए । र, म भने यी सब दृश्यहरुलाई एकछेउमा उभिएर अत्यन्तै उत्सुकतासँग हेरिरहेको थिएँ । क्याम्पसको तेस्रो तल्लाको एउटा हल कार्यक्रमको लागि तयार गरिएको थियो । ती महिलाको आगमनपछि एकछिनमै हल सहभागीहरुले भरियो र कार्यक्रम सुरू भयो ।

कार्यक्रम सञ्चालकले पारिजातलाई प्रमुख अतिथिको आसनको लागि अनुरोध गरे । प्रमुख अतिथिका रुपमा त्यहाँ निम्त्याएका ती विशिष्ट व्यक्तित्वलाई देखेर म एकैछिन त अचम्भित थिएँ । मैले देखेँ – पारिजात त अघि भर्खरै ढाडमा बोकेर ल्याइएकी उनै असक्त महिला पो थिइन् । झण्डै कविता सुन्नै छाडेर कार्यक्रमभरि नै मैले उहाँलाई नजिकैबाट हेर्ने कोसिस गरिरहेँ । मैले कल्पना गरेको तर अहिले आफैलाई पत्यार लाग्न नसकिरहेको यति सामान्य मान्छे पारिजात थिइन् ? पारिजातलाई यसरी प्रत्यक्ष गर्न पाउँदा म खुसी र आश्चार्यमा थिएँ । के “धुपी, सल्ला र लालीगुराँसको फेदमा” लेख्ने पारिजात उहाँ नै हो ? मभित्र एउटा प्रश्न थियो । मैले आफू स्कुल छँदा नै “धुपी, सल्ला र लालीगुराँसको फेदमा’ पढेको थिएँ र त्यो किताबमा पारिजातले कसरी मेरा आफ्ना थुप्रै कथाहरुलाई यति सजिलै टिपिदिएका होलान् भनेझैं लाग्थ्यो । त्यो सानो किताब पढेपछि म धेरैचोटि एकोहोरिएको थिएँ । भावुक बनेको थिएँ । त्यो किताबलाई मैले सधैँ आफूसँगै राखिरहेँ । धेरैचोटि पढिरहेँ । धेरैचोटि एक्लै पनि रोइरहेँ । आफ्नै शरीरको घाउ जस्तो लाग्थ्यो मलाई त्यो, न म त्यसको दुखाइहरु सहन गर्न सक्थेँ न म आफ्नै शरीरबाट झिकेर त्यसलाई फ्याँक्न सक्थेँ । मैले अझै पनि त्यो सानो किताब ‘धुपी, सल्ला र लालीगुराँसको फेदमा’ लाई आफ्नो किताबहरुको खातभित्र जतनले राखेको छु ।

त्यो कार्यक्रमभरि नै पारिजातको त्यो भव्य लेखकीय व्यक्तित्वले मलाई आकर्षित गरिरह्यो । पारिजातको लेखनले म असाध्यै प्रभावित थिएँ । मलाई उहाँको शैलीेले छोइरहन्थ्यो । क्याम्पसमा पारिजातको ‘शिरीषको फूल’ पढ्नु पथ्र्यो । मलाई उहाँको ‘शिरीषको फूल’ पढ्न सुरूमा निकै गाह्रो प¥यो । एकचोटि पढिसकेपछि फेरि मैले त्यो कृति कतिचोटि दोहो¥याएर पढेँ हुँला, यकिन छैन । अझै मैले त्यो किताबलाई आफ्नो साथबाट छुटाउन सकेको छैन । हरेक नयाँ संस्करणपछि शिरीषको फूलले एउटा नयाँ युग दिइरहेको छ भन्ने लाग्थ्यो । ’तोरीबारी, बाटा र सपनाहरु’ पारिजातका कृतिहरुमध्ये मलाई सबैभन्दा मन परेको अर्को कृति थियो ।

ती दिनहरु मेरो काठमाडौ“कै बसाइ थियो । विद्यार्थी थिएँ । पढ्दै थिएँ । २०४५÷४६ को जनआन्दोलनपछिको काठमाडौ“को त्यो एउटा भिन्न बौद्धिक वातावरण र साहित्यिक जमातहरुको एउटा आफ्नो माहौल थियो । नयाँ, नयाँहरु थिए । पुराना, पुरानाहरु थिए । एकथरी स्वीकृतहरु थिए । अर्काथरी अस्वीकृतहरु थिए । केही परम्परावादीहरु थिए । केही इतरपरम्परावादीहरु थिए । सबैको एउटा आफ्नो रङ देखिन्थ्यो । एउटा भेष देखिन्थ्यो । त्यहाँ सभा, गोष्ठी र कार्यक्रमहरुको एउटा दैनिक रूटिन लाग्थ्यो ।

