0

टाइगर हिलकी पुनम

Share

‘ए ! नीलम, तीन गाडी छ है । तिमी अगाडि नै बस्नु, मचाहिँ यहाँ छु कि पिछाडि ।’

टाइगर हिलको सिरानमा जङ्गलका चराहरु पनि नउठ्दै दार्जिलिङकी यी दुई युवतीहरु हामीलाई बीचमा पारेर त्यो उकालोमा अघिपछि गर्दै यसरी नै कराइरहेका थिए । यी भर्खरै कराउनेचाहिँ मेरो नजिकै, पछिल्तिर थिई ।

‘दाजुहरुचाहिँ तीन गाडीमध्येको हो नि ?’ उसले फेरि झट्ट हामीसँग सोधी

‘हो ।’ मैले भनेँ ।

‘तपाईंहरु माथि पुगेपछि हामीसँगै रहनू ल । आफ्नो साथीहरुलाई पनि भन्नू ।’ उसले भनी ।

हामी को कहाँनिर छौँ भनेर आफ्नै साथीहरुलाई बोलीले छुट्याउनु पर्ने यो अँध्यारोमा यी युवतीको अनुहारलाई पछ्याउनु हामीलाई उति सजिलो थिएन । सलहजस्ता मान्छेका छायाँहरुको लहर पहाडको उँभो सिरानतिर बिस्तारै सर्दै गइरहेको देखिन्थ्यो यो अँध्यारोमा । र, यी दुई युवतीका छायाँहरु भने अघिपछि गर्दै अघिदेखि हाम्रो पङ्क्तिभित्र देखिइरहेको थियो । अँध्यारोमा सँगैका साथीहरुको साथ छुट्ने र हराइने डर हामीसँग उस्तै थियो । अघिल्लो साथीलाई छाडेर अलिकति चल्मलाउने बित्तिकै भीडले पछाडि धकेलिदिन्थ्यो ।

धन्न, यो उकालोमा सँगै छौ, चिरन्जीवी सेढाइँ र म । र, सँगै छन् रमेश सुनाम भाइ ।
०००

२०६७ सालको दसैँलाई सम्मुख पारेर हामी दार्जिलिङमा छौँ– अघिल्लो एकदिनदेखि । आँबुखैरेनी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पूर्वका जिल्लाका केही नमूना खानेपानी आयोजनाहरुको अध्ययन÷अवलोकन भ्रमणको आयोजना गरेको थियो र हामी थियौँ भ्रमणका सहभागी । भ्रमणमा हामीसँगै हुनुहुन्थ्यो, जिल्ला खानेपानी डिभिजन कार्यालय, तनहुँका इन्जिनियर चिरन्जीवी सेढाइँ । सँगै हुनुहुन्थ्यो आँबुखैरेनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष डोलबहादुर थापा । यसरी नै क्रमशः नस्तु कँडेल, राजेश्वर खनाल, मीरा के. सी., सरस्वती श्रेष्ठ, रघुपति के.सी. … गन्तीमा हामी २५ जनाको टोली थियौँ । धनकुटाको धनकुटा खानेपानी, मोरङको उर्लावारी, झापाको दमक र इलाम अवलोकन भ्रमणका केही गन्तव्यहरु थिए र हामीलाई संयोगले जुरेको थियो दार्जिलिङ ।

यसअघि पनि म इलामको फिक्कलसम्म पुगिसकेकै थिएँ । २०४८ साल ताका थियो त्यो । लायन्स आँखा उपचार केन्द्रको फस्ट आई साइट प्रोग्राम लिएर हामी पूर्वका ती गाउँहरुमा निःशुल्क आँखा उपचार सेवाका कार्यक्रमहरुलाई सञ्चालन गरिरहेका थियौँ । इलामको फिक्कलदेखि पाँचथरको फिदिम, आठराई, ताप्लेजुङ हुँदै फेरि इलाम भएर काठमाडौँ फर्किएका थियौँ हामी ।

अहिले पनि सम्झनामा अझै खेल्छ– फिक्कल ।

फिक्कलले मलाई पहिलोपल्ट जीवनकै पहिलो प्रेमपत्र लेख्न सिकाएको थियो र फिक्कलकै एउटी युवतीको लागि मैले पहिलोचोटि प्रेमपत्र लेखेँ । कसैसँग प्रेमको पहिलो इजहार लेखेर मैले फिक्कललाई छाडेको थिएँ काठमाडौँ फर्कने दिन । एकहप्ताको फिक्कल बास, फिक्कलले साँच्चै नै प्रेमिल हुन सिकाएको थियो मलाई ।

