बत्तीको धमिलो उज्यालो
थालमा खसेपछि
साँझको दैलो टेकेर
आमाका सम्झनाहरू घरभित्र चिहाउँछन्
र सोध्छन्– ‘भात खाइस् छोरा ?
भाइबहिनीहरूले खाइसके ?’
हठात्, दैलोतिर
फर्कन्छन् आँखाहरू
र ओंठबाट फुस्किन खोज्छन् केही शब्द
मेरी आमाका सम्झनाका छायाँहरू
बिस्तारै पर सर्छन्
र हराउँछन् अँध्यारोमा
थालमाथि खेलिरहेको बत्तीको उज्यालो
अकस्मात निभ्छ
अँध्यारोमा,
आँखाबाट बर्रर्रर्र खस्छन् आँसु
चौतीस वर्षदेखि
यसैगरी
आँखाहरूबाट उठ्छन्
र हराउँछन्
आमाका छायाँचित्र
चित्र सौजन्यः सरस्वती गुरुङ
२०६६