प्रतिभा प्रवाहको त्यो कार्यक्रमपछि मभित्र पारिजात दिदीलाई भेट्ने एउटा तीव्र इच्छा उठिरह्यो । तर कतैबाट मैले त्यो सम्भावनाहरुलाई देखिनँ । उहाँको शारीरिक अवस्थताले गर्दा साहित्यिक कार्यक्रमहरुमा उहाँको उपस्थिति प्रायः कम हुन्थ्यो । ‘धुपी, सल्ला र लालीगुराँसको फेदमा’ मैले पढेको पारिजातको एउटा सग्लो व्यक्तित्व मेरो आँखाअघिल्तिर थियो । र, चुपचाप म त्यो उहाँलाई घेरिरहेको भीडदेखि बाहिर थिएँ । फेरि त्यो भीड बाहिर उभिएर मैले त्यहाँ उहाँलाई नमस्कार गर्नुको अर्थ पनि त कतै रहने थिएन । मलाई लाग्थ्यो नमस्कारको सट्टा नमस्कार मिल्नु त एउटा कुरा होला । तर सट्टामा अझ दरिलो परिचयको एउटा मीठो हाँसो पाउनु त्यो धेरै फरक कुरा हो । मैले भीडहरुमा धेरै यस्ता हातहरु देखेको छु – जो गुमनाम भएर हराउँछन् । म स्वयं त्यहाँ गुमनाम त थिएँ नै । फेरि त्यो आफ्नै गुमनामीसँग आफैलाई डर लाग्थ्यो । कहाँनिर त्यहाँ मेरो आफ्नो परिचय थियो ? उहाँको कृतिहरुको एउटा सामान्य पाठक ? धत् ! फेरि त्यो लाजले आफैलाई साँगुरो पारिदिन्थ्यो । त्यसैले पनि पारिजात दिदीलाई भेट्ने मेरा इच्छाहरु त्यसै रहे ।

‘‘तिमीले पारिजातलाई भेट्ने नै हो त ?’ धेरैचोटि पारिजातलाई भेट्ने मेरो ईच्छा र जिकिर सुनेपछि एकदिन सँगै बस्ने साथी सुरेन्द्र देवकोटाले मलाई सोध्यो । मैले अविश्वासले उसलाई हेरेँ । उसको आँखामा ठट्टाको भाव थिएन ।

‘साँच्चै भेटाउन सक्छौ त ?’ मैले सोधेँ ।

‘मैले उहाँको घर देखेको छु ।’ उसले मलाई भन्यो ।

‘के खोज्छस् कानो ? आँखा ।’ मलाई भयो । हामी दुवै सँगै कालधारामा बस्दै आइरहेका थियौँ । मसँग आफैले लेखेको एउटा उपन्यासको पाण्डुलिपि थियो त्यहाँ । सुरेन्द्रले त्यो पढ्यो । त्यही उपन्यास पारिजात दिदीलाई पढ्न दिने र मान्नुभयो भने एउटा सानो भूमिका लेखिदिनको लागि आग्रह गर्ने । मेरो र सुरेन्द्र दुवैको सल्लाह मिल्यो । एकदिन पारिजात दिदीलाई भेट्न जाने निधो भयो । जेहोस्, पारिजात दिदीसँग भेट हुनसक्ने त्यो एउटा सजिलो बहानाबाजी त मिल्यो ।
०००