प्रकृतिले पनि मान्छेलाई कोमलता र हार्दिकता सिकाउँदो रै’छ । मान्छेभित्रको नरम स्वभावलाई हुर्काउँदो रै’छ । घृणा, रिस, क्रोध, आवेग, संवेग, आखिर मान्छेभित्र यी सबै विद्यमान कहाँ नहुँदो हो र ? मान्छे सधैँ गुणवेत्ता र दोषरहित पनि किन हुँदो हो र ? तर पनि प्रकृतिले मान्छेभित्रै यी सबै दोषहरुलाई अव्यक्त गरिदिदो रै’छ र सद्भाव, सद्गुण र सद्विचारहरुलाई अङ्कुरण गर्दो रै’छ अनि मान्छे मुस्कुराउँदो रै’छ । मुस्कुराउन सिक्दो रै’छ र प्रेमिल बन्दोरै’छ ।

मैले अनुभूत गरेको फिक्कल र फिक्कलका मान्छेहरु यस्तै थिए ।
प्रेमको पर्यायजस्तै थियो फिक्कल ।
हार्दिक र कोमल ।

तर हामीले एकअर्कालाई राम्ररी महसुस गर्न पनि नपाइएको त्यो प्रेम भने फिक्कलबाट काठमाडौँ पुग्दा फेरि अर्को प्रेमपत्र लेख्न नपाउँदै सुषुप्त भएर हरायो ।

‘अनि नि, त्यो पारि छ नि दाजु, … … त्यो दार्जिलिङ ।’ चियाको मुनाजस्तै कलिलो रङ खेल्यो श्यामु लामाको गालामा र मैले उसको इशाराहरुलाई पछ्याउँदै कन्यामको चियाबगानबाट देखिने त्यो परको घुम ओढेको पहाडहरुलाई हेरिरहेँ । तर फिक्कल रहुन्जेल मेरा पाइलाहरुले बरबोटे काटेर त्यो पर दार्जिलिङसम्म पुग्न सकेनन् ।

२० वर्ष !

ओहो ! झण्डै यो २० वर्षपछि फेरि कन्यामको चियाबगानलाई टेकेर म ती सम्झनाहरुलाई उत्खनन् गरिरहेको छु यतिखेर । यो बीस वर्ष यी चियाका बुट्यानहरु कति बुढा भए होलान् ? यो बीस वर्ष कति चियाका मुनाहरु टिपिए होलान् ? यो बीस वर्ष यो बगानमा चिया बोक्ने कति डोकाहरु फेरिए होलान् ? कति निधारका पसिनाले यो बगानको सौन्दर्यलाई सिँचे होलान् ? तर आज पनि यहाँ खेल्ने चिसो हावा उस्तै छ । उस्तै छ यो बगान र कुहिरोले छोपिँदै गरिरहेको चियाका बोटहरुको सौन्दर्य ।

‘ऊ त्यो छ नि दाजु, … … त्यो दार्जिलिङ ।’ एउटा स्मृतिमा खेल्छ श्यामु लामा र उसको गालाभरि चियाको मुनाजस्तै कलिला रङहरु खेल्छन् । मसँग यतिबेला दार्जिलिङसम्म पुग्ने पाइलाहरु छन् । तर मेरो साथमा श्यामु लामा छैन ।
०००

वासस्थानको चराले पनि निद्रा छाड्न नभ्याएको यो एकाबिहानै हामी दार्जिलिङको सूर्योदयको दृश्यलाई हेर्न टाइगर हिलको त्यो ठाडो उकालोमा हस्याङ र फस्याङ गर्दै थियौँ । अरु दिन भए यो निद्राले किन सजिलै छाड्थ्यो होला ! यो निद्रामा पनि सबैका आँखामा दार्जिलिङ थियो । सबैका आँखामा एउटा उत्सुकता र आतुरता थियो ।

