0

त्यो एउटा बूढो नीमको रुख

Share

साँझले जाडो हाल्दै गरेको
त्यो एउटा साँझ
र त्यो एउटा बूढो नीमको रुख
चिसो हुर्किरहेका कानहरुलाई छोएर
कसैको तातो श्वासले मलाई
एकजना कामदार लिम्बुको मृत्युको खबर सुनायो
मेरो कानैनिर फेरि चिसा सियाँठहरु उठे
र सियाँठहरु हराए
सियाँठसँगै देश छाडेर प्रदेशिएको
नेपालीको एउटा जीवन हरायो

मैले बाहिर हेर्न खोजें
केही अरवीहरु बल मैदानबाट
खेल सकिएर फर्कदैं थिए
र त्यो बाहिरको चहलपहल हराउँदै थियो
डाइनिङ् हलको त्यो एकान्तलाई
काखमा च्यापेर
म त्यो पर डुब्न लागिरहेको
सूर्यलाई हेर्दैछु
र आँखाले भ्याएसम्म
त्यसको गोलार्द्धलाई नाप्न खोज्दैछु
पुदिना हालेको एककप कालो चियाको
बाफहरु टेकेर सूर्य
विस्तारै मेरो गिलासभित्र
भर्खरै मैले प्राप्त गरेको लिम्बुको मृत्युको
खबरमाथि उत्सवहीन लहराउँछ ।

साँझले जाडो हाल्दै गरेको
अरबभूमिको
त्यो एउटा साँझ
र त्यो एउटा बूढो नीमको रुख
त्यसका हाँगाको टुप्पाहरु हुँदै
तल खस्छ फेबु्रअरीको एउटा दिन
र त्यहाँ भर्खरै हावाले छोएर गएका त्यसका
पातहरु सर्सराउँछ

केही दिन अघिसम्म पनि
कति नाङ्गो थियो त्यो बूढो नीमको रुख
र त्यसका नाङ्गा हाँगाहरुले
मलाई सधैं एउटा उदासी पोखिरहें झैं लाग्थ्यो
अहिले फेरि त्यसले पातहरु हालेको छ
र खुसीहरु पोखेको छ
त्यो एउटा बूढो नीम
त्यहाँ फेरि बिल्कुलै फेरिएको छ

म उभिएको झ्यालको सामुन्ने छ
त्यो एउटा बूढो नीम
र मैले नीमसँगै त्यसको आसपासका
अरु केही रुखहरु देखेको छु
तर ती बिल्कुलै भिन्न
फरक जातका छन्
मैले त्यहाँ सधैं ती हरियो देखेको छु
मैले कहिल्यै न त्यसका
हाँगाहरुलाई नाङ्गो देखेको छु
न कहिल्यै त्यसका
पल्हाइरहेका पातहरु देखेको छु
न त्यसले आफू झर्नुमा जीवन देखेको छ
न त्यसले आफू फुल्नुको
खुसीहरु बाँड्न जानेको छ
ती हरिया त छन्
तर बिल्कुलै एकरस छन्
नीरस छन्

म अहिले
जति यी नीमका पातहरुमा
रमाउन सकिरहेको छु,
यी भिन्न जातका रुखहरुले मलाई
छुन सकिरहेका छैनन्

अहिले यी दुई भिन्न जातका प्रकृतिहरु
मेरा आँखाअघि छन्
र म किन यस्तो सोच्दैछु
म त्यो नीम झैं बाँच्न सकें कि सकिनँ ?

२०६२