म्हैपीको त्यो एउटा सानो थुम्को थियो जहाँ पारिजातलाई भेट्न एकसाँझ सुरेन्द्र र म सँगै गयौँ । त्यहाँ त्यो थुम्कोले काख च्यापेर बसेको एउटा बोर्डिङ स्कुल थियो । नजिकै विष्णुमती नदी र यसले छाडेको किनार थियो । यसको सामुन्नेकै उत्तरतिर अर्को प्रसिद्ध म्हैपी मन्दिरको थुम्को देखिन्थ्यो । वरिपरि खेतहरु थिए । खेतको हरियाली थियो । त्यो समग्रमा अत्यन्तै शान्त, एकान्त र रमाइलो ठाउँ देखिन्थ्यो । बोर्डिङ स्कुलको त्यो सानो गेटबाट भित्र छिरेर अघि बढ्दै गर्दा हामी फूलहरु मिसिएको मोहक हावाले बिस्तारै छोइरहेका थियौँ । त्यो वातावरण नै एक प्रकारले काव्यात्मक अनुभूति लाग्थ्यो । मलाई लाग्यो – यस्तै फूलहरुसँग खेल्नु, फूलहरुको प्रकृति खोज्नु र त्यसलाई एउटा मिठो किताबमा लेख्नु पारिजातको कर्म हो । हुन पनि आफ्ना किताबहरुमा फूलहरुको सुन्दर वर्णनहरु खिप्न पारिजात अत्यन्तै सिपालु छिन् ।

घरको मूलढोका अघि उभिएर सुरेन्द्रले एकचोटि डोरबेल थिच्यो । हामीले घरभित्र घण्टी बजेको सुन्यौँ । एकछिनपछि ढोका खुल्यो र हाम्रो अघिल्तिर एकजना उमेरले अधबैँसे दिदी देखिइन् । सुरेन्द्रले नमस्कार ग¥यो र सँगै मैले पनि । हामीले उहाँसँग पारिजात दिदीलाई भेट्न आएको कुरा बतायौँ । उहाँले ‘एकैछिन है, सुत्नु भएको पो छ कि’ भनेर भित्र जानुभयो । हामी बाहिरै उभिइरहेका थियौँ ।

‘सुकन्या दिदी, पारिजातकी बहिनी ।’ सुरेन्द्रले मलाई भन्यो ।

मैले सुकन्याको नाम पारिजातको संस्मरणमा पढेको थिएँ । तर अहिले यसरी उहाँलाई भेट्दा मनभित्र एक किसिमको खुसी थियो । एकैछिनपछि सुकन्या दिदी आएर हामीलाई भित्र बोलाउनु भयो । हामीले उहाँलाई पछ्यायौँ । हामी कोठाभित्र छिर्दा पारिजात दिदी केही लेखेर थन्क्याउँदै हुनुहुन्थ्यो । हामी आएको खबरले उहाँले सायद लेख्न छाड्नु भएको थियो । हामीले उहाँलाई नमस्कार ग¥यौँ । उहाँले हामीलाई बस्नु भन्नुभयो र हामी छेवैको एउटा सोफामा बस्यौँ ।

‘दिदीले केही लेख्दै हुनुहुन्थ्यो होला, हामीले डिष्टर्व ग¥यौँ ।’ मैले भनेँ ।

‘होइन, एन.जि.ओ. सम्बन्धी एउटा सानो लेख थियो, लेखिसिध्याएँ ।’ उहाँले भन्नुभयो ।

मैले एकचोटि आफ्ना आँखाहरुलाई सर्सर्ती उहाँको कोठाभरि दौडाएँ । भित्तामा केही तस्बिरहरु थिए र अन्य तस्बिरहरुको दाँजोमा त्यहाँ चे–ग्वेभाराको एउटा अलि ठूलो तस्बिर टाँगिएको थियो । मलाई लाग्यो– खासगरी चे–को जीवनीबाट दिदी बढी प्रभावित भएको हुनुपर्छ । कोठाको दक्षिण भित्तासँग जोडिएको उहाँको आफ्नो बेड थियो । दुई भित्ताहरुसँग टाँसिएको सोफा र बाँकी एक भित्ता उहाँका किताबहरुको तखताहरु थिए । बीचमा एउटा टेबुल थियो जहाँ केही नयाँ, पुराना किताब र पत्रिकाहरुको खात थियो ।

हामीले केही कुराकानीहरु सुरू ग¥यौँ । केही साहित्यका, केही साहित्यइतरका, केही राजनीतिका । मैले पढेका तर सधैँ मेरो मनमा प्रश्न बनेर रहेका उहाँका कृतिहरुको बारेमा मैले उहाँसँग केही जिज्ञासाहरु राखेँ । त्यो बेला उहाँको “पारिभाषित आँखाहरु’’ उपन्यास भर्खरै प्रकाशित भएको थियो । त्यो किताबले उहाँलाई अत्यन्तै विवादस्पद बनाइदियो । केही समालोचकहरुले त उहाँमाथि विचारको विचलनको ठाडो आरोप पनि लगाए ।

मैले आफूसँगै लगेको उपन्यासको पाण्डुलिपि त्यहाँ मसँगै थियो । मैले सङ्कोचपूर्वक त्यो पाण्डुलिपि पढिदिन आग्रह गर्दै उहाँलाई दिएँ । उहाँले त्यसलाई सर्सर्ती एकचोटि पल्टाएर हेर्नुभयो र मलाई सोध्नुभयो– ‘छाप्ने विचार गर्नुभएको छ यसलाई ?’