‘बिहान छिट्टै हिँडिहाल्नु पर्छ है दाजुहरु । ढिला भयो भने पिछाडि परिन्छ ।’ हामीलाई गाइड गरिरहेका दार्जिलिङ सिमाना बजारका दर्पन देवानले हिजो राति नै होटल निर्वाणमा हामीलाई जानकारी दिइसकेका थिए । हामी दुई दिनका लागि दार्जिलिङको प्याकेज टुरमा थियौँ । हामीले अघिल्लो दिन नै हामी आएको रिजर्भ गाडीलाई पशुपतिनगरमा छाडेका थियौँ । र, पशुपतिनगरमा भेटिएका जिप चालक दर्पन देवानले एउटा प्याकेज टुरमा हामीलाई दार्जिलिङ घुमाउने भएका थिए । दार्जिलिङमा हाम्रो तीन छाकको गाँस र एक रात बास हुने भएको थियो ।

पशुपतिनगरमा भारतीय नम्बर प्लेटका जिपहरु निर्वाध कुदिरहेका देखिन्थे । यस्ता जिपहरु कहिलेकाहीँ फिक्कलसम्म पनि फुक्काफाल कुद्दा रहेछन् । यिनै जिपहरुले नेपालबाट भारततिर जानेहरुलाई ओसार्दा रहेछन् । नेपालतिरका साना सवारी गाडीहरुलाई भारततिर जानको लागि भने सहज रहेनछ । पशुपतिनगर नेपाल र भारतको, विशेषतः दार्जिलिङ क्षेत्रसँगको आवागमनको सुरक्षा नाका रहेछ । तर पनि चेकपोष्ट भन्दा वरै नेपाल तर्फको झण्डै पाँच सय मिटर सडक क्षेत्रलाई भारतीय सुरक्षा प्रहरीहरुले सडक पिल्लरहरु तेस्र्याएर सुरक्षा जाँचलाई कडा गरिरहेका थिए । भारतीय शासकहहरुको नेपालप्रतिको एउटा रवैया हामीले त्यहीँ देख्यौँ । कहिलेकाहीँ त यस्तै जिप चलाएर जीविकोपार्जन गर्दै आइरहेका भारतीय नेपालीहरुलाई पनि बित्थैका दुःख दिँदा रहेछन् यी भारतीय प्रहरीहरु । एकचोटि त भारतीय प्रहरीहरुको ज्यादतीको विरूद्धमा एकहप्तासम्म दार्जिलिङका जिप चालकहरुले सडकमा जिप रोकेर दार्जिलिङका सडकहरुको आवागमनलाई बन्द गरिदिएको कुरा दर्पन देवानले हामीलाई सुनाए ।

‘हाम्रा एउटै पुर्खाहरु थिए । तर पनि हामी यहाँ पराधीन छौँ । तपाईंहरुसँग फ्रिडम छ ।’ दर्पन देवान भन्दै थिए । उनी फरासिला थिए र हामीसँग सहज रुपमा कुराकानी गरिरहेका थिए ।

कुराकानी गरिरहँदा कहिलेकाहीँ उनी भावुक देखिन्थे ।

‘हामी अझै पनि यहाँ कुल्ली छौँ । दरबान छौँ । जिप चालक छौँ । होटल बेयरा छौँ । हाम्रालागि यहाँ स्कुल छन् । कलेज छन् । तर दार्जिलिङमा हामीलाई कुनै सरकारी नोकरी छैन । यहाँका भारतीयहरु हामीलाई सरकारी क्षेत्रमा कुनै नोकरी दिन चाहन्नन् । दार्जिलिङमा हाम्रो कुनै प्रशासन छैन ।’ उनले सहज रुपमा यसो भनिरहँदा हामीलाई भने यी कुराहरुले निकै भावुक बनायो । हामीसँग यी कुराकानीहरु गरिरहँदा दर्पन देवान जति सहज देखिन्थे उनका लागि उत्तिकै यी पीडाहरु असहज थिए ।

इतिहासमा कुनै बेला पुर्खाहरुले गरेको गल्तीलाई आज स्वाभाविक रुपमा सहने प्रयत्नहरु गरिरहेका थिए दर्पन र दर्पन देवानहरु जस्ता वर्तमान पुस्ताका युवाहरुले ।