‘छाप्न मिल्ने रह्यो भने ।’ म हाँसे ।

‘हुन्छ । म यसलाई पढ्छु र यसबारे तपाईंलाई सल्लाह दिउँला ।’ उहाँले मलाई भन्नुभयो ।

पाण्डुलिपि छाडेर हामी त्यहाँबाट हिँड्यौँ । पारिजात दिदीसँगको त्यो भेट मेरोलागि अनौठो अनुभूति बनिरहेको थियो । एउटा अकल्पनीय र अत्यन्तै अविस्मरणीय क्षण थियो मेरोलागि त्यो । दोस्रोचोटि भेट्न जाँदा उहाँ अलिक अस्वस्थ देखिनुहुन्थ्यो । झण्डै एकहप्तापछि हामी उहाँलाई भेट्न म्हैपी पुगेका थियौँ । हामीलाई देखेपछि त्यहाँ उहाँले सिरानीमुनिबाट मेरो उपन्यासको पाण्डुलिपि निकाल्नुभयो । म निकै उत्सुकले उहाँको प्रतिक्रिया पर्खिरहेको थिएँ । उहाँले मलाई सोध्नुभयो – ‘तपाईंले यसलाई छपाइ हाल्नुहुन्छ र ?’

उहाँको त्यो प्रश्नले म अन्यौलमा परेँ । केही बोल्नै सकिनँ । म आफैं एउटा प्रश्न बनेर उहाँलाई नै हेरिरहेँ । मलाई अन्यौलमा देखेर उहाँले भन्नुभयो – ‘उपन्यास साह्रै हतारमा लेखिएको छ । कति ठाउँमा यसले आफ्नो कथावस्तु छाडेर अत्यन्तै छिटो दौडन्छ । कति ठाउँमा फेरि सुस्त देखिन्छ । तपाईंको शैली भने असाध्यै राम्रो छ । यसलाई नछाड्नुस् । उपन्यासलाई फेरि सच्याउनुस् । छपाइहाल्ने हतार नगर्नुस् । अँ, बरू छोटा कथाहरु, छोटा विषयवस्तुहरुलाई लिएर लेख्नोस् । यसले विषयवस्तुहरुको एउटा अभ्यास गराउँछ ।’

उहाँले आफ्नो लेखनका सुरूका अनुभवहरु हामीलाई सुनाउनु भयो । शिरीषको फूल लेखिनुभन्दा अगाडिका उहाँका तीनवटा उपन्यासहरु उहाँ आफैले जलाउनुभएको सन्दर्भहरु पनि उहाँले बताउनु भयो ।

‘तपाईं रानु र प्रकाश कोविदका उपन्यासहरु पढ्नुहुन्छ हो ?’– उहाँले मलाई सोध्नुभयो ।

उहाँको यो सोधाइले मलाई खुल्दुली बनायो । स्कुल पढ्दाको एक समय थियो । मेरो धेरै एकान्त समय प्रकाश कोविदका उपन्यासहरुसँग बित्थ्यो । उनका उपन्यासहरु भनेपछि हामी खोजेर पढ्थ्यौँ । हामी धेरै साथीहरुको झोलाभित्र वसन्त, युधीर थापाका उपन्यासहरु हुन्थे । पछि बिस्तारै मैले हिन्दीका उपन्यासहरु पढ्न सुरू गरेँ । ती सामाजिक, प्रेमप्रधान, रोमान्टिक र थ्रिलर खालका उपन्यासहरु हुन्थे । रानु, गुलशन नन्दा र सुरजका हिन्दी उपन्यासहरु खुब पढ्थेँ । पछि बिस्तारै त्यो सरेर प्रेमचन्द र शरदचन्द्रका कथा र उपन्यासहरुसम्म पुग्यो । त्यस्ता उपन्यासको अध्ययनले मलाई बिस्तारै ऐकान्तिक र अन्तर्मुखी बनाउँदै लग्यो । पछि गरिमा र मधुपर्क जस्ता साहित्यिक पत्रिकाहरु मेरो नियमित अध्ययन र रूचिभित्र रह्यो । कुमुद देवकोटा, भागिरथी श्रेष्ठ, किशोर पहाडी, माया ठकुरी, निर्मोही व्यास, सनत रेग्मी, परशु प्रधान, शैलेन्द्र साकार, रमेश विकल, भाउपन्थी, वानीरा गिरी, किशोर नेपाल, मनु बाज्राकी, मञ्जु काँचली, अभि सुवेदी, शारदा शर्मा, कुन्ता शर्मा आदि नामहरु र उनीहरुका लेखनसँग यी साहित्यिक पत्रिकाहरुले परिचय गरायो ।