‘यै हो मानेभञ्ज्याङ ।’ बाक्लो धूपी र सल्लाघारीको जङ्गललाई छिचोलेर एउटा नाङ्गो पहाडको थुक्कोनिर जिपलाई अड्याएपछि दर्पन देवानका औँलाहरुले त्यो तल देखिएका खोँचिला गाउँहरुलाई देखाउँदै थिए । ‘मानेभञ्ज्याङ’ भारतीय सैनिकहरुबाट चिथोरिएर प्रत्येक राष्ट्रवादी नेपालीहरुको छातीमा दुखिरहेको घाउ थियो त्यो अझै पनि । त्यो भारतीय विस्तारवादको नेपाली भूमिमाथिको बलात् अतिक्रमण थियो । त्यो घाउले त्यहाँ हामीलाई मात्र दुखाइरहेको थिएन । दर्पन देवानहरुलाई पनि दुखाइरहेको थियो र त सायद उनी दार्जिलिङ आउने प्रत्येक नेपालीलाई मानेभञ्ज्याङ देखाउँछन् । र, दर्पन देवान त्यहाँ हामीलाई मानेभञ्ज्याङको घाउसँगको विषाद् होइन, भारतीय शासकहरुप्रतिको घृणा र प्रतिरोधलाई नेपाली जाति हुनुको अभिमानले अझै ज्युँदो बनाइराख्न चाहन्छन् ।

‘दार्जिलिङको लागि जहिल्यै पनि आफ्नैहरु शत्रु भए ।’ बेलुकी होटल निर्वाणमा उनले एउटा दिक्दारी व्यक्त गरे । उनको यो आक्रोश भने सुवास घिसिङ्सँग थियो । सुवास घिसिङ् र उसको नेतृत्वप्रति दार्जिलिङका जनता धेरै आशावादी रहेछन् । पश्चिम बङ्गालको राज्यसभाबाट अलग गरेर दार्जिलिङ र यस वरपरका डिब्रुगढ, आसाम र सिलगुडी लगायतका केही पहाडी जिल्लाहरुलाई समेटिएर छुट्टै गोर्खाल्याण्ड राज्यको गठन हुनुपर्ने माग दार्जिलिङका जनताहरुले गरिरहेका थिए । यो आन्दोलन लामो समयसम्म चल्यो । तर आन्दोलनले उत्कर्ष लिइरहेको बेला सुवास घिसिङ्ले दिल्लीको केन्द्र सरकारसँग सम्झौता गरेर दार्जिलिङको जनताको आन्दोलनलाई तुहाइदिए ।

‘सुवास घिसिङले गद्दार ग¥यो ।’ दार्जिलिङेहरुको आरोप थियो ।

गोर्खाल्याण्डको मागलाई समातेर विमल गुरूङहरु फेरि आन्दोलनमा आए ।

‘विमल गुरूङले केही गर्छ कि !’ दार्जिलिङको आशा थियो । केही वर्षदेखि जिल्लाले राज्य र केन्द्र सरकारलाई बुझाउनु पर्ने पानी, विद्युत्, सडक, शिक्षा, व्यापार आदि सबै करहरुलाई दार्जिलिङले बन्द गरिदिएको रहेछ ।