एकदिन स्कुल जाँदै गर्दा बाटो छेवैमा रहेको पुस्तक पसलको भित्तामा झुण्डिएको एउटा किताबले मेरो ध्यान तान्यो । परबाटै सर्लक्क देखिने गरी झुण्डिएको त्यो किताबको बाहिरी गातामा लेखिएको थियो – ‘आमा’ । त्यो गाताको नामले नै मलाई छोयो र धेरैदिनसम्म मन संवेदित बनाइरह्यो । स्कुल जाँदाआउँदा मेरा आँखाहरु स्वाभाविक ढङ्गले त्यहाँ झुण्डिएको त्यो किताबमाथि पुग्न थाल्यो । आमाको वात्सल्यलाई सानैमा गुमाएको मेरो आँखामा त्यो किताबले एक किसिमको छटपटी र उत्सुकताहरु पैदा गरिरह्यो । एकदिन किताबलाई नजिकै गएर हेरेँ । छामेँ । निकै आकर्षक र मोटो गाता भएको किताब थियो त्यो । त्यो रूसी भाषाबाट नेपालीमा अनुवाद गरिएको म्याक्सिम गोर्कीको आमा उपन्यास थियो । बीस रूपैयाँ मूल्य रहेछ । मेरोलागि त्यो किताब किन्नु सजिलो थिएन । ज्यादै महँगो थियो त्यो मूल्य । घरमा सजिलै लुकाएर पढ्न सक्ने किताब पनि थिएन त्यो । त्यो बेला आफ्नो पाठ्यपुस्तकभन्दा बाहिरको किताब पढ्नु भनेको घरमा बुबाको चर्को खप्की खानु थियो । तर मनले मान्न सकेन । केही नोटबुक किन्ने बहानामा बा’सँग बीस रूपैयाँ मागेर मैले एकदिन त्यो किताब किनेर ल्याइछाडेँ र बा’को आँखा छलेर रातको समयमा त्यो किताब पढ्न थालेँ । त्यो किताबले नपत्याउँदो गरी मेरो सामाजिक दृष्टिकोण, राजनीतिक चेतना, साहित्यिक मूल्य र जीवनबोध फेरिदियो । कम्युनिष्ट शब्दप्रतिको एउटा लगाव बिस्तारै मभित्र झ्याङ्गिन थाल्यो ।

यसरी प्रकाश कोविद, युधीर थापाका उपन्यासहरु पढिरहेको मेरो आँखामा साहित्यप्रतिको मान्यताहरुलाई पुरै बदल्यो । मेरो लगाव फेरियो । यतिखेर पारिजातको प्रश्नले मलाई फेरि ती स्कुले दिनहरुको सम्झना गराइदिएको थियो ।

‘हो दिदी, स्कुल छँदा मैले प्रकाश कोविदका धेरै किताबहरु पढेको छु ।’ मैले भनेँ ।

‘त्यसैको प्रभाव छ तपाईंको यो लेखनभित्र । तर हामी यस्ता लेखनबाट मुक्त हुनुपर्छ । प्रकाश कोविदको उपन्यास कुनै साहित्य होइन ।’ पारिजात दिदीले भन्नुभयो ।

त्यसदिन पारिजात दिदीले साहित्यका सम्बन्धमा दिनुभएका विचारहरुले मलाई निकै प्रभावित बनाइरह्यो । मैले त्यो उपन्यासलाई छाप्ने विचार छाडिदिएँ ।