गोर्खाल्याण्ड आन्दोलनका प्रसङ्गहरु सँगसँगै मेरो मस्तिष्कमा अझै बृहत् आकार र आयतनमा फैलिएर खेल्छ दार्जिलिङ । साहित्यले समृद्धि पाएको यो भूमि । यो साहित्यको मानक भूमि । पारिजात, इन्द्रबहादुर राई, ईश्वरवल्लभ, प्रकाश कोविद, शिवकुमार राई, मनबहादुर मुखिया, अगमसिंह गिरीहरुले खेलेर हुर्किएको यो साहित्यिक भूगोल । यतिखेर हाम्रो यो दार्जिलिङ भ्रमण बिल्कुलै गैरसाहित्यिक थियो र पनि यो साँझ दार्जिलिङका सडकहरुलाई टेकेर नितान्त साहित्यिक अनुभूतिले म निथ्रुक्कै थिएँ । हामी भानुचोक पुगेर फर्किरहेका थियौँ । भानुको ठूलो सालिकमुनि बसेर सबैले आ–आफ्ना फोटाहरु लिए र दार्जिलिङको त्यो साँझलाई अविस्मरणीय बनाए । मेरो आँखा अघिल्तिर भने अझै पनि दिउँसो छाडेर आएको भोटिया बस्ती, सुकेपोखरी, सुकेबजार, घुमपहाड खेलिरहेको थियो । यी स्थानहरु मैले धेरैचोटि धेरै किताबहरुमा पटकपटक पढिसकेको थिएँ । प्रकाश कोविदका उपन्यासहरुमा त यी स्थानहरु सधैँ दोहोरिरहेकै हुन्थ्यो र ती उपन्यासहरु पढिरहँदा मेरो मस्तिष्कमा एउटा आलम्ब बनेर यी ठाउँहरु खेलिरहेकै हुन्थ्यो । र, त्यसैले पनि यी ठाउँहरु मेरोलागि अहिले उत्तिकै आकर्षक बनिरहेको थियो । दार्जिलिङलाई टेकेर जिपले त्यो साँघुरो सडकहरुमाथि दौडिरहँदा मेरो मस्तिष्कमा पारिजातको ‘धूपी, सल्ला र लालीगुराँसको फेदमा’, लैनसिंह बाङदेलको ‘मुलुक बाहिर’, बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरातपछिको सडकसित’, र ईश्वरवल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’ दिउँसोदेखि नै जबर्जस्त खेलिरहेको थियो । मनबहादुर मुखियाको ‘अनि देउराली रून्छ’ ती देखिएका बस्तीहरुमा अझै पनि कतै गुञ्जिरहेकै छ कि झैं लाग्दै थियो ।

‘तिमीहरु मेरो आमाको लास हेर्न आएका भीड हौ ।’

हठात् ! ईश्वरवल्लभका कविताका यी पङ्क्तिहरु थिए मेरोअघि ।

शान्त थियो सहर । कतै हुरी बतास थिएन । तर पनि ईश्वरवल्लभका कविताहरुले हठात् दार्जिलिङको साँझको यो सडकमा मलाई उखरमाउलो बनाइरहेको थियो । बीच सडकमा म मौन उभिइरहेँ । छटपटी थियो मनभरि । सायद आफ्नी आमाले आत्महत्या गरेपछिको एउटा समय एउटा यस्तै छटपटी बोकेर दार्जिलिङका यी सडकहरुमा भौतारिरहेका थिए ईश्वरवल्लभ । र, उनले ‘मेरी आमाले आत्महत्या गरेको देश’ लेखेका थिए । ईश्वरवल्लभकी आमाले आत्महत्या गरेको त्रासद छायाँहरुले मलाई धेरैबेरसम्म भित्रभित्रै हलचल पारिरह्यो ।

धेरै वर्षअघि, एकदिन काठमाडौँमा ईश्वरवल्लभकी आमाले सेरिएर आत्महत्या गरेकी थिइन् । गएको वर्ष मेरी आमाले कीटनाशक औषधि खाएर काठमाडौँमा आत्महत्या गरिन् । मेरो अघिल्तिर झण्डै ३४ वर्षअघि मलाई नाबालक छाडेर हिँडेकी मेरी आमाको धमिलो अनुहार आएर खेल्यो । मलाई विस्मित बनाउने मेरी आमाको आत्महत्याको त्यो क्षणले मलाई रूवाएन । तर आमाको आत्महत्याको खबर पाएको त्यो रातले मलाई गम्भीर भने बनाइरह्यो र धेरैबेरसम्म मैले त्यो अँध्यारोलाई हेरेर टोल्हाइरहेँ । कसले मलाई यो खबर आएर सुनायो, थाहा छैन । जसले मलाई यो खबर सुनाएर गयो, सायद उसले कम्तीमा पनि अन्तिमपल्ट एकचोटि मैले मेरी आमाको मुख हेरोस् भन्ने थियो होला । तर मैले मेरी आमाको त्यो लासअघि उभिएर उनको निर्जीव अनुहारसँग संवाद गर्ने साहस गर्न सकिनँ ।

एउटा फरक काल । तर उही भूगोल र मृत्युको उस्तै प्रकृति । ईश्वरवल्लभलेजस्तै एउटा समान पीडा बोकेर अहिले म आफ्नै आमाले आत्महत्या गरेको परको त्यो आकाशलाई, अझै परको त्यो क्षितिजको रातो रङलाई हेर्दैछु । श्रद्धाञ्जलिपूर्वक ।