मैले छोटा कथाहरु लेख्न थालेँ । त्यसपछि धेरैचोटि म पारिजात दिदीकहाँ गएँ । कहिले सुरेन्द्रसँग र कहिले म आफू एक्लै पनि गएँ । मेरा फाट्टफुट्ट कथाहरु पत्रपत्रिकाहरुमा छापिन सुरू हुँदै थियो । पहिलोपल्ट मेरो कथा ‘ऊ अभैm जीवित छ’ मातृभूमि साप्ताहिकमा छापिएको थियो । त्यसपछिका दिनहरु ‘मातृभूमि’मा मेरो कथाहरु छापिइरह्यो ।

०४८ सालको कार्तिक महिनातिरै हो क्यारे, त्यसबेला पारिजात दिदी पोखरा जाँदै हुनुहुन्थ्यो – जेलका बन्दीहरु भेट्न । उहाँ ती दिनहरु जेलका राजबन्दीहरु भेट्ने कार्यक्रम बनाएर हिँडिरहनु भएको थियो । केही दिनअघि उहाँले काठमाण्डौंका जेलमा रहेका राजबन्दीहरुलाई भेट्नु भएको थियो ।

‘भाइ, एक हप्ताको कार्यक्रम छ । त्यसै सिलसिलामा अलिकति यी किताबहरु पनि बिक्री गर्नुछ ।’ उहाँले भन्नुभयो । त्यो बेला उहाँको “बोनी” उपन्यास भर्खरै प्रकाशनमा आएको थियो । एउटा किनेर मैले आफूसँग राखेँ । ‘बोनी’ उपन्यास उहाँको अघिल्लो उपन्यास ‘पारिभाषित आँखाहरु’ को एउटा सिक्वेलको रुपमा आएको उहाँले बताउनुभयो ।

‘दिदी त्यसोभए पोखरा जाने क्रममै आँबुखैरेनीमा एउटा साहित्यिक कार्यक्रम राख्दा कसो होला ?’ मेरो अनुरोध थियो ।

‘हुन्छ, मिलाउनोस् तर छोटो । जाँदा सकिँदैन । फर्कने दिन राख्नुहोला ।’ उहाँको स्वीकृति थियो ।

मेरोलागि त्यो खुसीको कुरा थियो । मैले त्यो कार्यक्रमबारे छिट्टै नै एउटा दिन तय गरेर दिदीलाई जानकारी दिउँला भनेर त्यहाँबाट फर्के । आफ्नो अफिसको कामबाट छुट्टी लिएर केही दिनको लागि म गाउँ गएँ । त्यहाँ केही मान्छेहरुसँग आफ्नो कार्यक्रम सुनाएँ । तर कसैमा पनि त्यो उत्सुकता देखिएन । उनीहरुको त्यो हीनग्रन्थीले भरिएको मानसिकताले मेरो उत्साहमा पानी खन्याइदिने काम मात्र गरे । कार्यक्रमको त्यो महत्वलाई उनीहरुले बुझ्ने प्रयासहरु समेत गर्न सकेनन् । पारिजातलाई एकचोटि म आफ्नो गाउँको भूमि टेकाउन चाहन्थेँ । तर त्यहाँ कसलाई के को चासो ? मुख बजारेर बिठ्याइँ छर्नेहरु र तर काढेर खान पल्कनेहरु जहीँकहीँ छन् । समाज यस्तैले चल्छ । म फेरि काठमाडौँ फर्के र आफ्नो कामतिर लागेँ । त्यसको केही हप्तापछि मैले पारिजात दिदीलाई भेट्दा उहाँहरु पोखराबाट फर्किसक्नु भएको थियो । आखिर हामीले त्यो कार्यक्रम गर्न सकेनौँ ।

त्यसपछिका दिनहरु पारिजात दिदीसँग भेट हुन पनि सकेन । कहिले अफिसको कामको व्यस्तता । कहिले काठमाडौँभन्दा बाहिरको बसाइ । यस्तै रह्यो । यसैबीच कथाहरुको एउटा सङ्ग्रह निकाल्ने तयारी गरेँ । ‘चिन्तन प्रकाशन’ले त्यो कथाको सङ्ग्रह निकालिदिने भयो र त्यसको भूमिका पारिजात दिदीसँगै लेखाउँ भन्ने लाग्यो । तर पारिजात दिदी बिरामी हुनुहुन्छ भन्ने सुनेँ । भेट्न जान सकिएन ।