म बिहान उठेर एउटा सिङ्गो आकाशलाई जब हेर्छु
त्यसका वरिपरि रातो दाग लागेका हुन्छन्
थुप्रै सूर्यहरु अस्ताउन आँटेका हुन्
मेरा अग्लिएका हात पाखुराहरु तिनलाई भेट्टाउन खोज्छन्
उम्किँदै गइरहेका आभास भएर
उम्किँदै गइरहेका क्यानभासहरु भएर
उम्किँदै गइरहेका आफ्ना सत्यहरु भएर
तिमीले कहिलेकाहीँ देखेका छौ
परको आकाशलाई अझै परको क्षितिजलाई
अझै परको रातो रङलाई भने– त्यो मेरो आमा हो
(‘मेरी आमाले आत्महत्या गरेको देश’ – ईश्वरवल्लभ)
०००

राति को कति बेला निदाए । निद्रा छाड्नेहरुले तीन बजेदेखि नै उठेर होहल्ला सुरू गरिसकेका थिए । टाइगर हिलका साँघुरा सडकहरु हामी पुग्नुअघि नै जिपहरुले भरिसकेका थिए । हामीभन्दा अरु झनै पो अघि । मान्छेको उस्तै भीड । उज्यालो खस्नै पनि भ्याएको होओइन । मान्छे कति व्यग्रतासँग हिँडिरहेका छन् त । हिल टावरका विद्युत् लाइटहरुले बाटो हिँड्नेहरुलाई अलिकति उज्यालो फ्याँकिरहेको थियो । त्यही उज्यालोले हामी बिस्तारै डोरिइरहेका थियौँ ।

‘दाजुहरु हामीसँगै रहनु ल ।’ छिनछिनमा युवती कराइरहेकी थिई ।

‘कसरी थाहा पाइछ यसले हामी तीन गाडी छौँ भनेर !’ यो उकालोमा मसँगै रहनुभएका चिरञ्जीवी सेढाइँको उत्सुकता पोखियो ।

‘गाइड हो कि ?’ रमेश भाइको अड्कल थियो ।

तर उसको हाउभाउ, उसको त्यो आतुर हिँडाइ, उसको व्यग्रता र बोलीमा देखिने अनुरोधपूर्ण लवजले भने मलाई उनीहरु गाइड होलान् जस्तो लागेन । अघिदेखि मैले उनीहरुका हातमा थर्मसजस्तै केही सामान झुण्डिरहेको देखेको थिएँ । यो अँध्यारोमा उनीहरुप्रति हामीले उस्तो ध्यान पनि दिएनौँ ।

‘यी गाइडचाहिँ होइनन् । यसको कुनै पोलिसीचाहिँ पक्कै हुनुपर्छ ।’ मैले आफ्नो संशय व्यक्त गरेँ ।

‘दाजुहरु, कफी खानुप¥यो भने नीलम र मसँग मात्र खानु होला है ।’ नभन्दै एकछिनपछि यो अँध्यारोमा उसको चर्को स्वर हाम्रो कानमा ठोक्किन आइपुगिहाल्यो ।

‘क्या अनिलजी !’ चिरञ्जीवी सेढाइँ मज्जाले हाँस्नुभयो र भन्नुभयो, ‘तपाईंले लख चैँ काट्नु भा हो ।’

‘दाजुहरु कफी खानु प¥यो भने नीलम र मसँग मात्रै खानु ल ।’ उसले अलि वर आइसकेपछि फेरि उसैगरी दोहो¥याई ।

‘कत्रो पोलिसी । देख्नुभो ?’ सेढाइँ सरलाई घत लाग्दै रहेछ ।

‘अब यो बथानै भेटिएपछि यी दुईले हामीलाई छाड्छन् त । आधाआधीले नै कफी खाइदिए नि यिनीहरुको आजको व्यापार पुग्छ ।’ मैले भनेँ ।

‘कहाँबाट थाहा पाइछ ? अघि नै ड्राइभरसँग यिनीहरुको कन्ट्याक्ट भैसकेछ, बुझ्नु भो ? व्यापारको कस्तो पोलिसी, बुभ्mनुभो !’ चिरञ्जीवी सेढाइँ मसँग साउती गर्दै हुनुहुन्थ्यो ।

‘अब यसैसँग गफ गरेर उकालिऊँ ।’ चिरञ्जीवी सेढाइँ रौसिनु भयो ।

‘तपाईंले हो, हामीलाई कफी खुवाउने ?’ हामीले सोध्यौँ ।

‘हजुर ।’

‘सित्तैमा ?’

‘होइन हौ । एक कपको दश रूपैयाँ ।’

‘बढी भएन र ?’

‘अरुलाई त पन्ध्र रूपैयाँ । तपाईंहरुलाई भनेर दश ।’

‘त्यसो भए हामी तपाईंसँग कफी नखाने ।’ ठट्टा ग¥यौँ ।

‘हुन्न नि हौ दाजु । हामीसँगै खानुपर्छ नि ।’ उसले हामीसँग विनम्रता देखाई । सायद ऊ यहाँ आउने सबै आगन्तुकसँग यसैगरी आफ्नो यो व्यापारिक कला बेच्न सिपालु थिई । हातमा चिया र कफीका कित्ली र गिलास बोकेर आग्रहपूर्वक उसका स्वरहरुले टाइगर हिलको यो सिरानलाई प्रत्येक बिहान सायद सधैँ यसै गरी ब्युँझाउँदो हो ।

हामीसँगको गफबाट बेप्रसङ्ग भएर घरिघरि ऊ त्यो भीडमा चिच्याउँथी– ‘नीलम ।’

‘तपाईंको साथीको नाम हो नीलम ?’ सोधेँ ।

‘हजुर ।’

‘तपाईंको नाम नि ?’

‘पुनम ।’

‘नीलम र पुनम ।’ मैले ठटेउली व्यक्त गर्दै ती दुई नामलाई दोहो¥याएँ । र, उसलाई भनेँ– ‘कस्तो उस्तै नाम रैछ हगि ? झुक्किन्छ होला ?’

‘तपाईंहरु मैसँग रहनु नि । मैसँग कफी खानुु ।’ उसले चतुरता देखाई ।

बाटोभरि ऊसँगको कुराकानीमा उसको एउटै अनुनय थियो, ‘दाजुहरु माथि पुगेपछि मसँगै कफी खानु ल ।’ सबैतिरबाट हाम्रो ध्यानलाई आफूतिर खिचेर ऊ हामीलाई कफी खाने उसको वचनबद्धतामा बाँध्दै थिई ।

हामीले टाइगर हिलको सिरानलाई टेक्यौँ । उकालो टुङ्गिएको थियो । मान्छेहरुको भीडभित्र हामी को कता थियौँ, सबैलाई सजिलै खोज्न गाह्रो थियो । मलाई आफ्नो साथीहरुसँग छुट्टिनुको छटपटीभन्दा पनि त्यो पहाडको सिरानमा एकाबिहानै मान्छेको त्यो भीडको कोलाहलको रमाइलोले छोपिरहेको थियो । नहराएको र नछुट्टिएको त त्यहाँ को पो होला ? भीडले धकेलिएर को कहाँ पो पुग्थ्यो र को कहाँ पुगेर अँचेटिन्थ्यो ! थाहा हुन्न । मान्छेहरु आफ्नै मग्नतामा थिए । कसले कसलाई खोज्ने भन्ने सुर्ताबाट सबै मुक्त र निस्फिक्री थिए । र, सबैका आँखाहरु त्यो पहाडको सिरानबाट देखिने सूर्योदय पर्खिरहेका थिए ।

‘दाजु कफी खानुस् न ।’ हातमा कफीको गिलास लिएर एउटी युवती मेरोसामु देखिई ।

‘तपाईं अघि उकालोमा हामीसँग आउनुभएको दाजु होइन ?’ उसले भनी ।

‘ए, तपाईं पुनम हगि ?’ जिस्किएँ ।

‘हो नि ।’ उसले हाँसेर मुन्टो हल्लाई ।

यो भीडमा पनि यस युवतीको घ्राण शक्ति कस्तो जब्बर रैछ । पछ्याउन छाडेकै रहिनछ । मनमनै आफैसँग अलमलिएर मैले उसलाई हेरिरहेँ । हिजो दिउँसो दार्जिलिङ आउँदै गर्दा दर्पन देवानले भनेको सम्झेँ– ‘यहाँका अधिकांश युवाहरु बेरोजगार छन् । उनीहरु जीविका चलाउन कि दरबान बस्छन् कि सडकमा चिया बेच्छन् ।’

पुनम मेरोसामुन्ने थिई । र, साँच्चै नै दर्पन देवानले भनिरहेझैँ ऊ यतिबेला दार्जिलिङका आम युवाहरुको यथार्थ पात्र थिई । मैले उसका रिक्त आँखामा उसले हिँड्ने दार्जिलिङका बाटाहरु नियालिरहेँ ।

‘दाजु कफी खानुस् न ।’ पुनमको थप अनुरोध थियो ।

‘अहिल्यै खाइहाल्नु र ?’