मैले फेरि सुनेँ – पारिजात दिदीलाई हस्पिटल भर्ना गरियो । अहँ, कतै उहाँको स्वास्थ्य सुध्रँदै गएको सुनिएन । फेरि सुनेँ – उहाँलाई आई.सि.यु. मा लगियो । तर त्यसको केही दिनपछिको एउटा बिहान २०५० वैशाख ५ गतेको एउटा बिहान थियो त्यो । उहाँको मृत्युको खबर हावा जस्तै फैलियो सहरभरि । हामीले ठूलो दुर्भाग्य भोग्यौँ । त्यो पारिजातले धर्तीलाई आफू अर्पित गरेको र निला शिरीषका फूलहरुले हावालाई चुम्दै गरेको एउटा नीरस बिहान थियो ।

सधैँ विवाद र चर्चाको विषय बन्दै आइरहेको पारिजातको लेखनले विसङ्गतवाद हँुदै प्रगतिवादतिर प्रविष्ट ग¥यो । पारिजात माक्र्सवादी लेखिका थिइन् । धेरैलै धेरै कोणबाट व्याख्या र विवेचना गरेको उनको लेखन मूलतः माक्र्सवादी नै थियो भन्ने दरो सबुत उनले आफ्नो निधनपश्चात् आफ्नो शवसँगै लेनिनको फोटो राखिदिनु भनेर जाहेर गरेको इच्छा थियो ।

मैले आफ्नो कथा सङ्ग्रहभित्र पारिजातको भूमिका हैन, उहाँको मृत्युको समवेदना कोर्नु प¥यो । एउटा कविता कोरेँ । एउटा स्मृति कोरेँ –

नयाँ वर्ष
उफ् ! कति पीडादायी
एकातिर उत्साह र उमङ्गका गीतहरु कोर्न नपाउँदै
अस्मिताका हातहरु बाँध्न लगाउँदै
हजारौँ शुभकामनाहरु बोकेर
मनहरु फुल्न नपाउँदै
आँखाभरि आँसु बोकेर रूनु पर्ने
क्रूर नियतिको यो कस्तो विडम्बना ?
छातीभरि पीडा बोकेर हाँस्नु पर्ने
यो कस्तो बाध्यता ?
(पारिजातको सम्झनामा)

हो, यतिबेला पारि पाखाभरि अलिकति घाम लागेको छ । टारीभरि अलिकति घाम पोखिएकोे छ । तर म घाम भएर पाखाभरि पोखिन सक्दिनँ । खुसी भएर टारीभरि फुल्न सक्दिनँ । म त आफैभित्र काला बादलहरुको चट्याङले चुटिइरहेको छु । आफ्नै आँसुहरुले रूझिइरहेको छु ।

समुद्रजस्तै उर्लिरहेछ भीड । कतै उज्यालो छैन । सबै आँखाहरु बिराना छन् । भीडहरुमा समाहित हुँदै म बगिरहेको छु – पारिजात दिदीको शव–यात्रामा । केही पाइलाअघि पारिजात दिदीको शव बोकिएको छ र शोेकाकुल भीड पारिजातको निवासस्थानतिर बहिरहेको छ । फेरि पनि म सजिलै स्वीकार्न सक्दिन पारिजातको मृत्युलाई ।

मलाई लागिरह्यो – हामी पारिजात दिदीको निवासस्थानतिर गइरहेका छौँ । पारिजात दिदी हामीलाई पर्खिरहनु भएको छ । एकछिनपछि हामी त्यहाँ पुग्नेछौ“ र साहित्यका विविध विषयहरुमा कुराकानी गरिरहेका हुनेछौँ । तर यो नीरस हावामा बहकिरहेको नीरस मन न थियो ।

अब त पारिजातको पार्थिव शरीर पनि हामीसँग छैन । भर्खरै उहाँको त्यो देह जलिसकेको छ र मान्छेहरु स्वयम्भूको त्यो सडकैसडक एउटा सूर्यास्त बोकेर फर्किरहेका छन् । फेरि पनि मेरो मनले पारिजातको त्यो मृत्युलाई किन सहज स्वीकार गर्न सकिरहेको छैन । र, मेरो अन्तर्मनले मलाई भनिरहेको छ –

पारिजात फेरि कहिल्यै ओइलाउँदैन
पारिजात त फुलिरहने छ
जबसम्म यो धर्ती रहने छ
यो माटो रहने छ ।

जनमत, २०५०