‘हो नि । कफी खाँदै सूर्य निक्लेको हेर्नु कम्ती मज्जा त हुन्न ।’ उसको हाउभाउमा अव्यक्त भएर लुकेका उसका अबोधगम्य दुःखहरु थिए । उसका यी दुःखहरुलाई सहजै अनुभव गर्न सकिन्न ।

मैले एक कप कफी लिए । ऊ हान्निएर पर पुगी । हेरेँ, हाम्रो समूहका केही साथीहरुको बीचमा बसेर ऊ कफीका कपहरु बाँड्दै थिई । उसले कफी दिएर गएको पनि ठीकै लाग्यो । उसलाई पछ्याउँदै गएको मेरो आँखाले छुट्टिएका आफ्ना साथीहरु भेट्यो ।

कञ्चनजङ्घा हिमाल सामुन्ने देखिन्थ्यो । सबैका आँखाहरु व्यग्र थिए सूर्योदय हेर्न । कतै परेलाहरुले अलिकति झिमिक्क गर्दा पनि आँखैबाट फुत्किहाल्ने पो हो कि भने झैँ एकटकले पूर्वतिर बाँधिएका थिए सबैका आँखा । सबैका हातका क्यामराहरु हाइ एलर्ट देखिन्थे ।

‘निस्क्यो, निस्क्यो ।’

आवाजहरुको एउटा तुमुल लहर टाइगर हिलको त्यो सिरानमा लहरायो । सबैका आँखाहरुमा छिनभरमै लहरि“दै लहरि“दै पूर्वबाट उदाइरह्यो एउटा कलिलो सूर्य । र, सँगसँगै बिस्तारै सल्बलाउँदै मान्छेका हातहरु उचालिइरहे ।

‘क्लिक्’, ‘क्लिक्’, ‘क्लिक्’

सबैका क्यामराका गतिहरु एकसाथ चलिरहे । यता सूर्य माथि उक्लदै थियो । उता घाम पोखिएर कञ्चनजङ्घाका दृश्यहरु खुल्दै थिए । यी दुवै दृश्यहरुलाई एकैसाथ क्यामरामा कैद गर्न सकिनँ । अलिकति घाम र अलिकति कञ्चनजङ्घाको चिसो मिसिएको बतासले भने टाइगर हिलको यो सिरानमा हामीलाई काउकुती लगाएर गयो । आँखामा यी दृश्यहरु मनोरम बनेर खेलिरहे । मनलाई रोमाञ्चित बनाइरह्यो

‘दाजु कफी खानुस् न ।’

फर्केर हेरेँ । पुनम होइन रहेछ । पुनमजस्तै कफी बेच्नेहरु त्यहाँ अरु छपक्कै थिए । एउटी बेलायती रङकी गोरी युवती कपमा कफी खन्याउँदै मेरो छेवैमा उभिएकी थिई ।

‘एउटा फोटो लिऊँ ?’ सोधेँ ।

उसले स्वीकृतिसूचक मुन्टो हल्लाई । कफीसँगै मुस्कुराइरहेको उसको एउटा फोटो लिएँ ।

छिनभरमै टाइगर हिलको सिरानमा सूर्यको उत्ताप ओर्लिसकेको थियो र सबैको आँखाबाट सूर्योदयको व्यग्र प्रतीक्षा सकिइसकेको थियो । हातमा कफीको गिलास लिएर मैले ती युवतीको आँखाको नानीमा खेलिरहेको निष्कलङ्क कञ्चनजङ्गालाई नियालिरहेँ ।

‘कति हो कफीको ?’ मैले उसलाई सोधेँ ।

‘दश रूपैयाँ ।’ ऊ हाँस्दै थिई ।

शब्दाङ्कुर– २०७०